अरू कथाहरू

राम दाहालको लेखनी


home

१. अनुभूति
२.आशंका
३.अंशबण्डा
४.गंगामाया
५.कथाकी कुन्ती
६.कर्णेल्नी
७.गोमती किन पोइला गई ?
८.जयपराजय
९. पाहुना
१०. प्रशङ्ग मानेका पातको
११. मिनर्वा
१२. महानगरको एक रात
१३. श्रापित राजकुमारी
१४. समानता
१५. सौता
१६. सौमी

कथाकी कुन्ती

कथा



सन्तान नहँदा दुःख हुन्छ भनेर कसैले भन्दा मानिसहरू श्यामराज र कुमुदिनीको उदाहरण दिने गर्दथे । छोराछोरी नभएर पनि यिनीहरूलाई कहिले पनि असन्तोष भएन । सधैं उज्याला थिए, सधैं खुशी थिए । जहिले पनि जहाँ पनि सँगै हुन्थे । जोरीपारीले अपूतो र बाँझी भनेर उनीहरूको चित्त दुख्दैनथ्यो, बरु सन्तान भएर दुःख पाइरहेका आमाबाबुलाई देखाएर भन्दथे - “सन्तान भएर यस्तै हुनु भन्दा त नहुनु जाती ।” अनि दोष लाउनको भन्ने ठाउँ पनि हुँदैनथ्यो ।

छोरा छोरी श्यामराज र कुमुदिनीका भएनन्, पीर परेका थियो श्यामराजकी आमालाई, दिदीलाई, बहिनीलाई । एक एक गोठ सन्तान थिए प्रत्येक दिदी बहिनीका र ती सन्तानका बाटाबाट उनीहरूले खास सुख पनि पाएका थिएनन, बरु दुःख नै उब्जिएको देखिन्थ्यो तैपनि श्यामराजका सन्तान हेर्न सबलाई रहर थियो, मानौँ या त श्यामराज र कुमदिुनीको सुखप्रति सबलाई इर्ष्या थियो या श्यामराज र कुमुदिनी उनीहरूको बीचमा भएर पनि उनीहरूभन्दा अलग्ग भएकाले ती दुईलाई आफू भन्दा अलग्ग देख्न सक्दैनथे । अरू त कोही भन्न सक्दैनथ्यो, केवल श्यामराजकी आमा दबेको स्वरले छोरोसंग कहिले कहीं बरबराउँथिन् - “बाबु । बुहारीको नै खोट पो हो कि ? यसो अर्को बिहे गर्दा हुन्थ्यो कि सन्तान ।”

छोराको खोट हो भने त उनी सहन तयार थिइन् तर बुहारीको खोट हो भने उनी मानून् कसरी ? तर श्यामराजले आमाको तर्कलाई स्विकार गरेन । उसले त लोग्ने र स्वास्नी दुवैको अधिकार समान ठानेको थियो।उसको आर्जन पनि लोग्नेस्वास्नीलाई गुजाराना गर्न पर्याप्त थियो तर त्यसले छोराछोरी पाल्न धौ धौ पनि पर्न सक्थ्यो । तब नदुखेको कपाल डोरी लाएर ऊ दुखाओस् किन ? जुन कुरा भाग्यले मिलाएर खटाएको छ, त्यसलाई वङ्ग्याएर आफैले दुख कमाउनु किन ?

“ओखती मूलो, धामी झाक्रीले पो हुन्थ्यो कि ? ” - कुमुदीनीले एक दिन प्रसङ्ग उठाई ।

“छाडी देऊ, कुमू । जो लेखेको छ त्यसलाई टार्न सकिंदैन । फेरि जो नभएर पनि हामी सुखी नै छौ त्यो खोज्ने प्रयास गर्नु किन ? ” - श्यामराजले तुरुन्तै बिरोध गर्‍यो ।

“तै, बुढेसकालमा यसो हेर्ने कोही हुन्थ्यो कि भन्ने नाइँ ।” - कुमुदिनीले अझै पनि जोड गरी ।

