index
----
home
मेरो जीवनयात्रा
पहिलो खण्ड

मादीबिर्ता

१ हाम्रो घर
२ मादीबिर्ता
३ मेरा बाबु
४ मेरो पहिलो शिक्षा
५ मेरी बजै
६ अन्त्येष्टि र अंशबण्डा
७ आङ्लभाषाको प्रवेश
८ समाजमा असर
९ चैनपुर बजार
१० आयो कांग्रेस
११ २००७ साल
१२ मेरो बिद्यालय
१३ मेरी आमा
१४ हाम्रो व्रतबन्ध
१५ विद्यालय र शिक्षक
१६ हाम्रा अन्तिम वर्ष
१७ मेरी पत्नी
१८ म आफै
१९ समग्रमा मादीबिर्ता
पहिलो खण्ड

समग्रमा मादीबिर्ता


यदि सिवाइ मादीबिर्ता उत्तरपश्चिम नफर्किएर दक्षिणपश्चिम ढल्किएको भए त्यसको इतिहास अवश्य नै आजकोजस्तो हुने थिएन। दक्षिणपश्चिम फर्केको भए त्यो घमाइलो पाटो ती चार दाहालवन्धु पुग्नुभन्दा अगाडि नै आवादी भइसकेको हुने थियो र त्यहाँका रैथानेले उनीहरूलाई त्यो पाटो दिने नै थिएनन्। अल्लो र सिस्नोले ढाकिएको त्यो चिसो र ओसिलो पाटो अगाडि हुनेले ओगट्न आवश्यक ठानेका पनि थिएनन् र मात्र बाँकी थियो त्यो पाटो।

सुवा ज्वरावर सिं र सुवा भारथ सिंको पत्र बमोजिम संवत् १८४३ सालमा जोगाराम उपाध्यायले मायाको उत्तर हांथुङ डाँडाको दक्षिण उम्लिङ खोलाको पश्चिम र क्यामी खोलाको पूर्वको जमिन पाएको देखिन्छ। त्यसै पत्रका आधारमा सुवा दुर्जोधन कार्की र सरदार हरि कार्कीले जोगारामलाई संवत् १८४६ सालमा बहाली दिएका रहेछन्। त्यसपछि पूर्वतिर जोगारामको सीमा, पश्चिममा आसिकरामकोसाँध, दक्षिणमा माया खोला र उत्तरमा सिवां खर्क यो सीमाना भित्रको जमिनको रुक्का अहिरमान कार्की र उपेन्द्र कार्कीले संवत् १८४९ मा पाएका रहेछन्। यसरी पुलुङदेखि पर उम्लिङ खोलासम्मको घाम लाग्ने पाटो त ओगटि नै सकिएको रहेछ। त्यसैले संवत् १८५२ सालमा सो ठाउँमा बिर्ता पाउने दाहालको निम्ति त्यो भेकमा बाँकि रहेको जमिन नै त्यही ओसिलो पाटो देखिन्छ। अरूतिर जमिन बाँकी भएको भए दाहालबन्धुहरूले सो जमिन लिने पनि थिएनन् तर आफूलाई अत्यावश्यक भएको र चिनाजानाका मानिस पनि त्यहीँ नजिकै भएकाले उनीहरूले सो जमिनको लालमोहोर गराए। आफ्ना झटीमिटी, थाङ्नाभोटा बोकेर आएका ती दाहालहरूको निम्ति ‘गर या मरद्व’ को स्थिति थियो र उनीहरूले त्यसलाई आवादी गर्न थाले। ३० वर्षसम्म उनीहरूले मरिमरी काम गरेर केही जमिनलाई खेतियोग्य बनाए र संवत् १८८५ मा चार दाजुभाइ र एक काकाका छोरा समेत गरी पाँच दाजुभाइ बीच अंशबण्डा भयो र खाल छुट्टिन शुरू गर्यो ।

