index
----
home
मेरो जीवनयात्रा
पहिलो खण्ड

मादीबिर्ता

१ हाम्रो घर
२ मादीबिर्ता
३ मेरा बाबु
४ मेरो पहिलो शिक्षा
५ मेरी बजै
६ अन्त्येष्टि र अंशबण्डा
७ आङ्लभाषाको प्रवेश
८ समाजमा असर
९ चैनपुर बजार
१० आयो कांग्रेस
११ २००७ साल
१२ मेरो बिद्यालय
१३ मेरी आमा
१४ हाम्रो व्रतबन्ध
१५ विद्यालय र शिक्षक
१६ हाम्रा अन्तिम वर्ष
१७ मेरी पत्नी
१८ म आफै
१९ समग्रमा मादीबिर्ता
पहिलो खण्ड

बाल्यकाल


म आफै


म आफैँ
(वि.सं. २०१४ र २०७० मा)

सोर्‍हौ वसन्तमा खुट्किला टेकिसकेपछि मानिसको व्यक्तित्वको एउटा खाका तयार भइ सकेको हुन्छ। समयले त्यसलाई कुँद्ला, त्यसमा बुट्टा भर्ला, रङ देला तर त्यसले आधारभूत धारणालाई त्यति ठुलो परिवर्तन गर्न सक्दैन। लक्षको चुचुरोमा ऊ पुग्न सक्छ या सक्दैन, त्यो समयले तय गर्ने कुरा हो तर चुचुरोतिरको याात्राको थालनी त सोर्‍हौं वसन्तले नै गरिसकेको हुन्छ। हो, कसैको निम्ति त्यो सोर्‍हौं वसन्त अलि चाँडै आउन सक्छ, कसैका निम्ति १।२ वर्ष पछि। सोर्‍हौं वसन्तले मानिसलाई जिम्मेवार बन्न सिकाउँछ, निर्णय गर्ने क्षमता बढाउछ र ठीक बेठीका आफ्ना मान्यताहरू निश्चित गर्ने सामर्थ्य दिलाउछ। कतिले मलाई भन्ने गर्थे ― फलानोलेत वार्‍ह वर्षमा नै घर थामेको हो। कुरा वास्तविक पनि हो। त्यो बेलको मेरो समाजमा बाबु नहुने छोराले वयस्क हुनका लागि सोर्‍ह वसन्त कुरिरहन सक्ने व्यवस्था नै थिएन र मैले पनि त्यसलाई कुरेर बस्न पाइनँ।

बढो विचित्रको थियो मेरो सामाजिक परिवेश। जीवनको शुरुआतदेखि नै मेरी बजै र मेरी आमा बाहेक अरू कुनै नतागोताले पनि हार्दिक चाहनाले बोलाएर मिठोमसिनो दिएनन्। मेरा जेठ बडाबा यसै पनि हुर्दुङ्गो स्वभावका थिए र कहाँ, कसलाई र कहिले दिनु पर्ने भन्ने जान्दैनथे। दिनु पर्ने ठाउँमा दिदैनथे त नचाहिने ठाउँमा खन्याइ दिन्थे। त्यसैले उनको हार्दिकता कसमा पुग्थ्यो? ठेगान नै हुन्नथ्यो। जेठी बडीआमा त झन् माया पनि गर्न जान्दिनथिन्। उनले त माया गरेको पनि स्वाँङ पारेजस्तो हुन्थ्यो। ती जेठाजेठीको दुर्भाग्य नै आग्रो र गाग्रो थियो। माहिली बडीआमा दिनु पर्दा माया भए पनि, नभए पनि ठुलै हातले दिन्थिन् तर माहिला बडाबाको डरले उनको हात उठदैनथ्यो। माहिला बडाबाको माया त 'म र मेरा परिवार' मा सीमित थियो र कुनै कारणवस हामी उनको घरमा पुगिहाल्यौं भने 'ए, केटा! किन आएको हँ? जा, घर जा। तेरी आमा बोलाउदैछ ' भनेर बाटो कटाउदै तगारो लगाउथे। साहिला बडाबा यसै पनि कम बोल्ने नै हुन्। त्यसैले उनले माया गरेको नगरेको छुट्टिदैनथ्यो। साहिली बडीआमा माया त देखाउने हुन् तर त्यो देखाएको माया जोसँग पनि बखान गर्ने हुनाले त्यो माया पनि अपाच्य हुन्थ्यो मलाई। उनीहरूले माया देखाउन नसक्नुको कारण मेरी आमासँग उनीहरूको सम्बन्ध मित्रवत् नभएको कारणले पनि हुन सक्थ्यो।

