अरू कथाहरू

राम दाहालको लेखनी


home

१. अनुभूति
२.आशंका
३.अंशबण्डा
४.गंगामाया
५.कथाकी कुन्ती
६.कर्णेल्नी
७.गोमती किन पोइला गई ?
८.जयपराजय
९. पाहुना
१०. प्रशङ्ग मानेका पातको
११. मिनर्वा
१२. महानगरको एक रात
१३. श्रापित राजकुमारी
१४. समानता
१५. सौता
१६. सौमी

अनुभूति

कथा



करुणा गरूँ, नगरूँको दोसाँधमा थिई। बन्द भएको बाथरुमको छेस्किनी दुई पल्ट दोहोर्यागएर जाँचिसकेकी थिई र भेन्टिलेटरको छेस्किनी पनि बन्द गरेकी थिई। कसैले चाहेर पनि चियाउन सक्ने सम्भावना थिएन तैपनि कसैले देख्छ कि ? भन्ने आशंका उसको मनमा ठूलो थियो। अरूसँगभन्दा पनि ऊ आफैसँग सशंकित थिई तर उसको मनमा ठूलो कौतुहल पनि थियो र ऊ त्यसको अनुभूति लिन चाहन्थी।

प्रसङ्ग सानै कुराबाट उठेको थियो। दिउँसो फुर्सदको पिरियडमा सबै केटी पहारिलो घाम तापेर चउरमा बसेका थिए। स्नातक भइसकेका केटीहरूको चर्चाको विषय सधैं भात, भान्सा, टि.भि., फिल्म, गहनागुरिया जस्ता कुरामा मात्र सीमित अवश्य हुँदैनथ्यो। बुढाबुढीको जस्तो गुढतत्व नखोजेपनि विवादमा राजनिति, साहित्य, दर्शन आदि जस्ता विषयहरू पातपातै भए पनि अवश्य परेका हुन्थे। कसले के विषयमा बोल्यो, के कुरा गर्योा? त्यति महत्वपूर्ण नहुँदा २।४ मिनट पछाडि नै पूर्व प्रवचन बिर्सिई सकिन्थ्यो र नयाँ शिर्षकमाथि चासो चल्दथ्यो तर कुराकानीले नछोएको समसामयिक विषय शायद हुदैन थिए होलान् र त्यो दिन पनि त्यस्तै भयो। हुनत उनीहरू कुनै बालिका थिएनन् र कम्तिमा पनि २० वर्ष त सबैले नाघी सकेका थिए तर जुनसुकै आर्थिक स्थितिका भए पनि एउटै सामाजिक पृष्ठभूमिमा हुर्किएका हुनाले यौनको चर्चा उठ्दा भने सबैलाई अलि असजिलो लाग्दथ्यो। मध्यमवर्गिय सामाजिक परिवेशले थिची नै रहेको थियो उनीहरूलाई। त्यसमा पनि उनीहरूको समूहमा बिहे भएको कोही नभएकाले उनीहरू चाहेर पनि यौनप्रसंग ओकल्न असजिलो मान्दथे। यौनमा अपेक्षाकृत उदार विचार राख्ने या शंकिर्णहरूले उच्छ्रिङ्खल ठान्ने अंग्रेजी माध्यमका आवाशिय विद्यालयहरूमा बसेर माध्यमिक शिक्षा प्राप्त गरेकाहरू समेत शायद संगतदोषले होला, अरू जस्तै म्याउ म्याउ गर्ने भइसकेका थिए र ४।५ वर्षको साथिहरूको भुनभुनाहटले उनीहरूलाई पनि कमलकोटी बनाइसकेको थियो। यसो भन्दैमा प्रसङ्ग नउठ्ने चाहीं पटक्कै होइन। यौवनले ल्याउने कौतुहलता र त्यसबाट उठने चाहनालाई मेटन सकने योगी त उनीहरू थिएनन्।

कुरा रंगभेद बारे चलिरहेको थियो, कसैले त्यसलाई जातिभेदमा ओराल्यो र जातिभेदको प्रसङ्गमा नम्रताले भनी– “गोरो, कालो, पहेंलो, चुच्चो, नेप्टो, चेप्टो यो सबको विवाद किन? प्राणीशास्त्रको परिभाषामा एकअर्काबाट फरक नभए पछि रातो, सेतो, कालो, पाटे, तारे, फुर्के आदि गाईवस्तुमा अन्तर नभए झैं मानिस मानिस बिच अन्तर पनि त छैन।”

“छ पनि र छैन पनि” – अर्कोको विचार सँग आफ्नो असहमति देखाइहाल्नुपर्ने अपराले भनी– “छ यस अर्थमा कि उनीहरूका बिचमा cross breeding हुन सक्छ। पहाडको दुई माना दुध दिने डल्ली गाई कतै सिंगो भैंसी जत्रो जिउ हुने र ५।७ पाथी दुध दिने जर्सीको बराबर हुन सक्छे ? यो चाहिं छैन भन्ने अर्थमा नि ।”

