अरू कथाहरू

राम दाहालको लेखनी


home

१. अनुभूति
२.आशंका
३.अंशबण्डा
४.गंगामाया
५.कथाकी कुन्ती
६.कर्णेल्नी
७.गोमती किन पोइला गई ?
८.जयपराजय
९. पाहुना
१०. प्रशङ्ग मानेका पातको
११. मिनर्वा
१२. महानगरको एक रात
१३. श्रापित राजकुमारी
१४. समानता
१५. सौता
१६. सौमी

सौमी

कथा



फिल्डको काम अराउ-पराउ गरी सिध्याए पछि म आफ्नो साइट अफिसको कोठाभित्र पसें। मैले सधै झैं उसलाई टेबलकै छेउमा बसिरहेकी पाउने आशा गरेको थिएँ तर ऊ त्यहाँ थिइन। ऊसँग चिनापर्ची भ्एको केही दिन पछिदेखि नै ऊ मेरो घर र कार्यालमा बराबर आउने गर्थी र मलाई कुरेर बस्थी पनि। छरछिमेकले उसको बदनाम आचरण देखाएर ऊसँगको सम्वन्धको विरोध पनि गरेका हुन् तर, किन हो कुन्नि ? हामी दुई जनाले एक अर्कोलाई मन परायौं र शायद माया पनि गरेका थियौं होला। चिनजान, छरछिमेकीले पनि ‘लडने गोरुलाई राम पो भन्न सकिन्छ त काँध हाल्न सकिदैन भनी ठानेर होला पछि त हाम्रो सम्बन्धमा आपत्ति गर्न पनि छोडी दिएका थिए ।अझ हाम्रो सम्बन्धलाई स्वीकार पनि गरेका थिए।

म आफ्नो कुर्सीमा गएर बसेपछि सधैंको झैं पिउने पानी लिएर भित्र पसेको चौकिदारलाई सोधें –”आज सौमी आइन ?”

जगको पानी गिलासमा खन्याउदै उसले जवाफ दियो – “खै, आज त देखेको छैन ।”

‘ढोकामा बस्ने चौकिदारले देखेन भने अवश्यै पनि ऊ आइन।’ – मैले निश्चय गरें।

हुनत ऊ यदाकदा नआउने पनि हो तर त्यसको जानकारी ऊ अघिल्लै दिन दिन्थी। अघिल्लै दिन दिन सकिन भने पनि त्यही दिन दौडदै आएर ‘म आज आउन भ्याउँदिनँ है' भनेर दौडदै जान्थी। उसको आउन नभ्याउनुको अर्थ हुन्थ्यो - आएर बस्न नभ्याउनु।

हुनत सौमी उसको नाम पनि होइन। त्यो त केवल मैले बोलाउन सजिलोको निम्ति राखी दिएको थिएँ। कुनै अनामिकाको नाम राख्नु पर्दा आफूलाई मन परेको नाम या शब्द सौदामिनी मुखमा आई हाल्ने हुनाले मैले उसलाई त्यही नाम दिएँ र छोटकरीमा सौमी भनेर बोलाउने गर्थें। नत्र त उसलाई कसैले सानी भन्थे, कसैले ‘ठूली’। रिसाउदा ‘चोर्नी’ भन्थे त खुसाउदा या जिस्क्याउदा ‘थुप्री’ भन्थे। उसलाई ती नाममा कुनै आपत्ती थिएन तर मैले ‘तिम्रो नाम अब सौमी भयो’ भन्दा ‘सौमी भनेको के?’ भनेर उसले तुरुन्तै प्रतिवाद गरी। मैले उसलाई ‘सौदामिनीको छोटो रुप सौमी हो र सौदामिनी भनेको चम्किने बिजुली हो’ भनेर बुझाउदा आफ्नो नाम किन त्यो चम्किने बिजुलीसँग गाँसिन पुग्योे? त्यो बुझ्न नसकेर वाल्ल परी। आफ्नो नाम सानी, ठूली, चोर्नी, थुप्री हुनुका कारण त उसले बुझेकी थिई तर सौमी हुनुको कारण बुझिन।

