अरू कथाहरू

राम दाहालको लेखनी


home

१. अनुभूति
२.आशंका
३.अंशबण्डा
४.गंगामाया
५.कथाकी कुन्ती
६.कर्णेल्नी
७.गोमती किन पोइला गई ?
८.जयपराजय
९. पाहुना
१०. प्रशङ्ग मानेका पातको
११. मिनर्वा
१२. महानगरको एक रात
१३. श्रापित राजकुमारी
१४. समानता
१५. सौता
१६. सौमी

अंशबण्डा

कथा



गंगालालले बाहिरबाट आएर अगेनोको छेउमा बस्दै आगो फुक्दै गरेकी स्वास्नीलाई भन्यो - “तैले सुनिस् हैन बुढाले 'बिहे गर्छु' भनेको कुरा ? ”

धनमायाले जाडोले नाकको टुप्पोमा अएको पानी मजेत्रोले पुछ्दै भनी - “सुनें त्यो त तर बुढाले आँटे भने हामी के गर्न सक्छौं र ? ”

“बुढाले बिहे गरे भने हाम्रो के हाल हुन्छ नि ? त्यो पनि थाहा छ तँलाई, हैन? ” - गगालालले तुजुकसाथ प्रश्न गरयो । स्वास्नीले नबोलेर लोग्नेतिर प्रश्नात्मक दृष्टिले हेरी ।

“आजसम्म धौ धौ खान पुग्दै थियो । भोलि देखि त्यही पनि पुग्न छोड्छ।” - लोग्नेले भन्यो ।

“आफ्नो भाग लिइएर छुट्टिऊँ न त।” - स्वास्नीले राय दिई ।

“छुट्टीए आधा पाइन्छ । आधी त बुढासँगै बस्छ । फेरि बुढालाई बिहे गर्न झन् सजिलो हुन्छ । छरछिमेकी, जोरीपारीले पनि 'आ, छोराबुहारीले छोडेर यो बुढेसकालमा एक्लो पारे, बिहे नगरेर के गरुन् त बिचरा बुढाले ?' भनीहाल्छन् नि । जसो गरे पनि हामीलाई दोष।” - लोग्नेले भन्यो ।

“के गर्ने त त्यसोभए ? हामीलाई त कसै गरे पनि भलो छैन । बसे ताईमा उफ्रे आगोमा पो भयो त ।” - धनमायाले जवाफ दिई ।

“यसो केही अक्कल लडा न, कसरी रोक्ने हो बुढालाइ ? भनेर।” - स्वास्नीलाई राय दियो गंगालालले ।

“बुढाले कुरोखाने मानिस कसैलाई भन्न लगाउनोस् न त।” - स्वास्नीले राय दिई ।

“खै, कसलाई भन्न लगाउने ? फेरि पनि बुढाले मानेनन् भने ? ” - लोग्नेले शङ्का उठायो ।

“त्यो बेला देखा जाएगा।” - स्वास्नीले कुरो टुंग्याई ।

स्वास्नीको भनाइ गंगालाललाई चित्त बुझ्यो र भन्यो - “अरुले भनेको त के सुन्लान् बुढाले ? तै मीतबाले भनेको चैं मानिहाल्छन् कि !”

