index
----
home
मेरो जीवनयात्रा
मादीबिर्ता

१ हाम्रो घर
२ मादीबिर्ता
३ मेरा बाबु
४ मेरो पहिलो शिक्षा
५ मेरी बजै
६ अन्त्येष्टि र अंशबण्डा
७ आङ्लभाषाको प्रवेश
८ समाजमा असर
९ चैनपुर बजार
१० आयो कांग्रेस
११ २००७ साल
१२ मेरो बिद्यालय
१३ मेरी आमा
१४ हाम्रो व्रतबन्ध
१५ विद्यालय र शिक्षक
१६ हाम्रा अन्तिम वर्ष
१७ मेरी पत्नी
१८ म आफै
१९ समग्रमा मादीबिर्ता
दोश्रो खण्ड

घरबाहिर


मेरो हेटौडा बसाइ


त्यो बेला सम्भाव्यता अध्ययनजस्ता आयोजनाहरूलाई उपलब्ध हुने रसियन जिपमा हामीले काठमाडौँ छोडेर त्रिभुवन राजपथको बाटो समात्यौँ । एघार बजेतिर खानीखोलाबाट उकालो लागेर अलि पर के पुगेका थियौँ हाम्रो गाडी बाटैमा थला पर्यो । त्रिभुवन राजपथ त्यो बेला एक्कादुक्का गाडी चल्ने सुनसान सडक नै थियो र ट्रक र बस चलउने चालकहरू सामान्यत पन्जाबी नै हुन्थे । ५ घण्टापछाडि बल्लबल्ल बाटो लाग्यौँ हामी र निकै अँध्यारो भएपछि मात्रै हेटौडा पुग्यौँ । मोटरगाडी कमै चढेको, त्यसमा पनि घुमाउरो बाटो भएकाले बाटोमा छादेर मेरो बेहाल भएको थियो हेटौडा पुग्दा ।

हेटौँडा सानो थियो त्यो बेला । अमलेखगन्जबाट भीमफेदी र त्रिभुवन राजपथ जाने बाटोमा उत्तरतिर चौतारानेर दुईतिर लहरै बाक्लै घर भए पनि त्योभन्दामाथि बजार थिएन र त्योभन्दा तल पनि पातला थिए घरहरू । कर्रा खोलासम्म पुग्न त निर्जन सडकमा नै हिड्नु पर्थ्यो । बजारको दक्षिणतिर राप्तीखोलासम्म झर्दा वायाँपट्टि उजाड जग्गा र जंगल थियो र दायाँतिर काठका घरहरूको अस्पताल र काठकै घर भएको चिनियाहरूले संचालन गरेको हामीले जागिर खाने सिमेन्टको अनुसन्धान आयोजना थियो । हाम्रो खाने बस्ने वन्दोवस्त यिनै काठको घरमा हुन्थ्यो । तलब कति पाउँथे ? त्यो त सम्झना छैन तर खर्च गर्ने तरिका नजानेको र संचय गर्ने बानी पनि नभएकाले पैसाले महिना दिन पुग्न गाहारो हुन्थ्यो । हेटौडामा पनि मेरो साथमा राणा, शाह, थापा र पाण्डेहरू नै थिए । त्यसैले पनि मेरो खर्च गराइ संचयकारी बाहुनको जस्तो भएन होला । साथीहरू साइटफिल्डमा खटिए र मलाई भने चिनियाहरूसँग प्रयोगशालामा लगाइयो । भाषा नजानेको, प्रयोगशालामा कहिले पनि काम नगरेको म चिनियाहरूका लागि सहयोगभन्दा बोझ बढी भए जस्तो लाग्छ मलाई । तैपानि मौन स्वभाव अनुसार उनीहरू चुपै लागे । हामी हेटौडा पुग्दा रूसीहरूको आलोचना नगर्ने चिनियाहरू मैले छोड्न लाग्दा पक्का आलोचक बनिसकेका थिए । दुई साम्यवादी देश बीच विभाजनको प्रभाव तलसम्म पुगी सकेको थियो ।

लगातार म प्रेममा परिरहेँ र ती प्रेमहरू दुई तर्फी नै थिए । एउटी विवाहित सुन्दरी थिइन् अति सुन्दरी मेरा लागि जे पनि गरिदिन तैयार । २।३ वर्ष जेठी थिइन् मभन्दा तर मेरा सामु आफूलाई सानै ठान्थिन् । ज्येष्ठता कहिले पनि देखाइनन् । लामै अन्तराल चल्यो त्यो प्रेम र अहिले पनि हामीमा आत्मिय अनुभूति छदैछ । अर्की मभन्दा कान्छी र अविवाहिता तर राम्री भने होइनन् । उनी छोटो समयको निम्ती देखा परिन् र भद्रगोलमा हराइन् । तेश्री, मेरै उमेरकी तर विवाहिता । उनले थलो छोड्न सकिनन् र मैले हेटौडा छोडेपछि उनीसँगको नाता नै टुट्यो । यसरी छोटो समयमा नै प्रेमिकाहरू बटुलेकै कारणले होला मेरा साथीहरूले मलाई त्यहाँ डोन जुआन र रोमिओ ब्वाइको उपनाम दिए ।

