अरू कथाहरू

राम दाहालको लेखनी


home

१. अनुभूति
२.आशंका
३.अंशबण्डा
४.गंगामाया
५.कथाकी कुन्ती
६.कर्णेल्नी
७.गोमती किन पोइला गई ?
८.जयपराजय
९. पाहुना
१०. प्रशङ्ग मानेका पातको
११. मिनर्वा
१२. महानगरको एक रात
१३. श्रापित राजकुमारी
१४. समानता
१५. सौता
१६. सौमी

गंगामाया

कथा



गंगामायाले फड्को परे झैं आएर थ्याच्च भैंमा मेरो अगाडि बस्दै भनी - “सानोबाबु , त्यसो गरI दिनु चैं भएन ।”

मधेसको घरमा यदाकदा मात्र बस्ने भएकोले म त्यहाँको चालचलन, परिस्थिति र बोलीचाली पनि त्यति प्रस्ट बुझ्दिनथें तर गंगामायाका भने शब्द जत्तिकै अनुहार र हातका भावभङ्गिमा पनि बोल्ने भएकाले उसको भनाइको धेरै जसो कुरा बुझ्न त्यति गाहारो पर्दैनथ्यो । कहिलेकही अप्ठ्यारो नै परेको परिस्थितिमा गंगामायाको १०।१२ वर्षको नाति भोलुरामले मेरो दोभाषेको काम गरी दिन्थ्यो । गंगामाया कुन भाषामा बोल्थी ? म भन्न सक्दिन । एउटा गाउँबाट अर्को गाउँमा पुग्दा शब्द र लवजमा अन्तर आउने बोलिहरूलाई फरक भाषा भनिन्छ कि भनिदैन त्यो पनि मलाई थाहा छैन । जे होस्, उसको बोली म पनि केही बुझ्ने हुनाले नेपाली भाषाकै अंशियार भाषा हुनुपर्छ भन्ने लाग्छ ।

गंगामायाको भनाइ र भावभङ्गिमाले प्रस्ट भन्थ्यो - “मैले कुनै काम गरें जो गंगामायालाई पटक्कै मन परेको छैन” । तर उसको मन नपर्नुको कारण बुझ्न नसकेर मैले मुस्कुराउदै सोधें - “के भयो, गंगामाया ? ”

गंगामायाले हात नचाउदै इशाराले एकातिर देखाएर भनी - “मेरो भोलु भन्छ कि हिजो सानोबाबुसँग गएको बेला मंगलीले उसलाई एक रुपयाँ दिई रे । हो ? ” “हो, दिई । के भयो त त्यसले ? ” - मैले गंगामायाको उत्तेजनात्मक प्रश्नको अर्थ नबुझेर सोधें ।

उसले मेरो प्रश्नको उत्तर दिनु भन्दा आफ्नै भावना व्यक्त गर्न जवाफ दिई - “किन दिई त्यसले,सानो बाबु ? मैले दिएकी थिइन र ? त्यसले दिने भन्दा त म सधैं नै बढी दिने गर्छु नि ।”

मलाई केही भन्ने मौकै नदिई ऊ फेरि भन्दैगई - “त्यसले बिगार्छे भोलुलाई । जहिले पनि भेटे पिच्छे पैसा दिन्छे रे । बढो माया गर्ने भएकी त्यो । त्यो ६ महिना पनि नपुगेको छोरो छोडदा भने त्यसलाई माया लागेन, अहिले अर्कोले ठूलो पारे पछि ‘मेरो छोरो' भन्न आएकी होइन त्यो नकच्चरी ? मेरो अगाडि केही भन्दिन र पो ! नत्र मैले जानेकी थिएँ त्यसलाई । दशैंको बेलामा पनि खान दिइछ बोलाएर । दिवालीमा पनि, हेर्नोस् न, त्यो पडकाउने, सल्काउने के हुन्छ नि ? त्यही किन्नलाई पैसा दिएकी रे । त्यत्रो पैसा भए त्योसँग उसको आफ्नै छोरालाई दिनु नि । मेरो भोलुलाई किन दिनु पर्योि ? ”

