index
----
home
मेरो जीवनयात्रा
पहिलो खण्ड

मादीबिर्ता

१ हाम्रो घर
२ मादीबिर्ता
३ मेरा बाबु
४ मेरो पहिलो शिक्षा
५ मेरी बजै
६ अन्त्येष्टि र अंशबण्डा
७ आङ्लभाषाको प्रवेश
८ समाजमा असर
९ चैनपुर बजार
१० आयो कांग्रेस
११ २००७ साल
१२ मेरो बिद्यालय
१३ मेरी आमा
१४ हाम्रो व्रतबन्ध
१५ विद्यालय र शिक्षक
१६ हाम्रा अन्तिम वर्ष
१७ मेरी पत्नी
१८ म आफै
१९ समग्रमा मादीबिर्ता
दोश्रो खण्ड

घरबाहिर


मेरा सहपाठी र मित्रहरू


कलेजको मेरो जीवन विद्यालयकोजस्तो उत्कृष्ट पटक्कै होइन । मेरो गाउँमा मेरो कक्षामा १० जना पनि थिएनौँ र म उत्कृष्ट मानिएको थिएँ तर काठमाडौँमा त मभन्दा अव्बल धेरै धेरै थिए र त्यहाँ मेरो गणना हुनै सक्दैनथ्यो । फेरि गाउँको पढाइको उत्कृष्टता सहरी पढाइसँग दाँजिन सक्ने कुरा पानि होइन तर मेरो कलेज त्यो समयमा उत्कृष्टहरूको संगम पनि होइन । त्यो स्थान त त्रिचन्द्र कलेजको थियो । त्यसैले पढाइमा मेरो पानि सहयोग खोज्ने १।२ देखा पर्थे त्यहाँ ।

मेरो कलेज देशका विभिन्न क्षेत्रका मानिसहरूको संगम पनि होइन । सयको हाराहारीको संख्यामा २।४ जना मजस्तालाई छोडेर बाँकी सबै उपात्यकाभित्रका नै थिए । त्यो समयका छेत्री, बाहुन र नेवार मात्रै थिए त्यहाँ र सबैभन्दा ठुलो उपस्थिति नेवारहरूको थियो । यति हुदाहुदै पनि ती तीन जातिकै पनि सहरीकाँठबाट विद्यार्थीको उपस्थिति जनसंख्याको तुलनामा नगण्य थियो दुबै कलेजमा । सहरी अभिजात्यहरू र देशका गाउँका केही हुनेखानेहरूका छोराछोरी पढ्थे कलेजमा । अरूको पढाइ त तलका विद्यालयमा नै सीमित हुन्थ्यो अथवा साक्षरसम्म वा निरक्षर नै हुन्थे ।

मेरा कलेजका केटीहरूसँग बोलचाल नभई नै मेरो कलेज जीवन बित्यो । कलेजका वर्षभरि नै कमिजसुरुवाल लगाउने म सुरुवालेसँग सहरिया केटीहरूले सम्पर्क गर्ने कुरा पानि भएन । दोश्रो, कारण सहरिया केटीसँग कुरा गर्न नसक्ने मेरो हीनतावोध पनि थियो । तेश्रो, अति संकुचित थियो त्यो समाज जहाँ बोलेकै भरमा पनि बात लाग्न सक्थ्यो । केटा साथीहरू पनि सीमित थिए मेरा । त्यहाँ पनि त्यही मेरो लघुताभास र उनीहरूको अभिजात भावनाले काम गरेको हुनु पर्छ ।

