index
----
home
मेरो जीवनयात्रा
पहिलो खण्ड

मादीबिर्ता

१ हाम्रो घर
२ मादीबिर्ता
३ मेरा बाबु
४ मेरो पहिलो शिक्षा
५ मेरी बजै
६ अन्त्येष्टि र अंशबण्डा
७ आङ्लभाषाको प्रवेश
८ समाजमा असर
९ चैनपुर बजार
१० आयो कांग्रेस
११ २००७ साल
१२ मेरो बिद्यालय
१३ मेरी आमा
१४ हाम्रो व्रतबन्ध
१५ विद्यालय र शिक्षक
१६ हाम्रा अन्तिम वर्ष
१७ मेरी पत्नी
१८ म आफै
१९ समग्रमा मादीबिर्ता
दोश्रो खण्ड

घरबाहिर


विदेशयात्राको तयारी


एक डेढ वर्षपछि हेटौडा छोड्दा मसँग आफ्नो एक पैसा पनि थिएन । काठमाडौँसम्मको भाडा पनि साथीभाइले हालिदिएका थिए । जीवनभर मेरो त्यही हालत रह्यो किनकि मैले कमाएर संचिति गर्न कहिले पनि जानिनँ । भोलि चाहिन्छ भन्ने सोच ममा कहिले पनि आएन । दिन जानेँ, फिर्ता लिन जानिनँ । लिएपछि दिने मानिस मजस्तो नहुने हुनाले रिनपान गरेर पनि तिर्नै पर्थ्यो, त्यही गरेँ मैले । त्यसैले जीवनभर मसँग रिण सधैँ नै रह्यो । हो, नारायण थापा जस्तो मित्रले भने मैले नतिरे पनि सहयोग गर्न कहिले पनि छोडेन र मैले नतिरेकोमा मसँग गुनासो पनि गरेन ।

मैले माग्न सक्ने र मलाई दिने मानिस मेरी आमा मात्रै थिइन् । त्यही समाचार पठाएँ मैले । आमाको जवाफ आयो - "अहिले वर्षायाममा पैसा जुटाउन गार्हो छ । २।३ वर्ष भयो मधेसको खेतीको पैसा नलिएको । ससुरासँग त्यही पैसा मागेर लिएर जा ।"

बिराटनगर पुगेँ म ससुरासँग पैसा माग्न र ससुराले इन्कार गर्ने कुरा पनि भएन । पछि मलाई आमाले त्यो पैसा मिलाई दिएँ भनेकी हुन् । कति मिल्यो ? कसरी मिल्यो ? मेरो स्वभावअनुरूप मैले चासो राखिनँ । कन्यादानपछि मैले ससुराबाट लिएको त्यही नै हो । यसमा मेरो गुनासो पनि छैन किनकि १७ वटा छोराछोरीका बाबुले केही गर्न सकेनन् भनेर गुनासो गर्न छोराछोरीलाई त सुहाउदैन भने जुवाइँले गर्नु त अपराध नै ठहर्छ ।

विदेश जाने विद्यार्थीलाई सुट नै चाहिन्छ भन्ने गलत धारणा कसले राखी दियो, कुन्नि, हाम्रा मनमा कि हामी सबैले सुट पनि हाल्यौँ र टाई पनि किन्यौँ । काला जुत्ता त यसै पनि भइ नै हाले । यस्तै यस्तैमा मेरो सीमित पैसा सकिदै गयो । आमा आउने आश त गरेको थिइनँ मैले तर विरामी भाइलाई लिएर आमा आइपुगिन् । वर्षौँका निम्ति विदेश जान लागेको छोरोलाई विदा नगरी चित्त बुझेन र हिडिछन् आमा काठमाडौँतिर । साथ लिएर आएको कान्छो छोरो आउदा आउदै बाटैमा विरामी भएछ तिघ्रामा घाउ निस्किएर हिड्नै नसक्ने गरी र शान्ता भवन अस्पतालमा उपचारको निम्ति राखियो ।

