अरू कथाहरू

राम दाहालको लेखनी


home

१. अनुभूति
२.आशंका
३.अंशबण्डा
४.गंगामाया
५.कथाकी कुन्ती
६.कर्णेल्नी
७.गोमती किन पोइला गई ?
८.जयपराजय
९. पाहुना
१०. प्रशङ्ग मानेका पातको
११. मिनर्वा
१२. महानगरको एक रात
१३. श्रापित राजकुमारी
१४. समानता
१५. सौता
१६. सौमी

सौता

कथा



मोहनकृष्ण र रुक्मिणीको बिहे भएको पन्द्रह वर्ष नाघI सकेको थियो तैपनि उनीहरूका कुनै सन्तान थिएनन् । घरमा आमाबाबु भएका भए मोहनकृष्णलाई कचकच गरेर, रोएर, कराएर उसको अर्को बिहे गराई सक्ने थिए होलान् तर मोहनकृष्णले उनीहरूलाई बालखकालमै बिदाइ गरी सकेको हुनाले त्यो फतफत र कचकचबाट उसले मुक्ति पाएको थियो । छोराछोरी नभएकोमा उसलाई कुनै आपत्ति थिएन किनकि रुक्मिणीलाई ऊ जति माया गर्थ्यो त्यति माया त ऊ छोराछोरीलाई पनि दिन सक्ने थिएन । चाहना नभएका छोराछोरी भएनन् भनेर उसले चित्त दुखाउने कुरा पनि आएन ।

मोहनकृष्णले सेनामा जागीर खाएको २० वर्ष बितिसकेको थियो र लप्टनबाट सुरु गरेको जागीरे जीवनमा कर्णेल भइसकेको पनि २।४ वर्ष नाघेको थियो । आर्थिक सम्पन्नता उसलाई बाबुआमाले नै छोडेर गएका थिए र स्वास्थ्य र शिक्षा उसले आफैले कमाएको थियो ।

छोराछोरी किन भएनन् ? त्यो उसले केलाउन चाहेन । ऊ कुनै पनि स्थितिमा रुक्मिणी छोडन चाहदैथ्यो र केलाउन थाले पछि रुक्मिणी या उसका कमजोरी देखा पर्न सक्ने जस्ता अनेक समस्या उब्जन सक्थे । वर्षौदेखि रहेको लोग्नेवास्नीबिचको आत्मिय सम्बन्धमा छोराछोरीको लालशाले फाटो ल्याउन चाहदैनथ्यो । छोराछोरी बिना नै ऊ सुखी र खुशी थियो भने छोराछोरीको निम्ति अतिरिक्त प्रयाश गरेर विपत्ति बोलाउनु ऊ अनावश्यक ठान्दथ्यो । उसले बिहे गरेको दिनदेखि नै रुक्मिणीलाई कहिले पनि छोडेन यताउता तालिममा जादा बाहेक । त्यसैले उसका साथीहरू या सहकर्मीहरू उसलाई उसको पछाडि जोइटिंग्रे भन्ने गर्दथे तर मोहनकृष्णकै अगाडि भनेको भए पनि उसले केही जस्तो ठान्ने थिएन ।

रुक्मिणीको सोचाइ भने मोहनकृष्णको भन्दा अलि फरक थियो । ऊ लोग्नेका सन्तान नहुने भए कसैलाई धर्मपुत्र या धर्मपुत्री पाल्न चाहन्थी र आफ्ना नहुने भए सौता ल्याउन पनि तत्पर थिई तर सन्तानको अति चाहना भए पनि र स्वर्ग नर्कको साह्रै डर माने पनि लोग्नेका जिद्दीका अगाडि उसको केही लागेन र उसले आफ्नो पराजय स्विकार गरेर बसी ।

मोहनकृष्णलाई ६ महिनाको लागि नै भए पनि अर्को बटालियनमा जानै पर्ने भयो । जागीर खाए पछि आदेश नमान्ने कुरा पनि भएन । त्यसलाई टार्न उसले हर प्रयास गर्यो तर उसको केही चलेन । अन्त्यमा झोक्किदै आएर रुक्मिणीलाई भन्यो - “छोडी दिन्छु म यो जागीर ।”

