अरू कथाहरू

राम दाहालको लेखनी


home

१. अनुभूति
२.आशंका
३.अंशबण्डा
४.गंगामाया
५.कथाकी कुन्ती
६.कर्णेल्नी
७.गोमती किन पोइला गई ?
८.जयपराजय
९. पाहुना
१०. प्रशङ्ग मानेका पातको
११. मिनर्वा
१२. महानगरको एक रात
१३. श्रापित राजकुमारी
१४. समानता
१५. सौता
१६. सौमी

आशंका

कथा



रागिनी बल्दो बैंशमा नभए पनि उसको जवानी ढल्केको थिएन । छरछिमेकमा उसको उमेरका २।४ वटी केटी अझै पनि बिहेलाई पर्खिरहेका थिए भने उसको त छोरो दश वर्षको भई सकेको थियो । त्यसो हुनुमा दोष उसको होइन, उसका आमाबाबुको थियो जसले १६ वर्ष पनि नपुग्दै उसको बिहे गरिदिए । अब त उसको कमाउ लोग्ने थियो, घर थियो तैपनि घाँटीको पोतेको लुङ कतै छोपिएको र सिन्दूर नदेखिएको बेला नानीको बिहे भयो ? भन्ने देखा नपर्ने भने होइनन् ।

रागिनी राम्री थिई, देख्दा दृष्टिपृय लाग्ने । मानिसको हुन्छ नि कुनै अंग विशिष्ट नभए पनि समष्टिमा विशिष्ट बनौट, त्यस्तै थियो रागिनीको बनौट । त्यसमा पनि भद्दा मेकअप नहुनाले शालिन देखिन्थ्यो उसको अनुहार । स्वभावले पनि रागिनीलाई मन्दबुद्धि होइन तिक्ष्णबुद्धि नै मान्नु पर्दथ्यो । त्यसैले त आफ्नो बिहे पछि पनि उसले आफ्नो पढाइ कायम नै राखेर स्नातक हुन सकेकी थिई ।

चाँडो बिहेगर्नका नोक्सान धेरै भए पनि १।२ फाइदा पनि छन् । तीस पनि नपुगेकी रागिनीको छोरो छात्रावासमा बस्न सक्ने भइसकेको थियो भने तीस वर्षमा बिहे गर्नेहरू त्यो स्थितिमा पुग्दा उनीहरूको कपाल तीलचामले भइसकेको हुने थियो र बाथले समात्ने सम्भावनातिर पुग्ने थिए । रागिनीले त उनीहरूको त्यो उमेरमा पुग्दा त छोराको कमाइको आश गर्न थाले हुन्थ्यो ।

सम्पन्न परिवारकी त्यो सत्ताइस वर्षे आइमाईले पढाइ सकेपछि घरको भान्साभण्डार गरेर बसी रहने सम्भावना भएन । त्यसैले उसको लोग्नेले उसको समय कटाई दिन आफ्नै घर कम्पाउण्डको सडक छेउको घरमा उसका लागि आर्ट ग्यालरी बनाइदियो । त्यही आर्ट ग्यालरी नै रागिनीको पसल, कार्यशाला र विश्रामगृह पनि भयो ।

रागिनी एक्लैले स्टुडियो र ग्यालरी चलाउने सम्भावना नदेखेर उसको लोग्नेले सहयोगको निम्ति रोशनलाई नियुक्त गरी दिएको थियो । उमेरमा रागिनीकै हाराहारीमा भए पनि क्यानभासमा रंगरोगन गर्ने कलामा निकै पोख्त भएकोले ऊ रागिनीको निम्ति सहयोगी मात्र नभएर गुरु पनि बन्न पुगेको थियो । तैपनि नोकर नोकर हो भन्ने ज्ञान भएकोले रागिनीको आदेशलाई सधैं नै पालन गर्ने गर्दथ्यो र त्यसमा कुनै प्रश्न उठाउदैनथ्यो । रागिनीले कुनै राय मागे ऊ स्वामिनीप्रति सद्भाव राखेर नै राय दिन्थ्यो ।