“हो त नि। त्यो खिनौरी मानवी हाम्री यो जर्सी सँग दाँजिन सक्छे त?” – कुरालाई जहिले पनि ठट्टामा नै लिने मणिकाले आफूभन्दा ठूलो जिउडालकी अपर्णालाई अँगालो मार्दै मानवीतिर हेरी।

सबैका आँखा अपर्णामा गएर अडिए। लगाएको लुगाको प्रत्येक विन्दुबाट बाहिर निस्कन खोज्ने अपर्णाको जिउ मणिकाको अँगालोमा अटन सक्ने संभावना थिएन। त्यो देखेर नम्रताले हास्दै भनी– “तँ पनि सुहाउदिनस् त्यसलाई ।”

“जिउ नमिलेर के भयो त ? हाम्रो मन मिलेकै छ भनिदे न, मोटी ।” – मणिकाले अपर्णाको गलामा अँगालो हालेर जिस्क्याई।

अपर्णाले मणिकालाई गलाबाट छुटाउन खोज्दै माया गरेर भनी– “जा, राँडी। नखरा पारेर पोईको घाँटीमा झुन्डिए झैं झुन्डिन्छे त्यसै। आफ्नो अनुहार त हेरेकी छस् ऐनामा ? पोइ पनि कस्तो पाउछे कुन्नि यो राँडीले त ?”

सबै जना गलल्ल हाँसे। नम्रताले कुराकानीलाई फेरि विषय तिर तान्न भनी– “लौ, यौनकै कुरा सही तर अलि गम्भिर तहमा सुन। बर्ट्रान्ड रसेलले भनेका छन् – ननहरू बाथरुममा पसेर नुहाउदा पनि लुगा बेरेर नुहाउछन् रे। कसले देख्छ र लुगा बेरेको? भन्दा कसैले नदेखे पनि ईश्वरले त देख्छ नि भन्छन् रे।”

“त्यसको बाबुको त्यो बन्द कोठाभित्र च्याउन सक्ने देउताले त्यो त्यसले बेरेको ज्यालज्याले थाङनो भित्र च्याउन सक्दैन रे ? भन्न सक्दा रहेनछन् तिनीहरूलाई ?” – मणिकाले भनिहाली।

“त्यो भन्नलाई पनि तैंले सिकाउनु पर्ला त्यो खाईखेली ठेड भएको बुढोलाई ?” –नम्रताले जवाफ दिई।

“साँचि, नांगै नुहाउछन् त्यसरी ?” – यस पटक करुणाले प्रश्न गरी।

सबैले एकै चोटि करुणातिर हेरे। अहिलेसम्म सबै जना अर्काको अनुभव सुनाइरहेका थिए। करुणाको सोधाइले उनीहरूको अनुभव खोज्यो। आफूलाई प्रगतिशिल र उदार ठाने पनि सँस्कृतिको चापले थिचिएका ती केटीहरू ती कृस्तानी धर्मशालामा बस्ने ननहरूभन्दा बढी उदार र परिपक्व थिएनन्। रसेलको दार्शनिकता त उनीहरूको कागजी ज्ञान मात्र थियो आइन्स्टाइनको सापेक्षवादको सिध्दान्त जत्तिकै। त्यसैले करुणाको प्रश्नको जवाफ उनीहरू दिन सक्दैनथे। ‘होइन’ भन्न उनीहरू सँग आत्मबल थिएन, ‘हो’ भन्न अनुभव थिएन। त्यसैले कुराको प्रसङ्ग अर्कोतिर मोडियो।

करुणाको सामु नौलो तथ्य प्रकट भएको थियो। आइमाई नांगै नुहाउन सक्ने कुरा उसको दिमागमा कहिले पनि आएको थिएन। अझ बिना परिधानकी स्वास्नीमानिसको अस्तित्व अवास्तविक थियो उसको निम्ति। ग्रामिण वातावरणदेखि परिष्कृत सहरिया समाजसम्म आइपुगेकी थिई ऊ उसको बाबुको प्रगतिसँगसँगै तर नांगी आइमाईको कल्पना उसले कहिले पनि गर्नु परेको थिएन।

‘ननहरू लुगा बेरेर नुहाउछन्। यसको अर्थ सभ्य समाजका अरू सबै आइमाईहरू नांगै नुहाउछन्।’ –करुणाले सोची।

केटाकेटीमा उसले नांगै नुहाएकी हुन सक्थी तर आफूले बुझ्ने भए पछि त ऊ नांगै कहिले पनि भएकी थिइन।