गंगामायाको विरोध बुझे पछि मैले अलिक जिस्क्याउने पारामा भनें - “उसको पनि त छोरो हो नि भोलु, झन जेठो छोरो ।”

“कसरी उसको छोरो ? भोलु त मेरो छोराको छोरो । मेरो नाति।” - गंगामाया प्रस्ट विरोधमा उभिई ।

“भोलुकी आमा त हो नि ऊ पनि । तिमी तिम्रो छोरोकी आमा, भोलुकी बजै भए जस्तै।” - मैले गंगामायालाई यी सबै कुरा मन पर्दैन भन्ने जानेर पनि अलि दुष्ट्याइँ गरें ।

गंगामायाको अहिलेसम्म रोकेर राखेको व्यथाको बाँध फुट्यो र उसले आँशु झार्दै भनी - “हो, सानोबाबु ! आमा त हो ऊ, जन्मदिने आमा, तर कति निर्दयी छ ऊ भन्नोस् त ? मेरो छोरो मर्न लाग्दा उसले चटक्क छोडेर जानु हुन्थ्यो त बालक छोरो समेत छोडेर ? मेरो छोरो मर्छ भन्ने जाने पछि त्यसले ऊ मरुन्जेल कुर्नु हुन्नथ्यो ? कति गाहारो पर्यो? मेरो छोरोलाई प्राण जाने बेलामा ‘स्वास्नीले छोडेर गई” भन्ने बुझे पछि ? कस्तो हुरुक्क हुने गरी माया गर्थ्यो मेरो छोरो उसलाई ? छोडेर गएको लोग्नेको छोराको किन माया हँ त्यसलाई ? मैले मेरो भोलुलाई घरघर दुध मागेर ल्याएर ख्वाएँ र यत्रो तुल्याएँ । अहिले चाहिं ऊ चेपारे पार्न आउछे । कहीं नभएकी नकच्चरी ।”

कुरा प्रस्ट हुदै गयो । ‘विरामी लोग्नेलाई छोडेर मंगली अर्को सँग पोइल गई’ भनेर मैले वर्षौ पहिले गंगामायाकै मुखबाट सुनेको थिएँ भेालु सानो छदै । मंगली किन पोइल गई या किन जान वाध्य भई ? उसको आफ्नै कथा व्यथा होला तर गंगामायाको दृष्टिमा मंगलीले गंगामायाको विरामी छोरो छोडेर जाने अक्ष्यम्य अपराध गरेकी थिई र मंगलीको आफ्नो छोरो प्रतिको दावी असह्य थियो गंगामायालाई ।

“भोलुरामलाई किन सम्झाउदिनौ त केही पनि नलिई भनेर ? उसले नलिए त कुरै सिध्दिन्छ नि ।” - मैले गंगामायालाई सुझाव दिएँ ।

गंगामायाले लामो सास फेरेर जवाफ दिई - “त्यो केटाकेटी कहाँ मान्छ र, सानो बाबु ? २।४ पैसा दाम कसैले हातमा राखिदिने बित्तिकै ऊ त त्यसै दङ्ग परिहाल्छ नि । बालकलाई नलिई भन्दैमा सििद्धन्छ कहीं ? मेरो सामु त लिन्न भन्छ नि तर, देखी हाल्नु भयो तपाईले कति सजिलै सँग लिइदिन्छ ऊ।“

नातिको गराइप्रति गंगामायालाई सान्त्वना दिन मैले भनें - “तिमीलाई टेरेन भने म भोलुलाई हप्काइ दिउँला ‘मंगलीसँग केही पनि नलिइ' भनेर।“

मेरो भनाई भूइँमा खस्न नपाउँदै गंगामायाले भनीहाली - “पर्दैन सानु वावु, पर्दैन उसलाई भन्नु । ऊ त रिसाइ हाल्छ नि मैले पोल लाएँ भनेर ।”

‘मंगलीलाई किन भन्दिनौ त त्यसो भए भोलुलाई केही पनि नदे भनेर ?‘ - मैले कुरोलाई टुंग्याउन प्रयाश गर्दै भनें ।

