index
----
home
मेरो जीवनयात्रा
पहिलो खण्ड

मादीबिर्ता

१ हाम्रो घर
२ मादीबिर्ता
३ मेरा बाबु
४ मेरो पहिलो शिक्षा
५ मेरी बजै
६ अन्त्येष्टि र अंशबण्डा
७ आङ्लभाषाको प्रवेश
८ समाजमा असर
९ चैनपुर बजार
१० आयो कांग्रेस
११ २००७ साल
१२ मेरो बिद्यालय
१३ मेरी आमा
१४ हाम्रो व्रतबन्ध
१५ विद्यालय र शिक्षक
१६ हाम्रा अन्तिम वर्ष
१७ मेरी पत्नी
१८ म आफै
१९ समग्रमा मादीबिर्ता
पहिलो खण्ड

बाल्यकाल



मेरी आमा

मेरी आमा र हाम्रो परिवार


“बुझ्यौ म त बालुराम बरालकी छोरी पो त? के ठानेका छौ तिमीहरूले मलाई?” – स्वगर्विणी मेरी आमा कहिलेकहीं हामीलाई धम्क्याउदै भन्ने भर्थिन्। कस्ता थिए बालुराम बराल? मैले कहिले पनि देखिनँ। मेरी आमालाई महान् लाग्ने ती बालुराम बराल ताप्लेजुङको एउटा गाउँका गाउँ वरिपरिका तुलनामा सम्पन्न व्यक्ति थिए, त्यति मात्र म जान्दछु। मेरी आमाकै बखान अनुसार भन्ने हो भने उनी छालाका थैलाम कंपनी रूपयाँ राख्दथे र तामाका घ्याम्पामा डोले पैसा। एक पैसामा बजार भर्न भ्याइने मेरी आमाको बाल्यकालको जमानामा उनका बाबुको धन अजङ सम्पत्ती हुनु पर्थ्यो। पैसा त त्यति आउथ्यो भने अन्नपात कति आउथ्यो होला उनीकहाँ? त्यो मेरो जिज्ञासाको प्रश्न हुन्थ्यो। तब आमा भन्थिन् – “अन्नपात त दाहालेहरूकोमा नै बढी हो।”

मेरी आमा बाबुका पनि कान्छी पत्नीकी बुढेसकालकी छोरी। त्यसैले उनी बाबुआमाकी सार्‍है प्यारी थिइन् होला। मेरी आमा वीस वर्ष पनि नपुग्दै बाबुआमा दुवै मरिसकेका थिए। बाबु भन्न सुहाउने उमेरका दाजु भएकाले ‘दाजुले मलाई सार्‍है माया गर्नुहुन्छ’ भनेर मेरी आमाले भन्दा मैले पत्याए पनि ‘यो बहिनीको निम्ति’ भनेर एक दाम पैसा, एक दाना अन्न, एक धर्को कपडा या एक पित्को कोसेली मेरी आमाको नाममा मामाले पठाएको मैले थाहा पाइनँ। त्यसैले लोग्ने र सासु मरेपछि मेरी आमा निस्सहाय भएकी थिइन् भन्ने म ठान्छु।

“९० सालको भूकम्पमा म १२ वर्षकी थिए र त्यसको लगत्तैपछि माइतबाट घर पठाइएकी थिएँ” भनेर मेरी आमाले भन्ने गरेकीले उनको जन्म विक्रम् संवत् १९७८ मा हुनुपर्छ भन्ने म ठान्छु र मेरा बाबुका दाजु, दिदी, बहिनी सबैको आयु गणना गर्दा मेरा बाबुको जन्म पनि त्यही समयको हाराहारीमा हुनुपर्छ भन्ने मेरो ठम्याइ छ।

मेरी आमाको जन्म पत्रिकामा उनको नाम दिव्यलोका भए पनि उनको त्यो नाम जन्मपत्रिकामा नै सीमित भयो। माइतीकुलमा सबैभन्दा गोरी भएकीले गोरी नाम पाइन् रे उनले र कान्छी छोरी भएकीले कान्छी भनेर पनि बोलाए रे त्यहाँ। घरमा पनि कान्छी बुहारी भएकीले उनी कान्छीकै नामले कान्छीबुहारी, कान्छीबजै, कान्छीमुखिनी आदि सम्बोधनले चर्चित भइन्। न्वारानको नाम सासूको नामसँग जुधेकाले घरमा उनलाई देवमाया नाम दिइयो र लेखापढी र कारोवारमा उनको यही नाम नै प्रचलित भयो।