सौमीसँग मेरो चिनाजानी पनि अकस्मात हुन पुगेको थियो।

मेरो फिल्डसाइटदेखि मेरो क्वार्टरसम्मको बाटो ७।८ मिनटको थियो र बाटोमा २।४ वटा पसल र १५।२० वटा घरहरू पर्दथे। त्यत्रो ठूलो निर्माणको हाकिम भएको कारण त्यो ठाउँका सबैले मलाई चिनिसकेका थिए र सन्मान पनि गर्दथे। मैले पनि उनीहरूको सन्मानलाई सौहार्द्रपूर्वक लिएको थिएँ र साइटबाट घर जाँदा या घरबाट साइटतिर आउँदा सबैसँग भलाकुसारी गर्दै जादा कहिले कहीं त आधा घण्टा नै पनि लाग्दथ्यो। हुनत त्यो गाउँलाई मानिसहरू सहर भन्ने गर्दथे तर त्यो ठाउँको प्रवृत्ति गाउँलेको जस्तै थियो - वल्ला पल्ला घरमा के भइरहेछ ? कसो भइरहेछ ? चासो र नाटीकुटी पनि हुनुपर्ने, मर्दापर्दा दौडेरआई साथ पनि दिनुपर्ने। त्यहाँका प्रत्येक मानिसले प्रत्येकलाई चिनेको पनि थिए र सामुपर्दा बखान पनि गर्दथे, कन्डा पछाडि बदख्वाइँ पनि गर्थे।

एक दिन म बिस्तारो पाराले कामबाट घर फर्कदै थिएँ। बाटोमा जम्दार्नी भाउजू, सबैले उनीलाइं त्यही नामले बोलाउथे, को पसलमा २०।२५ जना मानिस र केटाकेटी झुरुम्म उभिएका थिए। स्वभावैले चर्की जम्दार्नी भाउजू कराउदै थिइन् – “एक दिन होइन, दुई दिन होइन। सधैं यस्तै गर्न लागे पछि कति दिन खप्नु, हँ ?”

सानेा ठाउँमा विषयको चासो लिनु आवश्यक ठानेर म पनि हुलमा गएर उभिएँ। जम्दार्नी भाउजू वर्ष सातेककी एउटी केटीलाई दर्होभसँग पाखुरामा समाएर उभिएकी थिइन्। एउटा मुठी दरोसँग बाँधेर त्यो केटी अर्को हात फुस्काउने बल गरिरहेकी थिई। जम्दार्नीको कब्जाबाट फुस्कन सम्भव देखिदैनथ्यो तैपनि त्यो केटीको प्रयाश कुकुरले गाँजेको बिरालोकोभन्दा कम थिएन। खालि उसको प्रयाश बिना रोदन बिना चित्कार मौन थियो।

“कस्ती जिराही छ, हेर। अझ हार मानेकी छैन” – हुलबाट कसैले टिप्पणी गर्योथ ।

“आज मात्रै हो र ? सधै त्यस्तै भए पछि जिराही किन नहोस्?” – कुनै अर्कोले थप्येा।

म चासो लागेर भित्र पसें र जम्दार्नीलाई सोधें– “के भयो, जम्दार्नी भाउजू ?”