कुलानन्द, प्रमानन्द र उदयानन्दका सौतेनीआमाका छोरा मनरथ र काकाका छोरा दुर्गादासका खालमा आपसी प्रतिद्वर्न्दि ता या झैझगडा लगातार चलिरह्यो। बिर्ता लालामोहोर गराउने कुलानन्दको ठुलै तत्कालमा ठुलै हैकम थियो र उनले आफ्ना छोरा नारदशंकरको नाउमा मादीबिर्ताको लालमोहोर गराएर सपुत्याइँ पनि लिएका थिए तर उनको मृत्युपछि त्यही सपुत्याइँ विवादको कारण भयो। आफ्ना बाबुको नाममा भएको लालमोहोरको सपुत्याइँ बाजेले काका श्यामलाललाई समेत दिएपछि नारदशंकारका छोराहरूले काकामाथि जाइलाग्नु स्वभाविक ठाने। नारदका आठ भाइ छोरा र श्यामलालका एक्ला छोरा भएकाले विभाजनपछि त झन् सम्पत्ती पनि श्यामलालका भागमा धेरै देखिन थाल्यो। नारदका छोराहरूबाट बचाउनको निम्ति त श्यामलालका एक्ला छोरालाई श्रीहर्कलाई मामलीमा लुकाउन पठाउनु परेको समेत कुरा पुर्ख्यौली भनाइमा सुनिन आएको छ।

कुलानन्दकापछि तालुकवाला भई हैकम चलाउने कुलानन्दका भाइका नाति श्रीनारान देखा परेका छन्। देवानराईहरूसँगको सीमाना मुद्दामा उनकै समयमा सीमा तोकी मादीबिर्ताको नयाँ लालमोहोर गराइएको हो। त्यसैले उनले नारदशंकरलेजस्तै सपुत्याइँ पनि पाएका हुन्। संवत् १८८५ को अंशबण्डामा आफू ठगिएको भन्ने दलिल लिएर मनरथका सन्तानले महिपतिका अरू सन्तानसँग अदालति झगडा पनि यसै ताका शुरू गरेका थिए र सो अदालती झगडा प्रमानन्दका सन्तानसँग संवत् २०४० तिर आएर अन्त्य भए पनि कुलानन्दका सन्तानसँग अझै पनि टुंगिएको छैन।

खनजोत गरेर कमाइखाने दाहालहरू समय बित्दै गएपछि आफूलाई कुलिन सम्झन थाले र सो कुलिनताको मात्रा पनि बाहिर सम्पर्कसँगै बढ्न थाल्यो। जसले सो बेलाको नेपाल उपत्यकासम्मको नाता बढाए ती नै बढी कुलिन हुन थाले। कुलिनताको प्रदर्शन धनबाटभन्दा पनि सम्पर्कबाट बढी देखिन थाल्यो। कुलानन्दपछि नेपाल उपत्यकासँग बढी सम्पर्कमा रहेका श्रीनारान र उनका भाइका खालले आफूलाई त्यही कुलिन दाँजोमा उभ्याए र सिरिसेली भन्ने त्यो परिवारको प्रभुत्व २।४ गाउँ परैसम्म पनि फैलिएकाले अरू दाहालहरूले त्यसलाई नरुचाउदा नरुचाउदै पनि अस्वीकार गर्न गाहारो भयो तर आफसी प्रतिद्वर्न्दि ता भने चलि नै रह्यो र सो प्रतिद्वर्न्दि ता पहिले पहिले अदालती झगडामा सीमित भए पनि संवत् २००७ सालको परिवर्तनपछि त यसले राजनैतिक रूप नै लियो।

०७ सालको परिवर्तनको समयमा सिरिसेली मात्र विद्रोहको पक्षमा थिए, अरू त सबै मौन र तटस्थ। विद्यालय खोल्ने कुरामा नै पनि ओखरबोटेली कुनै समर्थनमा थिएनन्। उनीहरू विद्यालयलाई सिरिसेलीको विद्यालय ठान्दथे। विद्यालय शुरू गर्दाको चन्दादाताहरूको नामावली हेर्दा यस्तै रूप देखिन्छ। हो, विद्यालयको हकमा भने श्रीनारानकै एउटा छोरा श्रीप्रसाद भने आफूलाई कुलिन ठाने पनि विद्यालय स्थापनाको भने विपक्षमा उभिए। सो विद्यालय संचालनमा उनका सन्तानको पहिलो उपस्थिति पनि खासमा एक दशकपछि उनको मृत्यु भएपछि मात्रै देखिन्छ। विद्यालयका दुखका दिनमा त्यो परिवारको त्यहाँ उपस्थिति नभएको र उनीहरूले झण्डै एक दशकपछि सहभागिता जनाए पनि संवत् २०१६ सालको बिर्ता उन्मुलन पछि सिरिसेलीहरूले मादीबिर्ता छोड्न शुरू गरेकाले त्यो सहभागिता पनि धेरै समय रहेन।