रोशन मालिक्नीले अन्य आदेश नदिएमा, बिहान ९ बजे नै ग्यालरी आउथ्यो र बेलुका ५ बजे पछि फर्कन्थ्यो । ग्यालरी खोल्ने - बन्दगर्ने र बढार्ने पुछने काम घरको नोकरले गरे पनि बाँकी काम रोशन आफैं गर्दथ्यो । कहिले कही यसो २।४ वटा ग्राहक पनि पसी हाल्दथे र २।४ हजारको विक्री पनि भई हाल्थ्यो । रोशन पनि फुर्सदको समयमा ब्रुस र रंग लिएर क्यानभासमा चलेर केही त बनाउथ्यो र कसै न कसैले त मन पराई हाल्थ्यो ।

रागिनी आफ्नो समयमा आउथी । मालिक्नी थिई, समयको पावन्दी थिएन उसलाई । त्यसमा पनि गरिखानभन्दा स्वास्नीलाई समय कटाई दिन सम्पन्न लोग्नेले खोली दिएको पसलमा ऊ सधैं समयमा आउने जाने गरेकी भए बरु त्यो अचम्म हुने थियो ।

रागिनी आउथी, आएर आफ्नो क्यानभास अगाडि बस्दथी । रोशनले सफा गरेर बुरुस र रंग राखी दिएको हुन्थ्यो र त्यही क्यानभासमा चल्दथी । आवश्यक ठाने रोशनलाई बोलाएर आफ्नो कृतिबारे राय माग्दथी या रोशनको क्यानभासमा गएर राय दिन्थी । लगातार तीन वर्षदेखि यही रित चलिरहेको थियो । बिदाका दिन बाहेक रोशन कम नै गयल भयो र रोशनको उपस्थितिमा ऊ यति बानी परी कि रोशन नआएको दिन उसलाई ग्यालरी शुन्य लाग्दथ्यो भान्सेबजै नभएका दिनको भान्सा जस्तो ।

रागिनीको लोग्ने कहीं चालिसतिर छुनलागेको थियो तर संयमले उमेर कम नै देखाइदिन्थ्यो । सौम्य, सुशोभित, सुदर्शन र सभ्य थियो ऊ । आफू सधैं व्यस्त भए पनि रागिनीको ग्यालरीको निम्ति चित्र र सामान जुटाई दिन पछि पर्दैनथ्यो । ऊ रागिनीलाई माया गर्थ्यो र उसको हरेक खुशीको निम्ति तयार हुन्थ्यो । उसलाई रागिनीप्रति यति विश्वास थियो कि रागिनीको ग्यालरीमा रोशनको उपस्थिति एउटा सजीव चित्र जस्तो मात्रै लाग्दथ्यो उसलाई ।

त्यो दिन, बिदाको भोलिपल्ट, रोशन आएन । त्यसरी बिना जानकारी ऊ कहिले पनि गयल भएको थिएन । त्यसैले रागिनीको चासो अलि बढ्यो तर रोशनको टेलिफोन या ठेगाना थाहा थिएन उसलाई । लोग्नेसँग हुन सक्थ्यो तर त्यसको आवश्यकता पर्ला भन्ने उसले सोचेकी पनि थिइन । उसले त रोशनको घरमा को को छन् ? बिहे भएको छ कि छैन ? भन्ने जान्ने चासो र प्रयाश पनि गरेकी थिइन ।

रागिनी ग्यालरीबाट बाहिर निस्की । चौकिदार एउटी आइमाईसँग कुरा गरिरहेको थियो । रागिनीले नजिकै गएर चासो लिई र चौकिदारले भन्यो - “हजूर , मेरी भदै नानी यो । कतै काम पाइन्छ कि भनेर आएकी । अहिले यही मसँगै छ ।

केटी त्यस्तै २०।२२ वर्षकी थिई होला । रागिनीले सोची - 'काम गर्ने मानिस त मलाई पनि चाहिएको छ । ग्यालरीको कामगर्न पनि सक्छे, फेरि भित्रै पनि त मेरो साथी हुन्छे ।'

उसले चौकिदारलाई भनी - “म कहाँ नै राख न त त्यसो भए ।”

चौकिदारले आपत्ति गर्ने कुरै भएन । उसलाई त के खोज्छस् काना ? आँखो भयो ।

बेलुका लोग्नेले केटीलाई देखेर सोधनी गर्यो । रागिनीले उसको नालीबेली दिई । सबै सुने पछि लोग्नेले भन्यो - “केटीको सट्टा केटो भएको भए हुन्थ्यो । सक्छ्यौ र तिमी यो उमेरदार केटीलाई थाम्न ? ”