म नयाँ मानिस अगाडि आइ पुगेकोले आफ्नो कुराको नालीबेली लाउन थालिन् जम्दार्नी – “हेर्नोस् न, बाबु। सानी छ भन्यो. केटाकेटी छ भन्यो छोडिदियो। जहिले पनि पसलमा आउछे , आफू के सुरमा होइन्छ, एउटा कुरा टिप्छे, हिड्छे , आज त मिठाई मुठ्याएर भाग्न लाग्दा लाग्दै समाएँ। हेर्नोस् त, हातको मुठी अझै खोलेकी छैन ।”

“हिजो ध्रुव नारायणको पसलबाट केराउ कोसा चोरिछ ।” – हुलको बच्चा या बच्चीले पोल लगायो।

“हाम्री ठुल्दिदी कहाँ पनि बारीको काक्र्रो टिपी रे ।” – त्यो अर्को पोल थियो।

ती आरोपका झटारापटि्ट ध्यान नदिएर मैले जम्दार्नीलाई भनें – “यो केटाकेटीलाई समाएर के हुन्छ र, भाउजू ? यसको बाबुलाई पो भन्नु पर्योि त ।”

“त्यस्तालाई भनेर के हुन्छ ?” – हुलको एउटा भलादमीले टिप्पणी गर्यो।

“त्यो जाँडको घैंटोलाइ के भन्नु ? चौबिसै घण्टा कुकुरको मुत पिएर मातिदै ठिक्क छ त्यसलाई। के हेर्छ त्यसले छोराछेारी?” – जम्दार्नीले प्रतिवाद गरिन्।

“बाबु माते पनि आमा त होलिन् नि नमात्ने ?” – मैले अर्को उपाय बताएँ।

“आमाबाबु गतिला भएका भए छोराछोरी यस्ता हुने नै थिएनन् नि। त्यो आमा राँडी पो कुन गतिली छ र ? वर्षमा दुई चोटी बियाउदै ठिक्क छ त्यसलाई पनि। के हेरोस् त्यसले छोराछोरी ? यो मनिका दुई वटा त घरमा नै छन्। फेरि अर्को झर्न तयार छ। सुँगुरले पाठा पाए झैं पाउन सक्छे त्यो आइमाई पनि ।” –जम्दार्नीले रत्तेली पाराले छोरीको रिस आमामाथि पोखेर आफ्नो रिस अलि साम्य पारिन्।

मलाई जम्दार्नीको रत्तेली सुनी रहन मन नभएर भनें – “छोडिदिनोस्, भाउजू, त्यसलाई। पैसा म तिरिदिउला ।”

म केटीलाई समाउन पुगें। जम्दार्नीले उसको हात छोडिदिदै भनिन् – “बाबु ! त्यति जाबोको मोल त के दिनु पर्योद र। यसको आनीबानी अलि सुध्रन्छ कि भनेर रिस देखाएर तर्साउन लागेकी मात्र हो। तर सङ्गत गर्न लायककी केटी त छैन है यो। तपाईको पनि कुन दिन बिमाख गरी दिन्छे ।”

भिड बिस्तारै छाँटिदै गयो। किन हो कुन्नि ? त्यो केटीले पनि मेरो हातबाट फुत्कन खोजिन। मैले उसलाई हेर्दै सोधें– “मिठाई खान मन लागेर झिकेकी ?”

उसले केवल 'हो' भनेर टाउको हल्लाई।

उसको बोल्ने हौसलालाई बढाउन मैले नरम स्वरमा भनें– “खै, कतिवटा झिक्यौ ? देखाउ त ।”

उसले मुठ्ठी खोलेर मेरो सामु हात पसारी। त्यो सानो पसिनाले भिजको हत्केलोमा केवल दुई दाना मिठाई थिए। त्यो देखेर मैले हाँस्दै भनें – “आफूले हात हाल्दा पनि जम्मा दुईटा मात्रै झकेकी त ?”