“बुढेसकाल पनि सबैको देखेकी नै छौ नि । कसका छोराछोरीले छातीमा राखेर पालेका छन् बाबुआमा ? मर्ने बेलामा सबैका आमाबाबु बढ्तै भएका छन् ।”- श्यामराजले मानेन ।

“सन्तान स्वर्गको बाटो भन्छन् । बरु तपाईले अर्को बिहे गर्दा हुन्थ्यो कि ? ” - कुमुदिनीले बिस्तारै अर्को तर्क उठाई ।

“यस्तो कुरा मलाइ मन पर्दैन है, कुमू । मैले भनी दिएको छु ।"” - श्यामराजले रिसाएर कुरै सुन्न मानेन । त्यसपछि कुमुदिनीले पनि कुरा उठाइन ।

जसरी श्यामराज सम्पन्न थिएन त्यसरी नै उसका बाबु पनि थिएनन् । उनको जिन्दगी जहिले पनि ज्यूँ त्यूँ , ज्यूँ त्यूँ मा नै बितेको थियो । बाबु जहिले पनि जागिरमा दौडन्थे र आमा र छोराछोरी आफ्नै घरमा बस्दथे । ती सबै लालाबालालाई घिसारेर हिडने हैकम र सामर्थ्य उनको जागीरको थिएन । त्यसैले एक्लो लोग्नेमानिस जहां बस्यो त्यहीं कोही कुनै स्वास्नीमानिससँग अलि भिरैंचो हुनु अचम्म पनि भएन र त्यस्तै भिरैंचोबाट एकपल्ट भने उनी उम्कन सकेनन् । स्वास्नीमानिस आफै सम्पन्न भएकीले उनले पालन पोषण भने गर्नु परेन, बरु २।४ पैसा उल्टै उनलाई हातलागी हुन्थ्यो । त्यतापट्टि एउटी छोरी मात्र जन्मी । बाबु बाचुन्जेल श्यामराज कहिले कही बाबुसँगै उनीकहाँ जान्थ्यो र बाबु मरेपछि पनि आमाको नाता मान्न कम्तिमा पनि वर्षमा एक चोटी त पुग्ने गर्दथ्यो । बाबु परलोक भएको २।४ वर्ष पछाडि नै सानिमाकी त्यो छोरी खसेको समाचार पाउँदा पनि उनीलाई सान्त्वना दिन ऊ उनी कहाँ पुगेको थियो ।

आफ्नो सम्पत्ति र कमाइ सानीमाले लाईखाई गरेकोमा उसलाई कुनै आपत्ती थिएन र लोभ पनि भएन तर सानीमाको शेष पछि भने त्यो बाँकी उसको हुनु पर्छ भन्ने धारणा भने उसको अवश्यै थियो । तर ती सबै कुरा त सानीमाका शेष पछाडिका भए । यस पाली पनि ऊ सधैं झैं आमाकहाँ टिका थापेर सानीमाकहाँ थाप्न पुग्यो । ऊ आएको देखेर सानीमाले भनिन् - “बुहारीलाई पनि लिएर आएको भए हुने थियो नि ।”

“आउन त खोज्थी नै । के गर्नु ? आमालाई एक्लै छोड्नु भएन । फेरि चाडबाडको बेला दिदीबहिनीकहाँ राख्न पनि नमिल्ने ।” - श्याम राजले कुरा प्रस्ट्यायो ।

“खै, म आफू पनि जान सक्दिन । दिदीलाई पनि कहिले ल्याएनौ तिमीले ।” - प्रसङ्ग उठाइहालेकोले आफ्नी सौताप्रति उनको छोरो सामु प्रकट गर्नुपर्ने लोकाचार पुर्या्एर सानमिाले थपिन् - “अब त म पनि वुढी भइछु । उठ्न बस्न पनि गाहारो हुन थाली सक्यो । कहिले त एक्लै मर्छु कि राति भुसुक्कै भने जस्तो पनि लाग्छ ।”