काठमाडौँ आउदा मेरी आमाले भोगेको घटना सार्है् दुखदायी हो भन्ने लाग्छ मलाई ।

आमासँग आउदा आउदै मेरो भाइको खुट्टा दुख्न शुरू गरेको थियो र धरानमाथिको चिउरीवास आइ पुग्दा बलैले मात्र घिस्रदै थियो रे । त्यही समयमा सिपाहीहरू "ल, मन्त्रीज्यूको सवारी आयो, बाटो छोडेर छेउ लाग ।" भन्दै भरिया, बटुवा, आइमाई, केटाकेटी, बुढाबुढी, विरामी सबैलाई पाखा लगाउदै झरेछन् । नभन्दै राजा महेन्द्रका मन्त्री कीर्तिनिधि विष्ट दलबल सहित ओरालो झरेछन् । पंचायतकाल, राजाका मन्त्री । कसैले केही बोल्न सकेनछ । मेरो भाइ प्रजातान्त्रिक वातावरणमा हुर्केको र अलि तिखो स्वभावको । मन्त्रीको लस्कर झरेपछि उसले भनिहालेछ - "डाकाहरू ! मन्त्री भएँ भनेर बाटामा हिड्ने जनतालाई दुख दिन्छन् । प्रजातन्त्र नभएको ठाउँमा यस्तै हुन्छ ।"

मेरो भाइको दुर्भाग्य ! सिआइडी कन्सुत्लेहरू पछाडि आउदै रहेछन् र यो 'अराष्ट्रिय तत्व' भन्दै लछारेर धरान पुलिस ठानामा ल्याएछन् । मेरी आमा रूदै कराउदै ठानामा पुगेर विन्तिभाउ गरिछन् र अन्तत केही नलागेर मेरो सद्दे भाइलाई 'यसको दिमाग अलि ठिक छैन' सम्म भन्न पनि वाध्य भइछन् । जे भनेर, जे गरेर भए पनि छोरो छुटाउनु थियो, छुटाइन् ।

यो घटना तानाशाही शाशनको एउटा उदाहरण मात्रै हो । एउटा नागरिकले, राजाको त कुरै छोडिदिऊँ, मन्त्रीको आलोचना गर्नु पनि अपराध हो भन्ने तानाशाही प्रवृत्ति हो पंचायतकालको र तानाशाही रूप जहीँ पनि एकै हुन्छ । हिटलरको समयमा नाजी कार्यकर्ताको पनि आलोचना गर्नु हुन्नथ्यो सामान्य नागरिकले र सो गर्ने दण्डको भागी हुन्थ्यो । चाक पुछ्ने टिस्युपेपर नहुने गरिब सोभियत नागरिकले झुक्किएर लेनिन या स्तालिनको तस्बिर भएको पत्रिकाले पुछ्न पुग्यो भने त्यो पनि दण्डसजायको भागी हुन्थ्यो रे ।यो त मैले भुक्तभोगीका मुखैबाट सुनेको हुँ ।

आखिर हामी बाटो लाग्ने स्थितिमा पुग्यौँ । हामी १४ जनाको हुलमा १।२ जना भारत पुगेको भए पनि अरू कोही पनि नेपाल बाहिर गएका थिएनौँ । भाइ अस्पतालमै थियो । मेरो जाने दिन आयो । काका, बडाबाका छोराहरूका जिम्मा आमा र भाइलाई छोडेर म डेराघरबाट निस्किएँ ।

समाप्त घरबाहिर

मेरो यात्रा
को दोश्रो खण्ड
दोश्रो खण्ड

घरबाहिर

१ निष्क्रमण
२ धरानबाट विराटनगर
३ विराटनगर
४ विराटनगरबाट वीरगन्ज
५ वीरगन्जबाट काठमाडौँ
६ काठमाडौँको शुरू बसाइ
७ सहपाठीहरू
८ २०१५ साल
९ २०१७ साल
१० २०१८ साल
११ मेरो हेतौडा बसाइ
१२ विदेशयात्राको तयारी

तेश्रो खण्ड

देशबाहिर