बुढेसकालकी छोरी माइतमा पुल्पुलिए पनि १३ वर्षको उमेरमा घर पसेपछि मेरी आमाका दुखका दिन शुरू भए। घरभरि सम्पत्ती भएर के गर्नु? बुहारी र कमारीमा फरक नदेख्ने त्यो बेलाका पहाडे बाहुनका जमानामा १३ वर्षकी बुहारी पनि तरुनी ठानिन्थी। एउटी बालक बुहारीले एक्लै २०।२५ जनाको भान्सा उतार्नु पर्थ्यो र मेरी आमा भन्थीन् – “अरू त त्यस्तै हो। दालको कराही उचाल्न नसकेर चुलोबाट झक्दा जहिले पनि दाल खुट्टामा खनिन्थ्यो।”

तरकारी त बुहारीलाई कहिले पनि खान पुग्दैनथ्यो र खानेमानिसको संख्यासँगै पानी थपिदै जाने दालको अन्त्य उपलब्धि नै सितन हुन्थ्यो बुहारीरूका लागि। दुध, दहीको त कुरै भएन। भए मोहीको तुर्को नभए ठण्डाराम ! आफू भान्से हुने छाकको अचार, तरकारीको जोहो आफैले गर्नुपर्थ्यो। भान्सापालो नहुदा बन जाऊ, दाउरा पात ल्याऊ। नभए खर बोक पराल बोक। खाजा माइतबाट ल्याएको छ भने खाऊ नत्र भोकै बस। यी सबै कुरा त्यो बेला त्यो भेकका बाहुनहरूको चलन नै थियो। त्यसैले त्यो उनका लागि मात्र अति भन्न पनि नमिल्ने।

मेरी आमा भन्थिन् – “मैले जति सुख पाएँ बाबुकै घरमा पाएँ।”

हुन पनि हाम्रो घरमा पसेपछि मेरी आमाले सुख पाएको क्षण म फेला पार्न सक्दिनँ। १३ वर्षमा बुहार्तनमा परिन्। बुहार्तनको भारी बोक्न सक्ने उमेरमा पुग्दा नपुग्दा बाबु मरे, आमा मरिन्। अलिकति दया हुने ससुरा बित र अन्त्यमा लोग्ने पनि मरे।

भनिन्छ – लोग्ने बाँचुन्जेल मेरी आमा शान्त र कसैसँग झगडा नगर्ने स्वभावकी थिइन्। सबैभन्दा कान्छी भएकीले मुखमुखै लाग्ने कुरा पनि भएन। अरू सबै ढाकिदिएपपछि चासो लिइरहनु पर्ने आवश्यकता पनि थिएन। त्यसैले म उनलाई त्यो बेला शान्त, सौम्य, लजालु र आज्ञाकारी युवतीको रूपमा चित्रण गर्न सक्छु। सम्पन्न आमाबाबुकी सुखैसुखका हुर्किएकी कान्छी छोरी कलिलै उमेरमा बुहार्तनजस्तो काँडाको झ्याँङमा फालिइन् उनी। दुख खप्न नसक्दा कहिलेकहीँ काखमा घोप्टिएर रुन पाउने आमाबाबु मरे र त्यो समयका आइमाईको अन्तिम सहारा लोग्ने पनि मरेपछि २२ वर्षको उमेेरमा मृगतृष्णाजस्ता देखिने नाबालक छोराहरूको आशमा मेरी आमाको मरुभूमीको यात्रा शुरू भयो।


यसै पनि जीवनसाथी गुमाउनु कष्टकर कुरा हो। तरुनीको लोग्ने मर्नु झन् बढी दुखदायी हो। त्यसमा पनि सङ्किर्ण परिवार र समाज छ भने त्यो दुख अझ बढ्छ। कमारीलाई भर्खर अमलेख गर्नु परेको त्यो समाजमा आइमाई यसै पनि कमारी जस्तै ठानिन्थे। अझ बुहारी त कमारी नै ठहरिन्थे भने बाहुनकी तरुनी विधवा बुहारी त अछुत कमारीभन्दा पनि तल हुन्थे। यसैले पनि देखाउछ मेरी आमाको स्थिति कस्तो थियो भनेर? उनको आफ्नो भनेर समाउने सहारा कोही थिएन। लोग्नेमानिसको सहयोग खोजे ठाडै बात लाग्थ्यो र जसलाई फर्स्याउन नसक्दा जात जान्थ्यो, परिवार र समाजबाट निकाला होइन्थ्यो र जेल पर्ने संभावना पनि आउन सक्थ्यो। कतिपय आइमाईलाई शङ्काकै आधारमा जातच्युत गरेर जेल पठाएको पनि मेरै आँखाले देखेको थिएँ। आइमाईको सहयोग पनि त्यो समाजमा एउटी तरुनी विधवालाई प्रत्युत्पादक नै बढी हुन्थ्यो। सहायतभन्दा नोक्सानी बढी ल्याउने थियो त्यसले। बघिनीजस्ती सासूलाई लोग्ने मरेपछि खुम्चन कर लाग्यो भने बिरालोजस्ती बुहारीलाई त ‘म्याउँ’ पनि गर्न मिल्ने थिएन।