स्वास्नीले पनि सहमती जनाएकीले ऊ मीतबाबुको घरतिर लाग्यो ।

गंगालाल ३१ वर्षमा हिड्दै थियो । उसकी स्वास्नी धनमाया लोग्नेभन्दा तीन वर्ष मात्रै कान्छी थिई र लोग्नेले ऊ सँग जे कुरा पनि सल्लाह लिन्थ्येा । हुनत गंगालाललाई मन नपराउनेहरू ‘यो गंगे स्वास्नीको मुतमा बग्छ, स्वास्नीले मुत् भने मुत्छ , हग् भने हग्छ' भन्थे तापनि सल्लाह लिने दाजुभाइ, दिदीबहिनी नभएकाले कि बाबुसँग कि स्वास्नीसँग सल्लाह लिनै पर्थ्यो उसले । आमा हुदा पनि आमा साह्रै सोझी भएकीले उनीबाट कुनै सल्लाह पाउने आशा नै हुन्नथ्यो । घर भित्रको कुरामा पनि बुढोले समेत बरु बुहारीको कुरा सुन्दथ्यो बुढीको भन्दा । अरु त अरु छोरालाई पनि 'यो उसकी आमाको छोरो, आमा जस्तै ग्वाँजे छ, बुहारी धेरै जान्दछे' भनेर केही पर्दा बुहारीको नै राय माग्दथ्यो । हुन पनि छोरो सोझो थियो बौलाहा खालको सोझो । रिस उठे पछि र आफूलाई चित्त नबुझे पछि ठीकबेठीक छुट्याउन नसकेर आफ्नो, अर्काको ज्यान लिएको पनि पत्ता नपाउने । बुढी मरेको वर्ष दिन सम्म त बुढो केही बोलेन । दोश्रो वर्षको आधाउधीमा उसले आफ्नो बिहेको मनशाय छोराबुहारी सामु राखेको थियो । उसले भनेको थियो - “एक दिन होइन, दुई दिन होइन । जिन्दगीभरको कुरा हो । सद्दे हुन्जेल त सजिलै छ । विरामी भए पछि त तिमीहरूलाई पनि बुढाको हेरचाह गर्न गाहारो म आफूलाई पनि मरूँ कि बाँचूँ हुने । बरु अहिले नै बिहे गरूँ कि ? कसो भन्छौ तिमीहरू ? ”

छोरो बाबुको कुरो सुन्ने बित्तिकै रन्थनियो । ऊसँग धैर्यसाथ कुरा सुनेर समाधान गर्ने क्षमता थिएन । त्यो देखेर बुहारीले बिचैमा भनी - “अब बालाई हामीले के भन्नु र ? जस्तो राम्रो हुन्छ त्यस्तै गर्नु पर्छ नै ।”

स्विकार, नकार केही नजनाई दिइएको बुहारीको जवाफको बुढाले कुनै अर्थ निकाल्न सकेन तर त्यो समयमा छोराबुहारीलाई आफ्नो चाहना सुनाउनु थियो । त्यो सुनाइहालेकोले त्यसमा अरु थप गर्न उचित ठानेन । बिहेको निम्ति उनीहरूलाई तयार पार्नु त लामो कुरा थियो ।

बुढाको सम्पत्ति ठूलो थिएन । आफैले कमाइ गरेर दुई बाली लगाउदा पनि ३०।३५ मुरी अन्न मरेर भित्रिन सक्थ्यो । बारीको तुलफूल, सागपात, बाख्रोपाठोले वर्ष दिन बलैले तानिन्थ्यो । तीन वटा नातिनातिनी समेत गरेर खाने मूख पनि पर्याप्त थिए । सानो नै पनि पाँच वर्षको भइसकेको थियो एक भाग खान सक्ने । तर त्यही सम्पत्ति पनि विभाजित हुदा गंगालालका पाँच पेट पालिन गाहारो थियो र त्यसले ऊ जस्तो सोझो मानिसलाई उत्तेजित बनाउनु स्वभाविक थियो । स्वास्नीले सल्लाहदिने बित्तिकै गंगालाल मीतबाबु कहाँ हानिनुको कारण पनि त्यही थियो ।

बेलुका गंगालालले स्वास्नीलाई भन्यो - “मीतबाले मानेनन् बालाई सम्झाउन ।”

धनमायाले दीयो मनि बसेर तुन्न लागेको कपडाबाट आँखा नहटाई सोधी - “किन के भने र ? ”

उसले जवाफ दियो - “मीतबा बुढा त भन्छन् - ‘तँ बाको कुरा बुझी दे न, गंगा । आमा हुदा कस्तो हुनुहुन्थ्यो र अहिले कस्तो हुनुभएको छ स्याहार नपुगे जस्तो। मैले भनें - ‘अब आमा हुदा जस्तो त कहाँ हुन्छ त ? हुनेसम्म हेरचाह मैले, बुहारीले गरेकैछौं'। बुढाले भने - ‘गरेकाछौ तिमीहरूले गरेकाछौ आफूले गर्नसक्ने जति, गर्नहुने जति । बा पनि त्यसै भन्नुहुन्छ । दोष दिनुभएको छैन बाले पनि, सह्रानी नै गर्नहुन्छ तिमीहरूको तर स्वास्नीले गर्नुपर्ने काम छोराबुहारीले गरेर कहाँ हुन्छ र ? गर्न पो कहाँ सक्छन् र ? त्यसो पो त कुरा त।' अनि त मैले पनि बुझी हालेँ बुढाले भन्दैनन् भनेर । अनि ‘अहिले जान्छु त म” भनेर फर्केर आएँ ।"”

