index
----
home
मेरो जीवनयात्रा
पहिलो खण्ड

मादीबिर्ता

१ हाम्रो घर
२ मादीबिर्ता
३ मेरा बाबु
४ मेरो पहिलो शिक्षा
५ मेरी बजै
६ अन्त्येष्टि र अंशबण्डा
७ आङ्लभाषाको प्रवेश
८ समाजमा असर
९ चैनपुर बजार
१० आयो कांग्रेस
११ २००७ साल
१२ मेरो बिद्यालय
१३ मेरी आमा
१४ हाम्रो व्रतबन्ध
१५ विद्यालय र शिक्षक
१६ हाम्रा अन्तिम वर्ष
१७ मेरी पत्नी
१८ म आफै
१९ समग्रमा मादीबिर्ता
पहिलो खण्ड

बाल्यकाल


मेरी पत्नी


मेरी पत्नी(३० वर्षमा र ७० वर्षमा)

युद्ध त राजा र शाशकहरू गर्छन्। मैदानमा सिपाहीहरूलाई ल्याइन्छ। यो परम्परादेखि चलिआएको चलन हो कुरुक्षेत्र होस् या दुई छिमेकीहरूका बीचको आँगन। महारथीहरू व्युह रच्छन्, एक अर्कालाई घेरामा पारेर पराजित गर्न खोज्छन् तर व्युहको ढोकादेखि केन्द्रसम्म जहीं पनि त्यो प्यादाजस्तो सिपाही नै बली चढाइन्छ। युद्धमा जय होस् या पराजय, बली चढनु प्यादाको नियति हो।

मेरो विवाह पनि मेरै आँगनको युद्धमा आफ्नो विजयको निम्ति मेरी आमा द‍वारा चालिएको एउटा चाल हो नत्र मेरी आमा बालविवाहको कट्टर विरोधी हुदाहुदै पनि तेर्‍ह वर्षका छोराको विवाह गरिदिनु पर्ने आवश्यकत उनलाई थिएन। उनको त्यो चालपछि त मेरा बडाबाहरूले मेरी आमासँग द्वन्द नै गर्न चाहेनन्, बरु सधैं सम्झौतालाई नै स्वीकार गरे।

हामी केटाहरू प्रगतिशिल समूहका कट्टर हिमायती थियौं। बालविवाह, वहुविवाह र अनमेल विवाहको हामी विरोध गर्थ्यौं। विधवा विवाह हुनु पर्छ भन्ने धारणा राख्थ्यौं। हाम्रो गाउँको त्यो जमाना समाजवादी धारणाको जमाना थियो हामी युवाहरूमाझ र १३ वर्षे मजस्ता पनि युवामै गनिन्थे। ‘क्रान्ति, विद्रोह र गरीबहरूको हातमा सत्ता’ भनिने जमाना थियो त्यो। अझ हामी प्रगतिशिलको मान्यता त समानता र एकछत्त समाज थियो। ‘तत्कालिन राजनैतिक, आर्थिक र सामाजिक संरचनालाई भत्काएर, माटोमा मिलाएर त्यसमाथि जनवादी संरचना स्थापित गरिनेछ र त्यो संरचना विश्वको इतिहासको सर्वोत्कृष्ट संरचना हुनेछ’ भन्ने हामीलाई बुझाइएको थियो। त्यसैले हाम्रो कुनै पनि विरोध सामाजिक कुरिति उन्मुलन गर्नेमा होइन, सामाजिक संरचना भत्काउने लक्षमा आधारित हुन्थ्यो। हामी ती कुरितिका विरुद्ध उभिनेलाई सहयोग र समर्थन दिनुको साटो उसलाई अझ उत्तेजित बनाएर आफ्नो प्रचारको साधन बनाएर उसलाई शहिद बनाउन खोज्थ्यौँ। परिणामत सामाजिक दवावमा ऊ खुम्चन वाध्य हुन्थ्यो, आफ्नो पराजय स्वीकार गर्थ्यो र हामी उसलाई संघर्षमा धोखा दिएको आरोप लगाउथ्यौं। त्यसैले हाम्रै अगाडि वहुविवाह, बालविवाह र अनमेल विवाहहरू भए र हामीले एउटा पनि रोक्न सकेनौं। अझ विधवा विवाह त गराउन खोज्ने आँटै गरेनौँ।