मादीबिर्ताको मादी विद्यालयका बारेमा बराबर चर्चा चलिरहन्छ किनकि मादीबिर्ता र पछि मादीराम्बेनी भनिने त्यो गाृउँको आधुनिक इतिहास नै यही विद्यालयको वरिपरि घुमेको छ। अगाडि नै भनियो कि पूर्वमा हाइस्कूल विद्यालयहरूको संख्या औंलामा गन्न सकिने भएको बेला गाउँमा हाइस्कूल हुनु नै ठूलो उपलब्धि थियो। अझ गाउँमा त्यस्तो विद्यालय त आठराई चुहानडाँडाको विद्यालय मात्र थियो। मादी विद्यालयको पूर्वाञ्चल क्षेत्रका लागि सबैभन्दा ठूलो देन नै त्यो क्षेत्रका विद्यालयहरूमा शिक्षक उपलब्ध गराउनु भयो। भोजपुरदेखि ताप्लेजुङसम्मका विद्यालयहरूमा मादीले शिक्षकहरूको बाक्लै उपस्थिति थियो कुनै बेला र तात्किालिन वामपन्थीहरूका त्यो क्षेत्रका आधार भन्नु नै शिक्षकहरू थिए।

कुनै समयमा सो समयको दिप्रुंको अञ्चलको कुलागाउँबाट खान नपुगेर बिर्ताको खोजी गर्दै आएका दाहाल बाहुनहरूका सन्तान डेढ सय वर्षपछि उनीहरूका पुर्खाजस्ता नभएर खानलाउन पुग्ने सम्पन्न र आफूलाई कुलिन मुखिया ठान्ने बिर्तावालहरूको समाज बनिसकेको थियो जो आफ्नो श्रेष्ठता देखाउन आफसमा प्रतिस्पर्धा गर्दथे। डेढ सय वर्षको बसाइले परिवारभित्र आफूआफू बीच जतिसुकै भुनभुन भए पनि त्यो समाज मौरीको गोलोजस्तै एक ढिक्का थियो बाहिरियाका निम्ति र बाहिरियाले त्यसमा आक्रमण गर्ने आँट गर्न सक्दैनथे। २००७ सालको अराजक आन्दोलनमा मादीबिर्ताको डाँडापारि उदण्डवादी रैथाने लिम्बहरूले गैर्हालिम्बुमाथि लुटपाट, बलत्कार मच्चाए पनि त्यो पाटोमा अराजकता फैलन सकेन। बिर्तावाल दाहालहरू संगठित रूपमा खडा भए र छेउछाउका बुज्रुग राई लिम्बुहरूलाई पनि समेटेर शान्ति कायम राख्न सफल भए।

शिक्षा र स्वतन्त्रता जहिले पनि सम्पन्नले खोज्छ र त्यसको निम्ति अगुवाइ पनि गर्छ। मादीबिर्ताको सम्पन्नतासँगै शिक्षाको चासो पनि वृद्धि हुदै आयो र तत्कालिन सदरमुकाम चैनपुर बजारसँग प्रतिस्पर्धा हुन थाल्यो। पहिले सँस्कृत पाठशाला स्थापना भयो र पछि भारतमा तीर्थ जानेहरूले ल्याएको भारत स्वतन्त्रताको हावाले आधुनिक विद्यालय खोल्न अभिप्रेरित गर्योय। श्रीनारानका छोराहरू श्रीवेलास, शिवप्रसाद, गंगाप्रसादका सन्तानहरूले सो विद्यालय स्थापित गराउन र टिकाइ राख्न अगुवाइ गर्दै आफ्नो सम्पत्तीको ठुलै भाग दिएर पर्याप्त त्याग गरे। यसो भन्दा अरू दाहालहरूले सहयोग गरेनन् भन्ने चाहिँ पटक्कै होइन। अरूले पनि यथासक्य सहयोग गरेकै हुन्। विद्यालयको सधैं नै टाट पल्टेलाजस्तो स्थिति थियो। यस्तो आर्थिक विपत्तीमा पनि श्रीनारानका छोरा सबैभन्दा सम्पन्न श्रीप्रसाद र उनका सन्तानबाट भने कुनै सहायता प्राप्त भएन, बरु विद्यालयको विरोध नै भयो। संवत् २०१३ सालमा विद्यालयले हाइस्कुलको स्वीकृति पाएपछि सो समयमा आर्थिक सहयोग केही सय रूपयाँ पाए पनि पछि पूर्ण स्वीकृति पछि सरकारी सहयोग स्वरूप प्रति वर्ष पाइने रू. ७२०० अगाडि ज्युँ त्युँ धान्न सजिलो हुने आशामा विद्यालय संचालन भइ नै रह्यो।

