index
----
home
मेरो जीवनयात्रा
पहिलो खण्ड

मादीबिर्ता

१ हाम्रो घर
२ मादीबिर्ता
३ मेरा बाबु
४ मेरो पहिलो शिक्षा
५ मेरी बजै
६ अन्त्येष्टि र अंशबण्डा
७ आङ्लभाषाको प्रवेश
८ समाजमा असर
९ चैनपुर बजार
१० आयो कांग्रेस
११ २००७ साल
१२ मेरो बिद्यालय
१३ मेरी आमा
१४ हाम्रो व्रतबन्ध
१५ विद्यालय र शिक्षक
१६ हाम्रा अन्तिम वर्ष
१७ मेरी पत्नी
१८ म आफै
१९ समग्रमा मादीबिर्ता
पहिलो खण्ड

बाल्यकाल


आयो कांग्रेस

२००७ सालको मंसीर पुषको चिसो हावासँगै चैनपुर डाँडामा एउटा हल्ला आयो — ‘कांग्रेस आउदै छ रे।’

त्यो हल्लाले उत्सुकता पनि ल्यायो – ‘ के हो त्यो कांग्रेस? कस्तो छ त्यो कांग्रेस? के गर्छ त्यसले? के चाहन्छ त्यो? डर पनि थियो मानिसको मनमा। डर यस अर्थले कि कहीं त्यसले आँधीबेहरीजस्तै सबै मानिस सोतर पार्ने त होइन? रगतको खोलो र लाशको थुप्रो बनाउदै आउने त होइन?

फेरि हल्ला आयो — ‘ कांग्रेसले भोजपुर कब्जा गर्‍यो रे। अब कांग्रेस नजिकै आइसकेको थियो। भोजपुुर त कसैको घर थियो, कसैको माइती थियो, कसैको मामली र कसैको ससुराली। पहिले त कांग्रेसको हावा मात्र चलेको थियो। अब त कांग्रेस आँगनको पल्लो छेउमा उभिन आइपुग्यो। हाम्रा अभिभावकहरू कोठाभित्र खास्सखुस्स गर्थे। पक्ष थियो र थियो विपक्ष पनि। हामीलाई चैनपुरमा नै राख्ने कि गाउँघरमा लैजाने? त्यो पनि विवाद थियो। बजारियाहरू राख्ने सल्लाह दिन्थे र अझ विद्यालय संचालकहरू त लिएर गए कहीं पनि पढ्न नपाउने गरी निष्काशन गरि दिने धम्की दिन्थे। अभिभावकहरू हुलदंगा हुने संभावना देखेर हामीलाई आफ्ना घरमा ल्याउन खोज्थे। बजारवालाहरू भने हामीलाई गाउँले सहयोगको धरौटी ठान्दथे र आफ्नो सुरक्षाका निम्ति हामीलाई त्यहीं राख्न चाहन्थे। अर्कातिर हाम्रा अभिभावकहरू भने हामीलाई बजारबाट हटाएर आफू बजारको जिम्मेवारीबाट मुक्त हुन खोज्थे। स्वार्थ थियो दुवैको आ–आफ्नो।

आखिर कांग्रेस चैनपुर बजार आइ नै हाल्यो। कमिज सुरुवाल कोट लगाएका दुई जवान शुक्रवारे हाटका दिन चैनपुर बजारमा देखा परे। ती दुई जवान कांग्रेस हेर्न पुरै बजार ओइरियो। म पनि त्यही हुलमा छिरें। तिनीहरूलाई देखेर मेरा जेठा बडाबाले हाम्रा अभिभावकहरू बीच भनेका थिए – “कांंग्रेस कांग्रेस भन्थे। को रहेछ कांग्रेस भनेको त हाम्रै मुत्ते्क पो रहेछ।”

मेरी बजैका भदाहा मुिक्तप्रसाद चापागाई मेरा बडाबाहरूका निम्ति भाइ मुक्ते मात्र भए र अर्का जवान नारदमुनी थुलुङ पनि भोजपुरका एउटा राई मात्र थिए तर इतिहासको परिप्रेक्षमा उनीहरू २००७ सालको क्रान्तिका बिउमध्येका दुई दाना थिए जसले त्यो दुर्गम ठाउँको त्यो समयको सत्तालाई चुनौती दिएर उभिएका थिए। कुनै बाहिरी सहयोग र सहायता बिना विद्रोहलाई प्रतिनिधित्व गर्नु त्यति सजिलो थिएन। मुक्तिप्रसाद कांग्रेस भएकाले हाम्रा अभिभावकहरूले भने अलि सजिलो अनुभव गरेका थिए। उनीहरूको उनीसँग कुरा भयो वा भएन, त्यो मैले थाहा पाइन तर बजारियाको विरोध हुदाहुदै पनि हामी हाम्रा घरतिर पठाइयौं।

