index
----
home
मेरो जीवनयात्रा
पहिलो खण्ड

मादीबिर्ता

१ हाम्रो घर
२ मादीबिर्ता
३ मेरा बाबु
४ मेरो पहिलो शिक्षा
५ मेरी बजै
६ अन्त्येष्टि र अंशबण्डा
७ आङ्लभाषाको प्रवेश
८ समाजमा असर
९ चैनपुर बजार
१० आयो कांग्रेस
११ २००७ साल
१२ मेरो बिद्यालय
१३ मेरी आमा
१४ हाम्रो व्रतबन्ध
१५ विद्यालय र शिक्षक
१६ हाम्रा अन्तिम वर्ष
१७ मेरी पत्नी
१८ म आफै
१९ समग्रमा मादीबिर्ता
पहिलो खण्ड

बाल्यकाल


मादीबिर्तामा विद्यालय
(पुरानो र नया विद्यालय भवन)

२००७ सालको आन्दोलन थामिएपछि हामी केटाहरू बरालियौं। हामी कि उखु, फलफूल चोरी गर्न वारीपारी कुद्थ्यौं कि गाईवस्तु चराउन पाखापाखा दौडन्थ्यौं। हामीलाई नियन्त्रण गर्न हाम्रा गुरु पनि थिएनन् र हाम्रा सर पनि। हामी उदण्ड थियौं र हाम्रा उदण्डताले हाम्रा अभिभावकहरूलाई पोलेको थियो। चैनपुरबाट फिर्ता ल्याइएका हामीलाई हाम्रा अभिभावकहरू स्वगर्वले चैनपुर फेरि पुर्‍याउन सक्दैनथे। साक्षरमात्र भएका हाम्रा मुखिया अभिभावकहरू अप्ठ्यारो स्थितिमा थिए। त्यही समयमा त्यो ठाउँमा भएका दाहाल पण्डितहरूले समाधानको बाटो निकाल्न थाले।

मादीबिर्ता दाहालहरूको थलो हो तर नजिकै कुनै पाठशाला नभएकाले पठनपाठनको निम्ति कि तत्कालिन नेपाल(अहिलेको काठमाडौं) पुग्नु पर्थ्यो कि भारतको काशी। दुवै स्थान जान त्यति सजिलो थिएन र साक्षरता पाइने रुद्री, चण्डीमा सीमित थियो दाहालहरूको पढाइ। यसो १।२ जना बहादुर भने घरपरिवार छोडेर सँस्कृतको प्रथमा र कहिलेकहीँ मध्यमासम्म पढेर आउँथे। यिनै पछिल्लामध्येका थिए पं.भोलानाथ दाहाल, पं.लक्ष्मीप्रसाद दाहाल, पं.नन्दिशंकार दाहाल, पं.भीमप्रसाद दाहाल र पं.अनन्तराम दाहाल। शिक्षा आवश्यक छ भनेर त यिनीहरू सबै सोच्थे र कस्तो शिक्षा भन्ने कुरामा भने यिनीहरू बीच विवाद थियो। पं.भोलानाथ र पं.लक्ष्मीप्रसाद म्लेच्छ विद्याका कट्टर विरोधी थिए र प्रकाशसरले रामालय–शिवालय पाटीमा अंग्रजी पढाउन थाल्दा उनीहरूले त्यसको प्रतिकारमा त्यो विषयमा उनीहरूकै समर्थक मुखिया श्रीप्रसाद दाहालको सहयोगमा सिद्धपूजा गरिने स्थानमा सँस्कृत पढाइ शुरु पनि गरेका थिए तर उनीहरूको त्यो प्रयास असफल भयो। धेरै समय बाहिर बसेका र बाहिरी शिक्षा पनि देखेका पं.नन्दिशंकर र पं. अनन्तरामले भने जमाना अनुसार आङ्ल शिक्षा आवश्यक छ भन्ने बुझेका थिए र त्यसका निम्ति आफ्नो प्रयाश पनि शुरु गरे। भोलानाथ नन्दिशंकरका दाजु हुनाले मन नपरे पनि भाइको प्रयाशमा वाधा हाल्न सकेनन् र अनन्तराम श्रीप्रसादको नजिकै भएका कारणले श्रीप्रसादले पनि विरोधमा नबोल्नु उचित ठाने। पं.लक्ष्मीप्रसादको विरोध यथावत रह्यो र उनले विद्यालय खुलेपछि पनि निकै वर्षसम्म आफ्ना छोराहरूलाई विद्यालयमा पढाउन पठाएनन्।