मेरो विवाह पनि यस्तै परिस्थितिमा भएको थियो। मेरी आमालाई मेरो विवाह गरिदिनु आवश्यक थियो र मेरा ससुरालाई उनका छोरीको। त्यो विवाहमा हाम्रो प्रगतिशिलपक्ष पनि मेरी आमाको विरोधमा उभिएन। तेर्‍ह वर्षको उमेरमा अरूका छोराछोरी नाबालक हुन सक्थे तर म हुन पाइनँ। सामाजिक कुरितिको विरोध गरेर प्रगतिशिल पक्षलाई समर्थन गर्ने मेरी आमा नै मेरो विवाह गरिदिने भएपछि त्यो प्रगतिशिल पक्ष मौन भएर बस्यो। उनले आफ्नो घर हेरिदिने कोही नभएकोले बुहारी आवश्यक भएको दलिल दिइन् तर खास उनको लक्ष त्यो घरमा मेरा ससुराकी छोरी भित्य्राएर मेरा ससुरालाई आफ्नो पक्षमा पार्न चाहन्थिन्। विरोध गर्नेमा थिए त मेरा बडाबा र बडीआमाहरू मात्रै र उनीहरूले मेरा ससुरालाई छोरी नदिन दवाव दिएका पनि हुन् तर मेरा ससुरा छोरी जसरी भए पनि दिने पक्षमा भएकाले उनीहरूको विरोध काम लागेन। मेरा ससुरालाई मजत्तिको केटो जुवाइँ पाउन सजिलो पनि थिएन र उनका विवाह गर्नु पर्ने छोरी, नातिनी लामै लर्को थियो। विरोध गर्नेले पनि भोजपुरका कोइराला परिवारका डिठ्ठा मोहनलालसँग प्रत्यक्ष रूपमा द्वन्द गर्ने आँट गर्न सकेन किनकि त्यही परिवारबाट चेली ल्याएका थिए र त्यही परिवारमा आफ्ना चेली दिएका पनि थिए। अन्ततः मेरा ससुराले छोरी दिने भएर फर्केपछि त मेरा बडाबाहरूलाई ‘ल है, तपाईहरूकै कुटुम्बले छोरी दिएर गएका छन्, बिहे गर्न नमानेर तपाईहरूका भतिजाले तलमाथि गर्‍यो भने त तपाईहरूकै इज्जत जान्छ नि’ भनेर मलाई त्यो बिहेमा बडाबाहरूले उक्साउनै नपुग्ने स्थितिमा उनीहरूलाई पुर्‍याइ दिइन्। हुन पनि मेरा ससुरा मेरा बडाबाका आफ्नै जेठान थिए र मेरी सौतेनीसासु मेरी आफ्नै फुपू थिइन्।

मेरी आमालाई मेरै विद्रोहको मात्र डर थियो। उनले त्यसमा पनि कुटनिति चलाइन्। एक दिन मलाई अगाडि राखेर आफ्नो घरव्यवहारको सुखदुख सबै सुनाइन्। हामी दाजुभाइ पढ्ने, घरमा गरिदिने मानिस कोही नभएको, आफू एक्ली, सबैतिर एक्लै नभ्याउने आदि इत्यादि समस्या तेर्स्याएपछि मलाई भनिन् – “ल, केटी दिन आए। दिन आए के भन्नु, दिएर नै गइसके। अब, भन्, तँ बिहे गर्छस् कि गर्दैनस्?”

