index
----
home
मेरो जीवनयात्रा
पहिलो खण्ड

मादीबिर्ता

१ हाम्रो घर
२ मादीबिर्ता
३ मेरा बाबु
४ मेरो पहिलो शिक्षा
५ मेरी बजै
६ अन्त्येष्टि र अंशबण्डा
७ आङ्लभाषाको प्रवेश
८ समाजमा असर
९ चैनपुर बजार
१० आयो कांग्रेस
११ २००७ साल
१२ मेरो बिद्यालय
१३ मेरी आमा
१४ हाम्रो व्रतबन्ध
१५ विद्यालय र शिक्षक
१६ हाम्रा अन्तिम वर्ष
१७ मेरी पत्नी
१८ म आफै
१९ समग्रमा मादीबिर्ता
पहिलो खण्ड

बाल्यकाल


हाम्रा शिक्षक र हाम्रा अन्तिम वर्ष

हाम्रा निम्ति ल्याइएका बंगाली शिक्षकहरू शारीरिक र वौद्धिक दुवै रूपमा आ–आफ्ना किसिमका थिए। सुधिन्द्रमोहन मजुम्दार अर्थात् सुधिनसर मध्यवयका, गोरा, मोटा, कम बोल्ने, गद्दरधारी र परिष्कृत बंगाली मोसाइ थिए। उनी राजनितिका कुरा गर्थे र शिष्ट कुरा गर्थे। आवश्यकताभन्दा परको कुरा उनी गर्दैनथे। उनी हिन्दी हामीले बुझ्ने गरी राम्रै बोल्थे तैपनि हामीलाई पढाउदा उनी हिन्दीभन्दा अंग्रजी प्रयोग गर्न रुचाउथे। उनको पढाउने विषय पनि अंग्रेजी नै हुन्थ्यो। हामीलाई लाग्थ्यो सुधिन्द्रसर हामीसँग नमिल्ने सार्‍है कडा सर हुन् तर पछि ठुलो भएपछि मैले बुझेँ कि सुधिन्द्रसर त बंगाली भद्रलोकका एउटा नमुना रहेछन् जो हामीलाई त्यो समयको भारतिय समाजको वंगाली सँस्कृतिको एउटा पक्ष देखाउने प्रयाश गर्थे। हामी विद्यार्थीमा उनलाई बुझ्न सक्ने क्षमता थिएन र हामीले उनलाई बुझेनौ। हाम्रा अभिभावकहरूमा पनि थोरैले मात्र उनलाई त्यही रूपमा बुझे होलान्।

तीस वर्ष पनि नकाटेका मृणालसरको चरित्र सुधिन्द्रसरसँग पटक्कै मिल्दैनथ्यो। उनी दुब्ला, श्यामवर्णका, उमेरको हिसावले तालु निकै खुइलिएका र वाचाल थिए। उनी सुकिलो सानफाराइज मलमलको धोती र कुर्था लगाउथे। अंग्रेजी त उनी जान्दथे। उनको हिन्दी भने हाम्रा अभिभावकहरूको ‘हाम भात खाता है’ जस्तो हिन्दी जत्तिको पनि थिएन। त्यसैले उनले आएकै दिनदेखि नेपाली बोल्न सिक्ने प्रयाश गरे र वर्ष दिनभित्रै उनी नेपाली बोल्न र लेख्न पोख्त मात्र भएनन् कि ठेट उखान र टुक्काहरू हाल्न समेत सक्ने भए।

मृणालसरले हामीलाई शिक्षा दिए। विद्यालयको शिक्षा उनले सबै शिक्षकलेजस्तो दिए नै र त्यही शिक्षाको आधारमा नै मैले एस एल सी उत्तिर्ण गरेको हुँ जस्तो लाग्छ मलाई तर मृणालसरको शिक्षाले त्यो समयको मादीजस्तो एउटा अन्धकार कुनाबाट संसारको खुला आकाशमा विचरण गर्न सिकाइ दियो। मेरो निम्ति त घर र गाउँ नै एउटा संसार थियो र धर्म, सँस्कृति, कला, विज्ञानका सीमाहरू त्यही गाउँभित्र नै सीमित थिए भने पुस्तकालयबाट सिकेको ज्ञान किताबमा नै सीमित। मृणालसर त एउटा सीमारहित विश्वबाट ओर्लिएका थिए, मेरा किताबका जीवित उपमा थिए। उनले बयान गरेको कलकत्ता सहरको विशालता म कुवाका भ्यागुताका निम्ति भैसीको विशालताभन्दा पनि बुझ्न नसकिने थियो। मृणालसरको वर्णनमा परेका ती रेल, मोटरगाडी, हवाइजहाज, पानीजहाज, पनडुब्बीजहाज सबै मैले रामायण महाभारतामा पढेका उडन्ते रथ र पुष्पकविमानभन्दा कम लाग्दैनथे। उनले भोगेको बंगाल विभाजनको त्राशदि सुन्दा धर्मप्रति अनास्था र जातिभेदप्रति घृणा मेरो मनमा त्यही बेला भरियो र मेरो गाउँघरमा यो ‘फलानको खाल र ऊ चिलानाको’ भन्ने भावना यही अन्त्यहीन विभाजनको परिणाम हो भन्ने ठान्छु। इतिहासका विभिन्न कालखण्डमा संसारमा भएका सबै युद्धका बारेमा बयान गरे। विभिन्न सभ्यताको ज्ञान दिए। हाम्रा टाउकामा अटाउन सक्नेजति सबै कुरा पोखिदिए उनले हाम्रा अगाडि। हाम्रा लागि उनी गर्व गर्न योग्य चिरस्मरणिय शिक्षक भए उनी।