“कहाँ मरिन्छ, सानीमा, त्यसै काल नआई ? ५०।५१ न हो । हाम्रै आमा हुनु भयो पैंसठ्ठी । खै, ठमठम गरेर हिड्नु हुन्छ अझै ।” - श्यामराजले ढाडस दियो ।

सानीमाले जवाफ दिइन् - “दिदी भनेकी गाउँ घरमा हुर्केकी मान्छे । जिउ नै दह्रो छ । हामी भनेको किनेको सागपात खाएर सहरमै बस्नेहरू । बराबरी कहाँ हुन्छ र ? अब त यो घरको भाडा उठाउन, यो पसल चलाउन पनि नसक्ने भईसकें म त । यसो तिमी आएर पालो देऊ, यो घरको जिम्मा लेऊ भनूँ भने पनि खै तिम्रा पनि सन्तान नै भएनन् । कसको लागि पो आऊ भनूँ । तिम्रा सन्तान भएका भए त यो सम्पत्ति पनि उसैका नाममा लेखिदिनु हुन्थ्यो नै आफ्नो शेष पछिका लागि । खै, अब त पछि गएर गुठीमा राखी दिनु पर्ला कि कसो ? ”

सानीमाको कुरा श्यामराजलाई साँच्चै बिज्यो । सानीमाको सम्पत्तिको हकदार ऊ एक्लै थियो तैपनि उसका सन्तान नभएकाले सानीमा त्यो सबै दान गर्न तयार भएकी थिइन् । हुनत केका निम्ति पो दिउन् सानीमाले उसलाई सम्पत्ति ? यसै पनि श्याम राज साख्खै छोरो ठहरेन । फेरी पिण्डपानी दिने मानिस पनि थिएन । सानमाको भनाइको आशय यही नै थियो ।

घर फर्कदा बाटोमा श्यामराजले सानीमाको सम्पत्तिको हिसाव लगायो । घरको मोल त उसलाई थाहा भएन तर २।४ हजार महिनै पिच्छे घरमा भाडा उठेको उसले देखेको थियो।फेरि उनको पसल पनि चलेकै देखिन्थ्यो । २।२ वटा त उनले पसलमा काम गर्ने मानिस नै राखेकी थिइन् । त्यसैले २।४ हजार त चोखो आमदानी हुनु पर्ने हो पसलबाट पनि । तब त महिनामा कम्तिमा पनि ५।७ हजार आमदानी हुने सम्पत्ति सदावर्तमा जान लागे जस्तो लाग्न थाल्यो श्यामराजलाई । त्यसलाई रोक्न चाहन्थ्यो ऊ तर सानीमाको निम्ति उसले सन्तान उब्जाओस् कहाँबाट ?

घर पुगेको २।४ दिन पछि श्यामराजले कुमुदिनीलाई भन्यो - “हैन, तिमीले ओखतीमूलो, धामीझाक्री गर्ने भनेकी थियौ नि, हँ ? ”

अनायास लोग्नेको मन परिवर्तन भएकोमा कुमुदिनीले सशङ्कित भएर सोधी - “किन ? के भयो र ? ”

श्यामराजले कुमुदिनीको शंका समाधान गर्न खोज्दै जवाफ दियो - “यसो सोच्दा तिमीले भनेको कुरामा केही सत्यता छ जस्तो लाग्यो र भनेको ।”

कुरा अवश्य त्यतिमा नै टुगिएन । ओखतीमूलो चलि नै हाल्यो । कुमुदिनीले औषधि खाई र श्यामराजले पनि खायो तैपनि सन्तान भएनन् । धामीझाक्रीले हेरे, पार लागेन । ज्योतिषीले ग्रहदशा पन्साए, कुनै फल निस्केन । कुनै प्रयास पनि सफल नभएपछि श्यामराजको स्वास्थ्य परिक्षण गर्ने डाक्टरहरूले भन्यो - “भनेको सुन्नु हुन्न । बेकार टुनामुना, पूजापाठ तिर लाग्नुहुन्छ । तपाईकी श्रीमतीको परिक्षण पनि गर्नै पर्दैन । खुरुक्क धर्मपुत्र पाल्नोस् छोराको रहर भए ।”

