index
home
मेरो जीवनयात्रा
पहिलो खण्ड

मादीबिर्ता

१ हाम्रो घर
२ मादीबिर्ता
३ मेरा बाबु
४ मेरो पहिलो शिक्षा
५ मेरी बजै
६ अन्त्येष्टि र अंशबण्डा
७ आङ्लभाषाको प्रवेश
८ समाजमा असर
९ चैनपुर बजार
१० आयो कांग्रेस
११ २००७ साल
१२ मेरो बिद्यालय
१३ मेरी आमा
१४ हाम्रो व्रतबन्ध
१५ विद्यालय र शिक्षक
१६ हाम्रा अन्तिम वर्ष
१७ मेरी पत्नी
१८ म आफै
१९ समग्रमा मादीबिर्ता
पहिलो खण्ड

बाल्यकाल


२००७ साल

संचारशुन्य देेशमा भएको क्रान्तिको अनुभव पनि ठाउँठाउँमा, व्यक्तिव्यक्तिमा फरकफरक नै पर्‍यो। काठमाडौं उपत्यकाले श्री ५ र श्री ३ को झगडा ठान्यो। तराइको बजारले यसलाई ‘भारत छोडो’ आन्दोलनको एउटा चोइटो मान्यो। पहाडी बजार तत्कालिन राजाको शाशन डग्मगायो भनी सोचे। घट घट बुद्धि भयो सबैको तर जसले नेतृत्व गरे उसलाई आफ्नो लक्ष थाहा थियो तर उनीहरूका पछि लाग्नेले त बुझ्ने कुरा पनि भएन। हरेक क्रान्तिमा पिछलग्गुले ‘यो क्रान्ति सफल भएमा मलाई फाइदा हुन्छ’ भन्ने मात्र बुझे झैं २००७ सालको क्रान्तिका पिछलग्गुले पनि तात्कालिन जीवनभन्दा धेरै धेरै सुख पाइने आशाले पछि लागेका थिए क्रान्तिको। क्रान्तिका अग्रणीहरूले ‘सर्वे भवन्तु सुखिनः’ को नारा दिएकाले सर्वसाधारणले त क्रान्तिले रामराज्य नै ल्याउने आशा राखेका थिए।

मेरो घरको अँगेनो, दलान र आँगनमा पनि ती आश्वासन र आशाहरू छरिएका थिए। गाउँका दमाई, कामी, सार्कीहरू हाम्रो ठुलो आँगनमा बसेर भन्थे – “बुझ्नुभयो, विष्ट नानी हो ! कांग्रेस आएपछि सबै एक छत्त हुन्छ रे।” उनीहरू जन्मदेखि नै अलग्याइएका र बाटामनि पुर्‍याइएका पीडित थिए र ती उठबस र खानलाउनसमेत विष्टहरू सरह हुने आशा राख्थे।

“धनीको घरजमिन खोसेर गरीबलाई बाँडि दिन्छ रे।” – घरको दलानमा असम्पन्नहरूको कचहरी चल्दथ्यो। प्रत्येकले आफूलाई आफूभन्दा बढीहुनेभन्दा गरीब ठान्थ्यो। प्रत्येकलाई डर थियो आफूभन्दा असम्पन्नको र प्रत्येकलाई आफूभन्दा असम्पन्न पनि देख्दथ्यो।

आँगन, दलानमाजस्तै अँगेनो पनि तातेको हुन्थ्यो गफले। सो अँगेनो वरिपरि आफन्तह194रू मात्रे भेला हुन्थे र त्यहाँ श्री ३ त्यसै कहाँ हार्छन् र? भनेर ठोकुवा पनि गरिन्थ्यो।

“चैनपुर जित्यौं भनर २।४ दिन बाँसका भाटा ठटाउदैमा राजाको शाशन ढल्छ? पल्टन आएर धुल्याउछ सबैलाई।” – भन्थे हाम्रा कतिपय बुज्रुगहरू र मानिसका आशा, निराशाहरू कांग्रेस आउनु, नआउनुसँग थुप्रै जोडिएका हुन्थे। अरू त अरू, भविष्य अन्धकार भइसकेका विधवा बाहुनीहरूसमेत लाज मानेर हाँस्दै आशाको एउटा झनो त्यान्द्रो तानेर आफसमा भन्थे – “कांग्रेस आएपछि त राँडीहरूको पनि बिहे गरिदिन्छ रे।”