डेढ सय वर्षसम्म एउटै ढाँचा र ढर्रामा चल्यो मादीबिर्ताको दाहालसमाज। उही कुटोकोदाल, उही खेतीपाती, उही बाँजो बिरौटो। धेरथोर कमारा कमारी सबैले पाल्थे। भए पनि पेटभरि खाँदैनथे। भोलिको निम्ति साँच्थे, जम्मा गर्थे र सक्नेले लगानीपात लगाउथे, नसक्नेले गाडधन बनाउथे। वार्हा खरी छिचोल्ने साक्षर मानिन्थ्यो र तमासुक लेख्न सक्ने त विद्वान नै ठहरिन्थ्यो। औँलामा गनिन सक्ने कोही आँटैले भारतको काशी र नेपाल भनिने काठमाडौं पुगेर प्रथमासम्म पढ्थे। छोरी त पढाउनै न चलन थिएन र निरक्षर हुन्थे आइमाई। आठ वर्षमा गरिन्थ्यो छोरीका बिहे र १२ वर्ष पुग्दा त घरै पठाइन्थ्यो। त्यस्तै उमेरमा भित्रिएकी बुहारीलाई कमारीलाई झैं जोतिन्थ्यो।

विद्यालय र ०७ साल एकै चोटी आए मादीबिर्तामा। ०७ सालले राजनैतिक परिवर्तन ल्यायो भने विद्यालयले सामाजिक चेतना। सर्वसाधारणले पहिलो पल्ट प्रजातन्त्र शब्द सुने र प्रजातन्त्रको नाममा स्वतन्त्र भएर उभिए। सम्पन्नवर्ग त यसै नै स्वतन्त्रताको पक्षपाती हुने नै भयो, असम्पन्नहरूले पनि नेपाली कांग्रेसको प्रजातन्त्रलाई आफ्नो उन्नतिको, आफ्नो वैभवको आशा ठाने र यसलाई मुक्तिदाताको रूपमा हेरे। उनीहरूको आँखामा नेपाली कांग्रेस व्यक्तिको स्वतन्त्रताको परिचायक बन्यो जसले जहानिया शाशनलाई अन्त्य गर्यो त्यसले नै जनताको सरकारलाई शाशनमा ल्याएर सामाजिक कुरिति हटाउदै उनीहरूको हितकारी एउटा प्रगतिशिल समाज बनाउला भन्ने अपेक्षा थियो। आँगनमा, दलानमा, अँगेनामा हुने गफ र छलफलको निष्कर्श यस्तै हुन्थ्यो। सिरिसेली समूह (श्रीप्रसाद बाहेक) ले त यसैलाई मान्यता बनाएर लीलानाथ दाहलको अगुवाइ स्वीकार गर्योह र उनी नै संवत् २०१५ सालको संसद निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएर विजयी पनि भए। आफ्नो खाल छुट्याएर बस्ने सामन्ती समाजमा लीलानाथको अगुवाइ अर्को खाल विशेष गरेर ओखरबोटेलीलाई मान्य हुने कुरा थिएन र उनीहरूले बल्लवमणीको अगुवाइमा कम्युनिष्ट घारणा अघि सारे। यी दुई समूहभन्दा बाहिरको सामान्यता आफूलाई नखोल्ने समूह समय र परिस्थिति अनुसार कहिले यता त कहिले उता गरिरह्यो। यो विभाजन यति प्रवल थियो कि संवत् २०१७ मा राजा महेन्द्र सैनिक परिवर्तनपछि सिरिसेलीबाट पञ्चायत व्यवस्थामा खुलेर पस्ने श्रीप्रसादका नाति वद्रिप्रसाद पहाडी मात्र भए। अर्कोतर्फ पंचायतको शाशनकालभरि नै प्रधानपंचजस्तो जिम्मेवार पदमा ओखरबोटेलीहरूको सधैँ नै हालीमुहाली रह्यो र सिरिसेलीको त्यसमा सहभागिता भएन या भए पनि वाध्यतावस वडाजस्तो तल्लो तहमा परिवारको हित संरक्षणको लागि मात्र भयो। अझ अर्कोतर्फ आफूलाई सधैं कांग्रेसविरोधी र कम्युनिष्ट भन्ने मनोरथ खालका जीवप्रसाद पाखाली अंचलको राजनिति गर्न सम्म पुगे र अन्त्यमा माओवादी कम्युनिष्टद्वार सुराकीको आरोपमा मारिए।