रुक्मिणीले उसलाई सम्झाएर भनी - “किन छोडनु पर्यो जागीर ? जागीर छोडेपछि तँपाई के गरेर बस्नुहुन्छ ? छ महिना बाहिर बसेर के भयो र ? बरु एक्लै नजाने भए म पनि जान्छु ।”

“जान्छ्यौ अब तिमी त्यो जंगलमा ? हुने कुरा पो गर्नु पर्छ त ।” - मोहनकृष्णले विरोध गर्योौ ।

“तपाईले जान हुने ठाउमा मैले जान नहुने के छ र ? त्यहाँ एक्लै जानु परे जागीर नै छोड्ने भने पछि मैले पनि साथमै जानु परेन त ? ” - रुक्मिणीले मानिन ।

“भनी हालेँ नि मैले तिमीले जान मिल्दैन भनेर ।” - मोहनकृष्ण अलि नरम भयो ।

“त्यसोभए तपाई जान्न नभन्नोस् त । बरु महिना महिना दिनमा आउनु । पाए अझ चाँडै आउन सके झन बेश ।” - रुक्मिणीले जोड दिई ।

स्वास्नीको तर्क काट्न नसके पछि मोहनकृष्णले भन्यो - “तिमी एक्लै कसरी बस्छ्यौ नि फेरि ? ”

उसले मुस्कुराउदै जवाफ दिई - “"केले खान्छ र मलाई एक्लै बस्दा ? त्यसमा पनि यो सैनिकको आवास क्षेत्रमा केको डर ? हो, यसो बोलचालगर्न कोही चाहिए ल्याउँछु नि कसैलाई ।”

“कसलाई ल्याउछ्यौ ? को मान्छ र आउन ? ” - मोहनकृष्णले जान्न चाहयो ।

“कोही भए भएन र ? पीर गर्नैपर्दैन तपाईले ।” - रुक्मिणीले सम्झाई र केही दिनमा मोहनकृष्ण बाहिर गयो ।

छोराछोरीको लालशा रुक्मिणीलाई असाध्यै थियो । त्यसैले आफ्ना नातागोता सबैका बालक छोराछोरीलाई टिपेर माया देखाउथी, म्वाँई खान्थी । जुनसुकै जस्तोसुकै बच्चा देखे पनि ऊ लोभिइन्थी र उसलाई उठाउन खोज्दथी तर आमाको काँख छोडेर नौलो मानिससँग जानुपर्दा उनीहरू चिच्याएर विरोध गर्दथे र रुक्मिणीले उनीहरूलाई तुरुन्त फिर्ता गरिदिन कर लाग्दथ्यो । कुनैकुनै उसको काखमा उसको माया पाएर अलमलिन्थे तर तिनीहरूलाई पनि आफ्नो काखमा धेरै बेर राख्न कहाँ पाउथी र ? एकै छिनमा आमा या बाबु आएर रुक्मिणीको धोको नपुग्दै लिएर जान्थे ।

रुक्मिणीको छिमेकबाट एउटी सानी केटी आउँथी वर्ष सातेककी । उसको नाम सानुमाया हो तापनि सबैले उसलाई सानु भन्ने गर्थे । सानु कुनै राम्री र टुपुक्क परेकी त होइन तर बच्चा केको पो राम्रो हुदनै र ? बच्चा त उँटको पनि राम्रो हुन्छ । सानु जोसुकैसँग पनि फतरफतर गरिरहन्थी र उसको त्यो फतरफतर कसैलाई पनि नराम्रो लाग्दैनथ्यो । त्यसैले सबैकोमा उसलाई प्रवेश खुला थियो र ऊ जहाँ पनि पुग्न सक्थी तैपनि उसको बास धेरै जसो रुक्मिणीकहाँ नै हुन्थ्यो । अरूका घरमा केटाकेटी थिए र ती बालकहरूले कहिले नकहिले त्यो असम्पन्न परिवारकी छोरी सानुलाई बिझ्ने कुरा भनेर उसको चित्त दुखाई दिई हाल्थे । सानुलाई रुक्मिणीकहाँ त्यो डर थिएन ।