मेरी आमा पाँच फुट एकआध इन्च अल्गी आइमाई। माइतीले जति नै गोरी भने पनि रूपकी राम्री होइनन्, अति सामान्य हुन्। अझ विधवा भएर रङ्ग न ढङ्गको लुगा लगाउदा त बरु नराम्रै देखिन्थिन्। शृङ्गार सामग्री त के साबुन पनि उनको अनुहारले देखेन। कानमा ठूला सुनका मारवाडी भनिने मुन्द्री, ढुंग्री, लस्करी नाकमा सुनकै बुलाकी, चाहाडपर्वमा हातमा सुनका बाला लगाए पनि अरू बेला बुच्चै हुने हात, रित्तो निधार, फुस्रो र खैरो चोलो, फरिया, फरियामाथि पहेँलो पटुका, नाङ्गा खुट्टा, फुटेका कुर्कुच्चा, अलि ठूलो नाक, ठुलै ओठ, लाम्चो खबटे अनुहार, कडा स्वर र कमलो मन मेरी आमाको परिचय हो। केटाकेटीमा त मलाई मेरी आमाजति राम्री अरू कुनै आइमाई लाग्दैनथ्यो तर समष्टिमा भन्नु पर्दा मेरी आमा एउटी सानो कदकी, दुब्ली र पातली, चारैतिर शङ्का मात्रै देख्ने र बोल्न आँट नगर्ने, निस्सहाय स्वास्नीमानिस थिइन् तर समयको प्रवाह र नियतिको चोटले उनीमा यति पाइन चढायो कि उनी चुलोदेखि कचहरीसम्म भ्याउने र चुलोचौकीदेखि कचहरीसम्म पुगेर आफ्नो जिरह लिन सक्ने व्यक्तिमा परिणत भइन्। उनको त्यो संघर्षमा उनका छोरा, हामी दाजुभाइ, ले उनलाई सिन्को भाँच्न पनि सहयोग गरेनौं। उनको प्रयाशको कारणले हामी यति धेरै पर पुग्यौँ कि हामी चाहेर पनि उनीसँग बस्न त के उनको अन्तिम क्षणमा पनि हामी उनकोसाथ हुन सकेनौं। उनी सबै चिज भएर पनि एउटी थकित, पराजित र निस्सहाय स्वास्नीमानिस झैं मरिन्।

मेरी आमा र मेर बडाबाहरू बीच मनमुटाव त मेरा बाबु मरेदेखि नै शुरू भएको हो तर बजै रहुन्जेल त उनले मेरी आमालाई ढाल बनेर छेकेकी थिइन् तर उनको मृत्युपछि त्यो मनमुटाव संघर्षमा परिणत भयो र खुलेआम एक अर्काप्रति घात प्रतिघात हुन थाल्यो। मेरा बडाबाहरू हाम्रो जायजेथालाई भाइका छोराहरूको अमानतभन्दा बढी आफ्ना बाबुको सम्पत्ती ठान्दथे र त्यसबाट २।४ मुठी झक्नु आफ्नो नैशर्गिक अधिकार हो भन्ने सोच्थे भने मेरी आमा त्यो सम्पत्तीको चुनदामसम्म पनि कसैलाई दिन चाहन्नथिन्। स्वभाववस मेरा बडाबाहरू कहिलेकहीं सो सम्पत्तीको सीमालाई अतिक्रमण गर्थे त मेरी आमा आफ्नो मर्यादाको सीमा नाघेर उनीहरूमाथि प्रहार गर्थिन्। जेठाजु बुहारीको दन्तबजान र देउरानी जेठानीको हात हालाहाल नै पनि सामान्य झैं लाग्थ्यो त्यो बेला।