डाक्टरको भनाईले श्यामराजको प्रयासमा ठूलो चोट लगाइदियो । धर्मपुत्रले समस्या समाधान हुने भए श्याम राजले त्यत्रो प्रयास गर्ने नै थिएन । उसलाई त आफ्नो सन्तान चाहिएको थियो ।

डाक्टरको भनाइ सुनेर ऊ आए पछि कुमुदिनीले सोधी - “के जवाफ दियो डाक्टरले ? ”

श्यामराजले दिक्क हुँदै जवाफ दियो - “खै, हुँदैन रे भन्छ ।”

उसको दिक्दारी देखेर कुमुदिनीले ढाडस दिंदै भनी - “त्यसो भए बिर्सिदिनोस् सवै कुरा । जो पाउनु थिएन, पाइएन । पीर किन गर्नु हुन्छ अब ? मलाई त पीर छैन ।”

श्यामराज बोलेन । उसको चित्त भने पटक्कै बुझेको थिएन । एकातिर सानीमाको सम्पत्तिको निम्ति चाहिएको थियो सन्तान, अर्को तिर ऊ निसन्तान । निसन्तान हुनुमा त उसलाई आपत्ती थिएन । सन्तान त उसलाई सानिमाको सम्पत्तिको निम्ति चाहिएको थियो ।

‘केही नभए आस्थाले त होला । कत्राकत्रा चमत्कार भएकाछन् आस्थाले।’ - सोच्यो श्यामराजले ।

ऊ पक्का आस्तिक भयो । धर्मको कुनै पाइलो छोडेन । पुजापाठ सधैँ गर्थ्यो, मन्दिर सधैं धाउथ्यो, साधुसन्तलाई आफ्नो गच्छे अनुसार सधैं दान दिन्थ्यो । पुराण भनेको ठाउको बाटो पर्योर भने जस्तै हतार भए पनि एक छिन उभिएर सुन्नै पर्थ्यो उसले ।

एक दिन पुराणका कथावाचक व्यासले भने - “राजा पाण्डुबाट सन्तान नहुने भए पछि उनकै आज्ञाले कुन्तीले तीन र माद्रीले दुई सन्तान जन्माए ।”

श्यामराजको मनमा बिजुली चम्के झैं भयो । यो त उसले सोचेकै थिएन । सधैं आफ्नो घेराबाट सोच्यो उसले, कुमुदिनीको घेराबाट त उसले सोचेको नै रहेनछ । उसका पो नहुने त सन्तान, कुमुदिनीका नहुने त होइनन् नि । पाण्डुका भएनन् त कुन्तीका भए, माद्रीका भए र उनीहरूका भए पछि पाण्डुका पनि भए । कति सजिलै एउटा घेरा पुग्दो रहेछ । उसले त जहिले पनि कुमुदिनीलाई त्यो सन्तान जन्मने घेराभन्दा बाहिर राखेर सोच्दो रहेछ अनि कहांबाट पुग्नु उसको चाहना ?

बेलुका उसले कुमुदिनीलाई भन्यो - “कुमू । तिमी मलाई एउटा मात्र छोरो पाई देऊ ।”

कुमुदिनीले जिल्ल परेर भनी - “कहांबाट पाई दिनु मैले नहुने भएपछि ? ”

श्यामराजले स्वास्नीलाई अँगालोमा अझ दह्रोसँग समाएर टाँसिदै जवाफ दियो - “मेरा पो नहुने भए त । तिम्रा नहुने त होइनन् नि ।”

लोग्नेको भनाइको आशय बुझेर कुमुदिनीले चकित र विस्मित हुदै भनी - “के भनेको तपाईले त्यस्तो ? कहीं स्वास्नीलाई पनि त्यसो भन्छन् ? ”