मादीबिर्ता परम्परामा आधारित समाज हो र दाहालहरू बीच यो परम्परा लगातार चलिरह्यो। दाजुभाइ महिपति र गंगाधरको छोराका खाल भन्ने त यसै कायम थियो नै, त्यसमा पनि महिपतिका तीन भाइ छोराको खाल भन्ने छुिट्टए पछि दाहालहरू वंशगत आधारमा विभाजित हुन थाले। विभाजनको शिलशिलामा कोपिलेगाउँले दुर्गादासको, ओभाङगाउँले मनरथको, ओखरबोटेले कुलानन्दको र सिरिसेले प्रमानन्दको प्रतिनिधित्व गर्न थाले। अझ तल झर्दा त कुलानन्दमा पनि च्यांग्रिङे र ओखरबोटेली भए, मनरथमा उपाध्याय र जैसी खाल भनिए, दुर्ग्ाादास तुलसीराम र वृहस्पति खाल भयो र प्रमानन्द पनि वेणुधर र रामानन्दमा बाँडिए। मसम्म आइपुग्दा त रामानन्दका छोरा श्रीनारानका जेठीखाल, कान्छीखाल हुदै मेरा बाजे त सिरिसेलीमध्येका पनि आँपस्वाँरे भइसकेका थिए।

आफसी द्वन्द सबैमा थियो। घरभित्र आँपस्वाँरेहरू आफै झगडा गर्थे। बाँकी सिरिसेलीसँग लडनु परे आफू मिल्थे। अर्का खालसँगको झगडामा पुरै खाल मिल्थ्यो। विक्रम संवत् १८८५ सालको बण्डापत्रलाई लिएर सय वर्षभन्दा बढी मनरथखालसँग मुद्दा लडदा ओखबोटेलीको प्रत्यक्ष संलग्नता नभए पनि बाँकी सबै खाल एकसाथ थियो। सबै समाजमा सबै समान हुदाहुदै पनि कोही बढी समान भए झैं बिर्तावालहरूमा पनि सिरिसेली बढी सम्पन्न थिए र बढी ठुलाठालु मुखियामा गनिन्थे। सामन्त समाजमा ठुलाठालुले अरुलाई हेप्ने चलन हुनाले त्यो समाजमा पनि त्यो प्रवृत्ति देखा पर्थ्यो नै तर आफू पनि उत्तिकै बिर्तावाल भएकाले मुखले भलै केही नभने पनि भित्र अरूले त्यसलाई स्विकार गर्दैनथे। त्यसमा पनि ओखरबोटेलीहरू सिरिसेलीको प्रत्यक्ष प्रतिवादमा अगाडि सर्थे। पछि राष्टि्रय राजनिति गाउँमा आइपुग्दा त सिरिसेली कांग्रेस भएकै कारणले ओखरबोटेली कम्युनिष्ट हुन पुगेको उदाहरण पाइन्छ। अन्यथा सिरिसेली जति सामन्त थिए ओखरबोटेली कम सामन्त थिएनन्। प्रकाशसरको विद्यालय सिरिसेलीको प्रयाशमा स्थापित भएको थियो र त्यसको विरोध कोपिलेगाउँले पं.भोलानाथ र ओखरबोटेली पं.लक्ष्मीप्रसादले विरोध गर्नु त्यही खाल विशेषका बीचको द्वर्‍न्द थियो भन्ने म ठान्छु।

२००८ सालको शुरुमा आइपुग्दा गाउँका दाहालहरूमध्ये धेरैले बुझे कि गाउँमा आधुनिक शिक्षाको आवश्यकता छ। यो बुझाउनुमा पं.भोलानाथकै भाइ पं.नन्दिशंकरको ठुलै हात थियो। पं.भोलानाथलाई विरोधबाट समर्थनमा ल्याउनु नै कम चानचुने कुरा थिएन। मूलखम्बा ढलिसकेपछि पं.लक्ष्मीप्रसादको विरोध मात्रले केही गर्न सकेन।

