home.html

साना कविता संग्रह

-- राम दाहाल

राम दाहालका लेखनहरू
-------------------------

१.सहयात्री
२.दस्तावेज
३.कथाकी कुन्ती
४.कालचक्र
५.सौदामिनी
६.छायाँरूप
७.उपपति
८.दोश्रो अध्याय
९. कविता संग्रह
१०.मेरो जीवनयात्रा
११.संवृद्धिशास्त्र
12.Preosperology

आउन सक्छ त्यो दिन

आउन सक्छ त्यो दिन जब हामी थुनिएको गोठभित्र आफूखुशी उफ्रने छौँ, हाम्रा सिङ र खुरले भित्तो र जमिन फोर्ने छौँ, आफूआफू बीच पनि कुस्ती खेल्न पाउने छौँ र बाहिर गोठालाले भन्ने छन् - "स्वतन्त्र छन् यिनीहरू जे गर्न पनि स्वतन्त्र छन् ।" आउन सक्छ त्यो दिन जब सुकेको खर या हरियो दुबोले भरिने छ हाम्रो पेट, नलको होस् या नालीको पानीले मेटिने छ हाम्रो तिर्खा, अनभिज्ञ बाहिरी संसारसँग उग्राएर बस्ने छौँ हामी र हाम्रा गोठाला भन्ने छन् - "सुखी छन् यिनीहरू खुशी छन् यिनीहरू ।" आउन सक्छ त्यो दिन जब कलिला हाम्रा पाठालाई सिद्धान्तमन्त्र पढाइने छ, 'सबैका मुक्तिका लागि' भन्दै बलीवेदीमा चढाइने छ, तिनका नाममा शालिक पनि ठड्याइने छ र खुशियालीमा हाँस्न र नाच्न हामीले सकेसम्म पाइने छ केवल अभागीनी आमालाई रुन बन्देज लगाइने छ र बाहिर गोठालाले भन्ने छन् - "देख्यौ कत्रो त्याग छ यो गोठप्रति ? महान छन् माउ आमाहरू !" जोरपाटी - १ काठमाडौ २०६९ माघ १५

निर्दोष मृत्यु

(डेकेन्द्र थापाजस्तैहरूमा समर्पण) जुनकिरी छरिए झैँ छरिएका आँखाहरू नानी मरेकी एक्ली आमा रोए झै 'हुक्कहुक्क' आवाज हुँडार हुल घेर्दैछन् शिकारलाई । प्रत्येक हुँक्कहुँक्कमा आक्रमणको दुन्दुभी छ प्रत्येक आँखाको झिम्कोमा मृत्युको निम्तो छ र त्यो निरिह पाठो न सामर्थ्य छ लड्न सक्ने न बाटो छ भाग्न सक्ने केवल आमा सम्झेर म्याँ गर्छ, च्याँ गर्छ; थाहा छ उसलाई - निचोरिने छ घाँटी, चिथोरिने छ छाती टुक्राटुक्रा लुछिने छ मासु तैपनि आशामा छ ऊ - कोही न कोही त अघि सर्ला कसै न कसैले त रक्षा गर्ला । आयो सिंह तर धेरै ढिलो आयो सिङ र भुत्ला साक्षी पायो । गर्जदै सोध्यो उसले ‍- "किन मार्यौी यसलाई ? निर्धो पाठोले के पेट भरियो त सबैको ?" हुक्कहुक्क गर्दै नाइके आयो छाती फुलाई जवाफ लायो - "पाठो भयो त के भयो र ? मासो त मासु हो । सबैले बाँडीचुँडी खायौँ यही नै हाम्रो समानता हो ।" हुँडार, सिंह लेनदेन भयो सिंहले पनि माफी दियो बिर्से दिए फेरि सबैले - त्यहाँ कुनै पाठो थियो ।

किन ? किन ?

कसैको जनै किन चुडाल्ने ? कसैको टोपी किन फुकाल्ने ? विदेशी माटोको रस खाएर ? स्वदेशीहरूलाई किन बराल्ने ? घरमा घ्याम्पो फुटे सबै आतिन्छन् विदेशी ढ्याङ्ग्रोले को तर्सला र ? छिमेकी घर भत्कदा छिमेकी रुन्छन् घरै छोडी हिड्नेको पो रोला र ? तमोर, कोशी, मैवाखोला, भोटेकोशी, गण्डकी बग्छन् सेती, मादी, कर्णालीको पानी पिएर नेपाली बस्छन् । उत्तर-पश्चीमबाट छिरेका नाकचुच्चे खस यहाँ बस्छन् उत्तर-पूर्वबाट पसेका नाकनेप्टे पनि त यहीँ छन् अझ भन्छौ त दक्षिणबाट चुच्चेनाक अरू छिरेका छन् यो देश 'मेरो' सबै नै भन्छन् सबै नै सबैका आफ्ना हुन्छन् । राइन नदीको रस पिएर किन कुर्लने उफ्री उफ्री के भयो अहिले, जेकी चाप्चा ? देश त उहिले छोड्यौ नि ।

मेरो मन

मुटु डढेपछि आँखाको आँशु सुक्यो साथी छुटेपछि खुशीको आशा फुट्यो वाचा लिएको माया छोडी हिडेपछि परेन फेर्नु केही आफै नै वाचा टुट्यो । कथाको अन्त्यमा म कसलाई के सुनाऊँ बिरानो भई सकेछु कसलाई चिन्न लाऊँ एक्लै भएछु फेरि मायाँ कहाँ म पाऊँ “लौ माया देऊ” भन्दै कसलाई भन्न जाऊँ ।

हुर्की छन् उनी त समयसँगै

हुर्की छन् उनी त समयसँगै; हिजो काँखीमनि छिर्थिन् आज परपर हुन्छिन्, हिजो लाजै नमानी टाँसिन पुग्थिन् आज लाजले अनुहार छोप्छिन् । कायापलट कसरी भयो त्यो हिजोको आजै ? हुर्की छन् उनी त समयसँगै; छिमेकको त्यो फुच्चेसित हिजो भिड्न जाने गर्थिन् मुख रातो पार्दै आज परै बसी कुरा गर्छिन्, मेलमिलाप कसरी भयो त्यो हिजोको आजै ? हुर्की छन् उनी त समयसँगै हिजो नानी बनी काँखमा बस्थिन् आज नानी बोकेर आइछन् हिजो मिठाई चुसेर बस्थिन् आज नानी चुसाउन भ्याइछन् परिवर्तन यो भयो कसरी हिजोको आजै ?

प्रश्न मात्र मेरो

आधा बाटो पार गरी ‘म जान्छु’ भनेनौ आधा जीवन बिती सक्यौ, ‘म लान्छु’ भनेनौ । मुखले मात्रै केही बोल्यौ, मन त दिएनौ माग्यौ मात्रै ‘लिन्छु’ भनी, केही लिएनौ ।। कस्तो साथी भेटेँ मैले साथ नदिने ? कस्तो मायाँ लाएँ मैले आफ्नै मन रुने ?। जितेथेँ भनी ठानेथेँ रित्तो कसरी भो ? प्रश्न मात्रै मेरो मनमा जवाफ कहाँ हो ? ।।

उडेको मन

उडेको मन र छिनेको चंगा जता बरालिए पनि हुन्छ । न त्यसको हुन्छ लक्ष कतैको उसका लागि न कोही रुन्छ ।। नाता र बन्धन चुँडिए पछि कसैको पनि कोही हुदैन । माया जालो छिने पछि त वाचाको बन्धन रहदैन ।। विन्ती ! दोष नदेऊ मलाई परैपर म त पुगी सकेँ । तिमीले फाल्यौ ढुंगो ठानी म त धेरै पो गुडी सकेँ ।।

गयो साथी !