काठमाडौँ ज्ञानेश्वरका आत्मप्रकाश पनेरु आफूलाई एपीपी(अमृतप्रसाद प्रधान) नै ठान्थ्यो । मित्रता थियो उसको र मेरो कलेजमा तर कलेज सिध्याएर ऊ पोल्याण्ड पढ्न गएपछि त्यहीँ घरजम गरेर त्यतै हरायो । कुपन्डोलको उपेन्द्रपुरुष ढकाल अर्को मित्र हो सो समयको । साइकल चढ्थ्यो ऊ सो समयको रवाफिलो सवारीसाधन र मैले पनि त्यसमा चढेथेँ । पढाइमा त ठिकै थियो ऊ । पछि शाही वायुसेवा निगममा जागीर खान पुग्यो । बेलाबेला भेट भएर 'हाय, हलो' गरे खाश सम्बन्ध रहिरहेन । त्यो बेलाकी नारी अग्रणी पुण्यप्रभा ढुंगानाको छोरो चाबेलको वद्रिविनोद ढुंगाना पनि थियो जमातमा र ऊ इन्जिनियर बनेर पहिले नेपाल विद्युत कर्पोरेशनमा र पछि नेपाल विद्युत प्राधिकरणमा जागिरे भई सेवा निवृत्त भयो र अहिले पानि भेट हुदा हाय, हेलो चलेकै छ । कविराज शिवप्रसाद रिमालका कान्छा छोरा ‍ सानोबाबु रिमालसँग पनि मित्रता थियो मेरो । मजस्तै केटाकेटीमै विवाहित थियो ऊ र उसको कोठामा हामी पढ्न बसेको बेला उसकी पत्नी आउजाउ गर्दा असजिलो अनुभव गर्थेँ म । उ सको चाँडै मृत्यु भएको सुने मैले । चालिसको दशक पनि छोयो कि छोएन ।

खासै मित्रता नभए पनि तुलशी दिवससँगको परिचय धनकुटादेखिकै थियो म धनकुटामा जाँच दिन आएका कारणले तर ऊ त्यो बेला दिवस नभएर जोशी नै थियो । भावुक कविता पढ्थ्यो, गम्म फुलेर बस्थ्यो । यदाकदा त्रिचन्द्र कलेजको प्राङ्गणमा पछिका गायक प्रेमध्वज प्रधान पनि गितार लिएर देखापरेथ्यो तर विज्ञान पढ्ने केही महिनामै ऊ हराएर गयो । मेरा सहपाठी बुनु बस्नेत र मीरा जोशी अन्त्यमा सफल भए कि भएनन् थाहा छैन तर दुई वर्ष कलेजमा टिके । शान्ती थापा भने गायिका बनिन् क्या रे । मेरो कलेजका सहपाठीहरूमध्ये सिन्धुली कोटगाउँकाका नारायणविक्राम थापा र धनकुटा मुसाङ्खेलका डिल्लीबहादुर खड्कासँग भने आधा शताब्दि मित्रता चलेकै हो ।

डिल्लीबहादुर खड्का छक्कापन्जा नजान्ने सोझो मानिस तर जे कुरामा पानि शंका र खोट निकाल्न सधैँ तैयार । कसैले केही सहयोग गर्न खोज्यो भने मलाई बिगार्न गर्दैछ ऊ भनी ठान्ने र कसैले कुनै काम गरी दिन सकेन भने मलाई बिगार्न जानीजानी गरी दिएन भनेर सोच्ने । बाटोमा हिड्दा कुनै मानिस पछाडि आई रहेको छ भने कसैले मेरो चियो गर्दैछ भनेर कसैसँग गाँस्ने । पढाइमा अव्बल नभए पनि एयर ट्राफिक कन्ट्रोलर भएर माथिल्लै पदसम्म पुग्यो । सोझो छलकपट नजान्ने तर मुखको छुच्चो जागिरे । छुच्चै मुखको कारणले ०४७ सालको प्रजातन्र्ुपछिको सामुहिक निष्काशनमा पर्यो ऊ । काठमाडौँका घरानियासँग नाता जोडेर आफूलाई कुलिन बनाउन खोज्ने प्रवल चाहनाले आफ्नो चालिसको उमेरतिर ठुलो पदमा पुगेर बिहे गरे पनि ५।७ वर्ष नबित्दै उनकी श्रीमतीको दुखमय अन्त्य भयो । सधैँ एक्लै बित्यो जिन्दगी उनको ।

नारायणविक्रम थापासँग मेरो चिनापर्ची म कलेज पसेपछिको १।२ महिनामा नै भएको थियो । हामीमा केही समानता थिए र विषमता पनि । ६ फुट २ इन्च उचाइको गाहुँगोरो रङ्गको अल्पभाषी नारायाणविक्रम थापाकासामु म फटफटे कृशकाय ५ फुटे मानिसको व्यक्तित्व शुन्यसम देखिन्थ्यो । आफूहरूलाई भीमसेन थापाको हकदार माथवरसिंह थापाको सन्तान दावी गर्ने परिवारमा जन्मिएको तर राजधानीको राजकिय परिवेशभन्दा पर सिन्धलीको गाउँमा हुर्किएको उसको चरित्र दोहोरो प्रकृतिको हो भन्ने मलाई लाग्छ । मजस्तो गाउँलेसँग उसको सम्बन्ध अत्यन्तै राम्रो त थियो नै, उच्च घरानियाहरूका बीचमा पनि उसमा हीनताभास थिएन । उसको नातासम्बन्ध घरानिया राणा, शाह र थापासँग भए पनि उसले मलाई सधैँ नै आफ्नो समकक्षी मित्रको सन्मान नै दियो ।