“मलाई त ठीकै हो कि जस्तो लाग्यो मीतबाका कुरा पनि । बालाई साथी चाहिएको हो।” - धनमायाले भनी ।

“साथी चाहिए हामी छैनौ र ? ” - गगालाल जंगियो ।

“बाको उमेर नै कति भएको छ र ? पचास पुग्न पनि अझ दुई वर्ष बाँकी नै छ । गैराघरबाका छोरा, कति ? अठसठ्ठी वर्षमा जन्मिएका होइनन् ? गैराघर बा अझै ठमठम गर्दै वल्लो पल्लो गाउँ गर्दै हुनुहुन्छ।” - धनमायाले राय दिई ।

“गैराघरबाको त के ? औलाधौला धन छ । छोरो थिएनन्, बिहे गरे । तँ पनि बुढाकै कुरामा सही थाप्छेस् । हैन ? यो सम्पत्ति फ्याक्क दुई फ्याक पारेर दुई भाग लगाएपछि खान नपाउदा थाहा पाउलिस्।"” - गगालाल रिसायो ।

स्वास्नीले तुरुन्तै आफ्नो भुल सुधार्न भनी - “हैन, मैले त मीतबाका कुराका बारेमा पो भनेकी त । बाको बिहे गर्ने कुरा त मलाई पनि कहाँ चित्त बुझेको छ र ? तर रोक्ने पो कसरी ? यसो एकपल्ट बालाई नै सम्झाउनोस् न तपाईले नै । त्यसो गर्दा भइहाल्छ कि ? ”

“कहिले सुनेका थिए मेरा कुरा र सुन्छन् अब ? ” - लोग्ने झर्कियो ।

“एक पल्ट कोशिश गर्दैमा केही बिग्रदैन । 'राजा र बाबुका अगाडिा साँचो कुरा राखेपछि न्याय पाइन्छ' भन्छन् । के भयो त भन्दैमा ? ” - स्वास्नीले कडा स्वरमा भनी ।

बाबुछोराको ठ्याक मिलेको धनमायाले कहिले पनि देखेकी थिइन । बाबुले ‘पाङ्रो” भन्यो भने छोरो ‘बल्ड्याङ्रो भन्न पुग्थ्यो । सानेा छदा आमाले मध्यस्थता गर्थी रे । कतिपय स्थितिमा धनमायाले नै मध्यस्थता गर्नु परेको थियो । आमा मरे पछि त धनमायालाई यस्तो मध्यस्थताको स्थिति बराबर आइनैरहन्थ्यो । त्यसैले बाबुछोराका कुराले समस्या समाधान हुने त उसले देखेकी थिइन तैपनि ‘बुहारी भन्दा छोरो नजिक हुनुपर्थ्यो, माया उसको नै बढी हुनुपर्थ्यो' भनेर गंगालाललाई बाबु कहाँ पठाएकी थिई । दोश्रो, बाबुको बिहेको पक्षमा छोरो छैन भन्ने बाबुले जान्नु पनि आवश्यक थियो र त्यो कुरा भन्न छोरो नै सबभन्दा बढी उपयुक्त हुन्थ्यो ।

गंगालालको चिन्ता स्वाभाविक थियो तर समस्याको समाधान के त ? धनमायाले पहिल्याउन सकेकी थिइन । त्यो समस्या सजिलो पनि थिएन । छोराको समस्या जति वास्तविक थियो बाबुको पनि त्यत्तिकै थियो । खाने लाउने जीविका छोराको अहम् सवाल थियो भने बाबुलाई स्वास्नी ल्याउनु अत्यावश्यक । धनमायाले दुवैका वाध्यता बुझेकी थिई तर ऊसँग समयलाई बग्न दिनु र घटनालाई घट्न दिनु बाहेक अर्को विकल्प भएन ।