आफ्नो अडानलाई नछोडेर श्यामराजले तर्क दिदै थप्यो - “किन नहुने ? कुन्तीले त्यसै गरेर पाण्डव जन्माएकी होइनन् र ? ”

“ती त कथाकी कुन्ती हुन् । कथामा गरे जस्तो हामी मानिसले गर्नु हुदैन । गरी हाले पनि त्यो टिकाउ हुदैन ।” - कुमुदिनीले प्रस्ट बिरोध गरी ।

तर श्यामराजको अडान अडान नै रह्यो । कुमुदिनीले उसलाई अर्को बिहे गरेर आफ्नो इच्छा पुरागर्ने स्विकृति दिई तर श्यामराजले त्यसलाई स्विकार गरेन । उसले भन्यो - “मलाई तिम्रै सन्तान चाहिन्छ ।”

धर्मपुत्र पाल्ने प्रस्ताव पनि टिक्न दिएन उसले । उसको पीडा बढ्दैगयो र सो पीडाले कुमुदिनीलाई पनि खानलाग्यो । एकातिर लोग्ने प्रतिको माया, अर्कोतिर आफ्नो बलिदान । कुमुदिनीलाई डर लाग्थ्यो । ल, धर्म र पापका कुरा त छोडी दिऊँ । लोग्नेलाई सुख कमाइदिन परपुरुषको अंगालोमा पसेपछि त्यहांबाट निस्कन सकिन्छ कि सकिन्न, के ठेगान । यहां त लोग्ने पनि छुट्न सक्ने डर थियो । तर आफ्नो घर धानेर बस्नु पर्ने स्वास्नीमानिसलाई आखिर एक दिन लोग्नेको ढिपी अगाडि नुहुन करै लाग्यो ।

ऊ माइत गई ।

० ० ० ०


कुमुदिनीले छोरो नै पाई । छोरो पाएको खुशियालीमा श्यामराजको फुर्ती देखेर छरछिमेकीले ओठ लेप्य्राए, कुमुदिनीको टिकाटिप्पणी गरे तर मूल कर्ताबाट स्विकृति भइसकेको कुरामा प्रश्न कसैले पनि उठाएन । यसरी श्यामराजको समस्या समाधान भयो र सानीमाको चित्त पनि बुझ्यो । कुरा त त्यहीं टुंगिनु पर्ने थियो तर दिनदशाले टुंगिन दिएन । छोरो जन्मेको डेढ वर्ष पछि एक दिन एउटा तन्देरी श्यामराजको घर सोध्दै टुप्लुक्क ढोकामा उभिन आइपुग्यो । उसको अनुहार देखेर कुमुदिनी आत्तिई र भनी - “किन आएको तिमी यहाँ ? ”

व्यथित आँखाले उसले जवाफ दियो - “तपाईले बोलाउछु भन्नु भएको होइन ? म कति पर्खेर बसें ।”

एउटी अधबैंसेले आफ्नो स्वार्थ्य पुरागर्न एक दिन दिएको वचन तन्देरीले पर्खेर बस्छ भन्ने कुमुदिनीले सोचेकी कहाँ थिई र ? उसले त त्यो तन्देरीलाई उसको उपयोगिता सिध्दिएकै दिन बिर्सिएकी थिई । उसलाई सम्झेर आफ्नो भएको संसार नंग्याउने पक्षमा ऊ हुन पनि सक्दिनथी । तर त्यो अगाडि आएको सत्यलाई पन्साउन पनि सजिलो थिएन । त्यसमा पनि श्यामराज घरमा नभएको बेला ऊ कसरी पन्साओस् ? फेरि साँझको बेला घर आएको पाहुना पठाओस् कसरी ? जाओस् कहाँ ? रात त यसै पनि बिताउन दिनै पर्योो । आखिर माइती गाउंको एउटा माइती त हो ऊ अरू साइनो नभए, नमाने पनि । फेरि आफ्नो छोरो प्रतिको उसको मौन अधिकारलाईँ अरूले थाहा नपाए पनि उसले त अस्विकार गर्न सक्दिनथी ।