बंगालीसरहरू हामीकहाँ केवल दुई वर्षमात्र बसे तर यति छोटो समयमा पनि मैले उनीहरूबाट र विशेष गरेर मृणालसरबाट लामो समयको निम्ति दिग्दर्शन पाएँ। विश्व कति ठुलो छ? मानिस कसरी बाँच्छन्? पेशा के हो? एउटा डाक्टर या इन्जिनियर के हो र यसको निम्ति तयारी कसरी गरिनु पर्छ? ज्ञान कति विशाल छ र त्यो कसरी प्राप्त गर्ने? यो सबैको बाटो मृणालसरले नै देखाएका हुन्। उनले देखाएको बाटोमा हिडदा हिडदै हनिबलदेखि हिटलरसम्म, प्लाटोदेखि मार्क्ससम्म, कुर्मदेखि बुद्धसम्म, कपिलदेखि रजनिशसम्म मैले अन्यहीन ज्ञानको स्रोत पत्ता त लगाएर उ पलब्धि हासिल गरे पनि यो मेरो समाज अनुरूपको व्यवहारिक भने बन्न सकिनँ तर यसको दोष उनलाई छैन। म आफै सांसारिक हुन नसकेको मात्रै हो।

दुई वर्षपछि बंगालीसरहरू गए र उनीहरू जाँदा मलाई विछोडको दुख नलागे पनि अगाडि पढाइ हुन नसक्ने कुरा भने खट्कियो। अभिभावकहरूले फेरि प्रयाश गरेर अर्का शिक्षक रघुनाथप्रसाद बर्मालाई लिएर त आए तर बर्मासरमा मृणालसरमाजस्तो विशाल क्षमता र ज्ञान थिएन र भएको ज्ञान पनि हामी विद्यार्थीहरूलाई बुझ्न सक्ने गरी वाख्या गर्न सक्दैनथे। परिक्षाका निम्ति अत्यावश्यक ठानिने अंग्रजी र हिसाब पढाउन उनी सक्दैनथे। जब हामी नवौं कक्षामा गएँ हामीसँग विषय पढाउन सक्ने शिक्षक थिएनन्, कुनै गाइड पनि थिएन र कति विषयमा त पाठ्यपुस्तकसम्म पनि थिएनन तैपनि हिम्मत हारेनौ हामीले। म त स्वाध्यायनमा दिनभर ढोका थुनेर पढेर बसें। रातभर टुकीको धुवाँको मुस्लोमा घोत्लिएँ।

वि.सं. २०१३ सालमा म दशौं कक्षामा उक्लिएँ। के उक्लिएँ भन्नु, दशौं कक्षामा चढाइएँ। जो शिक्षक थिएँ तिनैबाट पढियो या पढे झैं गरियो। आषाड, श्रावण बर्खेछुट्टी सिद्धिएपछि म मेरी विरामी आमालाई उपचारको निम्ति भारत परेपछि दशैंताकामात्र घर फर्किएँ।