म पक्कै गाउँले थिएँ । न मलाई सहरको परिवेश थाहा थियो, न घरानियाहरूको चालचलन नै । नारायण थापाको नातासम्बन्ध नक्साले थापासँग थियो र सी क्लासका राणाहरूसँग पनि । डम्बर शमशेर थापाकी पत्नी त फुपू नै थिइन् । पछि त उसको नाटककार बालकृष्ण समकी नातिनीसँग बिहे भएपछि सम परिवारसँग पनि नाता जोडियो ।

शान्त थियो नारायाणविक्रम थापा आवेशमा कहिले पानि नआउने । हामी पढ्दा उसको सम्पन्नता मेरोभन्दा कुनै गतिलो थिएन । उसको गैर्हिआधारामा बाबुहरूको एउटा सानो घर थियो र त्यसैमा बस्थ्यो ऊ कहिले एक्लै, कहिले परिवारको कुनै सदस्यसँग । मेरैजस्तो उसको पनि पहाड घरबाट खर्च आउनु पर्थ्यो । कहिलेकहीँ त उसलाई पनि मेरैजस्तो चामलसाहुले नपत्याउने दिन पनि आउथ्यो ।

२०१५ सालको दशैँमा म, नारायण र सिन्धुलि रातामाटेको केदार आचार्य नारायणको घरतिर लाग्यौँ । सार्वजनिक यातायातको साधन थिएन कुनै त्यो बेला र भाडाका निजी गाडी पनि १।२ वटा मात्रै थिए । म त हिड्नै पनि तयार थिएँ तर नारायाणले मानेन र काठमाडौँदेखी बनेपासम्मको लागि जिप भाडामा लियौँ । साँगाको साँगुरो ठाडो उकालो गाडीमा पार गर्न हाम्रो आँट आएन र हामीले त्यसलाई पैदलै पार गरेर भन्ज्याङ काटेपछि फेरि गाडी चढेर बनेपा पुग्यौँ । दिन थोरै थियो तर साथीहरूले बनेपामा बस्ने इच्छा गरेनन् र हामी निकै अँध्यारो भएपछि दाप्चा पुगेर काँचो कचिलो बनाई, खाई सुत्यौँ । भोलिपल्ट बिहान अँध्यारै साथीहरूले मलाई बाटो लगाए र बाटोमा केही कट्याककुटुक खादै रोसीखोलाको किनारमा बसेको मंगलटारको एउटा घरमा खाना पकाएर खायौँ । दुईतिर पहाडले छेकिएको रोसीमा कहीँ पनि मानिसको अनुहार देखिन्नथ्यो । दशैँ ताका भएकोले पनि होला । त्यो नागबेलि परेर घुम्ने रोसीखोलाको बाटो हिड्नु पर्दा पचासौँ पटक खोलो तरेँ मैले । जुत्ताबिना हिड्न नसक्ने हुनाले जुत्तै लाएर खोलो तरेँ बाटोमा र त्यो एक जोर जुत्ता अर्को एक महिना पनि टिकेन र मैले अविभावकको गाली खाएँ । दोभानमा बसेको दुम्जामा भने बाक्लै बस्ती थियो र अर्को बस्ती रातमाटे पुगेपछि भेटिएको थियो । निकै अध्यारो भएपछि हामी रातमाटे बोरेटार केदारको घरमा पुग्यौँ ।

म अति नै थाकेको त्यो दिनको हिडाइ मेरो सामर्थ्यभन्दा बाहिरको कार्य थियो । त्यो दिनको पहाडी हिडाइ १०।१२ कोस भनिए पनि ४० किलोमिटरभनदा कम थिएन होला । गएर घरमा अडिएको मात्रै के थिएँ, मलाई निन्द्रा या बेहोसीले छोप्यो । खाना खाएको पनि मैले थाहा पाइनँ । खुट्टा मालिस गरेर तेल लगाइ दिएको भनाइलाई भोलिपल्ट चिल्लो खुट्टा देखेपाछि मान्नै पर्योा । मेरो त्यो दिनको हिडाइले भोलिपल्ट म हलचल गर्न नसक्ने भएको थिएँ र एक घण्टामा नारायणको घर पुगिने बाटो पार गर्न मलाई पाँच घण्टा लाग्यो । त्यसपछि पनि म कैयौँ दिनसम्म थलिएर बसेँ ।