मामल म गइनँ र मामली हामीकहाँ आएनन्। त्यतापट्टिको नाता त्यहीँ नै टुंगियो। ससुराली पनि भए तर ससुराल नै नगएपछि त्यो नाता पनि परको साइनोमा सीमित भयो। विहेको वीस वर्षपछि मात्र सासूको मुख देख्ने जुवाइँको ससुरालीघर अति टाडाको पराइघरभन्दा नजिकको हुन पनि सक्दैन। हो, सासूससुराले छोरीले दुख पाउली भनेर जुवाइँको शुभकामना त सधैं गर्छन् नै तर त्यो सौहार्द्र जुवाइसँगको निकटता नभएर छोरीको भलाइसँग सम्बन्धित हुन्छ। त्यति त मेरोमा पनि थियो होला।

मानिसका बारेमा लेखिनु यसै पनि असजिलो काम हो किनकि मानिसले सधैं नै राम्रैमात्र गर्छ भन्ने हुदैन। उसले कतिपय धेरै नराम्रा काम पनि गरेको हुनसक्छ। ठुला र असल मानिसहरूको जीवनी लेख्नु त यसै कठिन कार्य हो। राम्रा कुरामात्र लेखेर प्रशंसा गर्दा नराम्रा कुरा छुट्छन् र इतिहासले माग्ने कुरा पनि छुट्छ। नराम्रा कुरा लेख्दा उनीहरूको भलोपनको अवमुल्यन हुने डर हुन्छ। आफ्ना बारेमा लेख्नु त झन् असजिलो हुन्छ। अरुका बारेमा लेख्दा त कमसेकम सत् र असत् आफूले बेहोर्नु पर्दैन। उसका बारेमा सुनिएका, जानिएका कार्यमा आफ्नो तटस्थ राय दिए पुग्छ तर आफ्नो बारेमा भन्नु पर्दा त आफूले देखाएका सत्, असत् दुवैको जिम्मेवारी आफूले नै लिन कर लाग्छ। कुनै कुरा गोप्य राखिएमा वा त्यसलाई वास्तविक वस्तुपरक तराजुमा नतौलिएका वा त्यस्तो सत्य खोल्दा आफ्नो मर्यादामा दागलाग्ने डरले लुकाइएमा वा वंग्याइएमा आफूलाई असल बनाउने एउटा झुटो प्रयास मात्र हुने रहेछ र वर्तमानमा आफूलाई असल देखाउने प्रयासमा भविष्यलाई गलत तथ्य प्रस्तुत गरिने रहेछ। हुन त, मेरो असल या खराब हुनुले इतिहासमा एउटा सानो थोप्लोसमेत बस्न सक्दैन र दिनहुँ मजस्ता करोडौं असल र खराब मानिसहरू बिलाइ रहेका छन् भने म जे जस्तो छु त्यही रूपमा मैले आफूलाई प्रस्तुत गर्दा मेरो सम्मान या बेइज्जत हुने कुरा छैन भन्ने ठानेर नै म मेरो अतितलाई वर्तमानको निम्ति नभएर भविष्यका लागि लिखतमा पेश गरिरहेको छु भने त्यो भविष्यलाई मेरो असल या खराब हुनुले के असर पार्दछ र? उसलाई त न सन्यासीले छुन सक्छ, न फुँडोले। न पतिव्रताको पवित्रताले उसलाई चोख्याउछ, न सातपोइलेको जुठ्याइँले बिटुलो पार्छ। भविष्य त भस्मेश्वरको यात्राभन्दा परको कुरा हो र भस्मेश्वरमा पोल्ने दाउरा सधैं जंगलबाट नै आउने हुन्। त्यसैले आफ्नो बारेमा लेखिनु पर्दा म केही पनि लुकाउन चाहन्न। तैपनि म भन्छु ― नराम्रो सत्य लेख्नु कठिन कार्य भने हो। महापुरुषहरूका जीवनीमा भर्सक नराम्रा नलेखिने पनि शायद यसैले होला।