“त्यसलाई मैले भन्ने ? के कुरा गर्नु भएको सानो बाबुले ? त्यसको त म मुख पनि हेर्दिन ।” - गंगामायाले उत्तेजित भएर विरोध गरी तर उसको उत्तेजना एकै छिनमा हरायो र ऊ आफ्नो सहज स्वरमा भन्न थाली - “भोलु सानो हुँदा नि, सानो बाबु, जब ऊ अर्को कहाँ गएकी थिइन, भोलुलाई हेर्न आएकी थिई । मैले उसलाई लोप्पा खुवाएर पठाइ दिएँ । रोई पनि, सानो बाबु ऊ त । छोरो लान्छु भनेर अपहत्ते गरी । किन दिन्थें, हँ, मेरो छोराको छोरो उसलाई ? त्यो बेला त दिइनँ भने अब उसको छोरो समेत भइसके पछि चैं झन् किन दिने हँ ? ”

गंगामायाका तर्कबाट आजित भएर मैले अन्त्यमा भनें - “त्यसो भए, गंगामाया, म मंगलीलाई गाली गरि दिउँला । हुदैन ? ”

मेरो सुझाव गंगामायाले चाहे अनुरुप भयो । त्यसैले उसले खुशी हुदै भनी - “हो, त्यसै गरिदिनोस्, सानोबाबु, त्यसै गरिदिनोस् । हप्काई दिनोस् न अलि बेस्करी त्यसलाई । आजकल त्यो किन ? किन ? भोलुलाई फकाउँछे । त्यसो गर्न हुन्छ तैले ? भनी दिनोस् न त्यसलाई । छोट्टी कहीँकी ।”

मबाट सन्तोषजनक उत्तर पाए पछि गंगामाया गई । एक छिन पछि खाजा र चिया मेरो अगाडि राखेर हाँस्दै मेरी भाउजूले भनिन् - “आज, सानोबाबु, तिमीले गंगामायाको गन्थन सुन्ने मौका पायौ । होइन ? ”

मैले पनि जिज्ञाशावस भाउजूलाई सोधें - “त्यो भोलुकी आमासँग गंगामायाको किन त्यस्तो काटोछिनो नि, भाउजू ? ”

“यो गंगामायाका कुरा सुन्न थाल्यौ भने बौलाउछौ तिमी । यसको चाला सधैं यस्तै हो । मंगलीले लान्छु भनोस् नभनोस्, लैजान्छे भनेर सधैं तर्सन्छे यो । भोलेले पनि त्यो बुझेको छ अनि त्यही निहु पारेर बजैलाई ठग्छ ।” - भाउजूले बिना कुनै गम्भिरता जवाफ दिइन् ।

“छोरो छोडेर पोइल गएकी रे नि मंगली त्यसै भन्छे त गंगामाया।” - मैले खोजीनिति गरें ।

“भन्छे नि त्यो । नगएर के गरोस् ? छोरो विरामी भएको दिनदेखि सधैं टोकस्थी, ‘जा, जा” भनेर घोक्रयाउथी । लोग्नेको आशमा बसेकी, लोग्ने बाँच्दैन भन्ने जानेपछि माइत गएर बसी ।” - भाउजूले भनिन् ।

“पोइल गएकी भनेको होइन ? ” - मैले थपें ।

“हो । पछि लोग्ने मरेपछि गई नै । तरुनी मान्छे नगएर के गरोस् ? ” - भाउजूको पक्ष पुरै मंगलीपट्टि देखियो ।

गंगामायालाई दिएको वचन पुरा गर्नपट्टि म लागिनँ र त्यसलाई बिर्सी पनि सकेको थिएँ किनकि भाउजूको भनाइ सुन्दा मैले मंगलीलाई केही भन्नु पर्ने जस्तो आवश्यकता देखिनँ तर अचानक फेरि एक दिन ऊ सँग मेरो जम्काभेट भई नै हाल्यो ।

भाउजूले अराए अनुसारको मालसामान किन्ने फिरस्ती बोकेर म हटिया घुम्न गएको थिएँ । हातमा झोला बोकेको भोलुराम पनि मेरै पछिपछि लागेको थियो । हटियाकेा बिचमा मैले केटाकेटीको स्वर सुनें - "भोलु दा, भोलु दा, आमा । भोलु दा आयो।“