स्वास्नीको भनाइ मानेर गंगालाल बाबु कहाँ गयो र आफ्नो राय सुनायो । हो, कसरी सुनायो ? त्यो कुरा अलग्गै हो । केही गानगुन पछि नै बाबुको प्रचण्ड स्वर सुनियो - “मैले जन्माएको छुसीले मलाई तर्साउन खोज्ने ! जा, के नाप्छस् नाप् । म मेरो खुशी गर्छु । मलाई धम्क्याउने तँ ? जा, निस्की यो मेरो घरबाट । स्वास्नीछोराछोरी बोकेर निस्की हाल् ।”

गंगालाल पनि बम्किदै थियो । धनमनया गएर कराई - “किन कराउनु भएको बासँग ? आफूलाई माया गर्ने, आफ्नो भलो चिताउनेसँग चैं झगडा गर्नु पर्ने किन नि ? हिडनोस् उता ।”

गंगालाल धनमाया द्वारा ठेलिदैगयो । पछि धनमायाले ससुरालाई भनी - “के गर्नु ? आफ्ना छोराको व्यहोरा बालाई थाहा भएकै कुरा हो । बाले आफू खुशी गरे पनि नातिनातिनीको मुख हेरेर रिसाइदिनु भएन । अरु त म के भनूँ ? ”

बुढोले पनि सहानुभूतिसाथ भन्यो - “तिमीहरूसित केको रिस मेरो ? त्यही बौलाहासँग पनि रिसाएर के गर्नु ? ‘ज्यान जाला आफूखुशी गर्दा' भन्यो र पो रिस पनि उठ्यो, चित्त पनि दुख्यो ।”

बुढोको भनाइमा पीडा भएको धनमायाले अनुभव गरी ।

छोरोले सोच्यो - ‘बाबु तर्सिए' । लामो चिन्तन नभएका मानिस कुनै कुराको प्रभाव तत्कालै मात्र देख्दछन् ।

‘मैले तर्साएँ बाबुलाई ।' - भनी ठान्यो उसले तर बुहारीले बुझेकी थिई - छोराको धम्कीले भलै बाबुको मनमा चिसो पस्ला तर आफ्नो निर्णय त्यति सजिलै छोड्दैनन् । छोरोलाई भन्नु पर्ने कुरा बाबु सधैं बुहारीमार्फत नै दिने गर्दथ्यो । उसले त ससुराका तर्फबाट लिइने कारवाहीको निम्ति तयार भएर बस्नु परेको थियो ।

नभन्दै एक दिन गंगालाल गोठ, बेंसी कही गएको बेला ससुराले बुहारीलाई भन्यो - “बुहारी ! गंगे छुट्टिन्छ भने म अंश दिइदिन्छु । सोधी हेर उसलाई ।”

धनमायाले ससुरातिर पुलुक्क हेरेर भनी - “बालाई के ढाँटनु ? यही छुट्टीनु पर्छ भन्ने पीरले हो वहाँलाई त्यस्तो बनाएको । अब बाको कुरा मैले के सुनाउनु ? ”

बुढोले जिल्ल परेर भन्यो - “केको पिर छुट्टीनु पर्दा ? सबैका छोरा छुट्टिन्छन् । त्यसमा पनि म त झन् उन्ननइस वर्षमा छुट्टिएको । गंगे त ३१ वर्षको भइसक्यो ।”

“अंश लिएर छुट्टिएपछि त खान पनि पुग्दैन । त्यो त बालाई थाहा छदैछ । जवाँमर्दले भए भन्ने थियो - ‘अंशले नपुगे अर्काको बनी गरेर भए पनि स्वास्नी, छोराछोरीलाई खुवाउछु ।' तर वहाँको त आत्मा नै कमजोर छ, बुध्दि नै छोटो छ । सधैं बाको भरमा बस्नु भयो र आज बाको आश्रय छुट्न लाग्दा आत्तिन थाल्नु भएको छ।” - बुहारीले आफ्नो कुरा सुनाई ।

“मेरो खुशी पनि गर्न नदिने, छुट्टिन पनि नछुटि्टने । अब कसरी मिल्छ त कुरो ? ” - बुढो अलि रन्कियो ।

बुहारीले एकछिन सोचेर ससुराको मुख हेरेर भनी - “बा ! यो समस्याको कहीं मध्यमार्गी समाधान छैन ? ”

