index
----
home
मेरो जीवनयात्रा
पहिलो खण्ड

मादीबिर्ता

१ हाम्रो घर
२ मादीबिर्ता
३ मेरा बाबु
४ मेरो पहिलो शिक्षा
५ मेरी बजै
६ अन्त्येष्टि र अंशबण्डा
७ आङ्लभाषाको प्रवेश
८ समाजमा असर
९ चैनपुर बजार
१० आयो कांग्रेस
११ २००७ साल
१२ मेरो बिद्यालय
१३ मेरी आमा
१४ हाम्रो व्रतबन्ध
१५ विद्यालय र शिक्षक
१६ हाम्रा अन्तिम वर्ष
१७ मेरी पत्नी
१८ म आफै
१९ समग्रमा मादीबिर्ता
पहिलो खण्ड

बाल्यकाल


अन्त्येष्टि र अंशबण्डा

अन्त्येष्टि र अंशबन्डा मेरी बजै देवी थिइनन् त राक्षसी पनि थिइनन् तर मानिस मानिसको सोच र समझ अनुसार उनलाई देवी पनि बनाए र राक्षसी पनि माने। नत्र त मेरी बजै सबल इच्छाशक्ति, दूरदर्शिता भएकी र समयानुकूल बाँच्न सिकेकी एउटी आइमाई मात्र हुन्। उनी बाँचुन्जेल सिंहजस्तै सान लिएर बाँचिन् र मरेपछि त बाघको छालामा स्यालको पनि रजाइँ चल्दो रहेछ र छालामा अधिकार जमाउन स्यालहरू ङार्रङुर्र गर्दै झगडा गर्दा पनि रहेछन्।

मेरी बजैको अन्त्येष्टिका लागि उनको सम्पत्तीको कमी थिएन तैपनि उनको काजक्रियाका निम्ति पैसा कसले निकाल्ने भन्ने कुरामा उनका छोराहरूको विवाद हुन्थ्यो। पाइला पाइलामा पैसाको आवश्कता थियो। शेष गंगामा पुर्‍याउन, काजक्रियाका सामानहरू किन्न, दान गर्न आदि सबै कामका निम्ति पैसा चाहिए पनि छोराहरू बजैको बाकस खोलेर पैसा निकाल्ने आदेश दिन सक्दैनथे। आफ्नो अनुपस्थितिमा अर्कोले पाएर दमपच गरिदेला भन्ने डर थियो उनीहरूमा र वास्तवमा अर्को कसैले पाएमा दमपच नगरिदेला भन्ने पनि थिएन। बाघको छाला थियो र मौका पाए, छोराबुहारी मात्रै किन?, छोरीजुवाइँ, नातिनातिनी, इष्टमित्र, छरछिमेक कसैले पनि गरिदिन सक्थ्यो दमपच। तीस वर्षपछि हामी दुई दाजुभाइको अनुपस्थितिमा हाम्री आमाको मृत्यु हुदा बाघको छालामा रजाइँ गर्नेहरू थुप्रै निस्किएको हामीले पाएका थियौं। अन्तकारी मृत्यु भने पनि मर्नेका निम्ति पो अन्तकारी थियो त बाँच्नेका निम्ति त मृत्यु दिनदिनै भइरहने घटनामध्ये एक थियो र सो घटनामा सबै आफ्नो नाफानोक्सान मात्र हेरिरहेका थिए। साँझ पर्दा त मेरी बजैलाई सबैले बिर्सिसकेका थिए र मलामी फर्केपछि पनि मेरी कान्छी फुपू रोइरहेकी देखेर भाउजूहरूले हप्काएका थिए ― “के रोइरहेकी, ए नानी? मर्ने मरिहाल्नु भयो। अब रोएर फर्कने हो र?”

कान्छी फुपूको आँशु रोकियो वा रोकिएन त्यो थाहा भएन तर उनी भाउजूहरूकासामु रोइनन्। त्यो भनाइले मैले यस अर्थमा बुझें कि लाश नचलाउन्जेल मानिस त्यो लाश बिउँझहाल्छ कि भनेर रुँदा रहेछन् अन्यथा रुनुको कुनै अर्थ रहेनछ।

किरिया गर्न कोराभित्र बसेका मेरा बडाबाहरू राडी ओडेर परालका ओछ्यानमा सुते, एक छाक मात्र खाएर बसे, दुई टुक्रा सेतो कपडाबाहेक अरू आँङमा हालेनन् तर अम्मल भनिने त्यो सुर्ती कटुसका पातमा बेरेर खान भने छोडेनन्। त्यसैले त्यो बेला मेरो मनमा अर्को धारण पनि बन्यो कि सबै चिज छोड्दा पनि छोड्न नपर्ने त्यो सुर्ती भनिने वस्तु सार्‍है चोखो हुन पर्छ।