अचानक भोलुरामको नाम सुनेर मैले टाउको घुमाएँ । दुई जना ५।७ वर्षका केटा मंगलीको दुई तिर उभिएर रमाउदै भोलुरामलाई हेरी रहेका थिए र मंगली पनि मुस्कुराई रहेकी थिई । मैले टाउको घुमाएर भोलुराम तिर हेरें । ऊ आधा लजाएर, शायद मेरो धकले होला, चोर आँखाले उतैतिर हेरी रहेको थियो । मंगलीको अगाडि ओछ्याइएको प्लास्टिकमा खत्य्राक खुत्रुक थुप्रै चिजहरू फिजाइएका थिए । सधैं गाउँझोपडीको सानो पसलमा सजाएर राखिने सामानहरूलाई मंगलीले हटियामा फिजाएर अलि बढी बेच्ने विचार गरेकी होली । आफूले किन्नुपर्ने सामान त्यहाँ पनि हुन सक्ने हुनाले र मंगलीसँग २।४ कुरा गर्न मन पनि भएकोले मैले उसको छेउमा गएर भनें - “अहो ! मंगली भाउजू ! आज हटियाको शोभा बढाइछौ नि ।”

“यसो २।४ पैसा हुन्छ कि भनेर नै, सानो बाबु ।” - मंगलीले मुस्कुराउदै जवाफ दिई । मंगली र मेरो बिचको साइनो भोलुको बाबु जिउदो हुदै देखिको थियो ।

“यी तिम्रा छोरा ? ” - मैले केटाहरू देखाएर सोधें र उसले टाउकोले ‘हो' भनेर जनाए पछि फेरि थपें - “कति वटा छन् केटाकेटी ? ”

“यही दुइटा छोरा मात्र हो ।” - उसले जवाफ दिई ।

“अनि यिनीहरूका बाबु के काम गर्छन् नि ? ” - मैले आफ्नो उत्सुकता शान्त गर्न सोधें ।

“गरिबको के हुन्छ र, सानो बाबु ? जहाँ मजुरी मिल्छ, त्यहीं जान्छ । मजुरी मिलेन भने दारु पिउछ, बस्छ ।” - मंगलीले आफ्नो गुनासो पोखी ।

“माया त गर्दो हो नि तिमीलाई ? ” - मैले आफ्नो जिज्ञाशा रोक्न सकिनँ ।

मंगलीले लामो सास फेरेर भनी - “किन गर्नु पर्यो् उसले माया ? उसले मन परेर लिएर आएकी कन्नेकेटी त होइन म । म त पोइ मरेर कसै कहाँ शरण लिन वाध्य हुनु पर्ने आइमाई पो त । हामी गरीबको समाजमा त आइमाई फगत भान्सा र रातमा चाहिने दुईखुट्टे प्रणी हुन्छौं । त्यसमा पनि ऊ सँग टाँसिन आएकी आइमाईलाई उसले पाल्न कर पनि छैन । आफैं पालिनु पार्छ मैले । अझ उसलाई पनि पालोस् भनी ठान्छ ऊ । भैगो, सानोबाबु, म त मनको पीर पोख्न पाएर होला तपाईलाई पो वाक्क पार्न थलिछु । अँ, आफ्नो भन्नोस् न । घरमा सबैलाई सन्चै छ ? ठूलो बाबुलाई ? भाउजूदिदीलाई ? केटाकेटीलाई ? ”

“सबैलाई सन्चै छ, मंगली भाउजू । यसो आए पनि त हुन्छ कहिले कहीं । भाउजू सम्झी रहनु हुन्छ ।” - मैले सहानुभूति साथ भनें ।

“आउन त मन लाग्छ तर के गर्नु ? त्यस्तै पर्छ ।” - उसले ‘हुन्छ” वा ‘हुन्न” केही नजनाई भनी र फेरि थपी - “भोलुकी बजैलाई त ठीकै छ ? आउछिन् होला नि कहिले कहीं ? “

मैले हाँस्दै भने - ”ठीकै छ उनीलाई । उनको त आफ्नै गुनासो छ । तिमीले यो भोलुलाई पैसा दियौ, खान दियौ भन्ने पीर छ उनीलाई।“