छोराको आशमा आधा दर्जन छोरी नै छोरी जन्माइएको परिवारमा जन्मेकी सानुको घरमा उसको बेवास्ता त भई नै हाल्थ्यो । त्यसमा पनि सातौं बालक छोरो भएपछि छोरीहरूको भाउ नगण्य हुने नै भयो । अरू दिदीबहिनीले त परिस्थतिलाई सहज स्विकार गरे तर स्वभावले विद्राही सानुको आत्माले आफू र भाइप्रति हुने असमान व्यवहार कहिले पनि स्विकार गर्न सकेन । उसले जहिले पनि आफूले पनि भाइले जत्तिकै आमाको माया, घरको सन्मान र बाबुको उपहार पाउने अधिकारी ठानी र असमान व्यवहारको विद्रोह गरी । त्यसैले घरमा आमासँग उसको झगडा परी नै रहन्थ्यो र बाबुको थप्पड पनि ऊ पाउँथी । यी सबै कुराकेा परिणाम यही नै हुन आयो कि बाबु हुँदा सुत्न बाहेक ऊ घरमा बस्दिनथी र भाइको साथमा बसेर खान या भाइ त्यहीं भएको बेला आमाको नजिक जान पनि मन पराउदिनथी । मौका पाई भने ऊ भाइलाई १।२ चडकन जमाएर आमाले पत्ता पाउनु अघि नै कुलेलम ठोक्दथी । रुक्मिणीले त्यही सानुलाई मोहनकृष्ण फर्केर नआउन्जेल आफू कहाँ राख्ने विचार गरेर सानुकी आमा कहाँ माग्न गई । पहिले केही आनाकानी गरे पनि रुक्मिणीले प्रलोभन दिए पछि आखिर उसले मानी र आमाले मानी सकेपछि बाबुलाई मनाउने कुरा त्यति गाहारो भएन ।

रुक्मिणीको घरमा सानु आउनेजाने गर्दथी र रुक्मिणीका बोलीमा, वचनमा स्नेह पाउने हुनाले उसले दिएको खान समेत हिच्किचाउदिनथी अन्यथा जतिसुकै बतौरी भए पनि माया नगर्ने ठाउँमा गए पनि त्यहाँ खानहुन्न भन्ने उसको एउटा धारणा जमेको थियो र कसैको घरमा खानेसमय भयो कि सानु टाप कस्दथी र जति बोलाए पनि खाने समय नटरुन्जेल फर्कन्नथी । रुक्मिणीकोमा भने उसले त्यो नियम पालन गरेकी थिइन । मोहनकृष्ण नभएको समयमा रुक्मिणीले भँडारदेखि बैठकसम्मको काम सानुलाई अराउँथी र सानु पनि काम अफ्नै हो भने झैं गरेर गर्दथी । हो, मोहनकृष्ण भएको बेला भने सानु अगाडि पर्दिनथी । अपर्झट दिउँसो मोहनकृष्ण आइपुगे सानु भान्साको पछिल्लो ढोकाबाट भागी सकेकी हुन्थी । हुनत रुक्मिणीले सानुको बारेमा मोहनकृष्णलाई सबै कुरा सुनाई सकेकी थिई तापनि सानु र मोहनकृष्णका बिचमा कुनै मैत्रीसम्बन्ध कायम हुन सकेको थिएन । उसले त राम्रोसँग सानुको अनुहार पनि हेरेको थिएन किनकि उसको निम्ति सानु कुनै खाश व्यक्तित्व थिएन । मोहनकृष्णले सानुपट्टि पटक्कै सोचेको थिएन र सानुलाई पनि मोहनकृष्णको मित्रताको आशा र विश्वास थिएन । सानु र रुक्मिणीको मित्रता प्रति मोहनकृष्णको कुनै राग द्वेष थिएन र मोहनकृष्णको आफू प्रतिको बेवास्तामा सानूलाई कुनै गुनासो पनि थिएन ।