निर्दोषभावले उसले जवाफ दिई – “अरू त जम्दार्नी बुढीले खोसी हाल्यो नि ।”

सौमीसँग मेरो मित्रता त्यही दिन देखि सुरु भयो। सुरुसुरुमा त सौमी मबाट खाने कुरा पाउने लोभले मात्र टाँसिएकी थिई तर बिस्तारै बिस्तारै हामी एकअर्कासँग नजिकिदै गयौं। एक दिन ऊ अँध्यारो मुख लाएर आई र मेरो सामुको कुर्सीमा बस्दै भनी – “बुझ्नु भो। आज हाम्रो बाले आमालाई फेरि कुट्यो ।”

उसले बाबुले आमालाई कुटेको कुरा पहिले भनेकी थिइन तैपनि त्यो 'फेरि' भन्ने शब्दले यही जनाउथ्यो कि उसकी आमाले अगाडि पनि कुटाइ खाएकी थिई। त्यसैले मैले सोधें– “पहिले कहिले कुटेको थियो नि ?”

मानौं कुनै केटाकेटीले सोधे जस्तो अनुहार लाएर उसले जवाफ दिई– “सधैं त कुट्छ नि बाले। आमा सधैं रुन्छ, 'मार मलाई, मार अनि ढुक्क हुन्छ तँलाई' भन्छ। बाले जहिले पनि जाँड खान्छ ब्यारे अनि आमालाई कुटछ। हामीलाई पनि कुटछ ।”

“के भनेर कुट्यो त आमालाई ?” – मैले जिज्ञाशा देखाएँ।

“त्यो काले छ नि, हाम्रो घरमा आउने, त्यसले आमाको मुन्द्री चोरेर बेचेछ। अनि बा चाहिं आमाले दियो उसलाई भन्छ अनि कुटेको ।” – उसले रहश्योद्घाटनको स्वरमा भनी।

“अनि आमाले दिएको हो त ?” – मैले सत्य जान्न खोजेर कुरा खोतलें।

“दाल दिन्छ, चामल दिन्छ अनि भाइलाई दुध पनि दिन्छ। अनि त मुन्द्री लग्दा पनि आमाले केही भनेन नि ।” – उसले कुरा प्रस्ट्याउन खोजी।

“अनि तिमी चोरेर लग्यो भन्छयौ त फेरि ?” – उसको उत्तर मलाई चित्तबुझ्दो लागेन।

“आमाले दिएर लग्यो भन्दा आमाले मार्दैन हामीलाई फेरि ? फेरि बाले सुन्यो भने त के के पो गर्छ, बाबै ?” – ऊ साह्रै गम्भिर भई।

म बोलिनँ। ऊ भन्दैगई।

“हाम्रो बहिनीको अनुहार नि हाम्रो बासँग मिल्दैन रे - हाम्रो बाले भनेको। ‘मिले त बुध्दि पनि तेरै जस्तो होला नि' भनिदियो हाम्रो आमाले पनि। अनि बाले कुट्यो। आमा बाझ्यो। कुकुर बिरालेा जस्तो रे हाम्रो बाआमा। हाम्रो घरको साहुनी आमाले त्यसै भन्छ। कुकुर बिरालो सधैं झगडा गर्छन् रे, हो?” - उसले मतिर हेरी।

“हो। भेट भए त गर्छन् तर कुकुरको बाटोमा बिरालो आउदै आउदैन ।” –मैले आफ्नो कामबाट आँखा नउठाई जवाफ दिएँ।

“मैले पनि सँगै त देखेको छैन। बिरालोलाई त छानोमा मात्र देखेकी छु। कुकुर छानोमा चढ्नै सक्दैन”

ऊ के सोचेर हो एकछिन चुपलागी तर म केही पनि नबोली काम गरी रहेकोले उसलाई मौनता सहय भएन र भन्न थाली– “हाम्रो आमा नि बासँग भागेर पोइला आएको रे। बाहुनकी छोरी मतवालीसँग के पारा मिलोस् त ? भन्छ साहुनीआमाले। म पनि बाहुनी भयो ह कि अब। भाइ त बाको छोरो मतवाली। आमालाई पनि बाले रण्डी भन्यो भनेर रण्डी भन्छ। बहिनी र म त भन्दैनौं आफ्नी आमालाई ।”