पर्खन्थ्यो साथी अब पर्खदैन, बर्सन्थ्यो माया अब बर्सदैन, देख्दैमा हाँस्थ्यो अब देखिदैन, रुँदा ऊ हुन्थ्यो अब ऊ हुदैन । छुटेछ बाटो अब भेटिदैन मेटेको माया अरू मेटिदैन, मरिसक्यो मन अब यो रूदैन, एक्लै त फेरि म पनि त छैन ।

गफै त हो !

जीवन गयो गफै गफै, गफै छ जिन्दगी जति बोले पनि सबै गफै त हुन्छ नि । गफै सुने गफाडीको, सबै गफी गफी गफाडी बन्न चाहने गफीसँगै बसी । गफै गफै छ चित्रमा र दृष्टिमा गफै गफै छ शब्दमा सबै र तालीमा गफै । गफै छ मागमा सधैँ वचन पनि गफै गफै छ प्रेममा सँगै छ गालीमा गफै । जीवन गयो गफै गफै, गफै छ जिन्दगी जति बोले पनि सबै गफै त हुन्छ नि ।

कस्तो बनायौँ हामीले यो देश ?

कस्तो बनायौँ हामीले यो देश ? जहाँ जन्मदैमा मानिस मर्छ र मरेको आत्मा बोकेर ऊ, राजनितिका नेता दल सरेजस्तै, आफ्नो लाश टोल टोल सार्छ र आफूलाई लिलामीमा पार्छ । कस्तो बनायौँ हामीले यो देश ? जहाँ कुर्सीमा पुगेपछि सग्लो मानिस अन्धो बन्छ, बहिरो हुन्छ न उसले केही देख्छ, न उसले केही सुन्छ । कस्तो बनायौँ हामीले यो देश ? जहाँ नानीहरू हिजोको आधा मात्र खान पाउछन् लासजस्ता आमाहरू सस्तो चारो खोज्न गल्लीगल्ली धाउछन् र पसले साहुहरू महँगीको कथा सुनाउछन् । कस्तो बनायौँ हामीले यो देश ? जहाँ सबै नेता कानै चिरेका छन्, चिम्टै भिरेका छन् पाउने ठाउँमा प्वालबाट पनि छिरेका छन् दिनु परे बाटैबाट फिरेका छन् । कस्तो बनायौँ हामीले यो देश ? जहाँ भाइ अंशमा जग्गै बँझाउछौँ घरबण्डामा घरै भत्काउछौँ र एक एक टुक्रा हातमा बोकी त्यसमा आफ्नो नाम लेखाउछौँ । कस्तो बनायौँ हामीले यो देश ? कस्तो बनायौँ ?

हामी जात्रे

जात्रा हेर्न निमित्त जात्रे भइयो, जात्रा त आफ्नै भयो भेट्छु केही कहीँ भनेर कुदियो, त्यो दिन व्यर्थै गयो । भोलिका दिन फेरि पाँउछु भनी लिएर आशा सुत्यो आशाको फल पाउँला नि त भनी यो जिन्दगी नै बित्त्यो ।। छुट्यो गाडी भनी कुद्यो, पर पुग्यो, गाडी पछि नै छुट्यो पाएँ मीत भनी मसक्क परियो, थाहै नपाई फुट्यो । सँगालेँ उनीलाई दिन्छु म भनी, अर्कोले आई लुट्यो रित्तो छु बीचधारमा, वचनको डोरी अघि नै टुट्यो ।।

जीवनसार

दोबाटोमा लडेको ढुंगो टिपेन कसैले, डकर्मी आयो त टिप्यो, गारोमा लगायो । त्यहीँ सीमित भयो जीवन दुई बित्ताभित्र, श्वास, प्रश्वास, निश्वास त्यहीँ नै हरायो । बुता चलेन केही उन्माद र उद्वेगको, कठोरताको पनि कुनै काम भएन, भत्किएछ पर्खाल र दोबाटोमा ढुगो एक जुनि नै बित्यो त, के ?, जीवनसार रहेन ।

ठिकै थियो

मुटु जोडेकै थियौ, ठिकै थियो मुटु फोरेर गयौ, ठिकै थियो नाता टेकेर गयौ, ठिकै थियो बाटो मेटेर गयौ, ठिकै थियो साथी बिर्सेर गयौ, ठिकै थियो साथी भेटेर गयौ, ठिकै थियो के सम्झी फर्क्यौ तिमी आज ? नफर्केको भए, ठिकै थियो ।

हामी एक छौँ

पल्ला घरको रङ उप्किदा खिस्स हाँस्थ्यौ हामी पल्ला घरका परेवा चर्दा रिसले मर्थ्यौँ हामी पल्लो घरमा झगडा पर्दा रमिते हुन्थ्यौ हामी पल्लो घरका बसाइँ सर्दा रोक्दैनथ्यौँ हामी । सोचेथ्यौँ - पखालिने त उनी मात्रै हुन् छरछिमेक मर्का पार्ने उनी मात्रै हुन् घरभित्रको झगडा त उनको मात्रै हो घर छोडी जानु पर्ने उनले मात्रै हो । रंग विहीन भएछौँ हामी छिमेकी पछि लागेछौँ जात्रा गर्दै कुद्यौँ हामी देश नै अब त बाँडेछौँ हाम्रो भन्नु नरहेमा कसको कहाँ के हुन्छ ? फुटे पछि घैँटो त के ? घ्याम्पो पनि खबटा बन्छ

के छ अमर ?

थोपा थोपा पानी बाढी बन्यो कसरी ? मन्द शितल हावा आँधी बन्यो कसरी ? जुगौँदेखि अडेको तारा टुट्यो कसरी ? सधैँ गर्छु भनेको मायाँ छुट्यो कसरी ? पाइतालाले आफ्नै बाटो मेट्यो कसरी ? सुख खोज्ने मनले दुख भेट्यो कसरी ? 'सत्य हो वाचा' भन्थे फरक पर्योा कसरी ? 'अमर छ मायाँ' भन्थे मायाँ मर्योर कसरी ?

तिमी मौन किन ?

बोलिनौ किन ? बोल्दिनौ किन ? मन केही दुख्यो कि ? बोलीमा कहीँ गडबडी भो कि मेरो वचन बिज्यो कि ? मेरो मनको अन्तरालमा पाप त केही थिएन प्रेमको सानो दियो बलेथ्यो त्यो अब बल्न सकेन ।। बरु हुन्थ्यो नै दोष दिए नै भन्न त ठाउँ रहन्थ्यो बरु हुन्थ्यो नै रिस गरे नै मनले त सहन्थ्यो । सुखकै बाटो भेटेकीले दुखको पाटो चुक्यो कि ? बोलिनौ किन ? बोल्दिनौ किन ? मन केही दुख्यो कि ?

गीत

यो बाँच्नुको नशा अनौठो नशाभरि म सुतेकै हुन्छु सधैँ बिहानी ब्युँझेर उठ्दा म आफूलाई बधाई दिन्छु । कति घाट नाघेँ, चिहान नाघेँ दिन, रात, साँझ, बिहान नाघेँ सकिनँ नाघ्न वाचा कसैको । यो मोह डोरी कस्तो बलियो छिन्ला कि भन्दै पर्खेकै हुन्छु सधैँ बिहानी ब्युँझेर उठ्दा म आफूलाई बधाई दिन्छु । कहीँ आए माया, कतिले घिनाए बहार, बाढी कति चोटी आए पुगेन वाचा आउने कसैको । यो आशा डोरी कस्तो बलियो पुग्ला कि भन्दै पर्खेकै हुन्छु सधैँ बिहानी ब्युँझेर म आफूलाई बधाई दिन्छु । यो बाँच्नुको नशा अनौठो नशाभरि म सुतेकै हुन्छु सधैँ बिहानी ब्युँझेर उठ्दा म आफूलाई बधाई दिन्छु ।

अनुत्तरित प्रश्न

दशक अघिको प्रश्न मेरो दशकपछि सोधेँ मैले तैपनि उत्तर पाइनँ, कस्तो माया रोजेँ मैले ? हिडेँ कि म बाटो उल्टो ? भुलैयामा छिरेँ कि म? प्रश्न नमिल्ने सोधेँ कि पो? फिरेँ कि पो सपनामा म? जीवन यस्तै प्रश्न रहेछ अरूबाटै उत्तर खोज्ने दाताले पो केही देला, हात पसारी म के रोज्ने ?