सानु रुक्मिणीको घरमा आई - मोहनकृष्णको अनुपस्थितिमा रुक्मिणीको रिक्त भएको स्थान भर्न । रुक्मिणी कसैलाई पनि साथमा नलिई एक्लै पनि बस्न सक्थी र कहिलेकहीं बसेकी पनि हो । अर्दली र नोकरचाकर त घरमा थिए नै तर पनि साथमा हन्बेर्नो जस्तो एउटा केटाकेटी हुदा घरमा मानिस भए जस्तै भइरहन्थ्यो । त्यसैले सानु जहिले पनि रुक्मिणीकै वरपर भइरहन्थी । रुक्मिणीले बराबर सानुलाई खोजी रहनाले र आफूसँग नै राखी रहने चाहना बुझेर सानु पनि उसको नजिक हुन थाली । पहिले त्यो घरमा बसी रहनु नपर्दा सानुले रुक्मिणीलाई कुनै साइनो नलगाए पनि टर्दथ्यो, केवल हजुर भने पुग्थ्यो तर एउटै घरमा बसे पछि त एउटा साइनो बाँध्नै पर्योल र सजिलो मानेर 'आमा' साइनो लगाई । आफ्नी आमालाई त ऊ भाइआमा भन्ने गर्थी ।

एक दिन रुक्मिणीकी बहिनीले सानुले आमा साइनो लगाएको सुनेर आश्चर्य मान्दै रुक्मिणीलाई भनी - “होइन, यो त आमा साइनो लगाउदी रहिछ तपाईलाई त ? ”

रुक्मिणीले कुनै भाव नदेखाई सामान्य स्वरमा भनी - “अनि अरू के भनोस् त यसले ? ”

सानुले लगाएको साइनोमा दिदीको पनि सहमति भएको बुझेर बहिनीले फेरि सोधी - “तपाई के भनेर बोलाउनु हुन्छ नि उसलाई ? ”

आश्चर्य र अविश्वास बहिनीको अनुहारमा देखेर रुक्मिणीले मुस्कुराउदै जवाफ दिई - “के भन्नु आमा भन्नेलाई ? छोरी भन्छु, सानु भन्छु ।”

“यो त अति भयो है, दिदी ।” - बहिनीले विरोध गरी ।

रुक्मिणीले लामो सास फेेरेर कुरा प्रष्ट गरी - “बहिनी ! तिमीहरूका पो आमा भन्ने धरै छन् । मलाई 'आमा' भन्ने त यही एउटी मात्रै हो । त्यसैले मलाई त केही अति लागेको छैन ।”

"अरू कोही आफू समानका घरका केटाकेटी ल्याएर, राखेर भन्न लाए पनि त हुन्छ नि ।” - बहिनीले विरोध छोडिन ।

रुक्मिणीलाई त्यो वचन निको लागेन र कडा नै जवाफ पदई - “मलाई आमा मानेर यो घरभित्र पस्न आउनेलाई छोरी मानूँ कि छोरी बन्न नचाहने कसैलाई बलजफ्फ्ती भित्य्राएर आमा भन्न लगाऊँ ? उसले आमा भन्दा तिमीलाई आपत्ति किन ? दिन्छ्यौ तिमी तिम्री छोरी मलाई आमा भन्न लगाउन ? ”

भएकी एउटै छोरी बहिनी पनि दिन कहाँ सक्थी र ? उसको भनाइ त आफ्नो घराना सरहको परिवारबाट छोरा या छोरी ल्याएर पाल्ने कुरासम्म थियो । त्यसैले आफ्नो भनाइमा दिदीको चित्त नबुझेको बुझेर "भैहाल्यो नि, दिदी । मैले त्यसो भन्न खोजेकी त होइन नि" भनेर आफ्नो कुरालाई तुरुन्तै फिर्ता लिई र रुक्मिणीले पनि कुरालाई अगाडि बढाइन ।

बेलुका सानुले रुक्मिणीलाई सोधी - “मैले तपाईलाई आमा भन्नु हुदैन ? ”

चिन्ता र अविश्वासले वाल्ल परेको सानुको अनुहार देखेर रुक्मिणीले उसलाई अँगालोमा लिदै म्वाँई खाएर भनी - “हुन्छ, मेरी सानु, हुन्छ । कसैले हुदैन भन्यो भने म त्यसको मुख चिथोरी दिन्छु । तिमी आमा नै भन ।”