बजैको मृत्यु मेरा लागि मृत्युसँगको पहिलो भेट थियो र त्यसले मलाई धेरै कुरा सिकायो। बुझ्न नसक्ने भएपछि भने मैले त्यो बेला जानेका कतिपय कुराहरू गलत थिए भन्ने बुझें। त्यो बेलासम्म जीवन मलाई स्वप्नसंसारजस्तो लाग्थ्यो। बजैको मृत्युले मलाई नहुनुको परिभाषा स्वत गरिदियो। बजैको मृत्युले ममा एकाकीपन भरिदियो। मेरी बजै मेरो चाहनालाई बुझ्थिन्, मेरा आवश्यकतालाई पुरा गरिदिन्थिन्। उनी मेरी आमा थिइन्, मेरी मित्र थिइन्। मेरो विपत्ती या दुखको समयमा उनी मेरो साथमा हुन्थिन्। म सानो भएकाले मैले उनको मृत्युको पिडा त भोगिनँ तर विछोडको एक्लोपन भने बेहोरेँ। मेरा लागि मेरी आमा मेरो संघर्ष र लक्षप्राप्तिकी गुरु थिइन् भने मेरी बजै मेरा लागि स्नेह र प्रेमकी नमुना बनिन्।

मेरी बजैको तेर्‍हौं खुवाउन सबै बोलाइए। काँध सुन्निउन्जेल लाश बोक्ने मलामी त यसै बोलाइने नै भए। अपसव्यको स्थितिबाट सव्यमा आएपछि आफू चोखिएको स्वीकृत गराउन गुठियार दाजुभाइलाई बोलाउनै पर्‍यो। दानादि कर्मकाण्डको निम्ति वा्रह्मण आवश्यक भए र गरिब त भोज खानकै निम्ति पनि आए। नातगोता छरछिमेकी पनि त्यसबाट छुटेनन्। मेरी बजैको काजक्रिया उनको इज्जत अनुरूप नै भयो।

मेरी बजैले आफूले दिनु पर्ने अंश छोराहरूलाई दिइसकेकी थिइन् र आफूले दिन सक्ने जति छोरीहरूलाई पनि आफू जीवित हुदै दिइसकेकी थिइन् तैपनि मेरा फुपूहरू 'योचाहि मलाई मेरी आमाको चिनो' भन्न छोड्दैनथे भने उनीहरूका माइती भने 'आमाले तिमीहरूलाई दिएकै छ नि तिमीहरूलाई' भनेर टार्न छोड्दैनथे। मेरा बडाबा र मेरी आमालाई मेरी बजैको त्यो जिउनी भनिने हण्डी चिरा पार्नु थियो र चुनदाम पनि तलमाथि नपारी बन्डा गरिदिने मानिस चाहिएको थियो। यसका लागि जान्ने बहिने जुवाइँभन्दा उपयुक्त मानिस अरू कोही हुन सक्दैनथ्यो। जुवाइँले जिउनीको बन्डा अवश्य नै निश्पक्ष गरे होलान् तैपनि एक दशक नबित्दै उनलाई पक्षपात गरेको आरोप लाग्यो।

मेरी बजैको जिउनीमा जग्गा थिए, गरगहना थिए, अन्नपात, घिउ, तेल, नुन, बेसार, लत्ताकपडा, भाँडाकुँडा आदि गृहस्थलाई चाहिने सबै चिज थियो। दानदक्षिण, भोजभतेर आदि सकेर पनि पर्याप्त सामान उब्रिएको थियो। यी सबै चिजहरूमा अंशियारहरूको समान हक लाग्ने नै भयो।

मध्यस्थकर्ताले जिउनी बन्डा जग्गाबाट सुरु गरे। उनले जग्ााको क्षेत्रफल, उब्जनी, सन्धिसर्पन सबै मिलाएर जग्गाहरू चार भागमा विभाजित गरिदिए र एकएक भाग रोज्न अनुरोध गरे। बन्धुहरूबीच कुरा मिलेन। मध्यस्थकर्ताले विभिन्न विभाजनका गाँठा बनाए तैपनि चित्त बुझेन उनीहरूको। दुई दिनसम्म पनि त्यो गलबदीको गाँठो नफुके पछि मध्यस्थकर्ताले 'लौ तपाईहरूको भाग्य परिक्षण गर्नोस्' भनेर गोला हालि दिए। अंशियारहरूले आफ्नो छनौट अनुसार लिनै पर्‍यो। गरगहना र सबै सामान बन्डा हुदै गयो र लोभ पनि बढदै गयो। हुँदाहुदा अंशियारहरूको विभाजन स्तर यति तल झर्‍यो कि बुढियाले राखेको सिधे नुनको ढिको पनि फोरियो र दुनामा तेल पनि बाँडियो। पि48डदानमा चढाइएको नैवेद्य श्राद्धकर्ता दाजुभाइहरूले पितृप्रसाद भन्दै खाएको देख्दा आज पनि मेरो आँखा अगाडि त्यो जिउनी अंशबन्डा झलझली आउँछ।

यसपछिप्रवेश आङ्ल भाषाको

दोश्रो खण्ड

घरबाहिर

१ निष्क्रमण
२ धरानबाट विराटनगर
३ विराटनगर
४ विराटनगरबाट वीरगन्ज
५ वीरगन्जबाट काठमाडौँ
६ काठमाडौँको शुरू बसाइ
७ सहपाठीहरू
८ २०१५ साल
९ २०१७ साल
१० २०१८ साल
११ मेरो हेतौडा बसाइ
१२ विदेशयात्राको तयारी

तेश्रो खण्ड

देशबाहिर