मणीहर्ष ज्योतिको हिमाल आइरन कारखानाको भवन भर्खर बन्दै थियो । हुरीले दिवाल ढाली दिएको हेर्न गएका थियौँ र हाम्रा हाकिमले समवेदना दिएका थिए मणीहर्षलाई । वीरगन्ज हेटौडा करिडोरमा ज्योतिको त्यो कारखाना परवानीपुरको कुखुरापालन पछिको दोश्रो उद्योग थियो होला ।

शिकारको शौखिन त म पटक्कै होइन तैपनि साथीभाइका लागि शिकारमा गइदिन्थेँ । रातिको शिकारमा पनि गएँ । माछा मार्ने पनि मेरो सोख होइन तर त्यहाँ पनि गएँ म । दुई पटक राप्ती खोलामा पानी पनि खाएँ । दुबै पटक नारायण थापाले ननिकालेको भए मेरो इहलीला त्यहीँ नै समाप्त हुने थियो ।

हेटौडाको जग्गा सुनजस्तो थिएन । बजारकै नजिक राप्तीखोलाछेउको जग्गा एक एक विगाहा सित्तैमा लेऊ भनेका हुन् त्यो बेला तर हामीले लिएनौँ किनकि हामीसँग मालपोतका निम्ति पनि पैसा थिएन र दोश्रो, आफ्ना बाबुका सयौँ रोपनी छदछदै अर्को बोझ लिन हामीले चाहेनौँ ।

२०१९ सालको छात्रवृत्तिको निम्ति मैले आवेदन दिइनँ । मेरो एक वर्ष खेर गयो । त्यही सालको अन्त्यतिर नरेन्द्रमणी आ.दि. आयोजनामा पाहुना लाग्न आइपुगे । हामी सबैको परिचयको सिलसिलामा उनले मलाई देखेर भने - "तँ पनि यहाँ ? छात्रवृत्तिमा गइनस् ?"

शायद लक्षमण घिमिरे सहित हामी दर्हैा चालले बाझ्यौँ होला उनले बिर्सन नसक्ने गरी । नत्र सयौँ विद्यार्थीको अन्तरवार्ता लिएका उनले मलाई सम्झनु पर्ने आवश्यकता थिएन । मेरो चित्त दुखेको थियो र मैले ठडो जवाफ दिएँ - "तपाईहरूले पठाउनु भएन । के गर्नु अनि ? यतै आएँ ।"

"धत, फटाहा ! तँलाई हामीले नपठाएको हो ? तैँले के बिगारेको छस् हाम्रो र तँलाई नपठाउने ? कहिले कहीँ भाग्यले साथ दिदैन । त्यही भएको हो तँलाई पनि । गएको साल दर्खास्त दिइस् ?" - उनले रोबिलो स्वरमा भने ।

"पाइन्न ठानेँ, दिइनँ ।" - मेरो भाषा ठाडै थियो । मेरो क्रोधको कारण बुझेर उनले शान्त स्वमा भने - "सुन् । तँ केटाकेटी नै छस् । हाम्रा रिसले तैँले प्रयास नै गर्न छोड्नु, पढ्नै छोड्नु हुन्छ ? राम्रो अंक छ तेरो । जा, छात्रवृत्तिमा गएर दर्खास्त दे ।"

बुढाको सल्लाहलाई मैले सहर्ष स्वीकार गर्दै दर्खास्त दिने निर्णय गरेर कामाडौँतिर लागे ।

दर्खास्त केमा र कहाँकोमा दिने ? त्यो सोचेँ मैले । भारततिर दिनु बेकार थियो किनकि म बाइस वर्षको भइसकेको थिएँ र त्यहाँ उमेरको लण्ठा लगाइदिन सक्थे । मैले सोभियत संघ रोजेँ र छात्रवृत्ति पाएँ पनि ।

यसपछि

घरबाहिर

१ निष्क्रमण
२ धरानबाट विराटनगर
३ विराटनगर
४ विरातनागारबाट वीरगन्ज
५ वीरगन्जबाट काठमाडौँ
६ काठमाडौँको शुरू बसाइ
७ सहपाठीहरू
८ २०१५ साल
९ २०१७ साल
१० २०१८ साल
११ मेरो हेतौडा बसाइ
१२ विदेशयात्राको तयारी

देशबाहिर