आफ्नो कमजोरीले हो वा त्यो तन्देरीको करले वा दुवैले कुमुदिनी फेरि त्यो परपुरुषको अँगालोमा बाँधिई । पहिलेका समागमहरू शायद वाध्यताका सिर्जनाहरू भएर होला पछिल्लो जस्ता आनन्ददायी अवश्य पनि थिएनन् र त्यो आनन्दको आवेगमा उसलाई भेटने वचन दिन पुगेर कुमुदिनी फेरि वचनकी बन्दी भई र त्यो तन्देरी कहिले न कहिले देखा परी नै रह्यो । श्यामराजले ऊ आएको थाहा पायो वा पाएन त्यो प्रस्ट भएन । गाउँलेले आपसमा कुरा काटे पनि कसैले उसलाई भन्न गएन, श्यामराजले त्यो तन्देरी आएको देखेन ।

यसरी नै चल्नसक्थ्यो होला तर कुमुदिनी फेरि दोजिया भई । त्यो थाहा पाएर श्यामराजले छक्कपर्दै सोध्यो - “होइन, तिमी साँच्चै दोजिया भएकै हौ त ? ”

कुमुदिनीले एकदम सहज भावमा भनी - “तपाईका नै हुने भएछन् नि अब त । कस्तो अचम्म ! हो कि ? ”

श्यामराजसँग अवश्य नै कुमुदिनीको भनाइको जवाफ थिएन । अघिल्लो दिन मात्रको आफ्नो परिक्षण पछिको डाक्टरको भनाइ र कुमुदिनीको भनाइ बिचको विरोधाभाष बेहोर्न उसलाई गाहारो परिरहेको थियो । उसले सोच्यो - ‘पुराणको पाण्डुलाई ५।५वटा छोराहरू नै चाहिएको कहाँ थियो होला र ? एउटै भए पुग्ने थिएन र राज्य सभाल्न र वंश चलाउनलाई ? तब के सबै कुन्तीहरूको कथाव्यथा उस्तैउस्तै हो त ?'

श्यामराज दोधारमा पर्योव । ‘ऊ नामर्द भएकोले कुमुदिनीले त्यसको फाइदा उठाएकी हो कि कुमुदिनीलाई धैरै माया गरेकोले ऊ जिताही भएकी हो ? के कुन्तीको कथाको अन्त्य पाण्डुको मृत्युले मात्र भएको थियो त ? के कुमुदिनी पनि बग्दैजान्छे त यो अपराधको छालमा अब सधैं नै ?‘

स्वास्नीलाई आरोप लगाउन पनि श्यामराज सक्दैनथ्यो । गलत बाटोमा ऊ आफैले लगाएको थियो कुमुदिनीले नचाहदा नचाहदै पनि । अब ‘चोरेर खाई' भनेर आरोप लगाओस् कसरी ? आरोप लगाए पछि त स्वास्नी फाल्न पर्यो‘, नत्र आरोपित स्वास्नीसँग बस्न पनि त गाहारो थियो ।

“कुमू, कारणवस कुनै दिन गलत ठाउँमा पुगियो भनेर त्यो ठाउँमा दोहोर्या,ई दोहोर्या,ई पुग्नु हुन्न किनकि त्यो त बिग्रने बाटो हो।” - श्यामराजले स्वास्नीलाई सम्झाउन खोज्यो ।

लोग्नेको भनाइको आशय बुझेर आफूलाई ठीक ठहर्याँउन कुमुदिनीले जवाफ दिई - “म पहिले जाँदा पनि आफ्नो खुशीले गएकी होइन र झन अहिले त गएकी पनि छैन ।”