सोर्‍हौं वसन्तमा आइपुग्दा म सीमित शिक्षकद्वारा मार्गदर्शित, सीमित मानिसहरूसँग सम्बन्धित, घरको मूलपुरुष, एउटी एउटी आइमाईको लोग्ने, आमाद्वारा धेरै आशा गरिएको छोरो भएको र गाउँको पढालेखा विद्वान गनिएको थिएँ।

मैले बाबुबाजेको कारोवार समाउन सकिनँ। मेरी आमाले सो काममा लाउन प्रयास पनि गरेकी हुन् र मैले पनि कोशिस गरेको हुँ तर त्यो काम मबाट भएन। एउटा गरीबले 'छैन' भनेर आँशु चुहाउदा रिण मिनाहा गर्न तयार हुने मानिसले लगानीपात गरेर खाने सम्भावन पनि थिएन र मेरी आमाले अरू जोड पनि गरिनन्।

मेरी बजै चाहन्थिन् – म पण्डित बनूँ। पण्डित बन्ने बाटो छोडे पनि शिक्षा त लिनु नै थियो। मेरी आमा आफ्ना छोरालाई गाउँ र वरपरका सबैभन्दा ठुला विद्वान बनाउन चाहन्थिन्।

प्रकाशसर भन्थे ― “रामु! पढ है, पढ। पढे मात्र काम लागिन्छ।”

मृणालसर भन्थे ― “कि डाक्टर बन् कि इन्जिनियर।”

त्यसैले पढ्ने कुरा त मेरो निश्चित थियो तर के पढ्ने? कहाँ पढ्ने? त्यो भने अन्योल नै थियो। मेरा कक्षाका कतिपय सहपाठी काकाहरू, दाजुहरू पढाइका निम्ति काठमाडौं सरिसकेका थिए। उनीहरूका अभिभावकहरूलाई अव्वल बनाउन चाहन्थे। मेरो त घर पनि शिक्षामन्दीर पनि त्यही ठाउँमा सीमित थियो र मैले त्यहीँ भएको साधनलाई सकेसम्म बढी उपयोग गर्नु थियो। त्यसैले पनि मलाई सीमित साधन र स्रोतबाट सकेसम्म बढी काम निकाल्न सिकायो।

तेर्‍ह वर्षको उमेरमा मेरो बिहे भयो र म लोग्ने भएँ तर त्यो लोग्नेको परिभाषामा मैले यौनसम्बन्धभन्दा पर केही पनि पाउन सकिनँ। बिछोडका पिडा र मिलनको खुसी मेरो किशोरावस्थामा कहिले पनि भएन। त्यसैले धेरै समयसम्म मसँग बिहे गर्ने केटी मेरी आमाकी बुहारी, मेरा घरकी नया नोकर्नी या अपर्झट दोबाटोमा भेटिएकी नौलीजस्ती भई जसलाई मेरी स्वास्नी भनेर नाम दिइएको थियो र म लुकेर रण्डीकोठीमा पुगेको किशोरजस्तै हतारहतार उसको सहवासबाट छुटकारा लिन्थेँ र आमालाई उनकी बुहारी सुम्पेर पढाइ नामको आफ्नो ओडारभित्र लुक्न पुग्थेँ। त्यो केटी एउटी कमारीलेजस्तै आफ्नो श्रम सित्तैमा फालिरहेकी थिई र आफ्नो मासु पोसिरहेकी थिई।

यौनप्रति म इमान्दार रहिन। आफ्नो इच्छा नहुदा नहुदै गरिएको मेरो विवाहले मलाई विद्रोही बनाएको पनि हुन सक्थ्यो। शायद मैले प्रेम र यौनको अन्तरलाई धेरै कालपछिसम्म पनि बुझनँ या छुट्याउन सकिनँ। मेरा बाल्यकालमा मप्रति भएको आइमाईका व्यवहारले पनि मलाई अविवेकी बनाएको हुनसक्छ। त्यसैले केही घटनालाई त मैले उद्धि्रत गर्नु उचित पनि ठान्छु।