रागिनीले आफ्नो दृढता देखाई । लोग्नेले भर्सक केटीलाई हटाउन रागिनीलाई सम्झायो तर रागिनीले उसको कुरा मानिन । अन्त्यमा लोग्नेले भन्यो - “हेर है । केटी राम्री पनि छ, तरुनी पनि छ ।”

लोग्नेको भनाइ सुनेर रागिनीले हाँस्दै भनी - “मलाई क्याथिरिन म्यान्स्फिल्डको 'एक कप चिया' की रोजमेरी भनिठानेको होला तपाईले । म त त्यो होइन । मलाई त डर पनि छैन, डाही पनि छैन ।”

लोग्नेलाई एउटी तरुनी केटीको अनावश्यक जिम्मेवारी लिने मन नभए पनि स्वास्नीको जिद्दी अगाडि उसको केही चलेन ।

भोलिपल्ट रोशन ग्यालरी आई पुग्दा त्यो केटी रागिनीको निर्देशनमा पुछपाछ गर्दै थिई । रोशन भित्र पसेको देखेर अलि रिसाए झैं गरेर रागिनीले भनी - “तिमी हिजो किन नआएको ? नआउने भए आउदिनँ है त भन्नु पर्छ ।”

रोशनले आपराधिक अनुहार लाएर भन्यो - “हेर्नोस् न । यहाँबाट घर गएकै दिन एकाएक भाइलाई सन्चो भएन । आमालाई साथ दिनै पर्योए । आउनै सकिनँ । तै दिदी आएर बसी दिइन् र आज आउन पाएँ ।”

रागिनीले संयमित भएर भनी - “म त तिमीलाई पो केही भयो कि भनेर । भाइलाई कस्तो छ त अहिले ? ”

“ठीकै छ अब त । पहिले हेरी त धेरै राम्रो छ ।” - उसले स्टुलमा बस्दै जवाफ दियो र प्रश्नात्मक दृष्टिले काम गर्दैगरेकी केटीतिर हेर्‍यो । “यहाँ काम गर्न ल्याएको ।” - रागिनीले उसको हेराइलाई जवाफ दिई ।

रोशनले मुस्कुराएर सोध्यो - “अब आउदैन भनेर ल्याएको हो कि के हो मेरो सट्टा ? ”

रागिनीले अलिक तुजुक देखाएर भनी - “अँ । हो । तिम्रो सट्टा । अब यसैले गर्छे तिम्रो काम ।”

रोशन केही नबोली आफ्नै काममा व्यस्त भयो । रागिनी पनि आफ्नो क्यानभासमा निहुरिई ।

निकै समय बितेपछि रागिनी रोशनको क्यानभास छेउ गएर उभिई र एक छिन पछि उसलाई सोधी - “कस्तो लाग्यो तिमीलाई ? ”

रोशनले टाउको नघुमाई सोध्यो - “के कस्तो ? ”

“यहाँ कामगर्ने मानिस थपेर ठिक गरिनँ त ? ” - उसले आँखा चल्मलाएर भनी ।

“ठीकै त होला नि।” - रोशनले त्यता त्यति ध्यान नदिएर जवाफ दियो ।

“तैपनि ? ” - रागिनीले अझै जोड गरी ।

“नभए पनि चल्ने थियो ।” - रोशनले काम गर्ने मानिसको आवश्यकतामा जोड दिएन ।

“मानिस कस्ती छ नि ? ” - रागिनीले रोशनको अनुहारमा आँखा गाडेर सोधी ।

“मानिस तरुनी त हुदै हो । झन त्यसमाथि आँखै लाग्नेगरी राम्री छ ।” - मालिक्नीले खेरेर सोधे पछि आँखा उठाएर पर काम गर्दै गरेकी केटीतिर हेरेर देखेको कुरा बिस्तारै भन्यो रोशनले ।

रागिनी नबोली गई ।

भोलिपल्ट बिहान रागिनीले चौकिदारलाई बोलाएर भनी - “बीरबहादुर , यो भदैलाई घरै लगेर बिहे गरिदेउ । यो लुगाफाटो पनि लेउ र पैसा पनि ।”

चौकिदारले भदै लिएर गयो । केटीको बारेमा कसैले खोजीनिति गरेन ।

बिराटनगर
२०५१।०९।१५