रुक्मिणीको वचनमा विश्वास गरेर सानु उसको अँगालोमा नै निदाई । त्यो रात आमाछोरी एउटै ओछ्यानमा सुते र त्यस रातले रुक्मिणी र सानुका बीचको सामाजिक असमानता सधैंको निम्ति अन्त्य गरिदियो ।

रुक्मिणी र सानु एउटा जीवनका दुई अभिन्न अंगजस्तै हुनलागे त्यो छोटै अवधिमा पनि । आफ्नो भागबाट रुक्मिणीले सधैं छुट्याएर सानुलाई राखिदिन्थी भने आफूले भाग पाउदा आमालाई छ, छैन सानु सधैं हेर्दथी । घरको काम नोकरचाकरले नै गरे पनि घरमालिक्नीले गर्नुपर्ने कामको कमी हुदैनथ्यो र रुक्मिणीले काम गर्दा सानु सधैं सघाउन पुग्थी । हुनत ७ वर्षे केटीले के पो काम सघाउन सक्थी होला र ? तैपनि उसको सहयोग गर्ने तत्परताले नै रुक्मिणीको छाती नाङ्लो जत्रो बनाई दिन्थ्यो र रुक्मिणीले त्यसैमा आनन्द पाउथी ।

दुई महिना पछि मोहनकृष्ण काज मिलाएर घर आई पुग्यो । ऊ आई पुगेकोमा खुशी भएर रुक्मिणीले हाँस्दै भनी - “हेर । पहिले जान्न भन्ने मान्छेलाई एक महिनामा आउनु है भनेर पठाएको त दुई महिनामा पनि बल्लबल्ल । यस्तो जानेको भए त म पठाउने नै थिइनँ नि ।”

मोहनकृष्णले पनि उसको ठट्टा बुझेर मुस्कुराउदै जवाफ दियो - “भन्छयौ नि तिमी । छुट्टी नमिल्ने । यही काज पनि बल्लबल्ल मिलाएर आएको । यस्तै देखेर त जान्न भनेको नि मैले । तिमीले नै जोड गरेर पठायौ ।”

रुक्मिणीले सामान्य स्थितिमा आएर भनी - “के भयो त १।२ महिना बाहिर बसेर ? स्वास्थ्यलाई पनि राम्रै भयो, मन पनि बहलियो ।”

“तिमी एक्लै भयौ नि ।”

“म के एक्ली हुन्थें ? सानु छ नि म सँग ।”

“को सानु नि ? ”

“तपाईले देख्नु भएको छ नि धनप्रसादकी छोरीलाई । म सँगै बस्छे आजकल ।”

लोग्नेलाई भनी सकेपछि रुक्मिणी भित्र हेरेर कराई - “ए सानु ! यहाँ बैठकमा आइज त एक पल्ट ।”

केही क्षणमा सानु आएर रुक्मिणीले छेलिएर उभिई । उसलाई हात समाएर लोग्नेको अगाडि पार्दै रुक्मिणीले भनी - “ल, बुवालाई दर्शन गर त पहिले ।”

सानुले असाध्यै गह्रुँगो हातले मोहनकृष्णलाई नमस्ते गरे पनि अनुहार हेरी रहन सकिन । मोहनकृष्णको धक उसलाई उही पुरानै थियो ।

मोहनकृष्णले देख्यो - त्यो केटीलाई उसले पहिले पनि देखेको हो तर ऊ धनप्रसादकी छोरी हो भन्ने उसलाई थाहा थिएन । रुक्मिणीद्वारा सिंगारिएकी त्यो केटी उही पुरानी केटी हो भनेर ठम्याउन पनि गाहारो थियो । त्यसमा पनि रुक्मिणीको त्यो केटी प्रतिको सम्बन्ध उही पुरानेा देखिदैनथ्यो । उसलाई केही नमिले जस्तो लाग्यो र रुक्मिणीलाई सम्झाउने किसिमले प्रश्न गर्यो ‍- "तिमीले धेरै नजिक त ल्याएकी छैनौ यसलाई ? ”

“तँ भित्र जा, सानु ।” - पहिले सानुलाई अराएर सानु भित्र पसे पछि उसले लोग्नेलाई सोधी - "कस्तो धेरै नजिक भनेको ? ”