पं.नन्दिशंकर, पं.अनन्तरामको सक्रिय अगुवाइमा २००८ साल असारमा विद्यालय स्थापनामा सबै खालका अगुवाहरूको एउटा भेलाले विद्यालय स्थापनाको निर्णय गर्‍यो र उही पुरानै रामालय–शिवालयमा धरानबाट ल्याइएका गोपाल श्रेष्ठको प्रधानाध्यपकत्वमा मादी विद्यालय नामको विद्यालय शुरु भयो। प्रकाशसरको पालामा विद्यार्थी थोरै थिए र कक्षा पनि एउटै मात्र थियो र पढने पढाउने र पढ्नेस्थान भए पनि त्यो विद्यालय थिएन। त्यो त एउटा शिक्षकद्वारा एउटा समूहलाई ट्युसन पढाएजस्तै थियो। गोपालसर आएपछि विद्यालयको अवधारणा विकसित हुनथाल्यो। एक देखि पाँच कक्षासम्मका कक्षाहरू स्थापना भए र पाँचै कक्षाका निम्ति डेस्क, बेन्च पनि तयार भए। टेबलकुर्सीहरू ल्याइए। स्थानिय शिक्षकहरू भर्ना गरिए। हाजिरी गर्न थालियो र गयल हुनेले दण्ड तिर्नु पर्ने परिपाटी बसालियो।


मेरो कक्षामा म सबभन्दा सानो थिएँ नाताले पनि, उमेरले पनि र शरीरले पनि। मेरै कक्षामा मेरा काकाबाजेहरू थिए, मेरा काकाहरू थिए र मेरा दाइहरू पनि थिए। २ वर्षदेखि १०।१२ वर्ष जेठासम्म थिए। उनीहरू मेरो प्रशंसा गर्थे। उनीहरू मात्र होइन शिक्षाप्रति चासो राख्ने सबै नै मेरो प्रशंसा गर्थे त्यहाँ – ‘यसलाई पढ्न आउछ सार्‍है। एक पल्ट हेरेपछि कण्ठ भइहाल्छ।’

म प्रशंसाले मख्ख पर्थेँ, फुल्थेँ तर त्यत्रो प्रतिभाशाली म थिएँ भन्ने अहिले मलाई लाग्दैन किनकि त्यत्रो प्रतिभाशाली भएको भए पाँच कक्षादेखि नौ कक्षाको आधाउधी आइसक्दा पनि पहिलो रेखागणितको पहिलो सिद्धान्त नबुझ्ने कुरै हुन सक्दैनथ्यो र गणितको परिक्षामा त्यही रेखागणितमा म शुन्य पाउने नै थिइनँ। तर जुन दिन मैले पहिलो सिद्धान्त बुझेँ त्यही दिन नै मैले पढेका त्यसपछिका सबै सिद्धान्त बुझ्न सफल भएँ। वास्तवमा के थियो भने म एक पटक हेर्दा जो बुझ्थेँ, बाँकी घोकेर पनि कण्ठस्थ गर्न सक्दिनथेँ र घोकेर कण्ठ गरे नै पनि आधा घण्टा पछाडि नै त्यो बिर्सि सक्थेँ। त्यो बाँकी बुझ्न त अर्को त्यस्तै घटना आइपर्नु पर्थ्यो।

परिश्रम म गर्न सक्दिनथेँ र चाँडै थाक्थेँ। यसो हुनुको कारण मैले धेरै पछाडि मात्रै बुझेँ। तैपनि दुर्गम नेपालको दुर्गम ठाउँमा जन्मेको बाबु बिनाको टुहुरो एउटा विश्वप्रतिष्ठित संस्थानबाट इन्जिनियर बने र संसारका विकशित अविकशित सबै राष्ट्रहरू घुमेँ। हुन त मसँग आज कुनै सम्पत्ती र पद नभएकाले मेरा समकालिन इन्जिनियर या यस्तै साथीहरूको आर्थिक उपलब्धि देखाएर मलाई असफल ठान्ने मेरा हितैषी स्वजनहरूको कमी नभए पनि पनि मेरो उपलब्धिलाई म अलेक्जान्डर महानको भन्दा कम ठान्दिनँ।