२००७ सालको फागुको लगत्तै जेठतिर पहिले खुकुरी दल र पछि गोर्खादलमा परिणत भएको पार्टीको प्रचारमा श्री ३ मोहन शमशेरका भाइ बबर शमशेरका छोरा मृगेन्द्र शमशेर र नाति भरत शमशेर पूवाञ्चलको भ्रमणमा चैनपुर बजार आइपुगे। बजारमा उनीहरूको भव्य स्वागत भयो, कसैले विरोध गर्न सकेन। श्रीप्रसादका सन्तान त उनीहरूलाई स्वागत गर्न चैनपुर बजार नै पुगे र भोलिपल्ट बिहान माया–पिलुवाको दोभानमा खाना खाने गरी पारीपिट्टबाट उनीहरू झर्ने भएपछि बुढा श्रीप्रसाद आफैँ पनि मालिक मानिराखेका उनीहरूलाई स्वागत गर्न दोभानमा झरे। वारीपिट्ट मादीबिर्तामा अर्कै खिचडी पाक्दै रहेछ। मेरा जेठा बडाबा धर्मप्रसाद त खाट्टी कांग्रेस नै थिए। उनले हाम्रा वरिपरिका केटाहरूलाई ‘ल विरोध गर्न जुलुसमा जानु पर्छद्व’ भनेर जम्मा गरे। नभन्दै बुढापाका, केटाकेटी जम्मै गरेर त्यो सानो गाउँमा डेढ दुई सयको जमात खडा भएछ र जुलुस विरोधको नारा लगाउदै गाउँबाट खोलातिर झर्योँ। हामी तल खोला किनार आइपुग्दा माथिबाट विरोधी आउदैछन् भन्ने सुनेका उनीहरू हतारहतार खाना खाएर हिडने तरखरपिट्ट लागेका रहेछन्। खोलापारी उनीहरू थिए र खोलावारी हामी। हाम्रा नाराहरू भद्र अभद्र दुवै किसिमका थिए। मालिकका बारेमा बनाइएका नारा सुनेर तानाशाही शाशकका भतुवाहरूलाई खपि नसक्नु हुने नै भयो र तीमध्ये केही हतियार र लाठा बोकी खोला तरेर आए र निहत्था मानिसमाथि हतियार चलाए। कति घाइते भए र लीलानाथ दाहालको त निधार नै फुट्यो। खोलावारी रगताम्य भएको देखेपछि कतिपय त खाना नै नखाई भागे।

ओखरबोटेली बरु पंच बने, कांग्रेस बनेनन्। सिरिसेलीले बरु राजनिति छोडे, पंच बनेनन्। बाँकी दाहाल भने यो वा ऊतिर समयानुसार ओहोरदोहोर गरिरहे। कालान्तरमा मादीबिर्ताका कांग्रेसीको विरोध पंचायतको विरोधमा रह्यो र कम्युनिष्टहरूको विरोध सधैं कांग्रेस विरुद्धमा रह्यो। वरपरको राजनितिले यसलाई केही पनि असर गरेन।

मादीबिर्तालाई चेतना मादी विद्यालयले दियो। यसका दुई पाटाहरू थिए। केटाकेटी त त्यहाँबाट शिक्षा प्राप्त गर्थे भने उनीहरूका अभिभावकहरू ती शिक्षक र त्यो शिक्षाको वातावरणबाट सँस्कृति विकास गरिरहेका थिए। ‘बालविवाह कुरिति हो या बालिकाशिक्षा आवश्यक छद्व’ भन्ने ज्ञान विद्यालय स्थापना हुने बित्तिकै देख पर्योा। केही वर्षको अन्तरालमै छोराछोरीको बिहेको उमेर ८।१० बाट बढेर १५।१६ मा पुग्यो। विद्यालयमा तुलानात्मक रूपमा केटीहरू देखा पर्न थाले। धामीझँाक्रीमाथिको विश्वास घटेर औषधी खोजिन थाल्यो। लोग्नेमानिसहरूले धकै नमानी कपाल छरी काट्न थाले। आइमाईहरूले बुलाकी फुकाले र सहरिया तालले काँधमा सारीको सप्को हाल्न शुरू गरे। दलितले बाटामनि ओर्लिएर बिर्तावाललाई ‘जदौ’ गर्न छोडिदै गयो। दाहालमुखियाहरूको मान घट्दै गयो। दलित र मुखियाका छोराछोरी एउटै बेन्चमा बसेर पढ्नु सामान्य ठानिन थाल्यो।