"पछि उसलाई आफ्नो घरपरिवार, आफ्नो समाजमा मिल्नै गाहारो पर्ने गरी नजिक्याएकी त छैनौ ? भनेको ।” - मोहनकृष्णले आफ्नो कुरा प्रस्टयायो ।

रुक्मिणीले मोहनकृष्णको भनाइको आशय बुझेर बिस्तारै भनी - “मैले उसलाई उसकी अमाको जति माया अवश्य पनि दिन सकेकी छैन । दिएकी छु त केवल केही राम्रा लुगाहरू र आफूले खाए जस्तो खाना । यो कुनै विशेष होइन ।”

आफ्नो भनाइ रुक्मिणीलाई चित्त नबुझेको देखेर मोहनकृष्णले कुरालाई अगाडि बढाएन । हो, रुक्मिणीले गरेको कामको बढाइ पनि गरेन ।

मोहनकृष्ण घरमा दुई दिन बस्यो र सानु दुई दिन रुक्मिणीबाट अलग्गिई । मोहनकृष्णले त उसलाई अर्कै कोठामा पठाउने राय दिएको थियो तर रुक्मिणीले केटाकेटीलाई एक्लै कोठामा नसुताउने निश्चय गरेपछि त्यही कोठा भित्र नै अर्को ओछ्यानमा सानु सुती । काममा फर्केर जाने बेलामा मोहनकृष्णले रुक्मिणीलाई जिस्क्याउदै भन्यो - “दुई महिना भित्रै छोरी पाएर हुर्काइ सकिछौ । अब चार महिनामा त छोरीको बिहे गरेर नाति नातिनीकी धनी पनि भइसक्यौी होला तिमी । तब त मेरो आवश्यकता नै नहोला तिमीलाई ।”

“डाही लाग्न थाल्यो अहिले नै ? ” - रुक्मिणीले चोथाले भएर जवाफ दिई ।

“लाग्दैन त ? खोसेर लगी भने तिमीलाई ? ” - उसले पनि ठट्टैमा जवाफ दियो ।

“अर्की ल्याउनु मेरो सट्टा ।” - ऊ अझै चोथाले भई ।

“भो, बा । मलाई त्यस्तो सल्लाह चाहिदैन । म पटक पटक पाएर गुमाउनु पर्ने दुर्भाग्य भोग्न सक्दिन । जो छ त्यसैलाई राखी राख्न पाए पुग्छ ।” - उसले जवाफ दियो । मोहनकृष्ण बिदा भएर गयो । रुक्मिणीले नियास्रो नमानेको देखेर एउटा सन्तोष भयो तर सानूप्रति उसको आत्मियता भने अलि चित्त बुझेन तैपनि रुक्मिणीको चित्त दुख्ला भनेर उसलाई अरू केही भनेन ।

यसै पनि सानुको घरमा उसको कुनै आवश्यकता नभएको, त्यसमा पनि रुक्मिणीबाट केही न केही चिज पाइने, सानु पनि सहजाएकी र खाने एउटा मुख पनि घटेकोले सानुका आमाबाबुले उसको खोजीनिति गर्न आवश्यक ठानेनन् । अझ छरछिमेकीले 'सानुलाई त के र ? अयस छ । छोरी भएर बसेकी छ ।' भन्दा आमालाई झन सन्ताष भएको थियो र त्यो रोग र भेाकको कुरुक्षेत्रमा फिर्ता पठाइ दिने पो हुन् कि भन्ने डर लाग्दथ्यो । जे जसो भए पनि राख्नेले राख्न मन गरेको, बस्नेले बस्न चाहेको, फिर्ता लान पाउनेले फिर्ता लान नखोजेको र फिर्ता पठाउने कोही नभएकोले सानु रुक्मिणीकी छोरी, साथी, सँगिनी जे भने पनि भएर बसी । उसले सानुलाई आफै नुवाइधुवाइ गरिदिन्थी, आफै सिंगार्थी । आफ्नै साथमा लिएर हिड्थी । चिनेजानेकाले यो कसकी छोरी नि ? भनेर रुक्मिणीलाई सोधे भने 'अर्काको खोजीनिति चाहिने कस्ता हुन्छन् मान्छे पनि ?' भनेर बर्बराउथी सानू । ऊ सकी नसकी रुक्मिणीको निम्ति पूजासामान तयार पार्थी, लुगाफाटा पट्याइदिन्थी र घरबुढीले झैं 'तपाईलाई भोक लागेन, आमा ?' भनेर रुक्मिणीको हेरचाह पनि गर्दथी र सानु र रुक्मिणीकको यो सम्बन्ध टोल भरी एउटा विवादको विषय भएको थियो - नकारात्मक हेराइको निम्ति नकारात्मक र सकारात्मकको निम्ति सकारात्मक । आखिर ६ महिना बित्यो र मोहनकृष्ण घर फर्कियो । रुक्मिणीले उसलाई हार्दिक स्वागत गरी । घरको संघारभित्र पस्ने बित्तिकै उसले रुक्मिणीलाई आफ्नो अँगालोमा उठाएर घुमाउदै म्वाईं खान खोज्यो । उसको त्यो चाला बुझेर रुक्मिणीले विरोध गर्दै भनी - “लौ, लौ, लौ । के गरेको यो ? सानुले देखी भने के भन्छे ? ”