मेरो सफलताको मूल कारण हो – असफलतालाई अस्विकार गर्नु। मेरो उमेर र शक्ति रहुन्जेल मैले आफ्नो प्रयाश कहिले पनि छोडिनँ। यो मैले मेरी आमाबाट पाएको गुण हो। उनले नै मलाई यो दृढता सिकाएकी हुन्। वास्तवमा भन्ने हो भने मेरी बजै मेरी आमाजस्ती भएकी थिइन् र मेरी आमा मेरो बाबुजस्ती।

मादी विद्यालय स्थापना गर्न र त्यसको जग बलियो पार्न प्रत्येक दाहालको देन छ तापनि अग्रणी भएर काम गर्नेमा पं.नन्दिशंकार दाहाल, पं.अनन्तराम दाहाल, जीवप्रसाद दाहाल, लीलानाथ दाहाल, पं.भीमप्रसाद दाहाल, चन्द्रलाल दाहाल र धर्मप्रसाद दाहालहरूलाई नै लिन्छु र शुरुका दिनमा उनीहरूले निस्वार्थ मनले गरेका कर्मलाई म कृतघ्न भएर बिर्सन सकिन्न। झन्डै आधा शताब्दिको इतिहासमा शिक्षाको लागि अरू धेरै मानिसले धेरै खुटकिला थपे र विद्यालयको विकासमा सहभागी हुनेहरूको संख्या यहाँ वर्णन गर्न सम्भव छैन र सम्भव भएकै भए पनि कसै न कसैको नाम छुट्ने डरले म खतरा उठाउन पनि चाहन्नँ।

मेरो ज्ञानमन्दीर त्यही रामालय–शिवालयको पाटी नै हो। आज पनि जब म त्यो पाटीमा पुग्छु त्यहाँको निरवता देख्दा मेरा विदाका दिनमा पाइने निरवताको संझना हुन्छ मलाई। अरू दिन त त्यो पाटी यति सजीव थियो कि त्यसका छिँडी, मटान, चोटा, कोठा सबै ठाउँमा खचाखच भरिएका विद्यार्थीहरूको सामुहिक स्वर यज्ञशालाको वेदध्वनीभन्दा कम लाग्दैनथ्यो।