“कस्तो मध्यमार्गी समाधान भनेको ? ” - ससुरोले बुहारीतिर हेरेर सोध्यो ।

“त्यही साप पनि मरोस्, लठ्ठी पनि नभाँचियोस् । छोराको डर पनि मेटियोस्, बाबुको आवश्यकता पनि पुरा होस्।” - बुहारीले अझै पनि छोटकरीमा नै कुरा राखी ।

“मैले बुझनँ, बुहारी, तेरो कुरा।” - ससुरो अझै पनि रनभुल्ल थियो ।

बुहारीले बिस्तारै कुरा थाली - “पुस्ता पुस्ता अझ सृष्टिदेखि चलेको कुरा हो । आमाबाबुले छोरा जन्माउछन्, हुर्काउछन् र फेरि बुहारीको जिम्मा लगाउछन् । ‘ला, गरी खा' भनेर आफ्नो सम्पत्ति भाग लगाई दिन्छन् । छोरा त्यही बाबुआमाले दिएको खान्छन् । सके बढाउछन्, नसके सिध्याउछन् । छोराले पनि बुढेसकालमा आमाबाबुलाई आफूसँग भएको दिएर सुखी राख्न खोज्छन् । मातृभक्ति, पितृभक्ति पनि यही होला ।”

“आफूसँग छैन भने नि ? ” - बुढोले प्रश्न गर्योक ।

“छैन भने पनि मागेर, चोरेर भए पनि जुटाई दिनु पर्छ बाबुआमालाई । यो छोराको धर्म हो । नसक्दाको त ओखती छैन । आमाबाबुले पनि नपाइने कुरा खोजेर अत्तो थाप्नु हुदैन।” - बुहारीले व्याख्या गरी ।

“मैले अत्तो थापेको छैन । भएको कुरा दिन्छु भनेकै छु।” - बुढोले घुर्की देखायो ।

धनमायाले लामो सास फेरेर भनी - “परिवारमा जहिले पनि दुई चिज,सम्पत्ति र आइमाई, अंश लाग्दै आएका हुन् । सम्पत्ति जहिले पनि बाबुले या छोरोले मात्रै लिन खोजे कलह उब्जन्छ र कालले मात्र त्यसको टुंगो लगाइदिन्छ । घरकी आइमाई पनि सधैं लोग्ने र छोरामा बाँडिएर बसेकी हुन्छे । लोग्नेकी मात्र हुन खोजी भने छोरो बिग्रन्छ, छोराकी मात्र हुन खोजी भने लोग्ने हिडी दिन्छ । त्यसैले ऊ छोरालाई दुध पनि खुवाउछे र लोग्नेको इच्छा पनि पुरा गरी दिन्छे । छोरो ठूलो नहुन्जेल बाबुको प्रत्येक प्रहारमा आमा बिचमा छिरेर डडाल्नो थापिदिन्छे र छोराको उमेर पुगेपछि आफ्नो छोरो बुहारी भन्ने त्यो अर्की आइमाईलाई सुम्पी दिन्छे ।”

बुहारीको त्यो लामो भनाइ सुने पछि ससुरोले मनले उसको बुद्धिको सह्रानी गर्योी र मुखले भन्यो - “खै, तेरो भनाइ नै लामेा छ टुंगोमा पुग्नै गाहारो ।”

धनमायाले आफ्ना कुराले ससुरोमा प्रभाव परेको बुझी र आफ्नो भनाइको डोरी कस्न थाली - “असजिलो कुराको व्याख्या पनि असजिलो हुन्छ र त्यसलाई भूमिका पनि लामो चाहिन्छ । यो घरको सम्पत्ति विभाजित भयो भने तपाईका छोरा बौलाउनु हुन्छ । यो मैले बुझेको कुरा हो र वहाँ बौलाए पछि के गर्न सक्नुहुन्छ ? त्यो मभन्दा तपाईलाई बढी थाहा छ । त्यस पछि त धन पनि सिद्धिन्छ, घर पनि डुब्छ । सम्पत्ति विभाजनको परिणाम यही हो ।”

“मेरो हेरचाह, मेरो इच्छापूर्ति गर्नु पर्दैन त छोरोले ? के म स्वास्नी ल्याउनै नहुने बुढो भई सकें ? ” - ससुरोले आफ्नो कुरा राख्यो ।