के नरमाइलो ?

पूर्णिमाको जुन रमाइलो जाडो यामको घाम तरुनीको रूप रमाइलो, बुढाहरूको नाम । तन्देरीको बैँस रमाइलो, राम्रो तालको पानी अँध्यारोको जुनकिरी राम्रो, राम्रो हाँस्दा नानी ।। फराकिलो सडक रमाइलो, रूखपातले बन फूल फूलेको वाग रमाइलो, खुशी भएको मन । खलो रमाइलो ताछेकोमा, फाटेकोमा बादल दशा रमाइलो काटेकोमा, ठोकेकोमा मादल ।। परालको डसना रमाइलो, सिरानीको भुस बुढियाको माया रमाइलो, अनुहार त झुस । दाँत हुनेलाई मासु रमाइलो, नहुनेलाई खिर हुती हुनेलाई सबै रमाइलो, नहुनेलाई सधैँ पिर ।।

सौमी

रूपसुन्दरी ! कसरी नाघ्यौ बादलको घेरा ? कणविन्दु जोड्यौ कसरी ? थियो कोही सहारा ? हिड्यौ कसरी नभ छोडेर नरपुत्री भागे झैँ ? किन गर्जेन मेघ धमिलो बाबुबाजे गर्जे झैँ ? । अन्धकारमा ओर्ल्यौ कसरी यति लामो बाटो ? शिखा दीपको तान्यौ कसरी लम्बेतानको टाटो ? किन बाँढ्यौ झलमल ज्योति जग मस्ती पारी ? किन हरायौ शुन्यमा फेरि चोट ममा सारी ? ।

वाह रे जिन्दगी !

वाह रे जिन्दगी ! हाय ! हाय ! हेर्नै पर्छ भने हेर्न रहर के ? कुर्नै पर्छ भने केको प्रतिक्षा ? हारी सकेपछि केको जितौरी ? टाट पल्टेपछि केको खाले ? बाटो मेटेपछि केको फिर्ती ? माटो छोडे केको माया ? नआए आँशु केको रुवाइ ? वाह रे जिन्दगी ! हाय ! हाय !

यात्रा

वल्लो बाटोमा सँगै हिडेथ्यौँ, पल्लो घाट छुटेथ्यौँ हामी देख्दै नदेखेका पराइ झैँ नहेरी, फर्की गएथ्यौँ हामी बिर्सिएँ अब भनी ठानाथ्यौँ, भुलैभुलमा बाँचेछौँ हामी भेटपछि पो थाहा भयो त, आधा जीवन काटेछौँ हामी ।

जीवन !

बैँस सुकेकी शुष्क नदीको शुष्क वृक्ष तटमा वृद्ध गिद्ध झैँ कुरिरहेछौ मृत्यु एक कुनामा । बाँच्ने आशा राखेकै छौ अर्धमृत भइसक्दा, अरण्ड्यरोदन गर्दैछौ तिमी गिद्ध अगाडि देख्दा ।। शब्दशब्दमा रोदन तिम्रो हाउभाउमा पिडा, छल्न सकिन्न उसको लाठी तब केको भाका । दिनैदिन तिमी मरिरहेछौ मरुँला भन्ने डरले, एकै चोटी मर बरु, के होला त्यस्तो जीवनले ? ।। नातागोता छुटे पछाडि, अघिका अघि लागे, न कसैले नै केही दिए, न कसैले नै मागे । मन उडाइ के पाइन्छ आफ्नै दुखमा पस्दा ? हाँस्दा खेल्दा के बिग्रन्छ मृत्यु कुरेरै बस्दा ? ।।

सरिता

सरिता आखिर बगी सरिता शीतल, शान्त भई स्पन्दन उसको बोकी बसेको पत्थर छोडी गई आकास उही, हो धर्ती उही, उही हो बग्ने हावा पत्थर छाती किन टुक्रा भो कण कण बालुवा ? । बग्न सकेन बिचरो बालु उसको पछि लागी चाहे पनि ऊ बन्न सकेन अन्तिम सहभागी गएर सागरभित्र बिलाई जलसमाधि लिई सरिता आखिर बगी सरिता शीतल, शान्त भई ।

सागर सरिता

पहाड फोरी कसरी निस्क्यौ लिई वेगवती चाल ? कसरी आयो लहर तिमीमा ? कसरी आयो छाल ? जन्मदैमा कसरी पायौ चञ्चल काया तिमीले ? छोप्यौ किन लज्जावती भई यौवन तटका तरुले ? सुस्तसुस्त अघि बढायौ गजगामिनी चाला सङ्गम धेरै साथ भयो हो, साथमा को पो जाला ? लोभिइथ्यौ न्यानोपनमा चैतको घाम समाई छोडी हिँडिथ्यौ सागर चिसो बादल साथ लगाई । भन, सरिता, साथ दियो को यति लामो बाटोमा ? सागर तिम्रो पर्खिरहेछ त्यही ठाउँ त्यही माटोमा ।

मेरो बगैँचा

सुन्दर थियो मेरो बगैँचा, उजाड वसन्त आयो के रोप्ने ? के झिक्ने ? कलह यसले ल्यायो जेठी छोरी भन्छे – ‘गुलाफ यहाँ ठिक हुन्छ’ जेठो छोरो भन्छ – ‘हुन्न, काँडाले बेली छुन्छ’ कान्छो छोरो ‘चमेलीलाई ठाउँ खै ?’ भन्छ कान्छी छोरी घुर्की दिन्छे ‘मेरो कुरा कसले सुन्छ !’ रुन्चे मुखले बुढिया भन्छे ‘सबै मिली रोप न सबैको नै साझा हो आफ्नो मात्रै नखोज न’ ‘धेरै वर्ष दाजुले खायो’ रिस यस्तै भाई गर्छ ‘धेरै माया भाइले पायो’ गम्दै दाजु डाहले मर्छ ‘हाम्रो भाग बोकी लान्छौँ’ दिदीबहिनी भन्छन् रुन्चे त्यो बुढीका कुरा कसले पो सुन्छन् ।

मेरा काका

हरिभजन गर्ने मेरा काका दिन सखारै आज बिते स्वर्गको बाटोतिर उनी लागे, जीवनमा त हारे कि जिते ? कपाल दार्हीट लट्टा पाले मृगतृष्णा भनी मिठो छोडे पिउनुमा जलमात्र पिए नाताबन्धन सब तोडे ।। रासरंगमा मन गएन सुन्दरी देखी भागे सुखी भै बाँच्नु खुशी भै हाँस्नु मायामोह सब ठाने काष्ठ सरि भै देह त त्यागे देह बाल्न भो सजिलो तर स्वर्ग पुगेपछि के गर्लान् ? मैले गर्नै सकिनँ निधो । न्दन बनको अमृत फल त्यो कसले खाने होला ? रूप सुन्दरी उर्वशी रम्भा कोसँग जाने होला ? सुरापान को गरी देला देवीदेवता साथ बसी ? बिचरा काका के पो गर्लान् एक्लै कुनामा पसी ।