मोहनकृष्णलाई सानुको अनावश्यक उपस्थितिको आभास भयो र 'ए, साँच्ची । तिम्री सानु पनि छ नि हो कि आजकल त' भनेर रुक्मिणीलाई यथास्थानमा राखिदियो ।

रुक्मिणीले लोग्नेलाई आफ्नो अधिकार माथिको विभाजन चित्त नबुझेको बुझी र त्यस प्रशंगलाई पन्साउन भनी - “लौ अब छिट्टै नुवाइधुवाइ गरेर आउनोस् पहिले अनि थकाइ मार्ने । म खाने कुरा पनि तयार पारी हाल्छु ।”

मोहनकृष्णले लाडिएर भन्यो - “म यसै खान्छु रे । पछि नुहाए पनि त हुन्छ ।”

"भो, भो, भो । फोहोरी भएर खान पाइन्न ।” - लोग्नेलाई बाथरुम तिर धकेल्दै रुक्मिणीले भनी - “फेर्ने लुगा म ढोकामा नै झुन्ड्याई दिन्छु । फेरेको लुगा त्यहीं कुनामा राखी दिनु ।”

मोहनकृष्ण बाथरुम पसेपछि सानुले रुक्मिणीको छेउमा आएर भनी - “बुवा त कस्तो मान्छे हो कि आफै नुहाउन जान पनि नमान्ने ? ”

मोहनकृष्णको विरुद्धमा सानुको गुनासो सुनेर रुक्मिणी मुस्कुराई ।

बेलुका मोहनकृष्ण, रुक्मिणी र सानु एकै चोटी खान बसे । आफ्नो लागको बानीले मोहनकृष्णले रुक्मिणीको भागबाट एक टुक्रा झिकेर लियो । रुक्मिणीलाई कुनै आपत्ति थिएन यसमा । लोग्नेको भागमा ऊ जुठो हात हाल्दिनथी तर लोग्नेले आफ्नो भागबाट झिक्दा सुरुसुरुमा विरोध गरे पनि त्यो विरोधको कुनै असर नभए पछि त्यसलाई स्वीकार गरेकी थिई तर सानुले त भनिहाली - “अर्काको भागमा किन जुठो पारी दिनु पर्ने नि ? ”

अप्रत्याशित विरोधले मोहनकृष्ण जिल्ल पर्योल । रुक्मिणी पनि छक्क परी र भनी - “कहीं बुवाको पनि जुठो हुन्छ मलाई ? ”

सानुले रुक्मिणीलाई उत्तर दिइन । उसले विरोध गरी, त्यति नै पर्याप्त थियो ।

बेलुका सुत्ने बेलामा सानुले आफ्नो भाग मोहनकृष्णलाई छोडिदिएर आफू रुक्मिणीले लगाइदिएको अर्को ओछ्यानमा गएर सुती । सुत्नु अगाडि सधैं कथाको माग गर्ने सानुले आमासँग कथाको निम्ति जिद्दी पनि गरिन तैपनि आफूलाई पर सारेकोमा सानुको मौन विरोध रुक्मिणीले बुझी । राति सानु निन्द्रैमा आत्तिएर कराई र रुक्मिणी उसलाई उसको ओछ्यानमा पल्टिएर थुम्थुम्याउदा थुम्थुम्याउदै त्यहीं निदाई ।