राणाकालिन समयमा रोलवाला राणा शाशकहरू काठमाडौं उपत्यकामा बस्थे भने उपत्यका बाहिरका विभिन्न भागमा विभाजित जिल्लाहरूका सदरमुकाम या गौंडा, गोस्वाराबाट हाकिम या बडाहाकिमहरूले शाशन चलाउथे। यी हाकिम, बडाहाकिममा रोल बाहिरका राणाहरू, रोलवालाका नातागोताका शाह, थापा आदि यस्तै सो समयमा झर्रा भनिने छेत्रीहरू पर्दथे। त्यो बेलाको धनकुटा भनिने जिल्लामा आजका धनकुटा, संखुवासभा, तेरथुम, ताप्लेजुङ पर्दथे। आजको संखुवासभालाई त्यो बेला चैनपुर इलाका भनिन्थ्यो र त्यो इलाकालाई दक्षिणबाट उत्तरतिर दस मझिया, पाँच मझिया, पाँच खपन, सभाउत्तर र भोटखोलामा बाँडिएको थियो। चैनपुर पाँच मझया भित्र पर्थ्यो भने पिलुवा पूर्वको क्षेत्रमा पर्ने हाम्रो गाउँ दश मझयामा थियो।

इलाका सदरमुकाममा केही सिपाही राखिए पनि खास पल्टन भने बडाहाकिम बस्ने जिल्ला सदरमुकाम धनकुटामा नै थियो। चैनपुरमा त्यो बेला इलाकाका हाकिम पुण्यविक्रम शाह भन्ने व्यक्ति थिए र भर्खर आएकाले आफ्नो वासस्थान सार्वजनिक मेजरपाटीमा बनाएका थिए। उनको सुरक्षा गारद भने पनि, इलाकाका सुरक्षा कर्मचारी भने पनि त्यही ५।७ जना थ्री नट थ्री बोकेका सिपाही थिए। वास्तवमा गाउँमा सरकारको अस्तित्व कसैलाई मुद्दामामिला लागे या गाउँमा ज्यान मरे देखा पर्थ्यो। त्यही पनि १।२ जना सिपाही, एउटा खर्दार या मुखियाका रूपमा देखा पर्थ्यो त्यो सरकार। सरकारको उपस्थितिमा अनिष्टको आशंकाले थरथर हुन्थ्यो गाउँ र ठुला जिम्मावालसमेत हात जोडेर अगाडि उभिन आइपुग्थे। घिउ, दाल, चामल जम्मा गरिन्थ्यो। खसी, बोका ढालिन्थ्यो।

मलाई केटाकेटीमा लाग्थ्यो – सिपाही साधारण मानिस होइनन् र उनीहरूले जे पनि गर्न सक्छन्। त्यसैले म उनीहरूको दृष्टिमात्रले पनि भयभित हुन्थेँ। त्यो अतितको भय मेरो मनमा यसरी गाडिएको छ कि आज पनि सडकको पेटीमा हिडदा २।४ जना सिपाही या प्रहरी त्यही पेटीमा अगाडिबाट आउदै छन् भने, भलै त्यसो गर्नु पर्ने कुनै आवश्यकता छैन भन्ने म जान्दछु र पनि, सडकपारिको पेटीतिर लाँगुजस्तो लाग्छ।