चैनपुर विजयपछि तेरथुम सर गर्न हाम्रा अभिभावक लोग्नेमानिसलाई जबरजस्ती स्वयम्सेवकभन्दै सेनासँग मिसाइयो र हातमा फगत लौरो बोकेका मानिसहरूलाई ५।७ जना थ्री नट थ्री बोकेका जवानहरूले अगाडि लगाएर लिएर गए। आइमाई केटाकेटीको रुवावासी नै चल्यो। बाँच्नेभन्दा पनि मर्ने संभावना बढी ठानेका ती लोग्नेमानिसले आफ्ना परिवारलाई हिसाब किताब बुझाएर निस्किएका थिए तर भाग्यवस ताप्लेजुङ या धनकुटातिरबाट आएको पल्टनले तेरथुम कब्जा गरिसकेकाले ती लाठीधारी गाउँलेहरूले बन्दुकधारी सिपाहीसँग लड्नु परेन र उनीहरू सकुशल गाउँ फर्किए।

पूर्वी पहाडी क्षेत्रमा आन्दोलनले अराजक रूप लिइसकेको थियो। पुरानो व्यवस्था अन्त्य भएको थियो र नया स्थापित हुन सकेको थिएन। त्यसमा पनि आठराई, ताप्लेजुङ, पाँचथर र तेरथुम क्षेत्रमा लुटपाट, बलत्कारका घटना दिनदिन भइरहेका सुनिन थालेको थियो। अराजक लिम्बुसमूहद्वारा सो क्षेत्रका छेत्रीबाहुनहरू आक्रमण गरिए, पिटिए, लुटिए र बलत्कृत भए। शरणार्थीकेा ओइरोमध्ये कति भारत पसे, कति तराइ ओर्लिए र कतिपय हाम्रै गाउँतिर पनि आए। जिम्मेवार र बुज्रुग लिम्बुहरूले पनि त्यो अराजक समूहहरूलाई रोक्न सकेनन्। अन्ततः त्यो हाहाकारको समयमा बाहुन, छेत्री र नेवार समुदायले बुझे कि कहिले पनि हातले खुकुरी ननचाएका ती जातीले त्यो अराजकता हुन नदिन र भए साम्य पार्न सक्दैनन र स्थानिय सुरक्षाको जिम्मेवारी बोक्न त्यही ठाउँकै बुज्रुग राई या लिम्बुलाई अघि सार्नु पर्छ। मैले थाहा पाएसम्म त्यही निति अनुरूप नै सो समयमा भोजपुरदेखि इलामसम्मका सबै पहाडी सदरमुकाममा सकेसम्म राई र लिम्बुलाई नै स्थानिय प्रशाशक नियुक्त गरेर सबै हातहतियार र सिपाही उनीहरूका मातहतमा राखियो।

चैनपुर इलाका लिम्बु वाहुल्य इलाका नभए पनि बराबरी जनसंख्याका नेवार, डेढ गुणा जनसंख्याका बाहुन, चार गुणा बढी जनसंख्याका छेत्रीले पनि नेतृत्वको निम्ति लिम्बुलाई नै अघि सारे। लिम्बुको तुलनामा झन्डै पाँच गुणा बढी जनसंख्या भएका राइहरूले पनि नेतृत्वको दाबी गरेनन्। त्यसअघि पनि हातमा ठिंग्रोमुंग्रो हातमा लिएका लिम्बुहरूले त्यो लिन खोज्नु पनि स्वाभाविक नै थियो। केवल बिर्तावाल मुखिया भएका दाहालहरू लिम्बुको आधिपत्य अस्विकार गर्न सक्थे तर उनीहरू पनि त्यो आपत्तिजनक स्थितिमा त्यसलाई अस्विकार गर्नुको कुनै अर्थ देखेनन्। बरु बाहिरी आक्रमण भएमा त्यसको सामना गर्न गाउँमै गोप्य संगठन बनाए र भएका भरुवा बन्दुकजस्ता हतियार पनि जम्मा गरे।