मंगलीले शान्त स्वरमा भनी - ”यो उनको पीर पनि कहिले नसिध्दिने त्यान्द्रो भयो । यो नजिक आउँछ, हेर्छ । त्यसैले उनको जति माया दिन नसके पनि उसको चित्त नदुखोस् भनेर यसो केही दिन्छु । उनीलाई भने पीर छ -यो नाति नै खोसिदिन्छु कि भनेर । जिन्दगी नै यही त्राशमा बित्ने भयो उनको।“

“छोराको चिनो भनी ठान्छिन् उनी ।” - मैले सम्झाउन खोजें ।

“हेर्नोस्, सानो बाबु । भोलुकी बजैको चित्त नै सानो छ । उनी जहिले पनि आफ्नो केही दिनु पर्ला भनेर डर मान्छिन् । छोरोको उमेर पुग्यो, मन पर्योन, स्वास्नी ल्यायो । स्वास्नीले पाउने अधिकार त छोडनु पर्योा नि आमाले । परेन त ? तर उनी बुहारीलाई छोरो दिन तयार छैनन् । त्यो उमेरदार छोरो सधैं आफ्नै अधिनमा रही रहोस् भनी ठान्थिन् र त्यसको लागि जे पनि गर्न तयार हुन्थिन् उनी । प्रकृतिको नियम उल्टो भएर र सामाजिक मर्यादा नाघ्न नहुने भएर मात्रै नत्र स्वास्नीको भूमिका पनि पूरा गरी दिने थिइन् उनले । छोरो सिकिस्त विरामी भयो, बुहारीलाई छोराको सेवासुश्रुषा गराउनु कता हो कता बुहारी लखेट्ने मौका मिल्यो उनीलाई । उनको मायाको स्वार्थ्य यति साँघुरो छ कि त्यो स्वार्थ्यमा छोरो बलिदान भएको पनि उनीले थाहा पाइनन् । उनको छोरोले विद्रोह गर्न सकेन, गुम्सिएर मर्यो ।” - मंगलीले एकै सासमा भनी ।

“तर उनी त त्यस्तो बेलामा तिमीले छोडेर गयौ भन्छिन् नि ।” - मैले पनि मंगलीको अहंमा हिर्काउन चुकिनँ ।

“भन्छिन् । थाहा छ । यही दोष उनको छोरो मरेको दिन देखि नै लगाई रहेकी छन् । यही विष भोलुको कानमा पनि भर्छिन् तर मलाई आपत्ति छैन । बुहारीले छोड्दा उनको छोरोले भोगेको पीडा त उनीले देखिन् नि । छोरोको त्यो हालतमा मन त उनको पनि दुख्यो होला नि । उनीले जस्तो पाल्न सक्दिन यो भोलुलाई तर त्यसो भन्दैमा उनको छोरो मरे जस्तो मर्न दिन पनि त सक्दिन म यसलाई । यो त मैले उनीलाई जनाउ दिई सकेकी छु । त्यसैले पटक पटक सम्झाई रहन्छु कि भोलु माथिको अधिकार उनको मात्र होइन, मेरो पनि हो।“ - मंगलीले दृढ स्वरमा जवाफ दिई ।

भोलि पल्ट गंगामाया भाउजूलाईँ भन्दै थिई - “दुलही नानी , यो भोलुलाई जहींतहीं नपठाउनोस् है । मंगलीले फकाउछे ।”

“लगे उसैकी आमाले लान्छे । किन अपहत्ते गरेकी, हँ, तिमीले ? यो भोलु लगेर कुप्लुक्क खाने चिज होइन । ठूलो भएपछि तिमीलाई पनि हेर्छ, उसकी आमालाई पनि हेर्छ । तिम्रो मात्रै त होइन नि ऊ ।” - भाउजूले स्पष्ट कुरा राखिदिइन् ।

“उसलाई हुदैन मेरो भोलु ।” - गंगामायाले रुन्चे स्वरमा भनी ।

“जसको छोरो उसलाई झन् कसरी नहुने ? ” - मैले पनि ठट्टैमा थपें ।

गंगामायाले पहिले भाउजूको मुख हेरी त्यसपछि मेरो अनि त्यही बसेर रुन थाली ।

“यसका यी झोलेनी पनि कति ठिक्क परेका नि जहिले भन्यो तहिले तुरुक्क झर्न लाई ।” - भाउजू भुतभुताउदै भित्र पसिन् ।