मृत्युमहोत्सव

आज हामी छौँ उन्मादको चुलीमा, मनाउदै छौँ मृत्युमहोत्सव आज; आओ रथारूढ हुन विजेताहरू ! आओ समवेदना थाप्न पराजितरू ! सलामी दिदै छौँ आज हामीले मारेकालाई, सलामी दिदै छौँ आज हामीले मराएकालाई; सान्त्वना दिदै छौँ आज जिउँदै स्वर्ग पठाएकालाई, सान्त्वना दिदै छौँ आज जिउँदै स्वर्ग देखाएकालाई । आओ उल्लास देखाउन विजेताहरू ! आओ शोक मनाउन पराजितहरू ! उन्मादको चुलीमा छौँ हामी, मनाउदै छौँ मृत्युमहोत्सव आज । जीवन त मृत्युको संरक्षक हो, अन्तिम थलोसम्म लिएर जान्छ; मृत्यु त जीवनको अन्तिम उत्सर्ग हो, जहाँ त्यागको अन्त्य हुन्छ; समायोजन गर्यौँन हामीले दुवैको, समागम पनि गरिदियौँ हामीले; जीवन र मृत्युको दोसाँध सधैँको निम्ति मेटाई दियौँ हामीले । आओ हर्ष देखाउन विजेताहरू ! आओ पिर बिसाउन पराजितहरू ! उन्मादको चुलीमा छौँ हामी मनाउदै छौँ मृत्युमहोत्सव आज । के लिन्छौँ भनी मारेथ्यौ ? के दिन्छौ भनी मराएथ्यौ ? भेटेनछौ लिन केही सकेनछौ दिन केही तैपनि सोचेछौ – ‘लियौँ, दियौँ’ हारजितका गाथा बनाएछौ विजेता विजित मलामीलाई महोत्सव सहभागी बनाएछौ । आओ हर्ष देखाउन विजेताहरू ! आओ पिर बिसाउन पराजितहरू ! उन्मादको चुलीमा छौँ हामी मनाउदै छौँ मृत्युमहोत्सव आज ।

हाम्रो घरमा किचलो छ

माटो थियो बस्ती बिनाको बस्तु बिनाको पाटो, थरीथरी आए बास बनाए आउने आफ्नै बाटो; चराउदै भैँसी एउटा आयो अर्को आयो चौँरी लखेट्दै, यो पाखोमा छाप्रो हाल्यो ‘मेरो’ भन्दै अरू नभेट्दै । भाइभाइको कति हो माटो ? फैसला नै फितलो छ, मिलेको छैन अंशबण्डा हाम्रो घरमा किचलो छ । जेठो भन्छ – “यो घर मेरो पछि आएको भतुवा तँ ।” कान्छो भन्छ – “घर यो सपारेँ त्यो छाप्रोको लठुवा तँ ।“ पाखो एउटै बास छ तिनको एउटै आँगन पानी, पराइले बराली रहेछन् तिनका आनीबानी; छिमेकीले रमिता हेर्छन्, हाम्रो घर यो छिचरो छ; मिलेको छैन अंशबण्डा, हाम्रो घरमा किचलो छ । भाइ भन्छ – “खेत गतिलो दाजुले आफू खायो, कहीँ नबिक्ने स्यालले मुत्ने पाखो जिम्मा लायो ।“ दाजु भन्छ – “पक्की घरमा कान्छो भाले बन्ने, चुहुने थोत्रे घरमा मैले राति तारा गन्ने ? दाजुभाईको झगडा छ, ऊभन्दा ऊ बिचरो छ; मिलेको छैन अंशबण्डा, हाम्रो घरमा किचलो छ । कान्छो भन्छ – “दाजुलाई किन पहिले जन्मायौ ?” जेठो भन्छ – “भाइलाई किन धेरै माया लायौ ?” बुढिया रुन्छे बसी कुनामा भत्कदैको घर हेरी टुक्राटुक्रा हुन लागेको बीच माझ मझेरी । कसले पो देला बचाई, जग आफैँ फितलो छ; मिलेको छैन अंशबण्डा, हाम्रो घरमा किचलो छ ।

कागजका फूल

कति दिन फूल्ने हुन कागजका फूल ? कति दिन कुर्ने तिनका बास्ना हामी ? सुक्कसुक्क गर्छ भोकले ठूले सानेले त डाको नै छोडेछ भुसको आगो झैँ बलेको छ पेट बजार भाउ डढेलो झैँ बढेछ । ऊ आए सबै आउँछ भन्थ्यौँ हामी उसले पनि उही व्यथा ल्याएछ सबैलाई दिन्छु भन्थ्यो ऊ आफ्नै भाँडो मात्र भर्न भ्याएछ। कति दिन पानि हाल्ने हामी कति दिन जतन गर्ने हामी कति दिन फूल्ने हुन कागजका फूल ? कति दिन कुर्ने तिनका बास्ना हामी ?

मेरी नातिनी उसलाई के देखेँ मैले भयो गदगद छाती, मुस्कुराई हेरी मलाई मायाजालले ढाकी । चुमुचुमु लाग्ने गाला, सुम्सुम्याउदो केश अँगालोमा राखूँ लाग्ने उसको काया भेष । गुलावपत्र ओठ उसका खुले चञ्चल चाला, बर्बराई आफ्नै सुरमा मेरी मोहिनी बाला । नजिकिदै ऊ जति वर आई उज्यालियो मन वाहुपाशमा बाधूँ लाग्ने चन्दनजस्तो तन । आँखा गाडी हेरी मलाई दृष्टि मोहनी लाई बामेसर्दै परपरबाट मेरी नातिनी आई ।

सुन्यौ नि नानी !

उहिले उहिले यो देशमा सय टुक्रा थिए रे; एक एक टुक्राका आफै मालिक थिए रे आफै राजा थिए रे; दुधले धोएका थिए रे त्यहाँका राजा; दुधले नै धोएका थिए रे त्यहाँका प्रजा; अन्याय थिएन रे त्यहाँ र न्याय पनि पाइदैनथ्यो रे त्यहाँ । एक दिन आयो रे राजकुमार एउटा, परी देशबाट होइन नि, नानी त्यहीँ उम्रन पायो रे सबैको शिर काटेर आफै राजा हुन भ्यायो रे । जुग गयो, जुग गयो राजकुमार उहिले नै विदा भयो, टुक्रा टुक्रा बीच मानिस छताछुल्ल भयो न मेरो रह्यो न तेरो रह्यो सबैको त्यो साझा भयो । सुन्यौ नि, नानी ! अहिले त मेरो भन्दै टुक्रा छोप्न आएछन् अहिले त तेरो भन्दै भाग पनि लाएछन् र टुक्राटुक्राका राजा हुन टुक्रैमा दरबार बनाएछन् । सुन्यौ नि नानी ! तिमीले पनि कुनै दिन मैले झैँ तिमीले पनि सुनाई दिनु ‘टुक्राटुक्रा थियो रे देश टुक्राटुक्रा जोडियो रे देश टुक्राटुक्रा भयो रे देश टुक्राटुक्राका राजा पायो रे देश ।‘

हाम्रो विछोड

गुलावपत्रमा जलविन्दु अडे झैँ थियौ बसेकी तिमी मुटु धमनीमा स्पन्दनसँग सुस्त बग्यौ रस हुदै पत्रपत्रमा पानी छिरे झै तनमा । थिएन केही अन्तर हामी दुईमा मिसिए झैँ थियौ हामी जल जलमा पाएको झैँ मधुरस मधुकरले डुब्यौँ मस्त मायारसमा जीवनमा । कहीँबाट छिर्योा दुर्जन कार्यकला विषविन्दु दियो हाली कहीँ तनमा रगत भई म जमे त्यहीँ क्षण नै भई पानी बग्यौ तिमी त्यही क्षणमा ।