हामी पुग्यौ नारायणको कोटगाउँको घरमा । नारायणका पुर्खा माथवीरसीं थापा मारिएपछि उनकी आमा सानो नातिलाई लुकाउन विश्वासिला नोकरचाकरसहित सिन्धुलितिर लागेर अहिलेको कोटगाउँमा पुगेर कोशीतिरको मूलबाटोबाट निकैमाथि कोटजस्तो चढ्न असजिलो ठाउँमा पुगेर घर बनाई बसेका हुन् रे । ठाउँ र समय अनुसार त्यो घर दरबारकै रूपमा बनाइएको भए पनि म त्यहाँ पुग्दा त्यो घर निस्तेज, निर्जन र हेरचाहविहीन देखिन्थ्यो । त्यति ठुलो दरबारको एउटा कुनामा नारायणका बाबु, आमा र एउटी नोकर्नी थिए त अर्को कुनामा उसका ठुलोबाबुका १।२ सदस्य । घरको प्लास्टर जहीँतहीँ उप्किएको थियो । दिवाल नै पनि कति ठाउँमा सवुत थिएन । पलङ भनौँ या खाट ती पानि थिएनन् त्यहाँ । हामी भुईँमा ओछ्यान लगाएर सुतेका थियौँ । शायद पुराना खाट मक्किएर गएका र एक्लो छोरो घरबाहिर बस्ने भएकाले नयाँ बनाउने चासो पनि भएन होला । रित्तो र सुनसान लाग्थ्यो घर । हामी तीन जना पुगेपाछि हाम्रो हल्लीखल्लीले केही रौनक आएको थियो त्यहाँ । कुनै समयको त्यो सम्पन्न घरलाई असम्पन्नताले थेग्न सकेन र त्यसपछिको एक दशक नबित्दै त्यसलाई भत्काएर त्यही ठाउँमा सानो नयाँ घर बनाइयो ।

रमाइलो थियो कोटगाउँ आफ्नै विशेषता बोकेको । कोशीदेखि ठाडो उकालो चढेर आएपछि समथर भाग थियो । समथर ठुलो भने होइन । त्योभन्दा दक्षिणतिर महाभारत लेकको ठाडो उकालो र जंगल । दायाँ वायाँ पनि भिर, पहरा नै थिए । गडी या कोटकै हिसाबले सुरक्षित स्थान ठानेर थापाहरू त्यहाँ बसेको हुनु पर्छ त्यो जमानामा । कोटगाउँबाट पारीपट्टि अर्को डाँडोमा झुरुम्म बस्ती थियो र त्यसलाई देखाएर मेरा मित्रका पिताले भनेका थिए - "त्यो तिम्रै दाजुभाइ दाहालहरूको गाउँ हो ।" तर म त्यहाँ पुगिनँ । कहिले शिकार त कहिले माछा दुवालि भन्दै मेरा मित्रहरू जंगल खोलाहरू दौडिए तर तिनमा मेरो सोख नभएकाले मैले दृश्यावलोकनमै दिन बिताएँ ।

मित्रका पितालाई छोराका लागि खर्च जोगाड गर्न समय लागेकाले हामी ढिलै गरेर फर्कियौँ । पढाइ अघि बढी सकेको रहेछ र मेरा अविभावकको गाली खाएँ मैले - "आमाले छोरो पढ्छ भनेर कति दुख गरेर पैसा पठाउछिन् । तिमी भने यसरी बरालिदै हिड्ने ?"

यसपछि

दोश्रो खण्ड

घरबाहिर

१ निष्क्रमण
२ धरानबाट विराटनगर
३ विराटनगर
४ विराटनगरबाट वीरगन्ज
५ वीरगन्जबाट काठमाडौँ
६ काठमाडौँको शुरू बसाइ
७ सहपाठीहरू
८ २०१५ साल
९ २०१७ साल
१० २०१८ साल
११ मेरो हेतौडा बसाइ
१२ विदेशयात्राको तयारी

तेश्रो खण्ड

देशबाहिर