बजै मरेपछि हामी दाजुभाइलाई अनुशाशनमा राख्ने कोही पनि भएन। यसको निम्ति एउटा दर्‍हो लोग्नमानिसको आवश्यकता थियो र बाबु नभएपछि हामीले आमालाई नटेरेर उदण्ड हुनु स्वभाविक पनि थियो। प्रकाशसरको उपस्थितिले त्यो समस्यालाई केही समाधान गरिदियो। स्कूलमा त सर भनेपछि यसै पनि सातो जाने नै भयो, घरमा पनि स्कूल केवल २।४ मिनट पर मात्र भएकाले आमाले प्रकाशसरको डर देखाउन पाइन्। बदमासी गर्दा कहिलेकहीँ त आमाले प्रकाशसरलाई सुनाइ दिने र सरले हामीलाई दण्ड पनि दिने हुनाले हामी अवश्य नै केही नियन्त्रित भयौं। छोरा यसरी नियन्त्रणमा राखिदिएको गुनको साटो आमाले कहिलेकहीं अमरलाई बोलाएर सागसब्जी, दहीमोही, अचारसचार पठाइ दिन्थिन्। गाउँमा यस्ता चिज बेच्ने चलन नभएको त्यो जमानामा छिमेकी घरबाट त्यति सहयोग पाउनु दुई आलाकाँचा केटाहरूलाई ठुलै कुरा हुन्थ्यो। नजिकै बसेपछि प्रकाशसर हाम्रो घरमा आउनु या २।४ मिनट परको देवमन्दिरको पाटीमा बस्ने मानिससँग भेट हुनु कुनै अकार्य त हुन सक्दैनथ्यो तर मेरी आमा त एउटी अछुतजस्ती, एउटी अपराधीजस्ती विधवा थिइन् ज सले कुनै लोग्नेमानिससँग भेटेर कुरा गर्नु पनि हुदैनथ्यो। त्यसैले मेरा बडाबा, मेरी बडीआमाहरू र त्यो समाजलाई नै पनि त्यस्तो भेट पाच्य हुने कुरा थिएन र उनीहरूले मेरी आमालाई प्रकाशसरसँग बात लगाएर शारीरिक र मानसिक यातना दिए। मेरा बडाबाहरूमा ‘यो आइमाई भतिजाहरूको सम्पत्ती लिएर पोइल जान्छे कि?’ भन्ने डर थियो या ‘यो आइमाई पोइल गए भतिजाको सम्पत्ती खान पाइन्थ्यो’ भन्ने लोभ थियो अथवा यी दुईमध्ये एकमात्र नभएर दुवै हुन पनि सक्थ्यो। भतिजाप्रति माया छदै थिएन भन्न त गाहारो छ तर एक बित्ता जमीनको निम्ति ज्यान फाल्ने कृषिमा आधारित त्यो सामन्ती जमानामा भतिजाहरूको सम्पत्तीप्रति लालच थिएन भन्न पनि सकिन्न।

मेरा बडाबाहरूको विरोधको वावजुद पनि अप्ठ्यारो स्थितिमा आवश्यक पर्दा मेरी आमाले प्रकाशसरको सहयोग सधैँ नै मागिन् र उनले पनि ‘नाइँ’ कहिले पनि भनेनन्। चैनपुर बस्दा पनि म प्रकाशसरकै संरक्षकतामा बसेँ र मेरा कतिपय अप्ठ्यारा स्थितिमा पनि प्रकाशसरको निर्देशन पाएँ।