कस्तो देखे अचम्म मैले

कस्तो देखे अचम्म मैले रातमा उनी झुल्केकी रङ्ग लालीमा छर्दैछर्दै बिहानीमा झैँ टल्केकी घामझुल्को कहीँ थिएन, चरी थिएनन् गाउने प्रभातको स्वागत लागि सधैँ रूखमा आउने झल्लझल्ल शितविन्दु मोतीजस्तै टल्किएथे धुनीभित्र खरानीमा लालदाना चम्किएथे स्वागतार्थ नेत्र खोलेँ उषारानी भेट्न आइन् रात मात्रै रह्यो बाँकी खोल्दै आँखा उनी गइन् ।

बाढीकी सरिता

छल्छल टल्पल किशोरी जस्तै चञ्चल चाल लिई पहरा नाघ्दै छहरा बन्दै जलको भाव दिई उदात्त मनकी स्वच्छ सरिता नागबेली झैँ घुम्थी सिंचित गर्दै सितल पार्दै छाती धराको चुम्थी ।।१।। कपटी कालो मेघ अँध्यारो कुदृष्टि गर्दै आयो सरितामाथि मोहित हुन गई जलको वर्षा ल्यायो जलधारा नै प्रेम हो ठानी किशोरी मनकी बाला उन्मत्त भई उर्लन थाली युवतीको लिई चाला ।।२।। बढ्दै नै गई, बढ्दै नै गई पारी जलथल सारा कौमार्यको रूप रहेन खालि बेग र धारा बैँस ढलेकी गामिनी जस्तै छिचरी भई जिस्की घरघरका छिद्रछिद्रमा लाज नमानी निस्की ।।३।। सागर बन्ने चाल थियो त्यो, घाम उज्यालो आयो सरितामाथि ओतप्रोत भई प्रित स्पन्दन ल्यायो दिग्भ्रमबाट बिउँझी सरिता तनउफान सेलायो किशोरावस्था निश्छल मनको फर्की फेरि आयो ।।४।।

स्वर्गको यात्रा

म स्वर्गको दलाल भन्दै अचम्मको जीव आयो, बखान गरी दियो स्वर्गको र चाहेको पाइने नन्दन वनको । पत्याए सबैले, सोधेन कसैले "के साँचै ऊ स्वर्गबाटै आयो ? "स्वर्ग जाने बाटो खनौँ" -जबरजस्ती नारा लायो धर्तीको माटो छोई तन्देरीको वाचा पायो "नन्दनवन अनि कल्पतरु" पाइने मन्त्र पढायो बेलुनाकार आशा सबैमा झनझन पुक्क फूलायो । "भएको नभत्काऊ बरू मर्मत गर्दै जाऊ" - के बोलेथे बुढा बाजे नाति उफ्रदै आयो । "खुम्रे बुढा तिम्रा कुरा उहिले नै खुईले गर्ने भए खन्ने थियौ यही बाटो पहिले हामीले थालेपछि खुट्टा तान्छौ अहिले थोत्रो बाटो नभत्काई नया बन्छ कहिले ?" बिक्न सकेन बुढाको बोली कसैले पनि मिलाएन लोली । नया बाटो निर्माण भन्दै पुरानै भत्कदै गयो नया बन्न त यसै बनेन न पुरानो नै रह्यो । रङ्ग फेर्योय दलालले - "यो बाटो यही नै तुरौँ यिनै ढुंगाले बरू नहुने हाम्रै घरको जग पुरौँ ।" जो जसले जति सक्यो त्यति त्यति नै उठायो ठुला ठुला सबै ढुंगा दलालको जगमा पर्योो बुढाको त्यो बिचरो नाति बाटैमा वैतर्णी तर्योु । राम दाहाल जोरपाटी, काठमाडौँ २०६९ माघ २५

आकांक्षा हाम्रा कागजका फूल

कागजका फूलजस्ता हाम्रा आकांक्षाका गुच्छाहरू न फक्रन सक्छन्, न ओइलाउन नै सक्छन् वासहीन निर्जीव ती फूलहरूमा हामी उमङ्ग, उत्साहले सास भरी दिन खोज्छौँ जीवन्त जीवन त उनीहरूमा आउदैन तैपनि सजीवता सम्म पनि झल्कदैन तैपनि झनझन रसहीन बन्छन् हाम्रा आकांक्षाहरू निराशाका धपेडीमा खुइलिदै जान्छन्, पातलिदै जान्छन् । तैपनि बाँच्छन् नया आशा जन्माएर तैपनि फक्रने प्रयास त गर्छन् । सिन्चित गरिरहेका छौँ हामी कागजका फूल न फक्रन सक्छन्, न ओइलाउन नै सक्छन् ।

भ्यालेन्टाइन शुभकामना

म त्यहीँ थिएँ देखिनौ तिमीले देखे पनि हेरिनौ तिमीले बोलाएँ मैले, सुनिनौ तिमीले सुन्नै पनि चाहिनौ तिमीले । केही भनूँ भनूँ लागेको थियो मनले साथ लिन चाहेको थियो तर सर्केर गयौ, तर्केर गयौ पराइ जस्तै फर्केर गयौ । तैपनि माया त माया न हो नबिर्सेसम्म त छाया न हो अतितका दिनहरूको सँगालो त्यो प्रेमको यो शुभकामना हो । जोरपाटी काठमाडौँ २७ माघ २०६९

म त एक्लिए छु

तृषित छु सागर प्राप्तिमा पनि गलित छु स्वर्ग सबै जिते पनि । जे सुन्न चाहन्न त्यही सुने पछि त्रशित छु मानिस बीचमै पनि ।। हार्दैमा मात्रै त केही थिएन जितेर हार्दा बीच धारमा छु । थिएन कोही त थिएन मात्रै फर्कन्न भन्दा म त एक्लिएछु ।।

बरालिएँ म, बरालियो मन

अँध्यारो भयो दिन, बादलले ढाकेर हो कि, आँशुले छेकेर हो कि । पाएन बल्न बत्ती, हुरीले रोकेर हो कि, तेलै सकेर हो कि । वचन दिने आएन, बाटो भुलेर हो कि, कतै डुलेर हो कि । रोई नै रह्यो मन, साथी छुटेर हो कि, माया टुटेर हो कि । बरालिएँ म, बरालियो मन, आफ्नो अगाडि बाटो नदेखी ।

अप्राप्य प्रेम

म रेखामा हिडी रहेँ, तिमी रेखामा हिडी रह्यौ । हर पल हर क्षण एकै दिशामा हिडी रह्यौँ ।। गन्तव्य एउटै थियो हाम्रो, लक्ष एकै थियो । भेट्न चाहन्थ्यौ हामी हाम्रैसामु बलेको दियो ।। मिलन चाहन्थ्यौ हामी हाम्रा सपना सजाउन । चाहेका थियौ हामीले सुदूरमा केही पाउन ।। तर भेट भएन हाम्रो, हामी सधैँ टाडै भयौँ । समानान्तर रेखामा हामी सधैँ हिडी रह्यौँ ।।

कैसे हुआ गंगा ?

कैसे हुआ रे, गंगा ! तूँ प्रेमसागरतक आई ? हरिद्वारमे बनीथी जोगन बीचरास्ते किसे पाई ? किसका साथ निभाया तुमने ? किसको साथ ले आई ? वाह रे! गंगा, रूप तुमने कैसे बदल पाई ?

वाह रे माया ?