करुणा बाथरुममा पसेर नांगै नुहाउने प्रयाश गरिरहेकी थिई। त्यो उसको आफूलाई सभ्य बनाउने प्रयाशको साथसाथै नौलो अनुभूति लिने प्रयाश पनि थियो तर झ्याल ढोकाका छेस्किनी लगाएर दुई पटक जाँची सक्दा पनि उसको मुटु ढुकढुक गरिरहेको थियो सुहागरातकी बेहुलीको जस्तै।

करुणा सधैं बाथरुममा पस्ने बित्तिकै एउटा कपडा बेरेर भित्री लुगा फुकाल्दै जान्थी तर आज सिंगै लुगामा भित्रिएकी थिई। उसले कपडा बेर्नु पर्ने आवश्यकता थिएन। उसले सोची– ‘नांगिनु पर्ने भएपछि बेर्नु नै किन?’

करुणा म्याक्सीको हुक खुस्काउदै गई तर किन हो किन ? हात सधैं झै अभ्यस्त थिएनन् र उसलाई लाग्थ्यो ती लुगा खोल्ने हात पराया हुन्। म्याक्सी चिप्लेर खुट्टामा झर्यो र चोली र पेटिकोटमा उभिई ऊ। त्यो स्थिति कुनै नौलो थिएन। सारी लगाउदा ऊ त्यसरी नै उभिने गर्दथी र उसलाई कुनै लाज लाग्ने गर्दैनथ्यो तर यो पटकको स्थितिमा कोही मानिसले हेरिरहे जस्तो लागेको थियो उसलाई र ऊ असजिलो मानिरहेकी थिई। तैपनि पराइ हात रोकिएनन्। उसको चोली निस्कियो, उसको पेटिकोट तल झर्यो र ब्रा र प्यान्टीमा मात्र उभिई ऊ। उसको अनुहार तातेको थियो। आफ्नै औलाका स्पर्शले काँडा उम्रिएका थिए उसका जिउभरि मानौं ऊ आफैले आफैलाई उत्तेजित गरिरहेकी थिई। ‘करुणा तँ बलत्कार गर्न लागेकी छस् आफैंलाई।’ – एक मनले भन्यो। बाँकी रहेका परिधान निकाल्न तम्सिएका हात टक्क रोकिए। अब उसलाई बाँकी रहेका लुगा फुकाल्न गाहारो पर्यो। ऊ बन्द आँखा खोलेर आफ्नो शरिर हेर्ने स्थितिमा पनि थिइन तैपनि एउटा कुरा निश्चित थियो - ऊ त्यो लक्ष्मण रेखालाई पार गर्न तम्सिएकी थिई र पार गर्न चाहन्थी।

करुणा आँखा चिम्लेर पानीको फोहोरामनि गएर उभिई। चिसो पानीले उसको अनुहार र शरिरलाई केही शितल बनायो। सावरबाट आएका मसिना पानीका कणको प्रहार उदांग रुपमा कहिले पनि नखोलिएको नांगो भागमा पर्दा उसको मनमा आनन्द र भय एकै चोटी आयो र त्यही समयमा हरायो पनि।

बाथरुममा टब थियो जसको प्रयोग करुणाले आजसम्म गरेकी थिइन र त्यो घरमा कसैले पनि प्रयोग गर्दैनथ्यो होला। सबै सम्पन्नहरूको घरमा टब हुने हुनाले मात्र त्यहाँ पनि थियो अन्यथा त्यहाँ त्यसको आवश्यकता थिएन। त्यो घरका सदस्य मध्ये कतिलाई त ‘टबको प्रयोग नै किन?’ भन्ने सम्म पनि ज्ञान नहुन सक्थ्यो। कसैले लुगा धुनु पर्दा त्यो टब भित्र पसेर धुन्थ्यो तर त्यो कामको निम्ति पनि त्यो बांगिएको टब त्यति सजिलो हुदैनथ्यो।

करुणाले आफ्नो मनशाय पुरागर्न त्यही टब प्रयोग गर्ने अठोट गरी। उसले त्यसमा पानी भरी र त्यस भित्र पसी। हल्लिएको पानीको स्पर्श नै काउकुती लाग्दो थियो। टबको पानीलाई सके सम्म धमिल्याउन उसले नुहाउने साबुन घोलेकी थिई पानीमा र पानी भित्र उसको शरिर मासु रंगको हो, होइन जस्तो अलिअलि मात्र देखिन्थ्प्यो सतहबाट। गर्धन सम्म पानीमा आफू डुबिसकेपछि उसले विस्तारै आफ्नो ब्रा खुस्काई र त्यसरी नै प्यान्टी पनि निकालेर बाहिर फालिदिई। अब ऊ नांगै थिई तर उसको नांगोपन उसकै आँखामा पनि धमिलो पानीको पर्दाले ढाकिएको थियो।