“यो नि यो, के ? ” - कुमुदिनीले आफूलाई निर्दोष बनाएर उसलाई नै दोषी ठहर्या एकीले श्यामराजले चकित हुदै उसको बढेको पेट देखाएर सोध्यो ।

“तपाईको र म पनि तपाईकी ।” - कुमुदिनीले ठट्टैमा उसको प्रश्न पन्साउन खोजी ।

“तर डाक्टर भन्छ...” - श्यामराजले केही भन्न खोज्यो ।

लोग्नेले भन्न खोजेको कुरा बिचैमा काटेर कुमुदिनीले जवाफ दिई - “डाक्टर के भन्छ, त्यो बिर्सिदिनोस् । तपाईका छोराछोरी हुदैनन् भनेर भन्ने त्यो डाक्टर को हो ? देउता हो ? ”

श्यामराजले कुमुदिनीसँग तर्क गर्न सकेन तर आफ्नो इच्छा विरुध्द काम गरी रहेकी स्वास्नीसँग सम्वन्ध राखी रहन पनि उसलाई सम्भव भएन । कुमुदिनीको भनाइ र गराइ दुवैले उसको आत्मसम्मानमा चोट लाग्यो र समाजमा आफ्नो अपमान भएको र स्वास्नीले मर्यादा नाघेको उसले अनुभव गर्योा । त्यो स्थितिमा समाजमा लोग्नेको प्रभूता देखाउन अर्की स्वास्नी कुमुदिनीको अगाडि उभ्याएर भन्यो - “तिमीलाई बहिनी ल्याइदिएको । मेरा सन्तान हुने भए भन्यौ । त्यसैले लिएर आउने आँट भयो ।”

लोग्नेको भनाइको आशय बुझेर फिस्स हांस्दै कुमुदिनीले मनमनै भनी - “"कुन्तीको चरित्रमा शंका नभई माद्री घर भित्र हुलिदैनन् । तर विचरो पाण्डुलाई के थाहा कि कुन्ती कूलवधू हो र ऊ आफू पछिका सबै नारीलाई परम्पराको मन्त्र सिकाउछे । नारी परम्परालाई कायम राख्न तरुनी माद्रीहरू झन दक्ष हुन्छन् र एउटा ढुंगोले दुईटा चरा खसाल्न सक्छन् ।”

बिहे गरेको झण्डै एक वर्ष बितेपछि एक दिन आफ्नो छोरो खेलाएर बसेकी सौतालाई खिज्याउदै कुमुदिनीले भनी - “होइन, तिमी मेरै छोराछोरी मात्र खेलाएर चित्त बुझाउछयौ कि आफ्ना छोराछोरी पनि चाहिन्छ ? ”

उसको कुरा सुनेर सौताले गर्धन निहुराएर जवाफ दिई - “खै, कर्ममा के लेखेको छ नै ।”

सौताको मन पेट बुझ्न ठट्टैको पारामा कुमुदिनीले थपी - “उस् । कर्म भनेर लोग्नेको आश गरेर बस्यौ भने त । डाक्टरले नभा'को कुरा त भन्दैनन् नि ।”

सौताले कुमुदिनीको भनाइको आशय बुझेर छक्कपर्दै भनी - “यी छोराछोरी नि ? ”

लाजलाई हाँसोसँग मिसाएर कुमुदिनीले जवाफ दिई - “के ढाँटनु तिमीलाई ? ढिलै जाने पनि यी त मेरा बाहिरकै कमाइहरू हुन् ।”

नभन्दै कान्छीले पनि त्यसको दुई वर्षभित्र नै छोरो पाई । विजयभावले सौताको छोरो लोग्नेको अगाडि तेर्स्याएर कुमुदिनीले भनी - “मैले भनेकै हुँ नि तपाईकै भएका हुन् भनेर । अब त विश्वास भयो तपाईलाई ? ”

श्यामराजले विश्वास नगर्ने ठाउँ नै भएन ।

काठमाडौं
२०४७।७।१७

काठमाडौं
२०४७।७।१७