एउटीलाई, कति माया ? आधा शताब्दी बिर्सन्न अर्कीलाई, कति हतारो ? आधा घण्टा पर्खन्न । बटवृक्ष्य झैँ किन दीर्घायु माया कोही कसैको ? पानीझार झैँ किन ओइलिने फेरि माया कसैको ? दुख्ने किन हो कोहीलाई चोट ममा कहीँ लागे ? किन होला हाँस्ने अर्की ‌औषधी मात्रै मागे ? कोही होला किन नशालु बोतल झैँ लाग्ने ? किन होला कोही शितल घाउको पिडा भाग्ने ? किन धाउने होला कोही पाउने वस्तु गन्दै ? किन होला कोही भाग्ने ‘दिन्छ कि केही ?’ भन्दै ? हेरकै छु उभिएकै छु तिमी आउँछ्यौ् कि भन्दै पर्खेकै छु तिमीलाई मेरा आशे दिन गन्दै ।

एक्लै तिमी बसे जगै बिरानो बन्छ,

एक्लै तिमी बसे जगै बिरानो बन्छ, पानी मरुद्यानको सागर कहाँ छुन्छ ? चंगा छिनी सक्यो ऊ शुन्यमा गयो, पर्खेर हुन्छ के बिरानो ऊ भयो ? । हरित वृक्ष खोज सक्छ्यौ त वागमा अगाडि बढ्न खोज उसैको आडमा परन्तु के सधैँ छहारी मिल्छ र ? सेउला भए पनि चिसो नै हुन्न र ? । उठ्छ्यौ तिमी भने ऊठाई दिन्छु म संसार माझमा बसाई दिन्छु म आफ्नै अतितमा रमाउछ्यौ भने मरुद्यानमा नै छोडेर हिड्छु म ।

उनको चाला

चट्ट निस्किन् झट्ट फर्किन् निस्किइन् किन ? कहिले पनि जानिएन जिस्किइन् किन ? ओठ खोलिन् बोलुँला झैँ फेरि बोलिनन् भन्छु भन्छु जस्तो गर्दै केही खोलिनन् कोल्टे कोल्टे आँखा पार्दै फेरि मर्किइन् भेटुँला झैँ गर्दा गर्दै फेरि तर्किइन् चट्ट निस्किन् पट्ट बोलिन् निस्किइन् किन ? कहिले पनि जानिएन जिस्किइन् किन ?

पाना खोलूँ ?

गार्‍हो मानी उनले लेखिन् फेसबुकको पानामा "तिमी आएछौ, हतारो छ मलाई त जानामा । छिटो चट्चट् भनी देऊ, पर्खन म सक्दिनँ मेरो छेउ किन आयौ ? फर्कन अब सक्दिनँ " ।। जसको निम्ति पाना खोले उही नै तर्कन लाग्यो जसको आशा थियो मलाई उही नै सर्कन लाग्यो । संयोगले भेट भयो, तिमीसँग बोलूँ, नबोलूँ ? तिम्रो निम्ति पाना मैले अर्को खोलूँ नखोलूँ ? ।।

निगाहा चाहन्न म

सरस्वतीले भनिन् - 'विद्वान सर्वत्र पुज्ययेत्' लक्ष्मीले थपिन् - 'न च मान धनोहीन' तर पण्डित बनिएन, न धन नै कमियो आफू त गएर भट्टीमा पो जमियो । मनले भन्यो -'तन्का, जति सक्छस् तन्का' जिउले पनि त 'पुग्यो, नाइँ' भनेन एक एक गर्दै कति गयो कति ? रित्ता बोतल कसैले गनेन । अब जे पनि किन्न सक्छु म जे जस्तो पनि पढी दिन्छु म सरस्वती लक्ष्मी भेटे भनी दिनु तिनका निगाहा चाहन्न म ।

जब काम हुदैन केही गर्न

खेती किसानी पेशा मेरो छतमा बोरामा सब्जी लाउँछु माटो छैन त के भयो र राति छिमेकीबारी धाउँछु । वातावरणको रक्षक हुँ म वरपर आफ्नो साफ म राख्छु भएको फोहोर फाल्न छ गार्हो छिमेकीघरको छेउमा फ्याक्छु । जब काम हुदैन केही गर्न छिमेकीको खोइलो उतार्छु 'पाप नलागोस्' भन्दै मनले द्यौताको फोटो फेसबुकमा सार्छु ।

चार कविता


माग्दैमा पाएमा मायाँ रुदैमा आँशु तुरिए सपना हुदो हो जीवन सदा फूल फूल्ने भए । कहिले घाम कहिले पानी कहिले नौलो चिनाजानी कहिले रुदै हिड्नु पर्ने भोग्नुपर्ने जिन्दगानी तारा झर्दा दुख लाग्ला घाम डुब्दा आँशु झर्ला पराइको माया देख्दा सम्झी फेरि रुनु पर्ला । माग्दैमा पाएमा मायाँ रुदैमा आँशु तुरिए सपना हुदो हो जीवन सदा फूल फूल्ने भए ।


रातभरि कुर्दै बसेँ बत्ती आउला भनी ढिलो आयौ जुनकिरी जाने बेला तिमी । चैतसँग बिजुलीको एक धर्सो मागेँ जुनसँग उज्यालोको एक झल्को मागेँ आयौ तिमी भनी ठाने तारा झर्दा पनि ढिलो आयौ जुनकिरी जाने बेला तिमी उषासँग पैँचो मागेँ एक थोपा लाली टल्को मागेँ हिमालको सीत पर फाली परेलीमा तर बसी काली निशानानी ढिलो आयौ जुनकिरी जाने बेला तिमी ।


पानी जस्तै बगेर गइन्, हावा जस्तै उडेर गइन् तरल सरल हुदै हुदै परेली सामु गुडेर गइन् । परेली के छ भिज्नुमा ? तरेली के छ उड्नुमा ? अगाडि काल सम्झदै मिल्यो र के त डुब्नुमा ? यो मन बरा अमिलियो र दृष्टि नै धमिलियो नसम्झूँ नै भने पनि मनै न हो पिरोलियो ।


भाव नबोकी जीवनको भुलभुलैमा भूलियो रसरङ्गको रङ्गाइमा राग रङ्ग चुलियो मोजमस्ती मनले माग्यो मैमत्त भई डुलियो द्वन्द र मायाँ, छायामोह सधैँ यसैमा झुलियो । 'वृन्दावन पो केका निम्ति गोपिनी घरमा पाए पुराण सुन्नु केका निम्ति दोहोरी दिनहुँ गाए' यस्तै ठानी देहले भोग्यो रस इन्द्रियले खायो अब विरक्ति केका निम्ति ? कसले रोई के पायो ? ।

मुक्तक १

जुवा त खेल्यौ हामीले बाजी जित्यौं कि हार्यौं खाले मात्रै भयौं कि हामी कि च्याँखे पनि पार्यौँ बाटो थुनियो अगाडि त पछाडि आँखा सार्यौँ् तब मात्रै थाहा भयो जीवन त्यसै गुजार्यौँौ । केको निम्ति रुवावासी रुने दिनमा रोएनौ केको निम्ति धर्मकर्म जब पाप छोएनौँ अँगालोमा मायालुको अझै हामी तातै छौँ केलाई भन्नु छ र अझै हामी बाँचेकै छौ ?