बुहारीले ससुरोको कुरा र्भैमा खस्न नपाउदै टपक्क टिपेर जवाफ दिई - “पर्छ, अवश्य पर्छ । त्यो छोराकेा कर्तव्य हो तर छोराले सधैं गर्छन् भन्ने छैन । त्यसैले त बाबुछोराका बिचमा विवाद उठ्छ, झगडा चल्छ । आमा हुदा त समस्या समाधान आमाहरूले गर्छन् तर यो घरमा आमा हुनुहुन्न । भएकी आइमाई केवल म मात्रै हुँ । विदुर ससुरोलाई सासू खोजिदिनुपर्थ्यो मैले तर लोग्नेले अस्विकार गरे पछि मैले खोजी दिन मिलेन । कति विवश छ स्वास्नीमानिस ? लोग्नेको स्विकृति बिना त ऊ बुहारी पनि भित्र्याउन सक्दिन भने सासूको त कुरै छोडिदिऊँ ।”

“त्यो त फेरि कुरो शुरूमा नै आई हाल्यो नि।” - ससुरोले खिस्सी गर्दै भन्यो ।

बुहारीले ससुरोको भनाइ वास्ता नराखी भन्दै गई - “सम्पत्ति विभाजनको परिणाम घातक हुने भए पछि आइमाई विभाजन आवश्यक भई सक्यो । त्यो विभाजन आमाको जस्तो अवश्य पनि हुन सक्दैन तर ‘न मामा भन्दा कानु मामा निको' भन्छन्, त्यस्तो चाहीं हुन्छ । म तपाईको सेवसुश्रुषा गरिदिन्छु ।”

“स्वास्नीको जस्तो सेवासुश्रुषा कहाँ हुन्छ बुहारीबाट ? ” - ससुरोले स्वतः आपत्ति जनायो ।

“स्वास्नीको जस्तो नहोला तर बुहारीको जस्तो पनि नभएर एउटी आइमाईको जस्तो त हुन सक्छ । तर यसमा मूल कुरो, सबै कुरा बिर्सेर तपाईले यसलाई स्विकार्न सक्नु पर्छ । यो घर बिग्रनबाट जोगाउन तपाईको पहिलो जिम्मेवारी हो।” - बुहारीले दह्रो अडान लिई ।

“ल, मान्छु तैंले भनेको कुरा।” - ससुरोले बुहारीको तर्कसँग हार्दै भन्यो ।

“कुनै दिन यो घरमा बुहारीको जरुरत पर्यो , तपाईहरूले, अझ आमाले, मलाई ल्याउनु भयो । सन्तान वृद्धिको निम्ति यो स्वाभाविक नियम थियो तर अहिले यो घरमा बाबुको निम्ति एउटी आइमाईको जरुरत पर्योो, सन्तानवृद्धिको निम्ति त अवश्य पनि होइन।” - बुहारीले ससुरोतिर हेरी ।

“हो त्यो पनि।” - ससुरोले सत्य बोल्यो ।

बुहारी दृढ स्वरमा भन्दै गई - “त्यसोभए आजको यो विध्वंशकारी समस्याको समाधानको एक मात्र उपायको निम्ति अबदेखि म, सबै घरकी मूल आइमाईले गरे जस्तै तर उल्टो अर्थमा र कर्तव्य र वाध्यता दुवै कारणले, अंशको रुपमा आफूलाई दुई चिरामा विभाजित गरी दिन्छु । मूलतः म यो घरकी बुहारी रहनेछु तर मेरो लोग्नेको अनुपस्थितिमा यो घरकी आमामा परिणत हुनेछु अथवा तपाईकी स्वास्नी बनी दिनेछु । यसरी तपाईहरूको समस्या समाधान गरे पछि तपाईमाथिको मेरो अधिकार बुहारीको होइन, सधैं स्वास्नीको हुनेछ । त्यो द्वैध भूमिका म सधैं गर्नेछु । अरू सेवासुश्रुषा त मैले यसै पनि गर्नै पर्थ्यो । ल भन्नोस् - यसलाई आजको समस्याको समाधान मानूँ म ? ”

के भन्न सक्थ्यो बिचरो ससुरो ! उसले बिहे गर्ने विचार नै छोडिदियो ।

बिराटनगर ।
२०५१।९।२०