“तिम्रो बा के काम गर्छ त ?”–मैले कुराको प्रशंग बदल्नलाई सोधे।

“केही काम पाएन रे अनि ज्यामी काम गर्छ रे। आधी पैसा रक्सी खाइहाल्छ, आधी दिने त हो नि आमालाई। बिचरा आमाले के गरोस् ? त्यति पैसाले पुग्दैन रे नि हामी सबैलाई खुवाउन। आमा पनि भाँडा माझेर खुवाउछ हामीलाई ।”

सौमी बिस्तारै मेरो स्थायी साथी जस्तै हुदै गई। अफिसमा म उसलाई २।४ अक्षर पढन सिकाउथें र म त्यहाँ नभएको बेला त्यहीं पढेर, लेखेर बस्दथी, मेरो भागको खाना खान्थी। बिहान पनि धेरैजसो मेरै घरमा खाने गर्थी। बेलुका भने मेरो खाना ढिलो हुने हुनाले म उसलाई उज्यालैमा घर पठाइदिन्थें। टोल छरछिमेकीले त त्यो सम्बन्ध स्विकारेकै थिए र शायद उसकी आमाले पनि त्यो सम्बन्धलाई स्विकारेकै हुनु पर्छ किनकि आमाले विरोध गरेको कुरा सौमीले कहिले पनि गरिन।

एक दिन सौमीले मलाई भनी – “बुझ्नु भो? हाम्रो साहुनीआमाको छोरोले कस्तो माया गर्छ हाम्रो आमालाई। पैसा दिन्छ, बाबै, कसैले थाहा नपाई। कस्तो राम्रो सारी पनि दिएको छ। हामीलाई पनि मिठाई किनिदिन्छ। हाम्रो बा चाहिं उसलाई देखी सहदैन। किन छुच्चो भएको होला, ह कि ?”

सौमीलाई बुझाउने सामर्थ्य ममा थिएन र उसले बुझ्ने सम्भावना पनि थिएन।

२।४ दिन पछाडि सौमीले भनी – “हिजो हाम्रो बाले आमालाई झन्डै मारेको। दाउराले हिर्कायो, हेर्नु न। आमा त मुर्छा पर्योा। हामी सबै रोए पछि साहुनीआमा आयो अनि अरू सप्पै आयो। पानी छयापे पछि बल्लबल्ल बिउझ्यो आमा। बाले आमालाई पनि मार्छु भन्यो, साहुनीआमाको छोरोलाई पनि मार्छु भन्यो अनि हामी सप्पैलाई मार्छु भन्यो ।”

“किन मार्छु भनेको नि तिम्रो बाले ?” – मैले सोधें।

“हाम्रो बा आजकल आमालाई पैसा दिदैन अनि साहुनीआमाको छोरोले दियो भनेर रिस पनि गर्छ। पैसा दिने मान्छे आउछ त हाम्रो कोठामा। आउदैन त? ढोका थुनेर हाम्री आमासँग गफ गरेर बस्यो रे साहुनीआमाको छोरो। खानलाई पैसा दिदैन, सप्पै पैसा जाँड खाएर सिध्याउछ र त बस्छ हाम्रो बा हाम्री आमासँग ढोका थुनेर हामी सप्पैलाई बाहिर राखेर। साहुनीआमाको छोरो त पैसा दिन्छ आमालाई। हामीलाई पनि दिन्छ। अब त साहुनीआमा पनि हाम्रो बापट्टि लागी सक्यो। हाम्री आमालाई जहिले पनि निस्की, निस्की, जा जा भन्छ। कस्तो छुच्चो भएको ह कि साहुनीआमा पनि ?”