रंग जीवनको

जीवन धान्न त दालभात खान्छु भेटे चटपटे मीठो चाख्छु पत्नी त हो जीवन सँगिनी प्रेमिका एउटी अलि पर राख्छु । अथवा जीवन धान्न त दालभात खान्छु भेटे चटपटे मीठो चाख्छु मेरो पति हो जीवन साथी प्रेमी म एउटा अलि पर राख्छु । रोगी त हुँ म चिनी नछुने आँखैले म रसवरी चुस्छु मखमल पाए त्यही नै रोज्थेँ छैन त बोरैभित्र म घुस्छु । माने कसैले सन्त म हुन्थे मानिदिदैनन् खोलमा पस्छु माया जोड्ने कोही भएमा स्वागत गर्छु पर्खी म बस्छु ।

मेरो टोल

दिन कति चाँडै बितेछ, समयले कति चाँडै जितेछ हेर्दा हेर्दै कसरी मानिसले आफ्नो मोल आफै किटेछ । कथा र चकलेटका निम्ति दायाँ वायाँ झुन्डिने फुच्चीहरू पाँच हात सीमाना राखेर लजाउदै कुरा गर्ने भएछन् फुटबल किन्न चन्दा माग्ने फुच्चेहरू आफै कमाइ गर्न विदेश गएछन् ओहो ! कति चाडै समय गएछ ? यो टोल सिङ्गै तन्देरी भएछ । हिजैको दिन जस्तो लाग्छ हजारका कुरा कोही गर्दैनथ्यो लाखभन्दा तल कोही झर्दैनथ्यो पाँच कसैलाई दिनु पर्दा लाखको बिटो टेबलमा झार्थ्यो सडकमा बसेर खोप्पी खेल्दा लाखकै बिटो भैँमा बजार्थ्यो तर मीतबालाई चिया खुवाउन पनि आज गाहारो पर्ने दिन आएछ ओहो यो टोललाई समयले आज कती चाँडै लुट्न भ्याएछ । अघि कुरा सुन्थे सबैले सुन्नुमा ज्ञान छ भनी मान्थे सबैले सबैका कुरा मान्थे सबैले यसैमा ज्ञान छ भनिठान्थे सबैले आफू मात्र सही ठान्ने दिन आज आएछ समयले टोललाई नै विद्वान बनाएछ । दिन कति चाँडै बितेछ समयले कति सार्हो मिचेछ हेर्दा हेर्दै कसरी मानिसले आफ्नो मोल आफै किटेछ ।

लुकेर हुन्छ के?

लुक्दैमा कोही लुकिने हैन अरूले नदेखे लुकिन्छ लुकेको माया निस्केपछि घाउ बल्झेर छुन्छ । पोलेको मन अमिलो हुन्छ एक्लै बसेर रुन्छ हारेको वाचा धमिलो हुन्छ नमिठो आशा दिन्छ । सुनेको बोली सुनिनँ भन्दा बोल्ने पो लाटो बन्छ जितेको माया हारेको दिन संसारै रित्तो हुन्छ ।

अरू पाउने आशा के ?

वाह रे बन्धु ! नौतिर नाता नामै नामले जोड्यौ न अगाडि कोही न पछाडि कोही देह त एक्लै छोड्यौ नांगा खुट्टा मरणघाटमा नांगै देह छ तिम्रो तिम्रो जम्माजम्मीमध्ये कति ल्यायौ ? कति छोड्यौ ? मोजमस्ती केही गर्न सकेनौ, खानै पनि खाएनौ गोदानचाहिँ गरिहाल्यौ कि ? गुन कसैमा लाएनौ । मसँग छ भनी ठान्या थ्यौ, चिता त पखाली सके अब के तिम्रो साथ रह्यो र ? अरू पाउने आशा के ?

मायाबन्धन

सतासी वर्षकी सुन्दरी थोते मुखले हाँसिन्, नब्बे वर्षका तन्देरी गदगद भई नाचे । मायाको यो रूप अनौठो अघि नै झैँ पछि होला, बाच्नुको अर्थ त बन्ला, जीवन सार्थक होला । रित नहोला जीवनमा, मित त कोही होला, नभई पनि केही नाता मन त कसैको रोला । कोही कसैमा पक्कै होला माया कोही कसैको, चिने अँगाले आफ्नै हो त्यो, पराइ नचिन्दाको ।

अबोला

सीमानापारि रुपडियाबाट एक दिन फोनको घण्टी आयो। मन गद्गगद भो बोली सुनेर तर बोलीले बात लगायो ।। दोष के मेरो ? गल्ती कहाँ भो ? उसको भन्ने चाह थिएन । मेरो आफ्नो चोखो मनले खोज्दा पनि क्यै थाह भएन ।। कोही कसैले थाहा पाए दोष के मेरो खोली देऊ । कि त कसैले मैतिरबाट केही वचन त बोली देऊ ।।

रूपवती

स्वर्गबाट झरी ऊ परी इन्द्रेणीको सिँढी हाली तन बादलले ढाकी अम्बर निलो फाली छाल भई बगी पानीसँगै कल्कल शब्द निकाली तटतरुलाई स्पर्श दिई घुम्टो लतावट हाली । नागबेली परी ठस्केर, कहीँ खुम्चिएर लजाई उन्मादले उन्मत्त भई ठेली कहीँ पहरालाई भयो कहीँ स्पन्दन चिसो कहीँ अति वेगवती जलविन्दु तपतप गर्ने बलवती, रूपवती ।

कस्तो माया ?

सोचेथेँ जल यो पवित्र अति हो आकाश बर्सी दिने । तृष्णा सागरकै पुरा गरिदिने पाताल सम्मै छुने ।। मायाको तटमा बगेर मनको आगो निभाई दिने । चिसो शितल स्पर्शले विगतको छायाँ भुलाई दिने बाढी झैँ तर निस्कियो रनबनै गर्जेर तर्साउदै । माग्यो मोल चिस्यानको हृदयमा आघात बर्साउदै ।। पानी झैँ ऊ बगेन शितल भई, आँधीसरि ओर्लियो । "मै हुँ प्रेम, म मोल हुँ जगतको" भन्दै उसै कुर्लियो पानीको यदि मोल तिर्नु छ भने त्यो बर्सियो नै किन ? मायाले पनि मोल माग्दछ भने केमा छ न्यानोपन ? चौतारी पथको बिसानी नभए त्यो बीचबाटो किन ? । सामु नै भन, खप्छु चोट बहको "चिन्छु कहाँ ? चिन्दिन" ।

Dogs & Cats

Dogs and cats made a deal. What they knew all to reveal. Dogs taught cats how to hide And cats to dogs to abide. Dogs went loyal as were taught. For their masters always fought. Cats were shrewd and stingy lots. They hid faeces before they rot.

मलाई एउटी रूदाली चाहिएको छ

(राजस्थानी राजपूत महिलाहरू लोग्ने, छोरो मर्दा पनि डाँको छोडेर रुन पाउदैनथे । उनीहरूको साटो डाँको छोडेर रुन भाडामा आइमाई ल्याइन्थ्यो र त्यस्ता आइमाईलाई रुदाली भनिन्थ्यो । रुदाली कपालको झाँक्रो फिँजाएर, लाएको लुगा लथालिङ्ग बनाएर मर्नेको गुणगान गर्दै आँगनमा छाती पिटी पिटी रुन्थी ।) अन्धकार कोठरीमा थुनिएका मेरा छोरा एकै रात छपक्क गिँडिए अन्धकारैमा सास त गयो गयो नै लास पनि पाइनँ मैले; तैपनि रुन पाउदिनँ म, तैपनि डाँको छोड्न पाउदिन म; मलाई एउटी रूदाली चाहिएको छ । मेरो काँखमा सुतेकी छोरी बैरी बनेर लुटेर लगे, के गरे, के गरेनन् उसलाई ? मेरा रगतका धारा बगे; तैपनि रुन पाउदिनँ म, तैपनि डाँको छोड्न पाउदिन म; मलाई एउटी रूदाली चाहिएको छ । कखहरा सिकाउथ्यो मेरो छोरो, बाटो देखाउथ्यो मेरो छोरो, शिक्षा दिन्थ्यो, दिक्षा दिन्थ्यो, ऊ त गुरु मानिन्थ्यो; घिसारेर लगे एक दिन सिनो घिसारे झैँ, तारो हानी खेले प्रगति भन्दै, त्राशले लाश उठाउन सकिनँ मैले; तैपनि रुन पाउदिनँ म, तैपनि डाँको छोड्न पाउदिन म; मलाई एउटी रूदाली चाहिएको छ । आफै फिरादी बने, आफै प्रतिवादी बने, न्यायको कुर्सीका आफैँ अधिकारी बने, भालाले रोपी मारे, ढुंगाले किची मारे, ऊसैको डोकोमा उसैको लाश पसारे; तैपनि रुन पाउदिनँ म, तैपनि डाँको छोड्न पाउदिन म; मलाई एउटी रूदाली चाहिएको छ । हजार पन्द्रेक मरे, मराए, त्यति नै त चिहान खनाए, सोतर झैँ सोहोरिदै अनिच्छामै जीवन गुमाए, छोराछोरी मेरा मरे, अरूले घर बनाए; तैपनि रुन पाउदिनँ म, तैपनि डाँको छोड्न पाउदिन म; मलाई एउटी रूदाली चाहिएको छ ।