खानका निम्ति मादीबिर्तासँग कुकुरले पनि धानको भात खान पाउने गरी प्रशस्त धानखेती थियो। मादीबिर्ताको सख्खर त्यो बेला इलामदेखि खोटाङसम्म प्रसिद्ध थियो र सख्खर पर्याप्त मात्रामा बनाइन्थ्यो नगदेबालीको रूपमा। सम्पन्नतामाथि शिक्षाले सुनमा सुगन्ध थपी दियो। राजनितिले समाजलाई चेतनाको गति दियो। त्यो दुर्गम पूर्वको दुर्गम गाउँमा हुनै नसक्ने सामाजिक विकास भई रहेको थियो। दाहाल परिवार छिटो परिवर्तन हुदै थियो भने उनका मातहतका अरू समूहहरू पनि उनीहरूकै अनुशरण गरी रहका थिए तर पुरा गाउँ दाहालहरूका अधिनमा थियो, उनीहरूद्वर्‍ारा संचालित थियो र गाउँको नेतृत्व उनीहरूकै हातमा रह्यो सधैँ नै।

विक्रम संवत् २०१६ सालमा नेपाली कांग्रेस सत्तामा आएर बिर्ता उन्मुलनको निर्णय गरेपछि मादीबिर्ता बिर्ता रहेन, केवल एउटा नाम मात्र रह्यो तर यही ७।८ वर्षको अन्तरालमा नै ठुलो परिवर्तन आइसकेको थियो। विद्यालयको शिक्षाले युवाहरूलाई उच्चशिक्षाका निम्ति बाहिर निकाली रहेको थियो भने बिर्ता उन्मुलनपछि सम्पन्नहरू पुनस्थापनाका निम्ति बसाइँ सर्न थाले। पंचायती व्यवस्थाको चेपाइले कांग्रेसी बनेका सिरिसेली त अर्कातिर जोहो गर्न थाले नै, ओखरबोटेलीले पनि आफ्नो स्थान मादीबिर्तामा सुरक्षित देखेनन्। त्यही बाटो ठीक रहेछ भनि ठाने बाँकी दाहालले पनि। त्यो बसाइँसराइ यति छिटो र सामुहिक भयो कि सिरिसेली समूहका श्रीनारानका ५०० भन्दा बढी सन्तानमध्ये अब त्यो बेलाको मादीबिर्तामा ५० जना पनि बाँकी छैनन्। धेरथोर यस्तै छ हातल अरू समूहहरूको पनि। अहिले हेर्दा लाग्छ — मादीबिर्ताको त्यो दाहाल परिवार अहिले त ढुंगामा बजारेको काँचको गुच्चाजस्तै छिन्न भिन्न भएर संसारभरि छरिन पुग्यो र बिर्सदै गए सबैले त्यो मादीबिर्तालाई। म त्यहाँ नपुगेकै पनि दुई दशक नाघिसकेछ।

अब त नाम पनि फेरियो, गाउँ पनि फेरियो र केवल इतिहासमा मात्र रह्यो त्यो मादीबिर्ता।


समाप्त मादीबिर्ता

मेरो यात्रा
को पहिलो खण्ड
दोश्रो खण्ड

घरबाहिर

१ निष्क्रमण
२ धरानबाट विराटनगर
३ विराटनगर
४ विराटनगरबाट वीरगन्ज
५ वीरगन्जबाट काठमाडौँ
६ काठमाडौँको शुरू बसाइ
७ सहपाठीहरू
८ २०१५ साल
९ २०१७ साल
१० २०१८ साल
११ मेरो हेतौडा बसाइ
१२ विदेशयात्राको तयारी

तेश्रो खण्ड

देशबाहिर