विद्यालयमा मेरा साथी र सहपाठीहरू मभन्दा धेरै जेठा थिए र उनीहरू सबैजसोको विवाह भइसकेको थियो। पढाइमा म राम्रै भएकाले सहयोगका निम्ति उनीहरूले मलाई आफ्नो घरमा लिएर जान्थे नै। यो कुनै नौलो कुरा पनि थिएन। आफ्ना पतिका अनुपस्थितिमा मेरा मित्र पत्नीहरूले मलाई अँगालो मारेर म्वाइँ खाइ पनि रहन्थे। त्यो उनीहरूको बालप्रेम हुन पनि सक्थ्यो या बालयौनको निम्ति आमंत्रण पनि तर म बालक पनि थिएँ र 'बिसेमिरा' कथाको पालक पनि। त्यसैले मैले उनीहरूको आशय बुझनँ र बुझे पनि मित्रघात पट्टि लागिनँ। जीवनको उत्तरार्धमा बिनाअपराध मित्रघातको बात लाग्दा भने म आहत भएको थिएँ जो पछि भनिने नै छ।

मैले इमान्दारीसाथ भन्नु पर्दा विवाह गर्दा म कुनै कुमार थिइनँ। यदि लोग्नेमानिस बलत्कृत भएको मानिन्छ भने म एघार वर्षको उमेरमा नै बलत्कृत भएको भने हो। वार्‍ह वर्षको उमेरमा ३६ वर्षे विधुरसँग विवाह भएकी २१ वर्षे युवतीले ख्यालख्यालमा नै मेरो कौमार्य भंग गरेर आफ्नो सहभागी बनाउदा पहिले त मलाई निकै पिडाबोध भएथ्यो तर छोटो समयको निम्ति देखा परेकी त्यो युवतीको मातृवत् व्यवहारले विस्तारै मलाई सामान्य बनायो र उसले मलाई एक डेढ महिनाजस्तो नै उनको रंगिन खेलको वस्तु बनाएर आफ्नो बाटो गइन्। त्यो घटनाले मलाई दुई विपरितलिङ्गी बीचको यौनकार्य कुनै अपराध या वर्जित खेल होइन भन्ने बालधारणा स्थापित गरिदियो र स्वतन्त्र यौनको बाटो पूर्णत खोलि दिएर प्रेम र यौनका सामाजिक मान्यता मेरा लागि भताभुंग बनाइ दियो। यौनसन्तुष्टिका निम्ति सबैजसो आइमाई मेरा लागि मान्य भए र जसरी भए पनि यौनसन्तुष्टि लिन म तयार हुन थाले। यो घटनाको निम्ति म त्यो युवतीलाई पनि दोष दिन सक्दिनँ। शायद उसमा वार्‍ह वर्षको उमेरमा आफूमाथि लोग्नेद्वारा भएको बलत्कारको प्रतिशोध लोग्नेसँग लिन नसके पनि कुनै लोग्नेेमानिससँग लिने विकृत धारणा छातीभित्र गाडिएर बसेको थियो होला र उसले मौका पाउने बित्तिकै एउटा बालबलत्कारको संतुष्टि लिई। त्यसैले किशोरावस्था र युवावस्थाको शुरूकालमा लोकमर्यादालाई वास्ता राखिनँ र जो लोकमर्यादालाई वास्ता राख्दैन उसको लागि सिङ्गै समाज नै यौनसंसार भइ दिन्छ। त्यही यौनविचरणको समयमा मैले जाने कि जसरी पुरुषको परदाराप्रति यौनचाहना हुन्छ त्यसरी नै परपुरुषप्रति नारीको चाहना पनि अनिवार्य हो। खाली सामाजिक बन्धनले त्यो कु48ठा बाहिर देखा नपरे पनि गहिरो दृष्टि दिनेले त्यो थाहा पाइहाल्छ।