बुख्याँचा

देखेका थिएनौँ, हामीले बुख्याँचा देख्यौँ, भाग्यवानी कहलायौँ । हाम्रै झ्याँङको बाँस छिमकीले उडाएछन् हाम्रै छाप्रोको कालो हाँडीको टाउको बनाएछन् हाम्रै बाजेको च्याङ्लो भोटो र सुरूवाल लगाएछन् र हामीले थाहै नपाई ‘तिम्रो’ भन्दै हाम्रो बारीमा ठड्याएछन् देखेका थिएनौँ हामीले बुख्याँचा, देख्यौँ, भाग्यवानी कहलायौँ । देवता ठानी हामीले पूजा गर्यौँ हाम्रा बज्ने बाजा सबै बजायौँ झण्डै तीन करोड छापा पातमा उसको नाम लेखी धर्म कमायौँ तर हाम्रा मकै कागले उडायो बुख्याँचाले छिमेकीबारी रुँग्यो हुरीले सोत्तर बनायो हाम्रो बारी बुख्याँचा छिमेकीतिर झुक्यो चाबी उतै छ मान्यो उसले आधार उतै छ ठान्यो उसले तैपनि पूज्दैछौँ हामी बुख्याँचा त मूर्ति जस्तो । देखेका थिएनौँ, हामीले बुख्याँचा देख्यौँ, भाग्यवानी कहलायौँ ।

हाम्रो मारखाल

आउनोस्, हजूर, आउनोस् आएको छ दशैँ खाल थापेका छौँ हामिले भाग्य खोलेका छौँ हामीले । यहाँ त दाउ मात्रै हान्नु पर्छ च्याँखे पनि मालामाल खाले पनि मालामाल यहाँ त रमितेको मात्रै बेहाल । खाल खोलेका छौँ हामीले घरघरमा खाल खोलेका छौँ हामी टोलटोलमा सडक सडकमा खाल छ हाम्रो खाल पनि छ हाम्रो दरबारमा । हवाइघाटको चोकमा खाल थापेका छौँ हामीले; सकेजति छिराए हुन्छ, हुनसम्म तिराए हुन्छ आफ्नो दाउ परेन भने अर्कैलाई भिराए हुन्छ र एउटा बलीको बोको मात्रै त्यहाँ गिँडाए हुन्छ । नाका नाकामा भाका भाकाका खाल खोलेका छौँ हामीले जति माल छिराए पनि बाल हेर्दैनौँ हामीले हात्ती देख्दैनौ हामी मुसो समाउछौँ हामी माल सुम्पी खालेलाई धुलोमा रमाउछौँ हामी । सडकमा छताछुल्ल थापेका खालमा कहिले गाडी समाउछौँ सडकको नेटोमा, कहिले नाडी समाउछौँ सडकको पेटीमा ठिक भए पनि लिन्छौँ ठिक नभए पनि लिन्छौँ ठिक वेठिक हामी आफैँ छान्छौँ चंगुलमा पार्नलाई हामी आफै लान्छौँ । त्यो ठूलो दरबारमा खाल थापेका छौँ हामीले दरबार अनुसारकै थाल पनि थापेका छौँ हामीले कहिले टेबलमाथिबाट समाउछौँ कहिले टेबलमनिबाट समाउछौँ खालेले जिते हामी जित्छौँ च्याँखेले जिते पनि हामी जित्छौँ खेल पनि गर्छौँ र झेल पनि गर्छौँ छोटी खालको दस्तुरी पनि त्यही थालमा भर्छौँ । आउनोस्, हजूर, आउनोस् आएको छ दशैँ खाल थापेका छौँ हामिले भाग्य खोलेका छौँ हामीले । यहाँ त दाउ मात्रै हान्नु पर्छ च्याँखे पनि मालामाल खाले पनि मालामाल यहाँ त रमितेको मात्रै बेहाल ।

वाह रे जिन्दगी !

सधै चियामा निस्कने उफान जिन्दगीको र रक्सीमा हराउने तुफान जिन्दगीको कति म बोकुँला अझैँ, कति घसारुँला ठाउँ कहाँ शरिर यो पुगी पसारूँला ? हिडी सके अघि कति, कहाँ पुगे पुगे ? तयारी छन् अझै कति त बोकी पन्तरे न छानी साइतै हिडे न लक्ष रोजिए ‘गए कहाँ, कठैबरा’ भनी न खोजिए । बिहानीले ‘तँ जा’ भनी विदा सधैँ दियो र मध्यदिनले पनि यसै विदा लियो दियो र पिउन साँझले, शरिरले पियो कुरेर बस्नु के अब ? सिसा त रित्तियो ।

सपनापरी

मखमलीको खास्टो ओडी मुस्कुराउदै उनी ओर्लदैथिन् बाटाबाटै चौतारीका मनि रूप तिनको पद्मिनीको चाल हंसको दृष्टि उनको चोट दिने सर्पदंशको मोहिनीको मुस्कराहट रूपशीको भेष लालरङ्ग ओठ उनको तरङ्ग झै केश केही हाँसिन्, केही बोलिन्, सामने भइन् आँखा खुले स्वप्न थियो शुन्यमा गइन् ।

उषारानी

किन आयौ अँध्यारैमा एक्लै, उषा, नानी ? लाली खस्यो कहाँ तिम्रो कुन डाँडामनि ? तारा पछि लुकाएर सधैँ झर्ने गर्थ्यौ जुन पाखा लगाएर ओरालिदै झर्थ्यौ उज्यालोको राँको बोकी दिन तल झार्थ्यौ रजनीको घुम्टोलाई भोलितिर सार्थ्यौ तिमीलाई कुथेँ सधैँ पर्खेर बिहानी तिमी आउदा खुल्ने गर्थ्यो परेलीको नानी गुँडभित्रै चरी कुर्थी तिमी आउली भनी जुनकिरीले बिदा लिन्थी ‘तिम्रो पालो’ भनी झ्याल खोली हेरे पनि अँध्यारो र पानी तपतप आँशु झर्छ बादलुकोमनि कोकोहोलो गर्दै हिड्छ खोलो बाढी बनी लाली कहाँ छोडी आयौ तिमी, उषारानी । आयौ किन तिमी एक्लै वैरागिनी बनी ? अनुहार धमिलियो केले, उषानानी ? किन आयौ अँध्यारैमा एक्लै, उषानानी ? लाली खस्यो कहाँ तिम्रो कुन डाँडामनि ?
समाप्त