मेरी आमा र प्रकाशसरको बीचमा के सम्बन्ध थियो? त्योबारे प्रमाण र आधार खोज्नु म आवश्यक ठान्दिनँ। विजातिय विवाह भए जेल र नेल भोग्नु पर्ने जमानामा विवाहको इच्छा त हुनै सक्दैनथ्यो। प्रेम थियो कि एक अर्काप्रति विश्वास र श्रद्धा? प्रेम नै थियो भने पनि म अचम्म मान्दिनँ र अनैतिक पनि ठान्दिनँ। ५।७ वर्षको उमेरको फरकले दुई युवा मनलाई प्रेम गर्नबाट रोक्न सक्दैनथ्यो। प्रेम भनेर भन्न नसके पनि उनीहरूका बीचमा एकअर्काप्रति श्रद्धा, स्नेह, सहानुभूति र सद्भाव भने पक्कै थियो र उनीहरूले त्यसलाई आफ्नो जीवनभर कायम राखे। दुर्भाग्यले मेरी आमालाई फलामजस्तै दृढनिश्चयी बनायो। नुहुनभन्दा भाँचिन सजिलो मान्ने। त्यही स्वभावले कति पटक दुख पनि दियो र कति ठाउँमा अपमानित पनि बनायो। विजयको निम्ति लड्न सक्ने अदम्य साहस थियो उनीमा र लक्ष निर्धारित गरिसकेपछि त्यहाँ पुग्ने धैर्य र दुढता पनि थियो। त्यसैले उनले त्यो जमानाकी निर्धी आइमाई भएर पनि समयसापेक्ष सफलता सधैं हासिल गरिन्। होे, जुन समाजमा उनी बसिन् त्यो समाजमा उनको सफलता पासाङको सगरमाथा टेक्न सक्ने या रजिया बेगमको सल्तनत थेग्न सक्ने सफलता त खोजे पनि हुन सक्दैनथ्यो तापनि त्यो परिवेशमा उनको संघर्ष र सफलता पासाङ लामु या रजियाकोभन्दा कम म ठान्दिनँ। उनले सधैं नै आफूले चाहेको प्राप्त गरिन्, विजयी भएर बसिन् तर मृत्युका सामु सबैले निरिह बन्नै पर्दो रहेछ। जस्तोसुकै सिंहले पनि मृत्युलाई एक्लै बेहोर्नु परे झैं उनीले पनि त्यसलाई एक्लै बेहोरिन्र। हामी छोराहरूको माया, विद्या, सामर्थ्य या साधन उनका लागि कुनै अर्थ रहेन। उनको धन, आँट, सन्मान र सामर्थ्यले पनि मृत्युलाई इच्छामरण बनाउन सकेन। अहिले मलाई लाग्छ – सिंह होस् या स्याल अन्तिम क्षण सबैको समानै हुदो रहेछ, सबैले समान नै बेहोर्नु पर्दो रहेछ।


०८ साल के छोएको थियो मेरी आमालाई लाग्यो – ‘छोरी तरुनी भई।’ १२ वर्ष उमेरकी त्यो मेरी दिदीलाई तरुनी देख्ने आँखा मेरी आमाकाभन्दा पनि त्यो समाजका थिए। राम्री थिई मेरी दिदी रूपवती नै भन्दा हुने। यो निर्णय मेरो होइन, मेरा बुज्रुगहरूको हो। म त त्यो बेला राम्रो नराम्रो छुट्याउन सक्ने उमेरमै पुगिसकेको थिइनँ। शान्त थिई मेरी दिदी। हामी भाइलाई भाग नपुर्‍याई कहिले पनि नखाने त्यो दिदी सार्‍है सहु थिई। भाइ त सानै थियो त्यसैले ऊ उदण्ड हुदा पनि त्यति ठुलो खति हुदैनथ्यो। म त निकै ठुलो १० वर्षमा हिड्दै थिएँ दिदीको विपक्षमा झोसपोल लाउन सक्ने। त्यसैले दण्डित पनि हुन्थी दिदी मेरो कारणले। त्यही समयमा दिदीको बिहेको कुरा चल्न थाल्यो। मेरो जेठा बडाबा मेरी दिदी आफ्ना नाताका विधुरलाई दिन चाहन्थे, मेरी आमा अर्कै कुमार केटोलाई। तानातान धेरै चले पनि आखिर केटीकी आमाको नै विजय भयो र मेरी दिदीको कुमार केटोसँग नै बिहे भयो। बिहेपछि मेरी दिदीलाई त्यही नै छोडेर गए। त्यही समयमा विद्यालय स्थापना भयो र म पाँचौ कक्षामा पढ्न शुरू गरें र भाइ तीन कक्षामा। छोरीलाई पढाउने चलन थिएन त्यो बेला। त्यसमा पनि मेरी दिदी त भर्खर बिहे गरेकी अर्काको नासो। आमाले पठाउने कुरै भएन।