विद्यालयको लागि चन्दा जम्मा गर्न हामी प्रत्येक भाइतिहारमा हामी रातरातभर मुनामदन गाएर नाच गर्दथ्यौं। मलाई केटी बनाएर नचाइन्थ्यो र मेरो नाचको प्रशंसा वयस्कहरूले पछिसम्म पनि गरिरहन्थे। जीवप्रसाद दाहाल 'पाखाली', जसलाई पछि माओवादीहरूले विभत्स किसिमले यातना दिएर मारे, ढँटुवारे भएर नाच्दथे। विद्यालयका सहपाठी साथीहरू लेग्रो तानीतानी गीत गाउँथे। गाउँमा भएका मैनटोल(पेट्रोमेक्स)ले काम पाउथे त्यो बेला। पाँच दिन चल्थ्यो हाम्रो नाच। हामी कहिले कहीं कृष्णलीलाको नाटक देखाउथ्यौं र भीमनिधि तिवारीको 'किसान' नाटक पनि हाम्रो अभिनयभित्र पर्थ्यो। भीमनिधि तिवारीकै अर्को नाटक 'सहनशिला सुशिला' पनि हामीले खेलेका थियौँ। हामी छोटो समयमा नै धेरै अग्रगामी कार्य गर्न प्रयासरत हुन्थ्यौँ। यसरी नाचगान, नाटक गर्नुको कारणमध्ये पहिलो, विद्यालयका लागि आर्थिकोपार्जन गर्नु थियो भने दोश्रो आफूहरूलाई प्रगतिशिल देखाउनु पनि थियो। वामधारणा त्यो बेलाको प्रगतिशिल हुनुको चिन्ह थियो र सो बेलाका बामपन्थीहरू रक्तरन्जित क्रान्ति र सर्वहाराको अधिनायकवादका सच्चा अनुयायीहरू थिए। संसोधनवाद त्यो बेला जन्मिएकै थिएन। आजका कम्युनिष्ट जत्तिको वामधारणा त अहिले वामपन्थीहरूले बुर्जुआ भनिने नेपाली कांग्रेसका अनुयायीहरूको पनि थियो। त्यसैले भन्न सकिन्छ ― हाम्रो चिन्तन कति उग्र थियो भनेर?

मादीबिर्ताका दाहालहरूले सनातनवादी परंपरा माने पनि मेरो मूलघरबाट निस्किएको परिवारले घर बनाएको ५० वर्षसम्म एउटा पुराण पनि लगाएन भने त्यो परिवारलाई हिन्दुआस्था बमोजिम कुनै आस्थावान भन्न सकिदैन। सम्पन्न वरिवारको त त्यो स्थिति थियो भने अरू असम्पन्न परिवारहरू झन् उनीहरूकै पछि दौडने नै भए। विष्णुपाञ्चायन पूजा थोरै घरले गर्थे। त्यति मात्रै हो। रामालय–शिवालयबाट आउने चरणोदक भने प्रत्येक एकादशी, औशी, पूर्णिमामा ठुलाबडाका घरमा पुग्थ्यो र सो पुर्‍याउने पुजारीलाई एक भाग सिधा दिने चलन थियो। बाबुआमा, र कसैकसैद्वारा बाजेबजैको पनि, वार्षिक श्राद्ध गरिन्थ्यो। सोर्‍हश्राद्धको पितृपर्वमा महालय श्राद्ध गर्ने चलन भने थियो।

म धेरै धार्मिक आस्था भएको घरमा जन्मिएको पनि होइन र म आफैमा पनि धार्मिक श्रद्धा उब्जिएन। मेरी बजैमा धार्मिक आस्था भएर मैले केही सिके पनि मेरी आमाको भने धर्मप्रति खास कुनै अभिरुची थिएन। शायद कलिलै उमेरमा दैवद्वारा उनीमाथि भएको वैधव्यको अन्यायले उनलाई आस्थाविहीन बनाएको हुन पनि सक्थ्यो। मेरो घरमा त्यसैले वाल्यकालमा ठुलो पूजाआजा भएन। पाञ्चायन पूजा गर्थे मेरा जेठा र साहिँला बडाबाहरू, माहिला बडाबा त त्यही पनि गर्दैनथे। उनको घरमा त मादीले मुखियाहरूकोमा पुग्ने मन्दीरको चरणोदक पनि निषेध थियो। त्यसमा पनि धर्म भनेको अफिम हो भन्ने प्रगतिशिल नाराको प्रभाव त मेरो बाल्य मानसिकता टन्न भरिएकंो थियो। त्यसैले होला ― भूतप्रेतको डर लागे पनि धर्मप्रति भने पटक्कै आस्था थिएन मेरो त्यो बेला।