२।४ दिन पछि म पहाड फर्के ।

* * *

मधेसको घर म फेरि ७।८ वर्ष पछि मात्र पुगें । म आएको समाचार पाएर सधैको झैं गंगामाया पनि मलाई भेट्न आई । ऊ अब निकै बुढी देखिन्थी र पहिले जस्तो तेज पनि थिएन । मैले औपचारिकतावस सोधें - “सन्चै छ, गंगामाया, तिमीलाई ? ”

गंगामायाले थाकेको स्वरमा भनी - “के सन्चो के बिसन्चो, सानो बाबू ! बुढेस काल नै रोग हो आफैं र यसले नै मार्छ । तर बाँचेर पनि के गर्नु ? कसका निम्ति बाँच्नु ? ” “भोलु छ नि । ठूलो भयो होला नि अब त ।” - मैले निराशामा आशा जगाउन भनें ।

गंगामायाले रुन्चे स्वरमा भनी - ““भोलु त गई हाल्यो नि मलाई छोडेर, सानो बाबु । त्यो नकच्चरीले लिएर गइहाली नि मेरो भोलुलाई, असत्ती कोर परेको अनुहारले ।”

“ल, ल, ल । यो बुढी अब नातिनी बुहारीलाई सराप्न थाली । आफ्नो पोइ लगी त तँ किन मर्न खोजेकी ? तँलाई खान लाउन दिएकै छ जसरी भए पनि । बेलाबखतमा आएर हेरचाह गरेकैछ ।” - भाउजूले गंगामायालाई हप्काइन् ।

भाउजूको हप्कीले दच्किएर गंगमायाले उठेर जाँदै भनी - “सानो बाबु , दुलहीनानी बुझी नै दिनु हुन्न मेरो कुरा । तपाई नै भन्नोस् त भोलुले त्यसरी छोड्नु हुन्थ्यो मलाई ? ”

गंगामाया आझेल परेपछि मैले भाउजूलाई सोधें - “के भोलुराम झगडा गरेर निस्कियो ? ”

भाउजूले भनिन् - “किन गर्थ्यो झगडा ? बुढीले आफैं भोलेको बिहे गरी दिई । बुहारी भित्र्याए पछि फेरि आफैं पन्साउन थाली उसलाई । भोले के गरोस् ? कि स्वास्नी छोड्नु पर्ने कि बजै छोड्नु पर्ने स्थितिमा परेपछि बजै छोडी दियो । तैपनि बजैको हेरचाह गरेकै छ ।”

“गंगामाया के भन्छे नि आजकल ? ” - मैले उत्सुकता देखाएँ ।

“के भन्छे अब ? उही पुरानो कुरा नया तरिकाले फलाक्छे । जसलाई भेटे पनि भन्छे - ‘बुहारी त त्यस्ती थिइन । यो नातिनी बुहारी चैं राक्षेस्नी परिछ । मेरो भोलुलाई फकाएर नै लगी।' उसको जिन्दगी नै एउटा न एउटालाई देाष लगाएर नै बितेको छ ।”

“त्यसो भए उस्तै छ गंगामाया ? ”

“नाति हिडे पछि उसको आशा टुंगियो । अब गलेकी छ ऊ । नातिको भविष्य सँगसँगै उसले सिर्जना गरेको उसको संसारको सपना मेटिएको छ । स्वभाववस नातिनी बुहारीलाई गाली गर्छे, त्यत्ति हो ।” - भाउजूले भनिन् ।

“भोलुलाई त गाली गर्दिन नि गंगामाया ? ” - भोलुलाई गंगामायाले केही पनि नभनेकीले मैले सोधें ।

“सानो बाबु , मायाको त्यान्द्रो कति बलियो हुन्छ त्यो तिमीले बुझेकै छैनौ ।” - भाउजूले लामो सास फेरेर जवाफ दिइन् । मैले अरु प्रश्न गरिनँ ।

बिराटनगर
२०५०।२।५