टबको चिसो भुईँ र हल्लिएको पानी दुबैको स्पर्श मादक थियो। करुणाले पानीभित्र नै आफ्ना अंग छुदै गई। शरिर मुलायम र चिप्लो थियो रेशम या सिफनजस्तै र हात शुध्द पराईको जस्तो लाग्थ्यो उसलाई। ऊ दोश्रो उत्तेजनामा गई। उसले पहिले कहिले पनि नछोइएका आफ्ना अंग छुनुमा आनन्द अनुभव गर्न थाली- एउटा कुमारी आनन्द। पानी बाहिर ऊ थिई र पानी भित्र उसको शरिर। उसका अनुहारमा, मस्तिष्कमा लज्जा थिएन तर उसको शरिर लाजले खुम्चिएको थियो। पानी बाहिरको उसको अंग एउटा पुरुष जस्तै आक्रामक थियो र उसका हात माध्यम भएर उसलाई सहयोग दिइरहेका थिए भने पानी भित्रको भाग एउटी नवोढा जस्तै टब, पानी र हातका स्पर्शले बुहारीझार भएको थियो। अलिकति विरोध पर्दाभित्रको त्यो शरिर गर्न त चाहन्थ्यो तर पानीको पर्दाबाट बाहिर निस्कन लज्जाले दिदैनथ्यो।

करुणा वास्तविकता र सपनाको दोसाँधमा थिई। ननहरू पनि नांगै नुहाउने प्रयाश गर्दा यस्तै स्थितिमा पुगेका थिए होलान्। एकातिर शारीरिक अर्कोतिर मानसिक सुखद अनुभूतिले ओतप्रोत थिई करुणा र त्यो सुखका सहभागी थिए चिसो टब र अलिअलि पारदर्शी पानी।

करुणा कति समय सम्म यसै बस्ने थिई होला तर अचानक बाहिरबाट बहिनी कराई– “ए दिदी ! के गर्न लागेकी? घण्टौं भयो निस्कली भनेर पर्खेको त चालचुल सम्म पनि छैन ए।"

आफू नांगै छु भन्ने चटक्क बिर्सिएर करुणा एकै चोटी आत्तिएर उठी। टबबाट बाहिर निस्केर उभिदा अचानक उसको दृष्टि ऐनामा पर्योर र उसले देखी – एउटी निर्वस्त्र केटी पानीबाट बाहिर निस्केकी छ र उसको भिजेको संगमर्मरी अङ्गबाट पानी झरी रहेकोछ। कसिएका स्तन र पुठ्ठा, भासिएको पेट र छिनेको कम्बर, सुडोल र गोल तिघ्रा र पिडुलाहरू, सुलुत्त परेका हात र तन्किएको गर्धन, लाम्चिला आँखा र लामा परेलाहरू, रातो ओठ, सुलुक्क परेको नाक र मिलेको अनुहार देखेर ऊ त्यो छविप्रति मोहित भई तर त्यो आफ्नै प्रतिबिम्ब हो भन्ने बुझेपछि लाज मानी र त्यो लाज प्रतिबिम्बमा पनि स्वतः देखापर्योत। करुणा हतार हतार लुगा लगाएर बाहिर निस्की। उसलाई देखेर बहिनीले भनी– “नुहाउन त कपाल पनि नुहाएकी रहिनछ नि। फेरि किन त्यस्तो ढिलो गरेकी त ? आमा आत्तिएर त्यसै ‘ए ! केही पो भयो कि ?" भन्नु हुन्छ नि। बोलाउदा बोल्नु त पर्छ नि ।”

करुणा बहिनीलाई हेरेर मुस्कुराई। बहिनीलाई भन्नुको कुनै अर्थ थिएन। ऊ बुझ्न सक्दिनथी।

समय बित्दै गयो। करुणालाई ननहरूलाई जस्तै नांगै नुहाउन गाहारो पर्न छोड्यो तर टबको पानी भित्र पसे पछि भने उसको आफ्नो शरिर जहिले पनि दुई भागमा विभाजित हुन्थ्यो - पानी भित्रको नारी भाग र पानी बाहिरको पुरुष भागमा। पुरुष भाग जिस्क्याउथ्यो, फकाउथ्यो, लोभ्याउथ्यो। नारी भाग लाज मान्थ्यो, फकिन्थ्यो र फस्दथ्यो र बाथरुम भित्रको उसको समय एकदम छोटो बन्दथ्यो। तर बाहिरबाट परिवारको कुनै न कुनै सदस्यले भनी हाल्थ्यो– “यो करुणा सधैं यस्तै गर्छे। बाथरुम पस्यो कि उतै हराउछे। के गरेर बस्छे कुन्नि भित्र?”

बिराटनगर
२०५०।१।२७