कसैकसैले भन्छन् — ‘मानिस कत्रो न क्रान्ति भयो ०७ सालमा भन्छन् तर के भयो र ०७ सालमा? २।४ वटा बन्दुक पडके, २।४ जना मानिस मारिए। सिद्धियो।’ ०७ साललाई, ०१८ साललाई र ०४६ साललाई पनि आरोप लगाउने बहादुरहरूको कमी छैन यो देशमा। प्रजातन्त्रका निम्ति लडिएका यी सफल असफल क्रान्त्रिहरू विदेशबाट सन्चालित थिए भन्नेहरूको खाँचो छैन यहाँ तर ती मानिसहरू व्यतित कालखण्डका अवशेषहरू हुन् र जिउँदो वर्तमानलाई अस्विकार गर्नु उनीहरूको नियति हो। उनीहरू यो बुझ्दैनन् कि क्रान्तिको मापदण्ड युद्धको विभिषिका र मृत्युको लेखाजोखा होइन। क्रान्ति त काल, परिस्थिति र वातावरण अनुरूप आउने विद्रोह र परिवर्तन हो। जम्माजम्मी सात नाल बन्दुक हुने पहाडी कुनामा विश्वयुद्धको विभिषिका हुनै सक्दैनथ्यो। फेरि क्रान्ति भन्नाले दुधचुस्ने बालकदेखि घाटजान तयार बुढाले पनि बन्दुक बोक्छ भन्ने पनि त छैन। क्रान्ति त एउटा सानो चिन्तनशिल समूहको सशस्त्र या निशस्त्र विद्रोह हो र त्यो विद्रोहमा जनसमूहले समर्थन गरेर सत्ताधारीलाई सत्ता त्याग्न वाध्य पार्छ भने त्यो सफल क्रान्ति हो र सकेन र क्रान्तिले खुम्चनु पर्‍यो भने असफल। हतियारले जितिने युद्ध त आवधिक हो र त्यसलाई स्थायी गर्न हतियारको त्राश सधैं देखाउनु पर्ने हुन्छ। फेरि क्रान्ति विदेशबाट सन्चालित भनेर त सत्ताधारीहरूले सधै भनि आएकै कुरा हो। वल्लो घरमा राम्रो फल लागे कसै न कसै पल्लो घरमा पुग्छ नै। वल्लो घरमा आगो लागे झल्का त पल्लो घरमा पनि पुग्छ। फेरि वल्लो घरको घरबुढोले उसका आश्रितका असन्तोष सुन्दैन र विरोध गर्नेलाई घरबाहिर निकाल्छ भने ती आश्रितले पल्लो घरको पेटीमा बसेर गाली त गर्छन् नै। अझ ढुंगै पनि हान्न सक्छन्। त्यसलाई छिमेकीबाट संचालित भन्नु आफ्नो कायरता लुकाउनु हो। नेपालमा सधैं यस्तै भएको छ र यस्तै हुन्छ।

परिवर्तनका लागि त्यो चैनपुर इलाकामा कति मरे? ती बारे मैले विभिन्न हल्ला सुनेँ। कसैले सोत्तरै भए भने, कसैले २०।२५ जना मरे भने, कसैले २।४ जनाभन्दा बढी भनेनन् र कसैले त कोही पनि मरेनन् भन्ने ठोकुवा गरे। त्यो हल्ला मैले वयस्कहरूका बीचमा छिरेका बेला सुनेको मात्रै हो। जे जति भए पनि एक अन्धकार रातमा इलाकाका हाकिम आफ्ना गारद सहित सदरमुकाम छोडेर हिडे र चैनपुर बजार कांग्रेसमय भयो।

देशको राजधानीमै पनि रेडियो दुर्लभ शोख हुने जमानामा त्यो रेडियो हाम्रोे गाउँघरमा हुने त कुरै भएन। समाचारपत्रको नाउँमा गोरखापत्र मात्र भएको जमानामा एउटा गोरखापत्र महिनौं लगाएर सदरमुकाममा आइपुग्थ्यो र त्यसमा पनि सरकारी बोली मात्र छापिन्थ्यो। मेरो गाउँ त त्यो जमानाको एउटा सांग्रिला नै थियो। को कहिले बाहिर जान्छ र फर्केर आउछ,, ऊ नै समाचारको स्रोत हुन्थ्यो। त्यसमा पनि झगडा भइरहेको छ, लडाइँ भइरहेको छ भन्ने सुुनेपछि गाउँलेहरू भर्सक आफ्नो घरभित्र नै बस्न खोज्छन् कछुवा आफ्नो खोलभित्र पसे झैं। त्यसैले देशबाहिर र देशभित्र के भइरहेको छ त्यो थाहा कसरी पाउन सक्थे र गाउँलेले? सुनिए पनि उडन्ते हल्ला सुन्थ्यिो। २००७ साल फागुन ७ गते कांग्रेस र श्री ३ बीच सम्झौता भएको पनि उडन्ते खबर आएको थियो। त्यो बेलाको उडन्ते भाषामा भनिएको थियो – ‘कांग्रेसले नेपाल सर गर्‍यो रे।’
यसपछि २००७ साल

दोश्रो खण्ड

घरबाहिर

१ निष्क्रमण
२ धरानबाट विराटनगर
३ विराटनगर
४ विराटनगरबाट वीरगन्ज
५ वीरगन्जबाट काठमाडौँ
६ काठमाडौँको शुरू बसाइ
७ सहपाठीहरू
८ २०१५ साल
९ २०१७ साल
१० २०१८ साल
११ मेरो हेतौडा बसाइ
१२ विदेशयात्राको तयारी

तेश्रो खण्ड

देशबाहिर