मलाई थाहा थिया कि मेरी आमाले मेरो विवाह गरिदिने निर्णया गरिसकिन् र मेरो सहमतीको विधि पुर्‍याउनमात्र मलाई सोधेकी हुन् भन्ने। तैपनि उनको मन बदली हाल्छ कि भनेर आशाको एउटा झनो त्यान्द्रो समाएर भने – “म पढ्छु। बिहे गर्दिनँ।”

“पढ्न त पढ्। तेरो पढाइलाई बुहारीले छेक्छे र? अझ तेरो काम पनि सघाइ दिन्छे। सके बुहारीलाई पनि पढा।” – मेरी आमाले तुरुन्तै जवाफ दिइन्।

म बोलिनँ। यसको के जवाफ हुन सक्थ्यो तेर्‍ह वर्षे बालकसँग बोल्न सक्ने? यही मेरो मौनतालाई मेरी आमाले सहमती मानिदिइन् र भनिन् – “फेरि पछि गएर ‘आमाले मलाई मैले बिहे गर्दिनँ भन्दाभन्दै गरिदिइन्’ भन्न चाहिँ पाउदैनस् नि। अहिले नै भनिदिएकी छु।” बोल्नुको कुनै अर्थ थिएन। त्यसैले म फेरि पनि बोलिनँ। मेरी आमाले मलाई राम्रै चिनेकी थिइन्। म नबोल्नुको अर्थ मलाई चित्त बुझे पनि, नबुझे पनि म बिहेको जग्गेबाट उठेर हिडने छैन भन्ने अर्थमा लिइन्। यति नै उनलाई पर्याप्त थियो। मेरो विवाहपछिको भविष्यमा मेरी आमाले मलाई ‘तेरी स्वास्नीले यसो गरी’ भनेर मसँग गुनासो कहिले पनि गरिनन् किनकि ऊ मेरी स्वास्नी कम र उनकी बुहारी बढी थिई।

मेरो त्यो समाजका घरानिया दाहालहरूको तुलनामा अति नै सामान्य किसिमले भएको थियो। मेरा जेठा बडाबा पुरोहित र भरियासहित १०।१२ जना जन्तीसहित मलाई लिएर कुम्लेबिहे गर्न भोजपुर आफ्नै ससुराली लागे। त्यही समयमा मेरा साहिला बडाबाको छोरो मेरो समकालिन गणेशदाइको पनि मेरा ससुराका साहिँला भाइकी छोरीसँग विवाह हुने भएकाले जन्ती सँगै गएका थियौं। मेरा दुई बडाबाहरू बीच ठाकठुक भने बाटाभरि नै परि नै रह्यो। केका निम्ति? थाहा भएन तर जे होस् मेरो बिहे सकुशल नै सिद्धियो।

मेरी स्वास्नी काली तर बान्की परेको अनुहार भएकी, सानी वार्‍ह वर्षकी केटी थिई। बिहेको दशगजा फरियामा बेरिदा त ऊ अनुहार र हात मात्र देखिने अफ्रिकी पुतलीजस्ती देखिन्थी। रङमा हामी विपरित भए पनि शारीरिक रूपमा हाम्रो जोडी अमिल्दो थिएन। बिहेको समयमा ऊ मभन्दा धेरै निर्दोष केटी थिई। अरु त अरु, माइती घरबाट रुदै निस्केकी केटी अलि पर पुग्दा डोलेले ‘नरोऊ है, नानी। रोयौ भने म त अहिले झकेर ढुंगामा पछार्छु नि’ भनेर डोलेले ठट्टैमा के जिस्क्याएको थियो डरले तुरुन्तै रुनै छोडी र बाटाभरि रोइन। अर्काको कुरा झट्ट विश्वास गरिहाल्ने र अर्काको कुभलो चिताउनै नसक्ने उसको गुण या दुगुर्ण जे भने पनि बुढेसकालसम्म नै रह्यो।

मेरी स्वास्नीले वार्‍हखरी चिनेकी थिई र मेरी आमाले भनेजस्तै मैले उसलाई आफै पढाउने प्रयास गरें तर त्यो सफल भएन। पहिलो त, लोग्नेले पढाएर स्वास्नीले पढेका पो कहिले थिए र? दोश्रो, मेरी स्वास्नीको शिक्षाप्रति कुनै अभिरुचि थिएन। उसलाई किताब, कापी, कलम, मसीप्रति कुनै चासो नै थिएन। कागज त उसको निम्ति मसाला पोको पार्ने वस्तु मात्रै थियो। ऊ लेखेको या छापेको कागजभन्दा नया कागजको बढी जतन गर्थी। त्यसमा पनि आइमाईको शिक्षा उसको पारिवारिक चासो थिएन। त्यसैले हामी दुईका बीच जीवनभर शिक्षा–अशिक्षा, ज्ञान–अज्ञान, जिज्ञासा–बेवास्ताजस्ता विपरित धारणाहरू वाधा भएर तेर्सिए। हाम्रा सोचाइहरू कहिले पन एउटै धरातलम भएनन्। म तल ओर्लन सकिनँ, उ सले माथि उक्लने प्रयास गरिन।