हामी दशौ कक्षामा उक्लिएपछि हाम्रा अभिभावकका निम्ति हामी समस्या भयौं – जाँच दिलाउने कसरी? तर यसको समाधानमा उनीहरूले विद्यालयलाई हाइ स्कूल(आजको माध्यमिक विद्यालय)को मान्यता दिलाउन समर्थ भए। पं.अनन्तराम त्यो बेलाको नेपाल सरकारको विद्यालय सहायक निरिक्षक भएका र पण्डितबाको विद्यालय निरिक्षक केशवलाल जोशीसँग गहिरो मित्रता भएकोले नै मान्यता पाउन सकेको थियो हाम्रो विद्यालयले। अब हामी आफ्नै विद्यालयमा टेष्ट परिक्ष दिएर फारम भरी धनकुटा केद्रबाट परिक्षा दिन पाउने भएका थियौं। आजका दिनका हिसाबले त हाम्रो विद्यालयको त्यो क्षमता पाउन सक्ने क्षमता अवश्य थिएन तर सो समयमा एउटा विद्यालय स्थापना गरेर त्यसलाई दश कक्षासम्म कायम राख्न सक्नु नै एउटा ठुलो उपलब्धि थियो।

फारम भर्दाको समयमा विद्यालय निरिक्षक केशवलाल जोशी र सहायक निरिक्षक पण्डितबा विद्यालय निरिक्षणमा आए। मादि विद्यालयले मान्यताको स्वीकृति पायो र चैनपुर विद्यालयले नपाएको कुरा थाहा पाउने बित्तिकै चैनपुरका २०।२५ जना सुकिलामुकिला हाम्रै विद्यालयमा भएका विद्यालय निरिक्षकालाई घेर्न आइपुगे। हामी केटाकेटी बीच विद्यालय निरिक्षकलाई कुट्न आएका भन्ने हल्ला चले पनि उनीहरू दवाव दिनमात्र आएका हुन् भन्ने प्रस्ट थियो। उनीहरूको दवाव पनि स्वाभाविक र न्यायसंगत लाग्छ अहिले मलाई। झण्डै उस्तैउस्तै स्थितिमा रहेका दुई विद्यालयमध्ये पहिले खुलेकोले नपाउने र पछि खुलेको विद्यालय स्वीकृति पाउने कुरा चित्त बुझ्दो पनि हुन सक्दैनथ्यो। फरक कति मात्र थियो भने आँटेपछि एक्लै भए पनि गरिहाल्नु पर्ने गाउँले सामन्ती स्वभाव र सबैको चित्त बुझाएर काम गर्न खोज्ने बजारिया मनोवृत्ति नै ती दुई विद्यालयका असमानताका कारक भएका परिणाम थियो त्यो नत्र त पं.अनन्तरामभन्दा धेरै शक्तिशाली मानिसहरू चैनपुर बजारमा र बजारियाका नातागोताभित्र पर्याप्त थिए। आखिर विद्यालय निरिक्षकले त्यो वर्ष धनकुटाको टेष्टमा सामेल भएर फारम भर्ने र अर्को वर्ष विद्यालयलाई नै स्वीकृति दिएर त्यहीबाट फारम भराउने गरी समस्या समाधान गरि दिए।

एस.एल.सी.को फारम हामी म, पिताम्बरकाका(पिताम्बर दाहाल), केदारकाका(केदारनाथ दाहाल मेरा, काकाबाजे), सेवन्तकाका(सेवन्तराज दाहाल) ले भरेका थियौं तर जाँच दिन जाने म र पिताम्बर काका मात्र भयौं। माघको महिनामा आमाहरूले पोको पारिदिएको दाल, चामल, चिउरा, गुन्द्रुक, सिन्की, घिउ, अचार आदि भरियालाई बोकाएर हामी धनकुटा केन्द्रतिर लाग्यौं। पकाइ दिने भान्से साथै थियो। हामी परिक्षा त्यहीबाट सिध्यायौं।

धनकुटाको बसाइमा मलाई असर पार्ने दुई घटनाहरू भए। एस.एल.सी.को निम्ति अतिरिक्त विषयमा गणित लिने चाहना हुदाहुदै पनि शिक्षकको अभावले मैले त्यो विषय लिन पाइनँ। बर्मासरले पढाउन सक्ने नागरिकशास्त्र विषय लिएको थिएँ अतिरिक्त विषयमा। विशेष अतिरिक्त विषय अर्थशास्त्र लिइयो र त्यो विषय उत्तिर्ण हुन नसके पनि केही असर नपर्ने हुनाले त्यसमा खास महत्व पनि दिइएन। हो, अलि परिश्रम गरेको खण्मा उत्तिर्णाङ्कभन्दा बढी अङ्क परिक्षाफलामा जोडिन सक्ने हुनाले मात्र विशेष अतिरिक्त विषय लिई टोपलेका थियौं। अरू सबै विषयको परिक्षापछि अर्थशास्त्रको जाँचमा त केही लेख्नै पर्ला भनेर परिक्षाको अघिल्लो दिन पण्डित अनन्तरामबाका हाकिम र मित्र केशवलाल जोशीकहाँ हामी पढाइ माग्न गयौं। उनले लामो समय लिएर हामीलाई धेरै कुरा व्याख्या गरिदिए। उत्पादन, उपभोेग, विनिमय, वितरण, पूँजि, श्रम, माग, आपूर्ति यी सबै कुरा सरल तरिकाले प्रस्ट हुने गरी बुझाई दिए। श्रम र पूँजि बीचको द्वर्‍न्दलाई व्याख्या गरेपछि हामी दुवैलाई सोधे – “भन त। उत्पादनको मुनाफामाथि श्रम र पूँजिमध्ये कसको अधिकार बढी हुनु पर्छ?”