सौमीको फतफतले अनेक कुरा प्रस्ट्याएको थियो उसको परिवारको बारेमा तर त्यो सबै मेरो चासोको विषय नभएकोले मैले त्यसको खोजीनीति गरिनँ। पहिला सौमी नआउदा मैले विशेष चासो राखिनँ किनकि एक दिन नआउनु कुनै ठूलो कुरा थिएन तर जब ऊ २।४ दिनसम्म पनि आइन तब भने ऊ विरामी परी कि भन्ने शङ्का लाग्यो। उसको कोठा नदेखेको र आमाबाबु पनि नचिनेकोले उसको घर जान सक्ने सम्भावना भएन। त्यसैले ऊबारे जानकारी लिइन सकिने सबैभन्दा सजिलो स्रोत जम्दार्नी भाउजू भएकीले साइटबाट घर फर्कदा उनको पसलमा उभिएर सोधें – “हैन, ए भाउजू। आजकल त्यो सौमी कहाँ गई हँ ?”

सधैंकी चर्की जम्दार्नी भाउजूले दिक्क मानेर भनिन् – “ए, त्यो तपाईकी सौमी। खै, के भनूँ, बाबु। जमाना उल्टिएको भनूँ कि कलि लागेको भनूँ। के भनूँ? के भनूँ ?”

मैले छक्कपर्दै सोधें – “किन? के भयो र, भाउजू?”

जम्दार्नीले भनिन् – “त्यो केटीकी आमा त्यत्रा छोराछोरी छोडेर पोइल गई ।”

“अनि केटाकेटी नि ?" – मैले पनि आश्चर्यमिश्रित स्वरमा भनें ।

“सानो काखको साथमा लिएर गई। त्यो काखको त्यही घरबेटीकै छोरो हो भन्थे सबै जना। हुन त के गरोस् ? कति कुटाइ खाओस् ? कति भोकै बसोस् ? सोह्र वर्ष पनि नपुगी पोइल आइथी, पच्चिस पनि नपुगी फेरि हिंडी। खानलाउन नदिएर छोराछोरी मात्र जन्माउने लोग्नेसँग बस्नुभन्दा त हिडनु नै बेश। जानी त्यसले पनि ।” –जम्दार्नीको त्यो आइमाईमाथि पूर्ण सहानुभूति थियो।

मलाई जान्न मन भएर नै सोधें – “छोराछोरी कहाँ छन् त अहिले ? बाबु के गर्छ?”

“बाबु के गर्छ? जहाँ जाँड घिच्छ त्यहीं पसारिन्छ। आफ्नो जिम्मेवारी बुझ्ने लोग्नेमानिस भए त्यस्तो माया गर्ने स्वास्नी पोइल जान्थी ? उसका निम्ति त छोराछोरी निन्द्राका काल मात्रै। जेठी, त्यो तपाई कहाँ आउने, धनबीर साहु कहाँ काम गर्छे। त्यहीं बस्छे, त्यहीं खान्छे। छोरो त्यही आमा चाहिँकी साथीले लगेर पाली दिएकी छ। सानी छोरीलाई त्यहीं घरकै साहुनीले खान बस्न दिन्छिन् रे उनकै घरमा। लाने कोही नभएपछि कुकुरका छाउरा जस्तो फाल्न भएन क्यारे नदेखिने ठाउँमा। बिजोग छ नै ।” – जम्दार्नीको स्वरमा पीडा थियो।

“तर आमा चाहिलाई त सुखै होला नि यिनीहरूले दुख पाए पनि ?” – मैले छोराछोरीँ छोडेर जानसक्ने आमाप्रति पुरुष अभिमान देखाएर केही तिरष्कृत स्वरमा भनें।

मेरो स्वरपटि्ट ध्यान नदिएर जम्दार्नीले भनिन् – “के सुख होला र, बाबु, उसलाई पनि ? रेसम र मखमलमाथि बसे पनि दुधमुखे बालक छोराछोरी छोडेर हिडेको पीरले उसलाई घोच्न कहिले पनि छोडने छैन। सधैं दुधभात खान पाए पनि बालकहरूको भोको अनुहार सधैं घाँटीमा गला लाग्नेछ। त्यो आमा सुख कमाउन हिडी भनी ठान्नु त बेकार हो। दुख नबढोस् भनेर पन्साउन खोजेकी मात्रै हो। केटाकेटीमा नै गरेको गल्तीको मोल तिर्दैछ बिचरा ।”