चैनपुर बजारमा लुटमार, बलत्कारजस्ता सामुहिक अपराधहरू हुन पाएनन्। अरू ठाउँमा सानातिना घटना भइहाले पनि हाम्रो गाउँमा त झन् केही भएन। शायद गोप्य संगठनको कारणले पनि नभएको हुन सक्छ। त्राशको वातावरण भने व्याप्त थियोे हाम्रो गाउँमा पनि। डाँडापारिबाट आउदै छन् रे लुट्न भन्ने हल्ला बराबर आइरहन्थ्यो। मेरी आमाले आफूसँग भएको माखोमुन्द्रो कहिले मजेरीमा त कहिले चुलो चौकीमा त कहिले अँध्यारो भँडारमा खाल्डो खनेर पुर्ने र झक्ने गर्थिन्। बारीका गरामा खाल्डो खनेर थोत्रा हाँडाभाँडा पुर्न लगाउथिन्। आपत्तिको समयमा लोग्नेमानिस नभएको घर कहालीलाग्दो हुन्थ्यो। कसैको आडभरोसा हुदैनथ्यो। लोग्नेमानिससँग बोले पनि बात लाग्ने जमानामा राँडी आइमाईको सहारा को पो हुन सक्थ्यो र ?

हाम्रो गाउँमा श्री ३ सरकारको पल्टन आयो। हामीले सुन्यौ – ‘ धनकुटाबाट खटाइएको पल्टन तेरथुम कब्जा गरेर चैनपुर सर गर्न हिडेको रे। अघिल्लो दिनसम्म कांग्रेसको शाशनमा रहेको गाउँ एकै दिनमा फेरि श्री ३ को शाशनमा फर्कियो। पल्टन ३।४ सयको थियो भने पनि म त्यसलाई अतिशयोक्ति ठान्छु। चैनपुर जित्न त्यत्रो पल्टनको आवश्यकता पनि थिएन र त्यत्रो पल्टन धनकुटाले त्यो समयमा पठाउन पनि संभव थिएन। अहिले सम्झदा त्यति ठुलोजस्तो पनि लाग्दैन। ५०।६० जना भने अवश्यै थिए। पल्टन ठुलो नभए पनि उनीहरूले गाउँलेमाथि ठुलै त्राश सिर्जना गरे। जिम्मावालकहाँ बास बसेर निस्केको पल्टनले बाटोमा बन्दुक चलाएर चरनका १।२ बाख्रापाठा र पाडा ढाले र सो बन्दुकको आवाज र जानवरको मृत्युले गाउँलेलाई भयभित बनायो। त्यसमा पनि ‘पहिले चैनपुरेलाई सिध्याऊँ अनि कांग्रेस भएका बिर्तावाल मादीलेको पालो आउँछ’ भन्दै हिडेपछि गाउँलेहरूको मनस्थिति कस्तो भयो होला ? यसै अन्दाज गर्न सकिन्छ।

कप्ता रत्नबहादुर लिङथेप चैनपुर इलाकाका प्रशाशक थिए। पाको उमेर र प्रशाशनिक अनुभव शुन्य भएकाले उनले आफ्ना वरिपरि बस्ने वारीपारी गाउँ र बजारका ठुलाठालुहरूको सल्लाहमा चल्नु पर्ने कुरा निश्चित थियो। यो भनाइ मैले सुने अनुुसार, चैनपुर बजार आक्रमण गर्ने श्री ३ को फौज मादीबिर्ताबाट हिडिसक्दा पनि उनका सल्लाहकारहरू लडाइ गर्ने कि सरेन्डर गर्ने भन्नेमा विभाजित नै थिए र उनी अनिश्चित नै थिए रे। जे होस सरेन्डर नगर्ने पक्षले हात माथि पार्‍यो र गोली पड्केको आवाज हामीले पनि सुनेका थियौं। सबैले सोचेका थिए – ‘श्री ३ को पल्टनले जित्छ’ तर पल्टनले जितेन। अघिल्लो दिन गाउँ नै थर्काउदै हिडेको पल्टन भोलिपल्ट बिहान टुक्रा टुक्रामा छरपस्ट हुदै त्यही बाटो फर्कियो र हातमा गोली लागेको पल्टनको नाइके २।४ जना सिपाही साथमा लिएर बिहानको खाना माग्न हाम्रै घरमा आइपुग्यो। उनीहरूको स्थिति परदेशमा लखेटिएको कुकुरकोजस्तै थियो। पछाडि कांग्रेसी फौज लखेट्दै आइरहेको छ भन्ने हल्लाको डरले उनीहरू गुन्द्रुकसँग काँचो भात खाएर भागेका थिए। समय सापेक्षको तालिमप्राप्त त्यति ठुलो पल्टन २।४ नाल बन्दुक बोकेका स्वयम्सेवी आलाकाँचाबाट कसरी पराजित भए? त्यसको उत्तर कहिं पनि मैले सुनिनँ र कसैले भनेकै भए पनि मैले बुझनँ।