अक्षरज्ञान मलाई बजैले दिए पनि पढ्नमा चाख कसले बसाइ दियो त्यो म भन्न सक्दिन। मैले भेटेजति सबै किताब पढ्नु मेरो गुण या दुर्गुण जे भने पनि हुन्छ। म मेरा पाठ्यपुस्तकहरू विद्यालयले पढाउन थाल्नुभन्दा अगाडि नै पढी सिध्याउथे र शिक्षकले पढाउदा त त्यो दोहोरिन्थ्यो, तेहेरिन्थ्यो। सार्‍है केटाकेटी हुदा मेरा पाठ्यसामग्री रामायण, महाभारत, कृष्णचरित्र र कोमलगीताका श्लोकहरू हुन् भने वीरसिक्काजस्ता उपन्यास पनि मैले त्यही बेला पढेको हुँ। अरू किताबको अभावमा मैले ती किताब धेरै पल्ट दोहोर्‍याएँ। सीताको वनबासमा सीतासँगै रोएँ, द्रौपदीको चीरहरणमा उनको साथमा नै गुहार मागेँ र कृष्ण मथुरा गमनपछि वृन्दावनमा राधिकासँगै बहुलाएर घुमेँ। आइमाईप्रतिको मेरो त्यो माया शायद मेरो आमाको रूप हेरेर उब्जिएको हुनसक्थ्यो। विद्यालय स्थापना भएपछि भने मैले ज्ञानको भण्डार पाएँ। भाषाप्रेमी महानन्दा सापकोटा र देवीप्रसाद उप्रेतीको प्रयासमा स्थापित नेपाल भाषा प्रचारक संघबाट पाइएका पुस्तकहरू र मेरा स्मरणिय विद्यालय स्थापकहरूको प्रयासमा जम्मा भएका हिन्दी, अंग्रेजी पुस्तकहरू जम्मा गरेर त्यही पाटीमा मादी पुस्तकालय स्थापित भयो र २।४ सय थानको त्यो पुस्तकालय त्यो समय, स्थान र परिवेशमा मेरा लागि वाशिंगटनको कंग्रेस लाइब्रेरीभन्दा कम महत्वको भएन किनकि त्यही पुस्तकालयले मलाई ज्ञान, विज्ञानको महत्व सिकायो, तिलस्मी, जासुसी र जादुगरी अनुभूति गरायो, भूगोलको भाषामा संसार भ्रमण गरायो र इतिहास बनेर कालखण्डको शिक्षा दियो। त्यसरी नै त्यो पुस्तकालयबाट मैले वास्तविक जीवनका जीवन–मृत्यु, घृणा–माया, सुख–दुख, यौन–शृङ्गार, स्त्री–पुरुष, जीव–निर्जीवबारे केही सिकेँ। मैले त्यहाँ भएका असल खराब सबै किताब पढें। मेरा लागि उपउक्त ठानिने किताब मागेर पढें, अनुपयुक्त ठानेर नदिइने किताब चोरेर पढेँ। मैले पुस्तकालयलाई ज्ञानको स्रोत ठानेँ र अहिले पनि त्यस्तै ठान्छु तर ज्ञान र शिक्षाले भौतिक सफलता दिनै सक्नु पर्छ भन्ने म ठान्दिनँ। त्यसैले पनि भनिएको होला कि लक्ष्मी र सरस्वती सँगै बस्दैनन्।

उदण्डता केटाकेटी स्वभाव हो र यसलाई यसलाई सगुण दुर्गुण जता पनि ढल्काउन सकिन्छ। म दश वर्षको हुदा मेरो उदण्डताको दुरुपयोग गरियो र समयमै यसलाई कसैले नसभाली दिएको भए मेरो जीवनमा त्यो घातक हुन सक्थ्यो।

हाम्रो विद्यालयमा पाँच कक्षा थिए तर पढाउने शिक्षक त्यति थिएनन्। त्यसैले गोपालसरले संचालक समितिको सहमतिमा पहिले हाम्रै कक्षामा पढ्ने तर सँस्कृततिर पनि केही पढेका र प्रकाशसरसँग पनि विशेष पढेका उमेरले परिपक्व मभन्दा दश वर्ष जति नै जेठा खुलानाथ दाहाल, जो पछि शारदाप्रसाद दाहालका नामले श्री ५ को सरकारको सचिवसम्म भए, लाई तलका कक्षाका निम्ति शिक्षक नियुक्ति गरे। आवश्यकताको समयमा त्यो नियुक्ति अयोग्य र अनियमित हुन पनि सक्दैनथ्यो तर हामी सामन्त समाजका उपज थियौं र खाल खालमा विभाजित हाम्रो सामन्त समाजमा एउटा गुटले त्यो नियुक्ति पाउनु अर्को गुटको निम्ति पाच्य थिएन। (मादी विद्यालयमा गुटको यति बोलबाल रह्यो कि त्यो घटनाको वीस वर्षपछि मेरो स्नातकोत्तर भाइ त्यही विद्यालयमा प्रधानाध्यापक हुदा गुट विरोधको शिकार हुदा त्यहाँबाट निस्किएर त्रिभुवन विश्वविद्यायलयमा शिक्षक बन्न पुग्यो र अरू पनि दाहाल शिक्षक र प्रधानाध्यपकले यही नियति भोगे।) त्यसैले त्यो नियुक्तिको विरोध गर्नु अर्को गुटले उपयुक्त ठान्यो र म पनि त्यसमा मुछिएँ। हडतालको नाममा हामीले विद्यालयको तालाबन्दी गर्‍यौँ र त्यो ताला लगाउने काम मेरा हातबाट गराइयो। मेरा जेठाबाठा समकक्षीहरूले त्यो ताला फिर्ता नदिने बाचा गराए र तर्साए। हामीलाई शिक्षकले सम्झाए र सम्झाए अभिभावकले पनि तर हामी टसबाट मस भएनौँ। मलाई सम्झाउने बुझाउने बाबु थिएनन्, आमाले बुझनन् र केही भनिनन्। संचालक समितिले निकाल्ने धम्की दियौँ तर हामीले टेरेनौं। तैपनि आफ्नै गाउँ र आफ्नै अभिभावकहरू भएकाले उनीहरूले हामीलाई पाँच रूपया जरिवाना गरे र जरिवाना नतिरे स्वत निष्काशन हुने सूचना टाँगेर ताला तोडे।