बिहान चिया ल्याएर रुक्मिणीले लोग्नेलाई उठाई । आफ्नो सामु चिया देखेर उसले भन्यो - “तिम्री छोरी सानुलाई खुवायौ त ? ”

उसको स्वरमा जानकारी लिने इच्छाभन्दा व्यङ्ग्य बढी थियो । रुक्मिणीले सानुतिर हेरी । ऊ सिरकभित्रबाट उनीहरूतिर नै चियाइरहेकी थिई । रुक्मिणीले सहज भएर भनी - “सानुलाई दुध ल्याएको छ । सानु ! अब उठ् ।”

सानु आफ्नो ओछ्यानबाट उठेर बाथरुमभित्र पसी ।

सानु रुक्मिणीको अनुपस्थितिमा मोहनकृष्णको सामु पर्दिनथी र मोहनकृष्ण उसको सामु रुक्मिणीप्रति आत्मियता देखाउदैनथ्यो । सानु मोहनकृष्णाको सामु रुक्मिणीको अंगरक्षक जस्ती देखिन्थी भने मोहनकृष्णलाई सानु रुक्मिणीको शरिरमा पलाएको अनवश्यक मासुको लुम्सो जस्तो लाग्दथ्यो । रुक्मिणी भने यी दुई प्रतिद्वन्द्वीका बिचमा बाँडिएर बसेकी थिई रातमा पनि र दिनमा पनि ।

सानु र मोहनकृष्णका बिचमा मित्रता पहिले थिएन र पछि पनि भएन । उनीहरूले एक अर्कोसँग मित्रता गर्ने प्रयाश पनि गरे तर त्यो व्यर्थ भयो । रुक्मिणीको मध्यस्थता पनि सफल भएन । रुक्मिणीका मायाका ती दावेदारहरू आफ्नो दावी छाड्न तयार थिएनन् ।

एक दिन ओइलाएकी सानुले रुक्मिणीलाई भनी - “आमा , अब बुवा सधैं यही बस्छ ? कहिल्यै बाहिर जादैन ? ”

सानुको भनाइको आशय बुझेर रुक्मिणीले उसलाई अँगालेमा लिदै म्वाँई खाई र सधैं जसो आफ्नो साथमा राख्नथाली । रातमा पनि ऊ आफ्नै साथमा लिएर सुत्दथी । सानु खुशी थिई फूलबारीकी पुतली जस्तै र रुक्मिणीको धेरै समय सानुमा नै बित्दथ्यो । मोहनकृष्ण भने मौन थियो । त्यति मौन जो आवश्यकता नै थिएन । रुक्मिणी बुझ्दिनथी त्यो मौनता ।

एक रात रुक्मिणी बिम्झेर हेर्दा मोहनकृष्ण आफ्नो ओछ्यानमा थिएन । रुक्मिणीले बत्ती बालेर हेरी ।कोठाभित्र कहीं पनि थिएन । बाहिर निस्कदा बैठकमा बत्ती बलेको देखेर भित्र पसी । मोहनकृष्ण सोफामा लम्पसार परेर पल्टिरहेको थियो । उसले छेवैमा आएर बस्दै सोधी - “किन ? के भयो ? ”

मोहनकृष्ण निकैबेर केही नबोली बसेपछि भन्यो - “रुक्मिणी ! तिमी सानुलाई उसैको घरमा पठाइदेऊ ।”

रुक्मिणीले विस्मित र चकित हुदै सोधी - “किन ? के गरी त्यसले र ? ”

मोहनकृष्णले थाकेको स्वरमा जवाफ दियो - “गरेकी त केही छैन तर उसको सामु म यो घरमा बस्न सक्दिनँ ।”

रुक्मिणीले उत्तर त पाइन तर ऊ सँग सोध्ने प्रश्न पनि भएन ।

काठमाडौं
२०४९।५।२६