ऊ आमा भई पन्द्रह वर्षकै उमेरमा – एउटी केटाकेटी आमा। छोरीलाई जन्म त दिई तर हुर्काइन् मेरी आमाले। त्यो बेला मलाई बाबु हुनुको गर्व नभएजस्तै उसलाई पनि आमा हुनको गर्व भएन होला। छोरी जन्मनुभन्दा छ महिना अगाडि नै घर छोडेर हिडेको मानिस छोरी दुई वर्ष पुगे पछि मात्रै केही दिनको निम्ति घर पुगेथें। झण्डै आठ वर्षपछि फेरि स्वास्नीसँग भेट भएथ्यो र छोरो नजन्मिदै घर छोडेर हिडेको छोरो पाँच वर्षको हुदा फेरि घर पुगेथेँ। वीस वर्षे लामो समय अन्तरालमा दिन गिन्तीले हेर्ने हो भने म छ महिना पनि घर बसिनँ त मेरी स्वास्नीले दुई महिना पनि घर छोडिन होली। ऊ सती सावित्री भएर घर बसी र वीस वर्षसम्म रुमलिदै संसार घुम्ने मानिस पुरुषप्रधान समाजमा नैतिकताको बन्धनभित्र बसिरहने संभावना कमै हुन्छ।

लोग्नेस्वास्नीको सम्बन्ध लगनगाँठो बाँधिदिने बन्धन मात्र होइन। यौन अवश्य नै त्यसको आवश्यक कडी हो तर यौनसन्तुष्टि मात्रै आधार होइन। सन्तानवृद्धि पनि यौनसम्बन्धका उपज मात्रै हुन् जसको जिम्मेवारी सहृदयीले लिन्छ, दुर्जनले लिदैन। दुई जना बीचको सम्बन्ध त समान विचार, समानान्तर सोचाइ, समान दृष्टिकोण र समान जीवनपद्धतिमा चल्छ। नत्र त लोग्नेस्वास्नी यौनक्रियाका लागि भेटिन आइपुगेका भालेपोथी माबै हुन्। यी कुरामा हामी दुई लोग्नेस्वास्नीमा कुनै समानता नै छैन। त्यसैले ऊ मेरी स्वास्नीभन्दा मेरा छोराछोरीकी आमा, मेरी आमाकी बुहारी, मेरा नातागोताकी नातेदार र मेरो घरकी संरक्षिका भएर बसी।

यौनका बारेमा पनि उसको शुरूदेखि नै एउटै धारणा थियो। ऊ यौनलाई अपवित्र पशुजन्य व्यवहार ठान्दथी र अन्धकारका दुई क्षणमा बाहेक अरू बेला सोच्नै नहुने सन्तान जन्माउने फोहोरी खेल मान्थी। यही धारणा उसको पछिसम्म पनि रहिरह्यो। उसले यौनकृयालाई दुई जनलाई मानसिक शान्ति, शारीरिक तृप्ति दिने आवश्यक संगमका रूपमा त लिन कहिले पनि सकिन।

यसपछि म आफै

दोश्रो खण्ड

घरबाहिर

१ निष्क्रमण
२ धरानबाट विराटनगर
३ विराटनगर
४ विराटनगरबाट वीरगन्ज
५ वीरगन्जबाट काठमाडौँ
६ काठमाडौँको शुरू बसाइ
७ सहपाठीहरू
८ २०१५ साल
९ २०१७ साल
१० २०१८ साल
११ मेरो हेतौडा बसाइ
१२ विदेशयात्राको तयारी

तेश्रो खण्ड

देशबाहिर