आमाबाबु हुदाहुदै पनि टुहुरा हुन पुगेका सौमी र उसका भाइबहिनी प्रति मैले बेवास्ता गर्न नसकेर भनें – “ती केटाकेटीलाई छोराछोरी नहुने अथवा छोराछोरी हुर्की सकेका कसैले एकएक वटा पालिदिए पनि त हुने हो नि। तपाईले नै पनि एउटा पाले हुने हो नि, जम्दार्नी भाउजू ।”

जम्दार्नीले गम्भिर भएर भनिन्– “आमाबाबु नभएका भए त तपाईको भनाइ ठिकै पनि थियो, बाबु, तर उनीहरूका त आमाबाबु छन् र आफू व्यवस्थित हुनेबित्तिकै, बाबु न सही, आमा त उनीहरूलाई खोज्दै आइपुग्छे। साहुनीले छोरी राखेकी आफ्नो जिम्मेवारी ठानेर पनि हो। उनीलाई लाग्दो हो मेरै नातिनी नै पो हो कि ? आखिर गाइँगुइँ उहिलेदेखि नै चलेकै हो। छोरो पनि ठाउँमा नै छ। आमा चाहिंले केही नभनी त्यसै उसकी साथीले उठाएर लिएर गएकी त पक्कै होइन। नत्र उसलाई मात्रै केको चासो हुनु पर्ने ?”

जम्दार्नीको तर्कमा ठोसता अवश्य थियो। मैले भनें –” अरूका बारेमा त, लौ, आमाले विचार पुर्या एकी रहिछ रे। सौमीका बारेमा नि ?”

जम्दार्नीले पनि सम्झे झैं गरेर भनिन् – “ए, तपाईकी सौमीका बारेमा ? उसकी आमाले या त उसलाई आफै पालिन सक्ने ठूली देखी या तपाईकहाँ गएर टाँसिनेछ भन्ने सोची। त्यसलाई तपाईले नै पाल्ने रे भन्ने हल्ला पनि चलेकै हो। तपाईले पो सुन्नु भएन त यी कुरा। हामीले त सुनेका हौं। तपाईसँग चिनाजानी नभएकाले आमाले त त्यस्तो सोचिन होला तर तपाईले सौमीसँग आत्मियता बढाएर एउटी आमालाई जिम्मेवारी मुक्त भने अवश्य गरी दिनु भयो। यही कुरा सौमीको भाग्य पनि हुन सक्छ या दुर्भाग्य पनि ।”

सौमी मेरो जिम्मेवारी हो भन्ने तितो सत्य जम्दार्नीले प्रस्ट पारी दिएपछि मैले उसको खोजीनीति गरें। एउटी सात वर्षे केटी धनबीर कहाँ जुठोभाँडो गरी रहेकी थिई म पुग्दा। मैले सौमीलाई लिएर जाने कुरागर्दा मेरो ओहोदाको धाकले धनबीरले केही भन्न त सकेनन् तर सित्तैकी कमारी छुटेकोमा दुख अवश्य भयो उनीलाई।

विपत्तिका केही दिनले नै सौमीलाई जर्जर बनाएको थियो। आफू बोलेर नथाक्ने त्यो केटी एकदम मौन भएकी थिई। मैले धेरै सोधें तर उसले हो वा होइन भन्दा पर थोरै शब्द बोली। अन्त्यमा मैले उसलाई सोधें – “तिमी म कहाँ किन नआएकी त ?”

उसले धेरै बेर सम्म नबोल्दा मैले कर गरेपछि भनी – “सबैले भने - आमा नभएपछि अब म ठुली भएँ रे, मागेर खानु हुदैन रे, काम गरेर खानुपर्छ रे ।”

काठमाडौं
२०४९।०९।२२