२००९ सालमा मादीबिर्तामा माइको प्रकोप देखा पर्न थाल्यो र गाउँमा नै खोप लगाउने बन्दोवस्त गरियो तर, अहिले सुन्दा अचम्म लाग्न सक्छ, त्यही खोप लगाउनेमा पनि गाउँ दुई भागमा विभाजित भयो। एक थरी खोप लगाए रोग लाग्दैन भन्ने र अर्का थरी खोप लाए माई झन् रिसाउछिन् र रोगको प्रकोप झन् बढ्छ। किन हो कुन्नि? मेरी आमा खोप लाउनेका प्रभावमा परेर, शायद प्रकाशसरले नै त्यो राय दिएको हुनु पर्छ, हामी दुई भाइलाई मात्र खोप लिन पठाइन्, दिदीलाई पठाइनन्। किन? यो मेरो प्रश्नमा पछि मेरी आमाले केवल यति मात्र भनिन् – “खै, किन भन्नु नै। मेरो बुद्धि बिग्रिएको नै।”

उनको बुद्धि बिग्रिएको पनि हो र उनको वाध्यता पनि थियो। छोरा र छोरीमा असमान व्यवहार गरिने त्यो समाजमा हुर्केकी मेरी आमाले आफ्ना भविष्यका आधार छोराहरू सरह त्यो अर्कालाई दिइसकेकी छोरीलाई राख्न नसकेर उसलाई खोप लिन नपठाउनु उनको वुद्धि बिग्रेको हुनसक्थ्यो भने अर्काको नासो बिहे गरेकी तरुनी छोरी लोग्नेमानिसका बीचमा पठाउदा कुटुम्बले के भन्ने हुन् भन्ने त्राश पनि उनकेा मनमा थियो र यो उनको वाध्यता थियो। परिणामतः हामी छोराहरू बाँच्यौं र मेरी दिदी मेरी आमाले त्यो छोरीलाई हेला नगर्दा नगर्दै पनि केही समयपछि नै माईका प्रकोपमा परेर मरी। मेरी दिदी मात्रै होइन अरू धेरै केटाकेटी मरे माईले त्यो समयमा तर मेरी आमाले छोरीको मृत्युको कारण आफूलाई ठहर्‍याएर जीवनभर पश्चातापको घाउ बोकिन् र पछि नाति र नातिनीमा अन्तर गरिनन्। मेरी दिदी मर्दा म रोइनँ। मलाई पिर पनि लागेन, केवल आफूले थाहा पाएदेखि सँगै भएकी दिदी नहुनाको खल्लोपन मात्र भयो र २।४ दिन त मरेको मानिस फर्केर आउदैन भनेर सबैले भने पनि दिदी फर्केर आउँछेजस्तो लाग्थ्यो र सपनामा पनि ऊ फर्केर आएको देख्थेँ।

हाम्रो आमदानीको स्रोत उठ्ती हुने अन्न थियो। लगानीपात पनि थियो हाम्रा बाजेका पालादेखिको अंशभागमा परेर आएको तर असुलउपर गर्न जाने कोही नभएकाले त्यो लथालिङ्ग हुदै गएको थियो। मेरी आमा, उमेरदार स्वास्नीमानिस, जाने कुरा भएन। जेठाजुहरूको आनीबानी थाहा पाएकी उनले उनीहरूलाई कागजपत्र दिने कुरा पनि थिएन। तेश्रो मानिसलाई काम गर्न मेरा बडाबाहरूले दिदैनथे। मेरा बडाबाहरू मेरी आमाको स्थितिलाई साँगुर्‍याएर उनीहरूका शरणमा आउने पार्न चाहन्थे। मेरी आमा ‘के मद्दत गरेर लुट्नु बाहेक?’ भनेर आफू झुक्न चाहन्नथिन्। उनीहरू बीच प्रेम, भातृत्व त के सामान्य औपचारिकतासम्म पनि थिएन मेरी आमाको। एकलाई अर्कोभन्दा ठूलो हुनु पर्ने प्रतिद्वर्‍न्दिता थियो उनीहरू बीच र पढाइका हिसाबले हामी दुई दाजुभाइ अव्वल बनेर आमाको मनोबल बढाइ रहेका थियौँ।

यसपछि हाम्रो व्रतबन्ध

दोश्रो खण्ड

घरबाहिर

१ निष्क्रमण
२ धरानबाट विराटनगर
३ विराटनगर
४ विराटनगरबाट वीरगन्ज
५ वीरगन्जबाट काठमाडौँ
६ काठमाडौँको शुरू बसाइ
७ सहपाठीहरू
८ २०१५ साल
९ २०१७ साल
१० २०१८ साल
११ मेरो हेतौडा बसाइ
१२ विदेशयात्राको तयारी

तेश्रो खण्ड

देशबाहिर