त्यही हडताल काण्डमा श्रीप्रसादबाका छोराहरूले विद्यालय छोडे र जो जरिवाना तिरेर त्यही बसे तिनीहरूमध्ये कोही पछि गएर जिल्ला शिक्षा अधिकारी बने, कोही अध्यापक, धानाध्यापक भए। म पनि जरिवाना तिर्नेमा परे पनि त्यो मोल शारीरिक रूपमा निकै महँगो पर्‍यो। आमाले बदमासीको जरिवाना नतिरिदिने भएपछि म रोएको देखेर पण्डिबा(पं.अनन्तराम दाहाल)ले ऋण स्वरूप त्यो जरिवाना तिरिदिए। त्यो रिण तिर्न मैले मेरी आमाको बाकसबाट सिंगो पाँच रूपया चोरेँ र आमाले थाहा पाएपछि रामधुलाइ पनि पाएँ।


सो समयको मादीको समाजमा एउटा खालले यो गरेपछि अर्र्को खालले त्यसको विपरित गर्नु पर्ने प्रवृत्ति नै थियो। सिरिसेली खाले ०७ सालपछि कांग्रेसी भएपछि ओखरबोटेली खाल सधैं नै कि राजावादी भए कि आफूलाई कम्युनिष्ट समर्थक बनाए। जग्गा जमिन आधिपत्यका हिसाबले ओखरबोटेली सिरिसेलीभन्दा कम थिएनन् र रैतीका हकमा पनि सिरिसेलीभन्दा कम शोषक थिएनन् तापनि उनीहरूले आफूलाई सधैं शोषित पक्षको दावा गर्न चुकेनन्। प्रत्येक राजवादी या नवसाम्यवादी दलको उदयमा उनीहरूले आफूलाई नया समर्थकको रूपमा सधैं प्रस्तुत गरे। मादीबिर्ताी मादीराम्बेनी परिणत भइसकेको धेरै समय बितिसक्दा पनि यो परम्परा भने कायम नै छ। यसको थालनी विद्यालयको स्थापना आएका गोपालसरदेखि नै शुरू भएको थियो र त्यो टुंगिएको छैन।

गोपालसर कम्युनिष्ट हुन वा होइनन् त्यो मलाई थाहा छैन तर गाउँका विद्यालय संचालकहरूले उनलाई कम्युनिष्ट माने। वल्लवमणी काका, जो पछि डा.वल्लवमणी दाहालका नामले राजनिति र भाषा क्षेत्रमा चर्चित भए, हाम्रा विद्यालयमा पढ्दैनथे र पनि उनी गोपालसरको कोठामा उनका शिष्य बनेका थिए र मादीबिर्ता समाजको खालको तुसमा उनी कम्युनिष्ट हुन पुगे। त्यो बेला त उनको ज्ञान अवश्य नै केटाकेटीपनको नै थियो होला तर पछि गएर उनी साम्यवादी सिद्धान्तको अध्ययनबाट पुरै साम्यवादी प्रचारक बनेका हुन् जो धेरैलाई थाहा छ। हामीले पनि प्रगतिशिल बन्ने होडमा प्रगतिशिल पुस्तकालय स्थापना गरेका हौं र त्यसमा वल्लवकाकाका साथै कोशराज रेग्मी, चुडामणी रेग्मी नातेदार भएका हिसाबले हामीकहाँ सहयोग गर्न आइपुग्थे। भूपी शेरचनका ‘धनवाद तिम्रो जनवाद हाम्रो एक दिन दाँजौंला’ भन्ने कविता पनि मैले त्यही बेला नै घोकेर कण्ठ पारेको थिएँ। तत् समयमा नै मैले केकेम्नुच्यो पोखरेल भनिने आजका नृवंशशास्त्री बालकृष्ण पोखरेलको दर्शन पाएको थिएँ। त्यही पुस्तकालयमा मैले चिल्लो फोटोकागजमा छापिएका किताबमा दारीवाल मार्क्स र एंगेल्स, मुठेजुँगा भएका स्तालिनको फोटो देखेको थिएँ। त्यो बेलाको मेरो बुझाइमा को गरिब? को धनी? भन्ने नजाने पनि कम्युनिष्टले धनीको खोसेर गरिबलाई खान दिन्छ भन्ने बुझेको थिएँ र पछि बुझे कि त्यो पनि ०७ सालको आन्दोलनमा दलित, गरिब र विधवाको आशा जस्तै एउटा सपना रहेछ।