मेरो प्रकृति निर्मित शारीरिक व्यक्तित्व छैन। नेपाली उचाइमा नै पनि म पुड्को नै हुँ। त्यसमा पनि मेरो शारिरको बनोट झनो छ। मेरा आँखा सामान्य आर्य बाहुनकाभन्दा पनि भित्र पसेका छन्। त्यसैले किशोरावस्थामा पनि म पनि सानो र नराम्रो बालकजस्तै देखिन्थे होला। मैले थाहा पाएदेखि नै म विरामी भइ रहन्थेँ र मेरी आमालाई मेरो स्वास्थ्यका बारेमा सधैं चिन्ता भइरहन्थ्यो। मेरो तीन वर्ष कान्छो भाइले त मलाई म दश वर्ष नपुग्दै मलाई उछिनिसकेको थियो। हाम्रै जग्गामा रैति भएर बसेकी बुढी आमै मेरा नाडी समाएर मेरी आमालाई भन्थिन् ― “कान्छी मुखिनी! यस्तै नाडीले के गरी खालान् पछि यिनले?”

मेरो बुद्धि ती73ण थियो ― चिने जानेकाले त्यसै भन्छन् तर व्यवहारिक ती73णता भने ममा थिएन। अझ भन्ने हो भने, कार्यान्वयनको धैर्यता पनि ममा थिएन। त्यसैले व्यवहारिक रूपमा असफल भएको कुरा म स्वीकार्छु। सरस्वतीले ममाथि अन्याय नगरे पनि लक्ष्मीको कृपा ममाथि भएन।

म आमा र बजैले पालिएको व्यक्ति र मेरा साथी, गुरु र नातागोता लोग्नेमानिस भए पनि लोग्नेमानिस अभिभावक भने कोही भएन। वयस्क लोग्नेमानिसको चालचलन, घरेलु व्यवहार र रुची कस्ता हुन्छ? नजिकबाट जान्ने अवसर मैले बाल्यकालमा पाइनँ। बलिष्ठ लोग्नेमानिसको मायालु स्पर्शको अनुभव मलाई थिएन। आइमाई जति सरल र सौम्य लाग्थे लोग्नेमानिस त्यति नै जटिल र भयावह। लघुताभाषको परकाष्ठा थियो लोग्नेमानिसप्रति।

समग्रमा भन्नु पर्दा बाल्यकालमा म यस्तो जीव थिएँ जो अरूको स्वार्थको कारणले समयभन्दा अगागि नै वयस्क हुन पुगेँ, परिस्थितिवस आफ्नो उमेरले धान्नेभन्दा अगाडिको चिन्तन बोक्न थालेँ र सामान्य ती73णता भए पनि गाउँले परिवेशमा अति ती73णमा दर्ता भएर गर्वले फुल्ने गर्थे। त्यसमा पनि गाउँमा कसैले पनि प्राप्त गर्न नसकेको एस.एल.सी. शिक्षामा दोश्रो श्रेणी पाएपछि त आफूलाई संसारकै विज्ञ ठहर्‍याएका थिएँ मैले। मैले त्यो समयमा बु137न सकिनँ कि म जस्तो कमजोर शरीर र स्वास्थ्य भएको, मेरो प्रगतिको निम्ति मेरी आमाबाहेक टेक्ने समाउने कोही नभएको र गाउँको सीमित आयस्रोतमा बस्ने परिवारमा जन्मेको एउटा केटाको निम्ति घरबाहिरको संसार अति विशाल र कठिन छ। सो जानेको भए म घरको सँघार नाघेर निस्कने थिइनँ होला। मेरो अज्ञानताले नै मलाई त्यो बाहिरी संसारमा हुत्याइदियो र म सोर्‍ह वर्ष नपुग्दै घर छोडेर निस्केँ।

२०५२।१२।२७ कुलेश्वर, काठमाडौं
यसपछि समग्रमा मादी

दोश्रो खण्ड

घरबाहिर

१ निष्क्रमण
२ धरानबाट विराटनगर
३ विराटनगर
४ विराटनगरबाट वीरगन्ज
५ वीरगन्जबाट काठमाडौँ
६ काठमाडौँको शुरू बसाइ
७ सहपाठीहरू
८ २०१५ साल
९ २०१७ साल
१० २०१८ साल
११ मेरो हेतौडा बसाइ
१२ विदेशयात्राको तयारी

तेश्रो खण्ड

देशबाहिर