आन्दोलन हाम्रो लागि रमाइलो थियो। पहिलो त, हामीले पढ्नु पर्दैनथ्यो। दोश्रो, आफ्ना दौंतरी र भाइबहिनी जम्मा भएर लालुपातेका हाँगाहरू हल्लाउदै जिन्दावाद र मुर्दावाद नारा लगाएर आन्दोलनको खेल खेल्न हामीलाई पनि रमाइलो लाग्ने नै भयो। तेश्रो, डाँडापारि भएका लुटमार र बलत्कारका कथाहरू हाम्रो बाटाको घरमा बास बस्न आउनेहरूले राक्षस र भूतका कथाजस्तै बढाइचढाइ सुनाउदा हामी त्रशित र रोमाञ्चित हुन्थ्यौं।

हाम्रो गाउँमा लुटपाटको आन्दोलन भएन। आमाले जमिनमा गाडेका माखोमुन्द्रो र थोत्रा हाँडाभाँडा झकेर थन्क्याइन्। म सानो र अबुझ भएकाले होला मलाई २००७ सालको आन्दोलन त चैनपुर बजारमा बर्षैपिच्छे मनाइने गाईजात्रा जत्तिको रमाइलो पनि लागेन। त्यो आन्दोलनको तत्काल त कुनै प्रभाव देखिएन तर एक दशकपछि भने त्यो आन्दोलनको प्रभाव प्रस्ट देखिन थाल्यो। आन्दोलन अघि बोल्नै नसक्नेहरू आन्दोलन पछि खुलम्खुल्ला आफ्ना असंतुष्टिहरू अभिव्यक्त गर्न थाले र ती अभिव्यक्तिहरू कुनै खास विषयवस्तुमा सीमित नभई धर्म, जात, न्याय, अन्याय, छुवछुत, असमानता, गरीबी सबैजसोमा हुन थाले। अघिल्लो दिनसम्मका सर्वशक्तिवान श्री ३ निकालिए भन्ने जानेपछि मानिसको राजसत्ताप्रतिको आस्था र त्राश पनि मेटियो। राजसत्ताप्रतिको आस्था यति खुकुलो भयो कि ताप्लेजुङ लिम्बुवहुल क्षेत्रमा ‘श्री ५ र श्री ३ का बीचको श्री ४ को सरकार हौं हामी’ भन्दै लुटपाट मच्चाउदै हिडने समूहलाई दमन गर्न फागुन ७ गते पछिको सरकारले त्यो समूहको नाइकेलाई गोली मानेर मार्‍यो रे भन्ने मैले त्यही बेला सुनेको हुँ। त्यो व्यक्तिको नाम भने मलाई थाहा छैन।
यसपछि मेरो विद्यालय

दोश्रो खण्ड

घरबाहिर

१ निष्क्रमण
२ धरानबाट विराटनगर
३ विराटनगर
४ विराटनगरबाट वीरगन्ज
५ वीरगन्जबाट काठमाडौँ
६ काठमाडौँको शुरू बसाइ
७ सहपाठीहरू
८ २०१५ साल
९ २०१७ साल
१० २०१८ साल
११ मेरो हेतौडा बसाइ
१२ विदेशयात्राको तयारी

तेश्रो खण्ड

देशबाहिर