पिताम्बरकाकाले दलिल दिए “श्रमको किनकि पूँजिको अधिकार भयो भने मजदुरको शोषण हुन्छ। मुनाफाको हकदार श्रम हो।”

मैले आफ्नो तर्क अघि सारेँ – “पूँजिको किनकि श्रमको अधिकार आफ्नो पारिश्रमिकसम्ममा मात्र सीमित हुनु पर्छ। मुनाफामाथि पूँजिको अधिकार नहुने हो भने भोलि कसैले पनि लगानी गर्दैन र मजदुरले आफ्नो श्रम बेच्ने मौका पनि पाउदैन।”

केशवलाल जोशीले पिताम्बरकाकालाई साम्यवादीको संज्ञा दिए र मलाई पूँजिवादीको। मैले त मनमा लागेको कुरा भनेको थिएँ। त्यसैले साम्यवादी भनिदा प्रगतिशिल ठानिने त्यो जमानामा एउटा विद्वानबाट त्यो तल्लो स्तरको पूँजिवादीको तक्मा पाउदा मेरो चित्त त दुख्यो तर भन्न भने केही भनिनँ।

हाम्रो परिक्षा भइरहेकै समयमा पूर्वाञ्चल भ्रमणको शिलशिलामा धनकुटामा राजा महेन्द्रको सवारी भयो। लीलानाथबाले हामी दुई जनालाई मादी विद्यालयका विद्यार्थीका तर्फबाट प्रतिनिधित्व गरेर राजको दर्शनभेट गर्ने व्यवस्था मिलाइ दिए। राजाका परोक्षमा आफूलाई राजाभन्दा कम नठान्ने राजाका पार्श्ववर्ती जर्नेलहरूले राजाकासामु गरिने व्यवहारको अभिनन्दन गर्न लगाए तर राजाका पालभित्र छिर्ने बित्तिकै त्यहाँ भित्रकोजस्तो बिजुलीको प्रकाश कहिले पनि नदेखेका ठिटाहरू त्यो प्रकाशले नै आत्तियौं भेट गर्न आउनेसँग कुनै भावनात्मक सम्बन्ध नभए झैं देखिने राजाको शालिकजस्तो संगमरमरी अनुहारकासामु के भन्यौ? के भनेनौ? त्यो मलाई सम्झना छैन। म यति मात्र सम्झन्छु कि ‘अब सकियो, सकियो’ भन्दै पार्श्ववर्ती जर्नेलहरूले हामीलाई तान्दै बाहिर निकाले। त्यो भेटपछि त मेरो निम्ति राजा काठमाडौंका चौबाटोमा उभिएका राजाहरूका शालिकभन्दा फरक कहिले पनि लागेनन्। मेरी बजैको काखमा थालेका कखहराको थालनी मैले पन्द्रह वर्षपछि चार महिनाका लागि थन्क्याएँ। पिताम्बरकाका मभन्दा स्थिर, मेहनती भएका र म चंचल र मेहनत नगर्ने हुनाले पिताम्बरकाकाले दोश्रो श्रेणी ल्याउने र मैले पाससम्म गर्न सक्ने आशा राखेका थिए तर नियतिले अकैं फैसला गरिदियो – पिताम्बरकाकाले तेश्रो श्रेणी पाए र म दोश्रो श्रेणीमा उत्तिर्ण भएँ।

यसपछि मेरी पत्नी

दोश्रो खण्ड

घरबाहिर

१ निष्क्रमण
२ धरानबाट विराटनगर
३ विराटनगर
४ विराटनगरबाट वीरगन्ज
५ वीरगन्जबाट काठमाडौँ
६ काठमाडौँको शुरू बसाइ
७ सहपाठीहरू
८ २०१५ साल
९ २०१७ साल
१० २०१८ साल
११ मेरो हेतौडा बसाइ
१२ विदेशयात्राको तयारी

तेश्रो खण्ड

देशबाहिर