हामी कम्युनिष्ट प्रशिक्षण र तालिम गोष्ठीका नाममा गाउँका विभिन्न घरमा जम्मा हुन्थ्यौं र बेलाबेला आइपुग्ने विज्ञहरूबाट मार्क्सवाद, लेनिनवाद, स्तालिनवादका सिद्धान्तबाट प्रशिक्षित हुन्थ्यौं। त्यही शिक्षामा नै मैले ‘आवश्यकतानुसार माम, सामर्थ्यानुसार काम’ भन्ने ज्ञान पाएको हुँ र सोभियत संघको बसाइपछि भने मलाई त्यस्तो समाजको सिर्जनामा विश्वास भएन। तैपनि मैले त्यही प्रशिक्षणको शिलशिलामा मैले पुस्तकालयबाट श्रम, पूँजि, मुद्रा, बजार, उत्पादन, वितरण र मुनाफा या शोषणजस्ता अर्थशास्त्रिय विषयवस्तुहरू धेरथोर ज्ञान पाएँ र हिन्दी लेखक यसपाल को ’दादा कामरेड’ र किसन चन्दरको ‘एक गधेकी आत्मकथा’ जस्ता वामपन्थी साहित्यकृतिहरू पनि पढ्न पाएँ। प्रशिक्षणकै दौडानमा मलाई वरिपरिका गाउँहरू घुम्ने मौका मिल्यो। त्यो पनि एउटा ठुलै अनुभव भयो मेरा निम्ति।

अर्कोतिर प्रजातन्त्रवादी जमात पनि मलाई तानिरहेको थियो। मेरो पढाइको तिक्ष्णताको उपयोग त्यो समूह पनि गर्न चाहन्थ्यो। त्यसै शिलशिलामा शारदाप्रसाद दाहालको जमातमा गायत्रीप्रसाद भट्टराई(मृत्यु भइसक्यो), गणेश ढुंगेल (डा.रमेश ढुंगेलका बाबु, मृत्यु भइसक्यो), डम्बरुप्रसाद भट्टराई(मृत्यु भइसक्यो), डम्बरुप्रसाद ढुंगाना (शिक्षक भएर सेवा निवृत्त) आदि सो समयका प्रजातन्त्रवादीहरूसँग पनि मेरो अझ बढी मित्रता रह्यो।

गोपालसर एक वर्षभन्दा बढी टिकेनन्। कांग्रेसी बहुल संचालक समितिले कम्युनिष्ट शिक्षक राख्ने कुरा पनि भएन। उनी गएपछि शिक्षकको समस्या फेरि देखा पर्‍यो।

यसपछि मेरी आमा

दोश्रो खण्ड

घरबाहिर

१ निष्क्रमण
२ धरानबाट विराटनगर
३ विराटनगर
४ विराटनगरबाट वीरगन्ज
५ वीरगन्जबाट काठमाडौँ
६ काठमाडौँको शुरू बसाइ
७ सहपाठीहरू
८ २०१५ साल
९ २०१७ साल
१० २०१८ साल
११ मेरो हेतौडा बसाइ
१२ विदेशयात्राको तयारी

तेश्रो खण्ड

देशबाहिर